विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य लाई प्राथमिकता राख्दै सोमबार विराटनगर महानगरपालिकामा आयोजित नगर सभाको चौंधौँ अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालू आर्थिक वर्ष०८०/८१ भन्दा करिब १३ करोड ८१ लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गरेकी हुन् ।
विराटनगर महानगरपालिकाले वडास्तरीय योजनाका लागि ४० करोड ५५ लाख, शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख, स्वास्थ्य विकास कार्यक्रमतर्फ २० करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ ५९ करोड, ऋणको साँवा ब्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ३ करोड ३४ लाख ८३ हजार खर्च हुने अनुमान गरिएको छ ।
समपूरक कार्यक्रममा ६ करोड, वडास्तरीय योजनाका लागि ४३ करोड ३ लाख १२ हजार बजेट विनियोजन भएको छ ।
योजना निर्माण गर्ने क्रममा महानगरपालिकाले १९ वडालाई दुई करोडका दरले बजेट दिएको छ ।
महानगरले आगामी वर्षको खर्चतर्फ बहुवर्षीय ठेक्का तथा दायित्व सरेका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख, मर्मत सम्भारका लागि १० करोड र भारी सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको छ ।
महानगरले सडक ढल तथा नाला सफाइ र मर्मतका लागि ४ करोड ५० लाख विनियोजन गरेको छ । सामाजिक विकास क्षेत्रअन्तर्गत शैक्षिक विकास कार्यक्रमका लागि ७८ करोड, स्वास्थ्य विकास कार्यक्रमका लागि २० करोड ५७ लाख, नगरस्तरीय योजनाका लागि ३५ करोड विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
कृषि विकासका लागि १ करोड ३ लाख, पशुपंक्षी तथा भेटेनरीका लागि १ करोड ५३ लाख, उद्यमशील विकासका लागि ५० लाख, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख विनियोजन गरिएको छ । विपद् व्यवस्थापनतर्फ १ करोड २० लाख, सरसफाइका लागि १ करोड ३० लाख विनियोजन गरेको छ ।
महानगरले चालु आर्थिक वर्षको बजेटमध्ये जेठ मसान्तसम्म २ अर्ब १५ करोड ६० लाख खर्च गरेको छ । यो विनियोजित बजेटको ६४.१३ प्रतिशत हुन आउँछ । खर्चमध्ये चालुतर्फ १ अर्ब २५ करोड ११ लाख र पुँजीगततर्फ ८८ करोड १३ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया