ओलीका ‘ठेकेदार’ राज्यमन्त्रीको खराब रिपोर्टकार्ड ! | Khabarhub Khabarhub

ओलीका ‘ठेकेदार’ राज्यमन्त्रीको खराब रिपोर्टकार्ड !

हातमा सडक ठेक्का, ६ पटक म्याद थप, ५ वर्षमा ५५ प्रतिशत काम



साउन १८ गते सपथ गराएपछि तीन राज्यमन्त्रीहरूसँग प्रधानमन्त्री केपी शर्मा ओली । रातो पहेँलो घेरामा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङ ।

विराटनगर– तोकिएकै समयमा काम सकिएको भए मोरङको केराबारीबाट सिंहदेवी जाने खोर्साने–केराबारी–सिंहदेवी सडक दुई वर्षअघि नै कालोपत्रे भइसक्थ्यो ।

तर बिडम्वना ! नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनको लापरवाहीका कारण अहिले सो सडकको भौतिक प्रगति जम्मा ५५ प्रतिशतमात्र छ । जब कि सडक निर्माणका लागि समय थप गरिएको छैठौँ पटकको अवधि सकिइसकेको छ । तर, सडकको दूरावस्था उस्तै छ ।

कान्छाराम कन्स्ट्रक्सनका मालिक नेपाली कांग्रेसबाट निर्वाचित रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर (कान्छाराम) तामाङ हुन् ।


शहरी विकास मन्त्रालय अन्तर्गत झापाको दमकमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का कार्यालय प्रमुख शालिग्राम देवकोटाले भने, ‘पटकपटक म्याद थप गरिरहने, काम भने नहुने अवस्थाबाट हामी पनि आजित छौँ। अब प्रचलित कानूनअनुसार कम्पनीलाई कालोसूचीमा राखेर कारबाहीका लागि प्रक्रिया अघि बढाउने नै हो, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’

उनले एशियाली विकास बैंक (एडीबी) को १० करोड र नेपाल सरकारको ३ करोड ५० लाख अमेरिकी डलर लागत सहभागितामा सो सहितका सडक निर्माण अघि बढेकाले भुक्तानीमा कुनै समस्या नरहेको बताए । सडक निर्माणले गति नलिनुमा ठेकेदार कम्पनीको लापरबाही नै मुख्य कारण रहेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।


ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) का कार्यालय प्रमुख शालिग्राम देवकोटा ।

कार्यालयका अनुसार खोर्साने–केराबारी–सिंहदेवी सडकको काम कान्छाराम कन्स्ट्रक्सनले समयमा नगरेकै कारण गएको आर्थिक वर्षमा २० करोड रुपैयाँ फ्रिज भएर गएको छ । लामो समयदेखि सडक निर्माणको काम अलपत्र छाड्ने कान्छाराम कन्स्ट्रक्सनका मालिक पूर्णबहादुर तामाङ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको क्याबिनेटका राज्यमन्त्री हुन् ।

‘सडक निर्माणको काम सन्तोषजनक नभएको मुख्य लगानीकर्ता एडीबीकै टोलीले निस्कर्ष निकालेको छ,’ देवकोटाले भने, ‘सडक निर्माणलाई यसरी नै निरन्तरता दिने हो भने अब नेपाल सरकारले नै पूरै पैसा हाल्नुपर्छ । एडीबीको टोलीको निस्कर्ष निर्माण कम्पनीसँग ठेक्का रद्द गरी कारबाहीमा जानुपर्छ भन्ने नै रहेको छ ।’

उनले निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनसँगको ठेक्का रद्द गरी कारबाही निम्ति आवश्यक तयारी थाल्न निर्देशन दिएको पनि बताए । यो सँगै राज्यमन्त्री तामाङको निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारबाही गर्ने तयारी गरिएको देवकोटाले बताए ।

कार्यालयका अनुसार यो सडकको निर्माण म्याद ६ पटक थप गरिसकिएको छ । तर, भौतिक प्रगति ५५ प्रतिशतमात्र छ । ठेक्का सम्झौता अनुसार खोर्साने–केराबारी–सिंहदेवी सडक ०७९ मै कालोपत्रे भइसक्नुपर्ने थियो ।

सडक निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्नेगरी चिनियाँ कम्पनी सीआइसीओ (सिको) र केसीसीपीएलको संयुक्त उपक्रम (जेभी) ले ५ अगस्ट २०१९ मा ७० करोड ३९ लाख २९ हजार ३५५ रुपैयाँमा ठेक्का लिएका थिए । जसमा कान्छारामले सडक निर्माणको जिम्मा लिएको थियो ।

दुई कम्पनीले एउटै प्याकेजमा उक्त सडकसँगै लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोड निर्माण ठेक्का समेत पाएका थिए। लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोड निर्माणको कामपनि अलपत्र अवस्थामै छ ।

खोर्साने–केराबारी–सिंहदेवी सडक १३.६१ किलोमिटर लामो छ । लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोड १७.१५ किलोमिटर लम्बाइको छ । लक्ष्मीमार्ग अमाही सडक हालसम्म ११ किलोमिटरमात्रै कालोपत्रे भएको छ । खोर्साने–केराबारी–सिंहदेवी सडकमा स्ट्रक्चरको सामान्य काममात्र भएको कार्यालयले जानकारी दिएको छ ।

सडक निर्माण कार्य अलपत्र पारेको कम्पनीले हालसम्म करिब १३ करोड रुपैयाँ पेश्की लिइसकेको छ । जसमध्ये ४ करोड रुपैयाँको बिल भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

‘एउटा सडकको काम सकिएपछि अर्को बनाउँछौं’

कान्छाराम कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक थिङले लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही सडकको काम भइरहेकाले खोर्साने–केराबारी–सिंहदेवी सडकको काम केही ढिला हुन पुगेको तर्क गरे । त्यहाँ पनि काम भइरहेको उनको भनाइ छ ।

‘दुईवटै सडक निर्माणको काम एउटै प्याकेजको हो,’ थिंङले खबरहबसँग भने, ‘लक्ष्मीमार्ग–डाँगीहाट–बबियाविर्ता–अमाही रोडको काम सकेपछि खोर्साने–केराबारी–सिंहदेवी सडकको काम सुरु हुनेछ ।’

उनले अहिले बर्खायाम भएकाले हिउँद लागेपछि मात्र खोर्साने–केराबारी–सिंहदेवी सडकको काम अघि बढाइने बताए । ‘हामी म्याद थपका लागि जाने तयारीमा छौँ,म्याद थप भएर आएपछि कामले तीव्रता पाउनेछ,’ थिङ भन्छन्‌, ‘ काम सम्पन्न भएको भुक्तानीमै धेरै समस्या छ ।जसका कारण हामीलाई काम गर्न अप्ठेरो परिरहेकेको छ ।’ उनले अहिले पनि काम गरेको ८ करोड रुपैयाँ भुक्तानी नपाएको बताए ।

एक घण्टामा छिचोल्न सकिने सडक

तराईका जिल्लाबाट जेफाले दुईवटा मार्ग भएर पुग्न सकिन्छ । कोशी राजमार्गको भेँडेटारदेखि डाँडबजार, राजारानी, साम्मेवा हुँदै जेफालेसम्म एउटा बाटो छ ।

इटहरीबाट धरान हुँदै जेफाले ६० किलोमिटर दूरीमा छ भने मोरङको खोर्साने-केराबारीबाट ३५ किलोमिटर छिचोलेपछि जेफाले पुग्न सकिन्छ । जेफाले पुग्न यो सबैभन्दा छोटो बाटो हो ।

छोटो मार्ग भएपनि सडक दूरावस्थाका कारण अधिकांश मानिस धरान-भेडेटार हुँदै जेफाले पुग्ने गरेका छन् । खोर्साने-केराबारीबाट जफालेसम्म सडक तयार भएको अवस्थामा सहज यात्रा गरी बढीमा एक घण्टामै जेफाले पुग्न सकिने जेफाले सामुदायिक होमस्टे चियाबारीकी सञ्चालिका विनाकुमारी सुब्बा बताउँछिन् ।

‘मोरङको दुर्गम क्षेत्रमा पर्ने सिंहदेवी पर्यटन क्षेत्र भए पनि पर्यटकीय पूर्वाधारका लागि सडक अनिवार्य जस्तै हो,’ विनाकुमारी भन्छिन्‌, ‘जेफालेको प्राकृतिक पर्यटकीय सम्भावनालाई राज्यले बुझ्न नसक्नु बिडम्बना हो । जेफाले आउन छोटो पर्ने सडककै दूरावस्थाले यस क्षेत्रको पर्यटन गतिविधिलाई सुस्त बनाइदिएको छ ।’

राईले आन्तरिक पर्यटकहरू जेफाले आउन चाहे पनि बाटोको समस्याकै कारण बीचैबाट फर्किरहेको बताइन् । ‘तराईबाट चिसो हावा खान र रमाउन आउनेहरू बाटोबाटै फर्कियौँ है भन्छन् । हामीलाई दुःख लाग्छ,’ उनले थपिन्, ‘यो सडक समयमै बने यहाँको विकासका टेवा पुग्ने थियो।’

इलाम बिर्साउने चिया बगान, धनकुटाको भेँडेटार बिर्साउने भ्यू टावर र मौसमसँगै जिल्लाको एकमात्र चिया बगानले पनि जेफाले घुम्न पर्यटकहरूलाई लोभ्याउने गरेको छ।

विनाकुमारीका अनुसार सुगम जिल्ला मोरङको दुर्गम क्षेत्र जेफाले डाँडा एक हजार ९७० मिटर उचाइमा रहेको छ । जेफाले डाँडाबाट सूर्योदय, सूर्यास्त, हिमाल, पहाड तथा तराईको दृश्यावलोकन पनि गर्न सकिन्छ । जसकारण पूर्वी नेपालका पर्यटकीय स्थानहरूमध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ गन्तव्यका रुपमा विकास हुँदै गएको उनको भनाइ छ ।

प्रधानमन्त्रीको ध्यानकर्षण

निर्माण कम्पनीको लापरबाहीका कारण लामो समयदेखि सडक अलपत्र रहँदा सास्ती भएको भन्दै केराबारीबासीले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

त्यस क्षेत्रका राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि सहितको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर तत्काल सडक निर्माण अघि बढाइदिन आग्रह गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद्‌ तथा नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, स्थानीय समाजसेवी डिल्लीराम अधिकारी लगायतले राजधानीमा पुगेर सडक निर्माणका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणका चासो दिन ध्यानाकर्षण गराएका छन्‌ ।

जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्लीराम अधिकारीका सडक ठेक्का लागेको पाँच वर्ष भए पनि निर्माणको काम सुस्त छ । स्थानीयले सडक निर्माण समयमै सक्न लागि पटकपटक दबाब दिँदा पनि सुनुवाइ नभएको अधिकारीले बताए ।

‘सडक निर्माण चाँडै सक्न पटकपटक आवाज उठाउँदा पनि कतैबाट सुनुवाइ भएको छैन,’अधिकारी भन्छन्, ‘सडकका कारण जेफाले कागको कुहिरो जस्तै भएको छ, ओझेलमा परेको छ।’

साविक केराबारी गाविसका अध्यक्ष समेत रहेका अधिकारीका अनुसार सडकका कारण वर्षभर पर्यटक जेफाले पुग्ने अवस्था छैन । हिउँदाको समय आठ महिना ज्यान जोखिम मोलेर जेफाले आवतजावत हुने गरे पनि बर्खा लागेसँगै चार महिना सवारीसाधन नै चल्दैन ।

ठेकेदार तथा राज्यमन्त्री तामाङ भन्छन्‌, ‘म्याद नथप्दा काम भएन’

सडक ठेक्का लिएको कान्छाराम कन्स्ट्रक्सनका मालिक ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङले मागेअनुसार म्याद थप नगरेकाले सडकको काम नभएको तर्क गरे । उनले आगामी पुस मसान्तसम्म म्याद भए पनि त्यसपछिको अवधिको म्याद थप गर्न नमादा समस्या भएको बताए ।

‘कोभिड लगायतका विविध कारणले समयमा काम पूरा हुन सकेन,’ राज्यमन्त्री तामाङ भन्छन, ‘म्याद थप्ने काम भएको भएको छैन । काम गरेको १० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नभएको दुई वर्ष नाघ्यो ।’

राज्यमन्त्री तामाङले उल्टै प्रतिप्रश्न गरे, ‘यस्तो मन्दीको समयमा कसरी काम गर्न सकिन्छ ? रकम नदिएपछि कसरी काम गर्ने ?’

‘सरकारी कार्यालय त प्रचलित कानुनी कारबाहीमा जाने तयारीमा रहेछ, के भन्नुहुन्छ ?’ भनी जिज्ञासा राख्दा तामाङले जवाफ दिए, ‘उहाँहरू कानूनी कारबाहीमाा गए कम्पनी पनि जान्छ । कानूनले जे ठहर गर्छ-अब त्यही हुन्छ।’

यद्यपि आफू सो कम्पनीबाट दुई वर्षअघि नै अलग भएको दाबी पनि राज्यमन्त्री तामाङले गरे ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ३ : ३८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन