काठमाडौं– २७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा शनिबार गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई ब्रिफिङ गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री रमेश लेखकले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाबाट भएको क्षति, उद्धार तथा घाइतेहरूको उपचारबारे भारतीय राज्यमन्त्री खड्सेलाई जानकारी गराएका छन् ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए ।
गृहमन्त्री लेखक र भारतीय राज्य मन्त्री खड्सेले त्रिभुवन शिक्षण अस्पतालमा रहेका घाइतेहरूको अवस्थाका बारेमा समेत अस्पताल पुगेर जानकारी लिएका थिए ।
त्यसपछि मन्त्रालयमा आयोजित सङ्क्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले दुखद घटना भएको बताए। उनले मृतकका आफन्तलाई समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।
‘ घाइतेहरुको उपचारका कुनै कसर बाँकी राख्दैनौ ।’ मन्त्री लेखकले भने–’ घटना लगत्तै सुरक्षा निकाय र स्थानीय प्रशासन उद्धारमा खटिएको थियो ।’
त्यसैगरी भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्सेले दुर्घटनापछि नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरे ।
उनले घाइतेहरूको उपचारमा चिकित्सकहरूले देखाएको सक्रियताको प्रशंसा गरे।
‘दुर्घटना परी केही मेरै आफन्तको पनि मृत्यु भएको छ ।’ उनले भने–’उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यवाद ।’
गृह मन्त्रालयका अनुसार घाइते मध्ये तीन जनाको आइसीयु र अन्यको सामान्य कक्षमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।
शुक्रबार घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । सो बसमा ४३ जना यात्रु सवार थिए ।
त्यसैगरी मृतकहरूको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ ।
गृहमन्त्री लेखकसंगको भेटपछि भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री खड्से चितवनस्थित भरतपुर अस्पताल जाने कार्यक्रम तय भएको छ । शव परीक्षणपछि शवहरू भारतीय पक्षको जिम्मा लगाउने र भारतीय पक्षले विमानबाट शव भारत लैजाने तयारी गरिरहेको छ ।
प्रतिक्रिया