शीर्ष क्रमका ब्याटर ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न | Khabarhub Khabarhub

शीर्ष क्रमका ब्याटर ‘फ्लप’ हुँदा संकटतिर नेपाल, टीममाथि नै प्रश्न


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले समर्थकलाई निराश बनाएको छ । आईसीसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेल हारेपछि टिममाथि नै प्रश्न उठ्न थालेको छ ।

क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ । मंगलबार चौथो खेल ओमानसँग खेल्दै छ ।

यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ । नेपालका शीर्षक्रमका ब्याट्सम्यानहरूले जिम्मेवारी बुझ्न सकेको देखिँदैन । हरेक पटक उनीहरू गैरजिम्मेवारीपूर्वक आउट भएका छन् ।

पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल साहले पनि निराश बनाएका छन् । अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।

शीर्ष क्रमका साउदले पछिल्ला ५ खेलयता गत अप्रिलमा आयरल्याण्ड ‘ए’विरुद्ध बनाएको ३६ रन नै सर्वाधिक हो । क्लब र देशका लागि उनले खेलेको विश्लेषण गर्दा पछिल्ला १० खेलमा अर्धशतक पनि हान्न सकेका छैनन् ।

त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल साहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए ।

नेपालका लागि टी-२० विश्वकपसमेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा एक पटक वेस्ट इन्डिज ‘ए’विरुद्ध ५८ रन बनाएको बाहेक अरु इनिङ सम्झनलायक छैनन् ।

यस सिरिजमा सबैभन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एकदिवसीय खेलका स्पेस्लिष्ट मानिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।

त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।

त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याटपनि लामो समय देखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिङमा केवल १३ रन बनाएका थिए ।

यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् ।

विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन छ। पाँच पटक त सिंगल स्कोरमै आउट भएका छन् ।

त्यसैगरी विकेट किपर ब्याट्सम्यान आसिफ शेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन जोडे ।

नेपालको लगातार हार हुनुमा शीर्षक्रमका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन्, आफ्नो र टिमको आत्मविश्वास पनि तोडेका छन् ।

खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को ? जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानलले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए ।

बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा गए, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।

एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिड्छ ? यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरूको हो ।

तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरूले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने पनि हो । के पनि बिर्सनु हुँदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकपसम्म पुर्‍याएका हुन्, तर त्यो कुरा विगत भइसक्यो ।

अब अगाडि बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको खेल विश्लेषकहरू बताउँछन् । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरूलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोमा क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी रहेको उनीहरूको तर्क छ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  २ : ५३ बजे

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ