यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ? | Khabarhub Khabarhub

यो दशैँमा रोकिएला त राजमार्ग छेउका होटलको लुटतन्त्र ?

संघदेखि स्थानीय सरकारको दाबी : ‘कडा अनुगमन भइरहेको छ’



काठमाडौं – दशैंका बेला काठमाडौं उपत्यकाबाटमात्रै कम्तिमा २५ लाख यात्रु बाहिरिने गरेका छन् । देशका विभिन्न क्षेत्रबाट पेसा, व्यवसाय, अध्ययनलगायतको सिलसिलामा काठमाडौं आएका सर्वसाधारणहरू दशैं मनाउन आफ्नो गाउँघर फर्कने गर्छन्‌ ।

सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ घटस्थापनाअघि नै खोल्ने तयारी गरेको छ । टिकट खुलेलगत्तै दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढ्छ ।

काठमाडौंबाट बाहिरिने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनहरूले यात्रुलाई सडक र राजमार्ग छेउछाउकै होटल तथा रेस्टूराँमा खाना खुवाउने गरेका छन् । तर नियामक सरकारी निकायका कर्मचारी, नेता, प्रशासन, यातायात व्यवसायी, चालक, सहचालक र होटल व्यवसायीको मिलेमतोमा अस्वस्थकर र सडेको खाना खान बाध्य पार्ने गरेको यात्रुहरूको गुनासो छ ।

अघिल्ला वर्षका चाडपर्व मनाउन घर आवतजावत गर्दा पनि सडकमा यात्रा गर्ने यात्रुहरूले कहिले खानामा रौँ, किरा, कुहिएको मासु, भातमा बढी सोडा हालेको र गन्ध समेत आउने गरेको गुनासो राख्ने गरेका थिए । स्थानीय प्रशासन र नियामकले भने वर्षेनी चाडबाडका बेला राजमार्गका होटल अनुगमन ‘तीव्र पारिएको’ दाबी गर्ने गर्छन्‌ ।

यस अघिका वर्षमा झैँ दशैँ नजिकिँदा यो वर्ष पनि सरकारले राजमार्ग तथा सडक छेउछाउका होटल-रेस्टूराँहरूको अनुगमन तीव्र पारेको जनाएको छ । मुख्यतः सङ्घीय राजधानी काठमाडौं हुँदै बाहिरिने प्रमुख सडकमार्ग छेउछाउका होटल तथा रेस्टूराँहरूको अनुगमन गर्न थालिएको सरकारी अधिकारीहरूको दाबी छ ।

उनीहरूका अनुसार; सार्वजनिक यातायातमा यात्रारत यात्रुलाई होटल सञ्‍चालकले कस्तो खाना खुवाइरहेका छन्‌ ? गुणस्तर मापदण्ड पालना गरेका छन्‌/छैनन्‌ भनी अनुगमन गर्न थालिएको हो ।

चाडपर्वका बेला राजमार्ग छेउछाउका होटलहरूको सेवा, अवस्था र मापदण्ड पालना गरे/नगरेकोबारे नियमित अनुगमन गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।

‘यात्रुहरूले खाने खानाको गुणस्तर होटल तथा रेस्टूराँहरूले पालना गरेका छन्‌/छैनन्, कस्तो खाना खुवाइरहेका छन्, नियमित अनुगमन भइरहेको हुन्छ’, उनले भने, ‘चाडपर्व नजिकिँदै जाँदा कतिपय ठाउँमा विभाग र कतिपय ठाउँमा विभागसँगै अन्य निकायसँग समन्वय गरी अनुगमन गरिरहेका छौं ।’

विभागले काठमाडौंमा मात्र नभइ उपत्यकाबहिरका सडक छेउछाउका होटल तथा रेस्टूराँमै पुगेर अनुगमन गरिरहेको महर्जनले बताए ।

काठमाडौंबाट बाहिरिँदै गर्दा बसहरू रोकिने र यात्रुले खाना खाने होटल तथा रेस्टूराँहरू नागढुङ्गादेखि मुग्लिङ बजारसम्म अधिक छन् । पृथ्वी राजमार्ग आसपासका थुप्रै होटलहरूले यात्रुलाई खाना खुवाउने गरेका छन् । त्यस क्षेत्रका होटल तथा रेस्टूराँहरूको नियमित अनुगमन भइरहेको महर्जनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन–२४ अनुसार, स्थानीय बजार, पसल र पालिकाभित्रको अनुगमन गर्ने अधिकार स्थानीय सरकारले पनि पाएको छ । त्यसअनुसार पृथ्वी राजमार्ग छेउछाउका होटलहरूको अनुगमन त्यहाँका स्थानीय सरकारहरूले समेत गरिरहेका छन् । खाद्य विभागको समन्वयमा गाउँपालिकाले मुग्लिङ बजार र सडक छेउछाउका होटल तथा रेस्टूराँको अनुगमन गरिसकिएको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।

‘खाद्य विभागको समन्वयमा गाउँपालिकाले मुग्लिन बजार र त्यसआसका होटल तथा रेस्टूराँहरूको अवस्था कस्तो छ भनेर अनुगमन गरिएको थियो,’ उनले भने, ‘एकाध बाहेक अधिकांश होटल तथा रेस्टूराँहरूको सेवा राम्रो देखियो ।’ 

बसहरू यात्रु रोकेर खाना खुवाउने होटलहरूको अनुगमन घटस्थापनापछि पनि गरिने उनले बताए । अनुगमनका क्रममा होटल सञ्चालकहरूले यात्रुहरूको स्वास्थ्यमा प्रतिकूल असर गर्ने खाना खुवाए र सेवामा इमान्दारिता नदेखिए कारबाही गर्ने उनको दाबी छ ।

गत वर्षको गरिएको अनुगमन क्रममा सडक छेउका होटल तथा रेस्टूराँहरूले यात्रुको स्वास्थ्यमा असर पुर्‍याउने काम गरेको भन्दै दुईवटा होटललाई कारबाही गरिएको गुरुङले उल्लेख गरे ।

काठमाडौं उपत्यकाबाट बाहिर जाने अरनिको र बिपी राजमार्ग आसपासका सडक छेउछाउका होटल रेस्टूराँहरूको अनुगमनलाई पनि तीव्रताका साथ अघि बढाइएको त्यहाँका स्थानीय पालिकाहरूले बताएका छन् ।

काठमाडौंको साँगा हुँदै पूर्व जाने बस सञ्‍चालकहरूले अरनिको राजमार्ग हुँदै सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट बजारमा पुर्‍याएर खान खान बस रोक्छन्‌ ।

त्यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टूराँहरूमा गाउँपालिका र खाद्य विभागको संयुक्त टोलीमार्फत अनुगमन गरिँदै आएको गोलन्जोर गाउँपालिकाका प्रवक्ता रेगन राज थापाले बताएका छन्‌ ।

उनका अनुसार; चाडपर्व सुरु भइसकेकाले उपभोक्ता र यात्रुहरूको स्वास्थ्यमा असर नपुर्‍याउन बजार अनुगमन थप तीव्र पारिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वयमा पालिकाले आगामी असोज १२ पछि संयुक्त अनुगमन तीव्र पार्ने उनले जानकारी दिए ।

त्यसैगरी, नारायणगढ-बुटवल सडकखण्डको दाउन्ने र बर्दघाटलगायत सडक छेउछाउका होटल रेस्टूराँमा पनि अनुगमन बढाइएको विभागले दाबी गरेको छ । विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग छेउछाउ, हुलाकी, मध्यपहाडी र अन्य सडक राजमार्गका आसपासका होटल तथा रेस्टूराँको अनुगमन पनि थप तीव्र पारिएको छ ।

स्थिति उल्टो

राजमार्ग छेउछाउका होटल तथा रेस्टूराँको अनुगमन तीव्रतासाथ अघि बढाएको दाबी गरे पनि आम उपभोक्ता तथा यात्रुहरूले स्वस्थ्य र गुणस्तरीय खाना खाजा खान नपाइरहेको गुनासो गरेका छन्‌ ।

यो समस्या निमिट्यान्न पार्न विशेषगरी स्थानीय सरकारले निःस्वार्थ ढङ्गले बजार अनुगमन तीव्र गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्‌ ।

‘राजमार्ग छेउछाउका होटल तथा रेस्टूराँहरूले स्वस्थकर खाना खाजा खुवाइरहेका छैनन् भनी यात्रुहरूले गुनासो गरिरहनुभएको छ,’ उनले भने, ‘स्थानीय पालिकाले थप कडाइसाथ अनुगमन गर्नुपर्छ । कर्मकाण्डी अनुगमनले बजार सुध्रिँदैन ।’

राजमार्ग छेउछाउका होटलमा खाद्य स्वच्छता र उचित मूल्य कायम गराउन केन्द्र सरकारमातहत निकाय, प्रदेश र स्थानीय तहले आपसी समन्वयमा अनुगमन प्रभावकारी बताउनुपर्ने तिमिल्सिनाले बताए ।

चाडपर्वका बेला हुने बजार अनुगमनलाई थप व्यवस्थित तथा प्रभावकारी रूपमा अघि बढाउन पहल गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ४ : ३५ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई