मुक्तिनाथमा पुग्दै दैनिक चार हजार पर्यटक  « Khabarhub

मुक्तिनाथमा पुग्दै दैनिक चार हजार पर्यटक 


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ । दसैँ सकिएलगत्तै मुक्तिनाथमा दैनिक करिब चार हजार धार्मिक पर्यटकको आगमन हुन थालेको हो । 

मौसम सफा भएसँगै मुक्तिनाथ दर्शन गर्न र मुस्ताङको पर्यटकीय स्थलहरूको भ्रमणमा आउने पर्यटकहरू उल्लेख्य मात्रामा वृद्धि भएका मुक्तिनाथ विकास समितिका व्यवस्थापक रबिन सुवेदीले बताए। उनका अनुसार पछिल्लो एकसातायता दैनिक चार हजार बढी धार्मिक पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरिरहेका छन् ।

दसैँ तिहारको बिदाको समयलाई उपयोग गर्दै दैनिक हजारौँ पर्यटक म्याग्दी हुँदै मुस्ताङ भित्रिने गरेका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांशको पहिलो रोजाइ मुक्तिनाथ पर्ने गरेको छ । मन्दिर नजिक रानीपौवा बजार क्षेत्रमा ३५ वटा सुविधायुक्त होटल सञ्चालनमा रहेका बताउँदै व्यवस्थापक सुवेदीले अहिले सबै होटल दैनिकजसो धार्मिक पर्यटकले भरिभराउ हुने उल्लेख गरे।

इलाका प्रहरी कार्यालय मुक्तिनाथका अनुसार अहिले आउनेमध्ये ८० प्रतिशत आन्तरिक पर्यटक छन् । विदेशी पर्यटकमध्ये अधिकांश छिमेकी मुलुक भारतका छन् । चक्रीय अन्नपूर्ण पदमार्गको थोराङभञ्ज्याङ चढेर आउने तेस्रो मुलुकका पर्यटकले पनि मुक्तिनाथको दर्शन गर्ने गरेका मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बिदाको समयमा विद्यालय, क्याम्पस, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा युवाहरू सडकमार्ग प्रयोग गरेर मुक्तिनाथ पुग्ने गरेका विकास समितिका व्यवस्थापक सुवेदीले बताए।

सामान्य अवस्थामा मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द रहने भएपनि दशैँलगत्तै दिनभर भक्तजनहरूको घुइँचो लाग्न थालेपछी बिहानदेखि बेलुकीसम्म पूजाआजा र दर्शनका लागि मन्दिरलाई खुला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। 

‘भक्तजनलाई लाइनमा बसेर सहज रुपमा पूजा र दर्शन गर्ने प्रबन्ध मिलाएका छौँ । अशक्त र वृद्धवृद्धाले लाइन बस्नु पर्दैन । मुक्तिनाथको महिमा र प्रचारप्रसारले प्रत्येक वर्ष यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ’, उनले भने। 

मुक्तिनाथमा दर्शन गर्नाले मनोकामना पूरा हुने र सुख, शान्तिको बास हुने जनविश्वास रहेको छ । मन्दिर परिसरमा रहेका एक सय आठ धारा र मन्दिरको अगाडि रहेको जलकुण्डमा स्नान गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सुवेदीले जानकारी दिए। 

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेसहित म्याग्दीका अधिकांश होटल भरिभराउ भएका छन् । पर्यटकको आगमन बढे्सँगै आयआर्जन वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  २ : ११ बजे

झापामा वित्तीय अपराध बढ्दो, एक वर्षमा ३७३ मुद्दा दर्ता

झापा– डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि

विश्वकप लिग-२: नेदरल्यान्ड्स शृङ्खला भोलिदेखि, पहिलो खेलमा नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

रौतहट प्रहरीबाट एक वर्षमा ४४८ फरार प्रतिवादी पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न

च्याउ टिप्न निकुञ्ज छिरेका कञ्चनपुरका १४ जना महिला सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौँ – कञ्चनपुरमा च्याउ खोज्न जंगल गएका १४ जना महिला

चार महिनामा तीन हजार ४३५ विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि हालसम्म विपदमा परेर १६६ जनाको ज्यान गएको