फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना | Khabarhub Khabarhub

फोहोर विवादले एमाले–बालेन टकराव, राप्रपाले तिरेको थियो महानगरलाई जरिवाना

नारायणहिटी अगाडिको सडक नै किन रोज्छन् ओली ?



काठमाडौं– सत्तारुढ नेकपा एमालेले आफ्नो सभास्थलका रुपमा नारायणहिटी दरबार संग्रहालाय अगाडिको सडकलाई रोज्दा धेरैले अनौठो मान्ने गरेका छन् ।

तत्कालीन नेकपामा विवाद भएदेखि नै एमाले अध्यक्ष ओलीले नारायणहिटी दरबारअगाडि शक्ति प्रदर्शन गर्दै आएका छन् । तत्कालीन नेकपा विवादको बेलामा ओलीले आफ्ना कुरा राख्न नारायणहिटी दरबारअगाडिको सडक नै रोजेका थिए ।

त्यसपछि गत असोज ३ गते संविधान दिवस मनाउँदा पनि प्रधानमन्त्री ओलीकै इच्छामा नारायणहिटी दरबारअगाडि कन्सर्ट गरिएको थियो ।

ओलीले यही मंसिर ७ गते पनि त्यही थलोमा सभा गरे । काठमाडौं, ललितपुर, भक्तपुर का एक लाख मान्छे उतार्ने भनिएको सभामा करिब १५ हजार मात्रै सहभागी देखिए । यो सभा भृकुटीमण्डपमा गर्ने तयारी थियो । तर त्यहाँ ठाउँ नपुगेको भन्दै एमालेले नारायणहिटी दरबारअगाडिको सडक छेकेर सभा गर्न पुग्यो ।

नारायणहिटी दरबारअगाडि सभा गरेर एमालेले अतिआवश्यक साधनहरू पनि गुड्न नदिएको गुनासो आएको छ । एक लाख मान्छे उतार्ने भनेको एमालेलाई काठमाडौं महानगरपालिकाको कार्यालयले एक लाख रुपैयाँ जरिवाना तोकेपछि विवाद नयाँ दिशामा अघि बढेको छ । फोहोर मैला गरेबापत महानगरले जरिवाना तोकिएपछि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू आक्रोशित छन् । उता जरिवाना तिर्न अटेर गरेको भन्दै महानगर प्रमुख बालेन्द्र साहका समर्थक एमालेमाथि खनिएका छन् ।

नारायणहिटीअगाडि नै सभा किन ?

काठमाडौंमा कतै पनि सभा गर्न ठाउँ नमिलेपछि नारायणहिटी अगाडिकै सडक रोज्नु परेको एमाले सचिव योगेश भट्टराई बताउँछन् । सुरुमा सभा भृकुटीमण्डपमा गर्ने तयारी भए पनि सहभागी अट्ने ठाउँ नभएपछि विकल्प दरबारमार्ग रोजिएको बताउँछन् । सवारीसाधनको कम चाप हुने भएकाले दरबारमार्गमै सभा गरिएको उनको तर्क छ ।

‘राजनीतिक दलको कार्यक्रम गर्ने ठाउँ टुँडिखेल पनि महानगरले सञ्चालन गर्न दिएको छैन । माइतीघरमा पनि कार्यक्रम गर्ने पर्याप्त ठाउँ छैन । ठूलो कार्यक्रम भएकाले भृकुटीमण्डपमा पनि सम्भव भएन’, उनले भने, ‘कि खुल्लामञ्च खाली गरिदिनु पथ्र्यो । नत्र एमालेले दरबारमार्गमा गरेको कार्यक्रमको विरोध गर्नु भएन । दलले खास कहाँ कार्यक्रम गर्ने हो, त्यो ठाउँ त खाली गर्नुपर्थ्यो नि ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि दलहरूले ठूला सभा काठमाडौंको खुल्लामञ्चमा गर्थे । खुल्लामञ्चलाई काठमाडौं महानगरले सम्म्याइरहेको छ । त्यहाँ दलहरूले कार्यक्रम गर्न पाएका छैनन् ।

एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौला पनि टुँडिखेल बन्द भएकाले सवारी चाप कम हुने नारायणहिटी दरबार रोज्नु परेको बताउँछन् । उनी खोजी गर्दा सबैभन्दा उत्तम नारायणहिटी दरबारअगाडिको सडक देखेपछि निर्णय भएको बताउँछन् ।

‘कम प्रेसर पर्ने ठाउँ नियाल्दा दरबारमार्ग देखियो । टुँडिखेल बन्द छ । हामीलाई कार्यक्रम गर्न समस्या भयो’, उनले भने, ‘हामीले त्यहाँका व्यवसायीसँग पनि कुराकानी गरेर कार्यक्रमस्थल निर्धारण गरेका हौँ । त्यहाँको विकास समितिको सहयोग पनि थियो । समितिका अध्यक्ष र सचिवलाई औपचारिक पत्र नै दिएर कार्यक्रम गरेका हौँ ।’

खुल्लामञ्चबारे के भन्छ महानगर ?

खुल्ला मञ्चलाई सुविधासम्पन बनाउने काम भइरहेकालो प्रयोगमा ल्याउन समस्या भइरहेको काठमाडौँ महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले बताउँछन् ।

‘वीर अस्पताल बनाउँदा साना टहरा र निमार्ण सामाग्री राखेकाले जमिनको सतह बिग्रिएको छ । रड, ढुङ्गा, सिसाका टुक्रा, काँटी छरिएकाले तत्काल प्रयोग गर्न असहज छ । कार्यक्रम गर्न आउनेलाई नै समस्या हुने कारण ८० लाख खर्च गरेर निमार्ण गरिरहेका छौँ’, काफ्लेले भने, ‘छेउ छेउमा मनिङ वाल्क गर्न मिल्ने, कार्यक्रम गर्दा उभिएर हेर्न पनि मिल्ने, कार्यक्रम नहुँदा बालबच्चालाई फुटबल, भलिबल खेल्न मिल्ने गरी निर्माण हुँदैछ । सकिनेबित्तिकै बहुप्रयोगमा ल्याउ सकिने हुन्छ ।’

रत्नपार्क र सडकभन्दा खुल्लामन्चको सतह तल गएपछि माटो लगाएर पुर्ने काम पनि महानगरले जनाएको छ । ‘रत्नपार्क र सडकभन्दा मञ्च भएको क्षेत्र होचो हुने अवस्था आइसकेको थियो । त्यसले वीर अस्पतालतर्फको सडकको पानी जम्ने अवस्था थियो’, उनले भने, ‘त्यसलाई पनि व्यवस्थापन समय लागेको हो । मंसिर मसान्तसम्म कार्यक्रम गर्नेगरि खुल्ला मञ्च बन्छ ।’

सात महिनादेखि महानगरले खुल्लामञ्च बनाइरहेको छ । महानगरले टहरा भत्काउन जबरजस्ती गर्नुपरेको थियो डेढ वर्षदेखि खुल्लामञ्चमा कार्यक्रम हुन सकेको छैन ।

एमाले र मेयरको टसल

एमाले र काठमाडौं महानगरबीच विभिन्न विषयमा नोकझाेंक भइरहेको छ । विशेषतः काठमाडौं महानगरमा स्वतन्त्र मेयर बालेन्द्र साह र एमालेका जनप्रतिनिधि र नेताहरूबीच विवाद देखिएको थियो । एमालेको तर्फबाट ०७९ को निर्वाचनमा उम्मेदवारी दिएका केशव स्थापित र बालेन्द्रबीच सुरुमै नोकझोंक परेको थियो ।

बालेन चुनावी मैदानमा रहँदा स्थापितले ¥यापर केटो आफूसँग भिड्न आएको भन्दै व्यङ्ग्य गरेका थिए । तर मतपरिणाममा स्थापित तेस्रो भए । बालेनले ६१ हजार ७६७ मत ल्याउँदा दोस्रो भएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै स्थापितले ३८ हजार ११७ मत ल्याए ।

बालेन निर्वाचित भएको ४ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निमन्त्रणामा जेठ ०७९ जेठ जेठ १६ गते बालकोट पुगेका थिए ओलीले बालेनलाई सहयोगको बचन पनि दिए । ओली युवालाई सहयोग गरे जस्तो गर्नमा सिपालु रहेका राजनीतिक विश्लेषक हरि रोक्काले यसअघि बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि ओलीले सुरुमा साथ दिए, गृहमन्त्री बनाए । तर अहिले उनै प्रधानमन्त्री हुँदा रवि पक्राउ परेर ३६ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

बालेन र ओलीको भेटघाट एक समय बाक्लो थियो । ०७९ असारमा बालेन आफ्नो टीम लिएर बालकोट पुगे । त्योबेला ओलीले बालेनलाई तबला उपहार दिए । हुन त बालेन र्‍यापर नै हुन् । उनले बजाउने यन्त्र तबला थिएन । उनी गितार र हार्मोनियम बजाउँथे । त्यसबेला ओलीले दिएको तबला बोकेर उनी फर्किएका थिए ।

ओलीसँग बालेनको सम्बन्ध लामो समय राम्रो रहेन । महानगरको फोहोर नउठेपछि सम्बन्ध बिग्रिन थाल्यो । बालेनले ओलीविरुद्ध सामाजिक सञ्जालमा श्रृंखलाबद्ध लेखिरहे । ओलीले पनि बालेनलाई केटाकेटी भनिदिए । बालेनको निर्देशनमा धरहरामा पार्किङ खुलाएपछि ओली बिच्किए । यति मात्रै होइन, दमकमा ओलीको पहलमा निर्मित बिजनेस टावरलाई बालेनले अग्लो घरको संज्ञा दिँदै फेसबुकमा लेखे ।

एमालेबाट भौतिक पूर्वाधार मन्त्री भएका रघुवीर महासेठलाई त बालेनले फोहोर उपहार नै पठाइदिए । त्यसपछि ओली झन् आक्रोशित भए । न्यूरोडमा सडक पेटी विस्तारका क्रममा महानगर र सडक विभागबीचको विवादमा एमालेले बालेनको आलोचना गर्ने सुरु गर्यो । त्यसपछि एमाले सचिव योगेश भट्टराई सदनमा बोले ।

एमालेबाट निर्वाचित वडाअध्यक्ष चिनीकाजी महर्जनले बालेनले क्षेत्राधिकार मिचेर न्यूरोडमा सडक पेटी विस्तार गरेको भन्दै आपत्ति जनाए । बालेनले बैठक छाडेर फेसबुकमा लेखेको भन्दै एमाले र कांग्रेसका जनप्रतिनिधिले उनलाई घेरे । सडक पेटी विस्तार विवाद अदालतमा पुगेपछि निर्माणले गति लिएर न्यूरोड सफा भएको छ ।

बालेनले झापास्थित गिरिबन्धु टी–स्टेट प्रकरणमा ओलीसहित क–कसको संलग्नता छ भन्दै फेसबुकमा लेखे । त्यसपछि बालेनका समर्थकले ओलीको फेसबुक पेज अनफलो अभियान चलाए । यता काठमाडौं उपत्यकाभित्र नदीको दायाँबायाँ अतिरिक्त थप २० मिटरमा निर्माण गर्न अनुमति नदिने सर्वोच्चले फैसला सुनायो । त्यसपछि सत्ताधारी एमाले र महानगरबीचको विवाद झन् बढ्यो । फैसलाको पूर्णपाठ नआउँदै बालेन डोजर लिएर कुदेपछि एमालेले आपत्ति जनायो ।

यता बालेनले ०८१ जेठ १४ मा एमाले नेतृ तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माको बालुवाटारस्थित घरबाट एक बालिकाको उद्धार गर्‍यो । त्यसलगत्तै जेठ २५ मा ओली चितवन पुगेर बालेनलाई भैँसीको ढाडमा बसेको झिँगा भन्दै सम्बोधन गरे । ‘भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर’, उनले भनेका थिए । त्यसपछि बालेनले ओलीलाई सम्बोधन गरेर फेसबुकमा लेखे । उनले रेखा शर्मालाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरे ।

मेयर बालेन र एमालेबीच शीत युद्ध चलिरहेका बेला शुक्रबार दरबारमार्गमा एमालेले गरेको कार्यक्रममा सडक तथा सडक पेटीमा जथाभाबी फोहर मैला गरी वातावरण प्रदूषण गरेको भन्दै फोहर मैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय आयो ।

नगर प्रहरी निरीक्षक लीलाराजा गाछाले लेखेको पत्रलाई एमालेले आफूमाथिको प्रहार भनेर स्वीकारेन । जरिवाना नतिरेपछि आइतबार च्यानलस्थित एमाले कार्यालयमा भ्यानसहित नगर प्रहरीको टोली पुग्यो । तर कार्यालयका कर्मचारी चन्द्रदेव पासवानले पत्र बुझेनन् । त्यसपछि प्रहरीको टोली पत्र फिर्ता भयो ।

किन लिएन एमालेले चिठी ?

एमाले केन्द्रीय कार्यालयका सदस्य पासवानका अनुसार महानगरले लेखेको पत्र पार्टी कार्यालय च्यासलका नाममा थियो । तर नारायणहिटी दरबारअगाडि शुक्रबार कार्यक्रम गर्ने एमाले केन्द्रीय कमिटी नभएर उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर हो । महानगरले आयोजकलाई लेख्नुपर्ने पत्र च्यासलमा पठाएको थियो ।

किन पत्र नबुझ्नुभएको भन्ने खबरहबको प्रश्नमा पासवान भन्छन्, ‘हामी केन्द्रीय कार्यालय यसको आयोजक होइन । अनि, हामीलाई सम्बोधन गरेर लेखेको पत्र कसरी बुझ्ने र ?’

एमाले काठमाडौं जिल्ला अध्यक्ष निरौला पनि आयोजकलाई पत्र नलेखेर महानगर प्रहरीले पार्टी केन्द्रीय कार्यालय जानु हास्यास्पद र सुनियोजित भएको तर्क गर्छन् । उनी महानगर प्रहरीले के का आधारमा पत्र लेखेको भन्दै प्रश्न गर्छन् ।

‘एमालेलाई महानगरका केही व्यक्ति योजना बनाएरै खेद्न लागेको देखिन्छ । तर एमाले यस्ता व्यक्तिको पछि लाग्दैन । शुक्रबार १ बजे बिदा हुने महानगरले कसरी ५ बजे पत्र लेख्छ ?’, उनले सोधे, ‘त्यो पनि सञ्चारमाध्यममा आएपछि थाहा भयो । आयोजक को हो थाहा छैन ? फोहोर सफा गरेर गाडी पठाइदिनु भन्दा पत्र सार्वजनिक भयो । हामीले त फोहोर सफा गरेकै थियौँ । ललितपुर महानगरले फोहोर उठाउने गाडी पठाइदियो, तर काठमाडौं महानगरले रवैया देखायो ।’

उनले आयोजकलाई आधिकारिक रूपमा पत्र नआएकाले त्यो मिडियाबाजी गर्ने मेलो मात्रै भएको दाबी गर्छन् । एमालेले यस्ता कार्यक्रम धेरै गरेकाले आफ्नो फोहोर आफैँ सफा गर्ने उनले सुनाए ।

यता एमाले सचिव भट्टराई पनि काठमाडौं महानगरका मेयर बालेन्द्रले एमालेसँग विभिन्न कुरामा टकराव गरिरहेकाले ठिक नभएको तर्क गर्छन् । ‘सम्भवतः यो मेयर सावको योजना होला । एउटा राजनीतिक दल र स्थानीय तहको साझेदारी महत्त्वपूर्ण हुन्छ’, भट्टलाईले भने, ‘हाम्रा साथीहरूले फोहोरको गाडी पठाइदिनुभन्दा नपठाएर पत्र लेखिएछ । एमालेले चाहिँ काठमाडौं महानगरपालिकालाई कारबाही गर्छ । फाहोर उठाउने गाडी नपठाएकोमा ।’

पत्रबारे के भन्छ महानगर ?

महानगरका सहायक प्रवक्ता काफ्ले फोहोर मैलासँग सम्बन्धित विषयलाई राजनीति गर्न नमिल्ने बताउँछन् । उनी महानगरअनुसार फरक फरक कानुन हुने भन्दै बुझ्न आग्रह गर्छन् । नगर सभाले पास गरेको कानुनमा व्यवस्था भएअनुसार कारबाही गरेको भन्दै यसलाई विषयान्तर गर्ने नमिल्ने उनको तर्क छ ।

‘आरोप एक व्यक्तिलाई लगाइयो । काठमाडौं महानगरले कसले फोहोर गरेको छ, उसलाई जरिवाना गराउने हो । हामीले पत्र कार्यक्रम सकिएपछि नै लेखेको हो’, उनी भन्छन्, ‘कर्मचारी कति समय बस्छन्, आएर हेर्नुभए हुन्छ । कार्यक्रम सकिनेबित्तिकै फोहोर सफा गर्न सूचना पठाइयो । सफा गरिदिएको भए हुने थियो । ललितपुरले कानुनमा भएकाले फोहोर बोक्ने गाडी पठायो होला । हामी जसले फोहोर गर्छ, सफा नगरे गर्नुपर्छ, नत्र कानुन अनुसार कारबाही हुने व्यवस्था गरेकाले ऐन अनुसार चिठी काटिएको हो ।’

एमालेले कार्यक्रमबारे कुनै जानकारी नदिएको पनि उनले बताए । ‘हामीलाई कार्यक्रमबारे थाहा भएन । सूचना पनि दिइएन । कार्यक्रममा आपत्ति छैन । तर जनकारी पनि भएन । जरिवाना भएपछि मात्रै सूचना गराइयो’, उनले भने ।

यता निरौला कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको भन्दै महानगरलाई यसबारे थाहा दिनु आवश्यक नरहेको दाबी गर्छन् ।

राप्रपाले तिरेको थियो जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ०८० चैत २७ गते काठमाडौंमा गरेको जनप्रदर्शनका क्रममा फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति गरेको भन्दै महानगरले जरिवाना तिराउने निर्णय गरेको थियो ।

५ हजार जरिवाना र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले जरिवाना गरेको थियो । राप्रपा नेता नीलकण्ठ काफ्लेका अनुसार तोकिएको जरिवाना पार्टीले तिर्ने निर्णय गरेको थियो ।

‘मुख्यसचिव बाहिर गएकाले तिर्नुभयो या भएन ठ्याकै थाहा भएन । तर बैठकमा महानगरको सम्मान गर्दै तिर्ने निर्णय भएको थियो’, काफ्लेले खबरहबलाई भने, ‘गरेको गल्तीको सजाय त भोग्नुपर्‍यो नि !’

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : २६ बजे

अनुमति नलिएका क्यासिनोलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइने

काठमाडौं–  सरकारले अनुचित लेनदेन, खेलमा मिलोमतो र अनुमति नलिई क्यासिनो

सञ्चार क्षेत्रलाई थप मर्यादित बनाउन मन्त्री गुरुङको आग्रह

काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई

ज्येष्ठ नागरिकलाई सम्मान गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको सीप, अनुभवलाई युवा

कर्मचारीको आन्दोलनप्रति नेपाल नर्सिङ संघको ऐक्यबद्धता  

काठमाडौं– लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको

एनसेलको शेयर बिक्री रोक्न अमरेशकुमार सिंहले हालेको रिट खारेज

काठमाडौं – स्वतन्त्र सांसद्‌ अमरेशकुमार सिंहले दूरसञ्‍चार कम्पनी एनसेलको शेयर