ब्लग : आध्यात्मिक अयोध्या | Khabarhub Khabarhub

ब्लग : आध्यात्मिक अयोध्या

राम मन्दिर बन्यो, कहिले बन्ला ‘बाबरी मस्जिद’ ?


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

जनवरी २२ मा राम जन्मभूमि अयोध्यामा भव्य उत्सव थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन गरेर विश्वभरका हिन्दुहरूको ध्यान केन्द्रित गरे । सम्भवतः इतिहासमा कुनै मन्दिरको यति तामझामका साथ भव्य उद्घाटन भएको यो नै पहिलो घटना थियो ।

नेपालबाट पनि हामी केही पत्रकारहरू ‘पर्यवेक्षक’ का रूपमा अयोध्या पुग्यौँ ।

लाखौँ भक्तजनलाई साक्षी राखेर भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरको उद्घाटन गरे । उनले मन्दिरमा पूजा गरेर आफ्नो ११ दिने व्रत तोडे ।

एघार दिनसम्म मोदीले खाना नखाई नरिवलको पानी मात्र पिएको भारतीय सञ्चार माध्यमको दाबी थियो ।

आध्यात्मिक शहर


भगवान् रामले जल समाधि लिएको भनिएको स्थान सरयू घाटप्रतिको हिन्दुहरूको आस्था अद्भूत छ । तालु चिस्सिने चिसोमा पनि खाली खुट्टा मन्दिर दर्शन गर्न आउने भक्तजनको आस्थाले मन्दिर उद्घाटनको तामझाम स्वाभाविक लाग्थ्यो ।

एक साता हुस्सुले घाम छेक्दा पनि अयोध्याबासीको धार्मिक आस्था छेकिएन । पुसको ठण्डीमा पनि बिहानै सरयू नदीमा स्नान गर्नेको संख्या उल्लेख्य देखिन्थ्यो ।

सेरोफेरोमा शुद्ध शाकाहारी होटल । मदिरा पसल कतै भेटिँदैनन् । यतिसम्म कि चिया पसलमा साहूजीले खाली खुट्टा सेवा गर्दा रहेछन् । कारण– हिन्दू धर्मको नियमअनुसार चुलोमा जुत्ता–चप्पल लगिँदैन ।

चिया पिएर चोखो हुन हात धुने, त्यहाँको सामान्य कर्म रहेछ । जुठो हात हुने भएकाले चिया पिउँदै पत्रिका नपढ्नेसम्म भेटिँदा रहेछन् । कारण– सरस्वती मातालाई जुठो हातले छुनुहुँदैन ।

अभिवादनका रुपमा ‘जय सियाराम’ खुबै प्रचलित । बच्चादेखि बुढासम्म धार्मिक आस्था उस्तै । स्कुल पढ्ने बच्चाको चेतना पनि भगवान रामको मर्जीले आफ्नो भविष्य निर्धारण हुन्छ भन्ने भेटियो ।

रामको ससुराली नेपाल भएको मान्यताका कारण नेपालीलाई सम्मानका साथ हेरिने त्यहाँको अर्को धार्मिक पक्ष रहेछ ।

नेपालीलाई चिढ्याउनुहुँदैन भन्ने यहाँका मानिसहरू धार्मिक विश्वासमा राख्दा रहेछन् । यो सम्बन्धलाई उनीहरुले राम-सीताको विवाहको कथनसँग जोड्ने रहेछन् ।

मुगल सम्राटले बाबरी मस्जिद बनाएयता पाँच सय वर्षको लडाइँ जितेको भनेर अयोध्याका हिन्दूमा खुसीको सीमा छैन । हिंसात्मक दंगाका बेलाको पारिवारिक दुःखान्त बिर्सन उनीहरूले राम मन्दिरको उद्घाटनलाई नयाँ बाहना पाएका छन् ।

प्राण प्रतिष्ठामा सहभागी अनुमानित ९९ प्रतिशतभन्दा बढीले राम मन्दिरको नजिकबाट दर्शन गर्न पाएका छैनन् तर उनीहरुको उत्साह भने उदेकलाग्दो छ ।

राम मन्दिर उद्घाटनका दिन उनीहरुले आफ्नो जेथाले भ्याएसम्मको दीपावली मनाए । यो देख्दा उनीहरूमा धर्मप्रतिको आस्था शब्दमा व्यक्त गर्न सकिँदैन । अयोध्यामा सबैको मुखमा कुनै शब्द छ भने त्यो हो– जय सियाराम । यस्तो लाग्छ, सिंगो शहर आध्यात्मिक छ ।

युवा धर्मगुरु


अयोध्यामा युवा धार्मिक गुरुको संख्या उल्लेखनीय छ । तर त्यहाँको कार्यक्रममा भने युवा पुस्ताको सहभागिता अलि देखियो । सहभागी हुनेहरूको धार्मिक आस्था निकै मजबुत छ ।

नेपालको मन्दिर परिसरमा दुर्व्यसनमा फसेका युवाले बाक्लै भेटिन्छन् । तर, त्यहाँ त्यस्तो दृश्य देख्न मुस्किल पर्छ । त्यहाँ जो मन्दिरमा पुग्छ, उनीहरु धार्मिक आस्थाको आकर्षणले नै पुगेका हुन्छन् ।

युवा पुस्तामा धर्मप्रतिको राग गहिरो छ । कलिलो उमेरका पण्डितहरू ठन्डी बिर्सिएर आफ्नो पहिरनमै केन्द्रित छन्, जुन कुरामा उनीहरूलाई कुनै बिस्मात छैन ।

पहिलाको अयोध्या
अयोध्या त्रेतायुगमा जन्मिएका रामको जन्मभूमि हो भन्ने हिन्दू धर्मावलम्बीहरुको विश्वास छ । विभिन्न हिन्दूग्रन्थमा अयोध्याले ठूलो स्थान पाएको छ ।

पछिल्लो ५०० वर्षको कुरा गर्ने हो भने सन् १५२७ मा जहिर उद–लिन मुहमद (बाबरले) यहाँ बाबर मस्जिदको निर्माण गरेका थिए । मुगल सम्राज्यका स्थापक बाबरले रामको मन्दिर मासेर बाबरी मस्जिद बनाएको भन्ने दाबी हिन्दूहरुको छ । सोही तर्कका आधारमा हिन्दूवादीले सन् १९९२ मा बाबरी मस्जिद भत्काए । यसले उब्जाएको हिंसाको बिउ निकै मौलायो ।

यो विवादमा हिन्दू र मुस्लिम गरी करिब दुई हजार भारतीय मारिएको अनुमान छ । त्यो मुद्दा अदालतसम्म पुग्यो र सन् २०१९ मा अदालतले हिन्दूको पक्षमा फैसला सुनायो । हिन्दूहरुले ५०० वर्षको लडाइँ जितियो भनेर खुशी प्रकट गरे ।

ट्रस्ट स्थापना गरेर नागरिक स्तरबाट चन्दाको आह्वान गरियो । २०२० देखि निर्माण सुरु गरिएको मन्दिर कोभिड महामारीका कारण सन् २०२४ मा बल्ल उद्घाटन भयो । निर्माणको केही काम भने अझै बाँकी छ ।

अहिलेको अयोध्या


मोदीले उद्घाटन गरेको राममन्दिर करिब ६० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । अहिलेसम्म यो मन्दिर निर्माणका लागि २१.७ करोड डलर खर्च भइसकेको छ । पूरा निर्माण भने भइसकेको छैन ।

यो मन्दिर परम्परागत शैलीमा अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको छ । यहाँ फलाम, स्टिल र सिमेन्टको प्रयोग नगरिएको दाबी गरिएको छ ।

गर्भगृहमा राखिएको भगवान रामको प्रतिमा १.३ मिटर उचाइको छ । यो काला पथ्थर कुदेर बनाइएको हो । नागारा शैलीमा बनाइएको यो मन्दिर तीनतलाको छ । मन्दिरमा ४६ वटा ढोका छन्, जसमध्ये ४२ वटामा सुनको जलप लगाइएको छ ।

यो मन्दिर पूर्णरुपमा खुला भएपछि दैनिक एक लाख धार्मिक पर्यटन भित्र्याउने लक्ष्य राखिएको छ ।

बाँदर आतंक


हिन्दु धर्ममा महत्वपूर्ण स्थान पाउने जंगली जनावर हो, बाँदर । बाँदरलाई हनुमानका सेनाका रुपमा रामायणमा चित्रण गरिन्छ । अयोध्या सेरोफेरो आधुनिक हनुमानको चित्रकला पनि रोचक रहेछन् ।

अयोध्या क्षेत्रमा ठूलो जंगल छैन । सोही कारण बाँदरले बस्तीमै अड्डा जमाएका छन् । रातभर खान नपाएर भोकाएका बाँदरले बिहान मानिसमा आक्रमणको प्रयास पनि गर्दा रहेछन् । विशेष गरी बस्तीमा नयाँ देखिएकालाई ।

त्यहाँ बाँदरको लुटबाट बच्न पसलमात्र होइन, घरमा समेत जाली लगाइन्छ ।

पोका पारेर राखिएको फोहोर बाँदरको बदमासीले छरपष्ट हुँदा अयोध्या क्षेत्र दुर्गन्धित बन्न मद्दत पुगेको भान हुन्छ । यहाँ राम मन्दिर बनेपछि र लाखौं भक्तजन आउने भएपछि अब हनुमानका सेनारुपी बाँदरहरु पनि आहारा खान पाइने भएकाले पक्कै खुशी हुनेछन् ।

कमजोर ट्राफिक नियम
आधुनिक अयोध्याको कमजोर पाटो भनेको ट्राफिक नियम पालनामा देखियो । हेलमेट नलगाई मोटरसाइकल र स्कुटर हाँक्नु त्यहाँ सामान्य हो । प्रहरीले पनि यो नियम पालना गर्दैनन् ।

सडक लेनको पालनामा अयोध्या झनै पछि छ । एक हातले दुई पाङ्गे सवारी हाँक्दा दुर्घटनाको जोखिम बढी भएको पाइन्छ । फोन गर्दै सवारी हाँक्नु अयोध्याका लागि नौलो विषय होइन । महिला पुरुष दुवैमा यो लागू भएको देखियो ।

जनसङ्ख्याको चाप बढी नै छ । त्यहाँमाथि हर्नको कोलाहलले अयोध्याको सुन्दरतामा ह्रास ल्याउन सहयोग भने पक्कै पुगेको छ ।

स्पोन्सरमा प्रहरी थानाको बोर्ड


नेपालमा सरकारी कार्यालयका बोर्डमा विज्ञापनदाताको संलग्नता धेरै बढिसकेको छैन । पसलका बोर्डमा भने विभिन्न ब्रान्ड हाबी छन् । उता अयोध्याको लक्ष्मणघाट प्रहरी चौकीमा कोकोकोला स्पोन्सर बोर्ड भेटियो । यो भने आम नेपालीका लागि आश्चर्यको विषय नै हो । अझ प्रहरी थानाको वोर्डमासमेत विज्ञापनदाताकै हाबी देखिनु झनै नौलो कुरा हो । सायदै यो विषय विश्वमा विरलै भेन्टिछन्

तर प्रहरीको भने यहाँ एकदमै सम्मान गरिएको पाइयो । प्रहरीले हर कोहीलाई दोहोर्‍याएर एउटै शब्द भन्ने जरुरी नपर्ने भेटिन्छ ।

कहिले बन्ला बाबरी मस्जिद ?

देशको प्रमुख कार्यकारी मोदीले यसरी एउटा समुदायको धार्मिक कार्यक्रम सहभागी हुनुलाई कतिले व्यक्तिगत धार्मिक आस्थासँग जोडे भने कतिले ‘राजनीतिक स्टन्ट’ भने । यसलाई प्रधानमन्त्री मोदीको धार्मिक चरित्र भनेर तर्क गर्नेको पनि कमी छैन । जे होस् यो भारतकै मामिला हो । भारतीयले के सोचेका रहेछन्, यसै वर्ष हुने लोकसभाको निर्वाचनले भन्ला ।

सर्वोच्चको फैसलापछि मुस्लिम धर्मावलम्बीका लागि बाबरी मस्जिद बनाउन अयोध्यामै अर्को स्थान तोकिएको छ । तर, त्यहाँ कुनै काम भएको छैन । संरचनाको निर्माणका नाममा एउटा ईंट्टा पनि थपिएको छैन भन्दा फरक पर्दैन । यही कारण अयोध्यामा राम मन्दिरको उद्घाटन हुँदा मुस्लिम धर्मावलम्बीहरू मोदी सरकारसँग चिढिएका छन् ।

अर्ब जनसंख्या भएको मुलुकमा सबैको चित्त बुझाउन मोदीले पक्कै सक्दैनन् । तर, धार्मिक द्वन्द्वबाट गिजोलिएको भारतमा मोदीको यो कदममाथि प्रश्न भने उठेकै छ । यसको जवाफ अब उनले अदालतको फैसला कार्यान्वयन गर्दै बाबरी मस्जिद देलान् त ? यो भविष्यले बताउने कुरो हो ।

अहिलेलाई चाहिँ जय सियाराम !

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  २ : ५६ बजे

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्

देउमाई : एमालेको गढमा घण्टीको आवाज

इलाम-  उपनिर्वाचनको मतगणनामा निराशाजनक स्थितिमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन