मिथिला महाकुम्भ माध्यामिकी परिक्रमा आज सम्पन्न हुँदै « Khabarhub

मिथिला महाकुम्भ माध्यामिकी परिक्रमा आज सम्पन्न हुँदै


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तरगृह परिक्रमा हो ।

अन्तिम अर्थात् १५औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६औँ दिन बिहान अन्तरगृह अर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ ।

मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् । नेपालतर्फ धनुषामा ६, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास बस्ने परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

जनकपुरधामस्थित राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तरगृह अर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ ।

मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६औँ दिन बिहान यो यात्रा पुरा गर्छन् । घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तरगृहमा सहभागी हुन्छन् । मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष)ले जनाएको छ ।

अन्तरगृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दु मैथिल जनविश्वास छ । त्रेता युगमा श्री राम र जानकीले जनकपुरधाम वरपर विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ ।

मध्यमा र आजको अन्तरगृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गएराति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् ।

मिथिलामा परिक्रमाको १५औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तरगृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ ।

यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन् । राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व मनाइने परम्परा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ९ : ३१ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली