‘निर्वाचन प्रणालीमा सुधार नभए ठेकेदारले चुनाव क्याप्चर गर्छन्’  | Khabarhub Khabarhub

‘निर्वाचन प्रणालीमा सुधार नभए ठेकेदारले चुनाव क्याप्चर गर्छन्’ 



०८४ को अर्जुनदृष्टि राखेर हिँडेको एमालेको सत्तारोहण एमालेजनकै लागि अप्रत्याशित बन्यो । देशमा भएका चर्चित अपराधमा माओवादी केन्द्रका नेताहरूको संलग्नता, आगामी चुनावमा बहुमतको सरकार बनाउने एमालेको सपनाबीच तादात्म्य मिल्नुको भरलाग्दो उत्तर कसैसंग छैन । के अब माओवादीमाथि लागेको दोषको स्वामित्व बाँड्न एमाले तयार भएको हो ? माओवादीसँगको पुनर्मिलन कार्यकर्ता व्यवस्थापनको लोभ कि समयको माग ? सरकारको सहयात्राले एमालेको साख माथि उठ्ला या स्खलित होला ? माओवादीप्रति एमालेको स्थापित भ्रमको अन्त्य भएको हो या सत्ताको लेनदेनले विगत बिर्सिएको हो ? यिनै विषयमा हामीले नेकपा एमालेका नेता रामेश्वर फुयाँलसँग कृष्ण तिमल्सिनाले पर्गेल्न खोजेको विषयको सम्पादित अंश :  

माओवादीसँग सत्ता साझेदारी गरिरहँदा उब्जिने प्रश्न हो– तपाईँहरू फेरिएको कि माओवादी ? 
यति बेला मुलुकको आवश्यकता भनेको राजनीतिक स्थिरता हो । त्यो स्थिरताबाट जनताको सेवा हुने हो । यसअघिको सरकारमा विकासका काम ठप्प रहे । प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई मन्त्रिपरिषद्को कार्य योजना अनुसार परिचालित गर्न सक्नु भएन । कांग्रेस–माओवादी केन्द्र जोडिएको गठबन्धनको बीचमा अविश्वास पैदा भयो । यही अवस्थामा राजनीतिक स्थिरताका लागि नयाँ गठबन्धन गर्नु पर्ने अवस्था आयो ।
हामी प्रगतिशील कार्यक्रम मार्फत मुलुकको सेवा गर्न चाहन्छौँ । त्यसका लागि प्रधानमन्त्री तयार हुनुहुन्छ । यस स्थितिमा नयाँ गठबन्धन निर्माण गर्ने निधोमा एमाले पुगेको हो ।

सरकारले परिवर्तनको अनुभूति दिन्छ, उथलपुथल हुन्छ भन्ने हो ? 
सच्चिएर जनताको सेवामा लाग्नुपर्ने बाध्यता सबै राजनीतिक पार्टीमा छ । जनताले समाजवाद उन्मुख कार्यक्रमका लागि हो भने एमालेलाई बहुमत दिनु पर्थ्यो । त्यो हामीले प्राप्त गरेनौँ । त्यसैले जनताको मतले गठबन्धनमा जाऊ भन्यो । र हामीले पुरानो गठबन्धन तोडेका हौँ । नयाँ गठबन्धनले जनताको सेवामा भरपुर काम गर्ने वातावरण बनाउनु पर्छ ।

माओवादीले चुनावमा पाएको मत त कांग्रेस सहितको हो । यस्तो सत्य जान्दाजान्दै कित्ताकाट विरोधाभाषपूर्ण भएन र ?
हामी हाम्रो मार्गचित्रमा अगाडि बढ्छौँ । जब यो मुलुकको आर्थिक अवस्था डामाडोल हुने अवस्थामा अघि बढ्यो, भौतिक पूर्वाधारले गति नै लिएन । जति बेला एमालेले साढे तीन वर्ष सरकार चलायो, त्यति बेला उद्घाटन, शिलान्यास धेरै भए भन्ने आलोचना सुन्नु परेको थियो अहिले डेढ वर्षमा त केही सुनिएन ।

आर्थिक विकासलाई प्रभाव पार्ने त निर्माण व्यवसायले हो । काठमाडौंँ महानगरपालिका भित्रको भौतिक विकास त भएन  । विकास खर्च काठमाडौं महानगरपालिकाले पनि दिन सकेन प्रदेशले पनि दिन सकेनन् ।

पैसा बजारमा जान्छ । कोठा भाडा तिर्लान् कपडा किन्लान् र बजार चल्ला अरूबाट बजार चलेको छैन । त्यसैले यो आर्थिक चक्र चलाउन पनि गठबन्धन चाहियो ।

तत्कालका लागि फाटेको लुगाले लाज छोपेभन्दा माथिको हैसियत यो गठबन्धनले प्राप्त गर्न सकेन भन्छन् नि ?
हामी जनताको सेवा गर्ने राजनीति गर्छौँ ।  त्यसको लागि यो मन्त्रालय चाहियो भन्दैनौँ । हामी सङ्घीयता, लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सुशासनको लागि प्रणालीगत सुधार चाहन्छौँ ।

हिजो सरकारमा प्रचण्ड नै थिए पछिपछि कांग्रेस हुँदा गलत, आज एमाले पछि लाग्दा कसरी सही भयो  ?

प्रधानमन्त्रीको ३२ सिट छ । हामीसँग ७६ सिट छ । स्वतन्त्रसँग २१ सिट छ । यो जनमतको कुरा हो । त्यसैले एकल बहुमतको यो सरकार हैन । गठबन्धनको प्रधानमन्त्रीको पनि लक्ष्य जनताको सेवा भएपछि एमालेसँग प्रधानमन्त्रीको एजेण्डा नमिल्नु पर्ने कारण रहेन । हामी जनताको सेवाको लागि डिजिटल नेपाल भन्छौँ ।  डिजिटल नेपालले भ्रष्ट्राचार भगाउँछ भन्यौँ भने  डिजिटल नेपालको कार्यक्रम प्रधानमन्त्रीले फेल गर्नुपर्ने के हुन्छ र ?

शिक्षामा स्वास्थ्यमा आमूल परिवर्तन आवश्यक छ । त्यसमा प्रधानमन्त्रीले हुन्न भन्नु पर्ने खण्ड के पर्ला ? नेपालमा रोजगार बढाउनु पर्ने छ, त्यसमा प्रधानमन्त्रीले नाइँ भन्नु पर्ने के छ ? नेपालका १०० बढी नर्सिङ कलेजहरू बन्द भए । यसो हुँदा १० वर्ष पछि नेपालमा चाहिने नर्सको कमी हुने छ । त्यसमा ध्यान दिनु पर्छ ।

यससँगै रोजगार पनि हुनुपर्‍यो । यो विषयलाई लिएर केही मान्छेहरूले सडक भड्काउने काम पनि गरे । जसको प्रभाव २५ वर्ष पर्नेछ । जसरी माओवादी द्वन्द्वको कारण हामी २५ देखि ३० वर्ष पछाडि पर्‍यौँ । राजनीतिक फाइदा भयो होला तर धेरै विकास निर्माणका सम्पदा जोगाउने कुरामा पछि परेका छौँ , त्यो कुरा बिर्सिनु हुँदैन । अब भौतिक पूर्वाधारको विकास हुनुपर्‍यो ।

तपाईँको पार्टी अध्यक्षले माओवादी परिवारवादको पर्याय बन्यो, नाम लिँदा मुख कुल्ला गर्छु भन्ने आज त्यहीसँग सहकार्य हुँदा कार्यकर्तालाई के जवाफ दिनुहुन्छ ?  
हामी जनता तथा कार्यकर्ता बीच मिसन ०८४ को अभियानमा छौँ । त्यसका लागि आजैबाट जनताको हितमा जुट्ने हो । जनताको सेवा र विकासका एजेण्डालाई प्राथमिकतामा राख्छौँ । नेपाली जनतालाई सेवा गर्न बनेका सबै संस्थामा एमालेका मान्छेहरू स्वयम् सेवकको रूपमा काम गर्छन् । लोकप्रिय जनमतबाट नै देशको नेतृत्व गर्ने अधिकार पाइन्छ । यो विषयमा काम गर्नु एमालेको काम हो । सत्ता हेरेर मात्रै एमाले बस्दैन ।

पछिल्लो घटनाक्रमले राम्रो उथलपुथलको सन्देश जाने भयो प्रणालीको सन्दर्भमा यो ठिक भइराखेको छ ? 
घरैपिछे मन्त्रालय ल्याएको पुरानो गठबन्धनले हो । त्यो नेपाली जनताले खोजेका छैनन् । नयाँ गठबन्धनको लागि बनेको १३ सूत्रीय न्यूनतम कार्यक्रम पहिलाको भन्दा पृथक् छ । नत्र फलानो मन्त्रालय यही पार्टीको चाहिन्छ भनेर एमालेले किचकिच गरेन । हामी जुनसुकै मन्त्रालय जनताको सेवामा परिचालित गर्छौँ । त्यसमा माओवादीले सरल नीति बनाएको छ । नत्र गठबन्धन नै  भत्किन्छ कि भनेर धेरैले लेखौला भनेर कलम उठाएर बसेका थिए । त्यो परिस्थिति त सिर्जना भएन ।

निर्वाचन प्रणालीमा आमूल परिवर्तन आवश्यक छ । यसको लागि २७५ नै संख्या चाहिएला नचाहिएला, राष्ट्रिय सभाको ५९ तल माथि गर्न पर्ला नपर्ला, तल ११० जरुरी होला नहोला, निर्वाचन प्रणालीलाई कसरी लाने होला भनेर एक चोटि सोच्नै पर्छ ।

निर्वाचन प्रणालीमा परिवर्तन नल्याउने हो भने सामान्य वर्गको मान्छेले गरी खाने वर्गका मान्छेहरू निर्वाचनमा हैन, निर्माण व्यवसायी वा ठूलो परिणाममा कमाइ गर्नेहरूले मात्र यहाँको निर्वाचन क्याप्चर गर्ने अवस्था बन्छ । यस स्थितिमा जनमत कसरी संसदमा पुग्ला ?

यो गठबन्धनले सुशासनको प्रत्याभूति देला भनेर कसरी अपेक्षा गर्ने ? 
यसका लागि ड्राइभिङ सिटमा बसेका मान्छेहरूले टाढाबाट ड्राइभरले राम्रो गर्छन् भनेर विश्वास जगाउने काम गर्नुपर्छ ।

सरकारमा गएको भोलिपल्टै कांग्रेसले संसद अवरोध गर्दै छ ।  कुनै पनि ठगीमा कोही संलग्न रहेछ भने उसले कारबाही भोग्नै पर्छ । तर हो र हैन भन्ने कुरा तथ्य प्रमाण आयोगले दिएका प्रतिवेदनले निर्धारण गर्ने विषय हो । संसदमा हट भनेर हुँदैन ।

सहकारीको सन्दर्भमा छानबिन नगर भनेर हाम्रो अध्यक्षले भनेको सुनेको छैन । त्यसैले यो मुलुक ०७ साल देखि यता आउँदै गर्दा पटक पटका दुर्घटनाको कारण नेपाल कांग्रेसको अदूरदर्शिता भनेर आम नेपाल जनताले भन्ने गरेका छन् । यद्यपि प्रजातान्त्रिक प्रणालीलाई पूर्ण बनाउने दिशामा नेपाली कांग्रेसले राम्रो भूमिका खेल्छ । लोकतन्त्र प्रजातन्त्र कायम गर्ने कुरामा कांग्रेस नीतिमा बस्दैन । र  आफ्नो जनतासँग घोषणा गरेको प्रतिविद्धतामा कायम गर्ने गरी बस्दैन । यही कांग्रेसको त्रुटि हो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ४ : ०१ बजे

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको नीति तथा

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का