१० वर्षमा विदेशी लगानीका ५० वटा ठूला उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी | Khabarhub Khabarhub

१० वर्षमा विदेशी लगानीका ५० वटा ठूला उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको छ । व्यवस्थित रूपमा भने वि.सं.२०३८ यता मात्र विदेशी लगानी नेपालमा आउन थालेको पाइन्छ । ०३८ सालमा ‘विदेशी लगानी तथा प्रविधिसम्बन्धी ऐन’ बनेपछि नेपालमा विदेशी लगानीकर्ता आउन थालेका हुन् ।

०४६ सालको राजनीतिक परिवर्तपछि नेपालले आंशिक उदार अर्थ-नीति अवलम्बन गरेसँगै ठूलो संख्यामा विदेशी लगानीकर्ताहरू नेपालमा प्रवेश गरेको पाइन्छ । खासगरी केही बैंक, युनिलिभर र डाबर लगायत निकै ठूलो विदेशी लगानी नेपालमा भित्रिएको थियो ।

त्यसपछि सुरु भएको राजनीतिक अस्थिरता र सशस्त्र द्वन्द्वका कारण विदेशी लगानी भित्र्याउन नेपालले निकै कठिनाइ भोग्यो। २०६२/६३ मा भएको व्यवस्था परिवर्तनपश्चात नेपालमा वैदेशिक लगानीले फेरि केही गति लिन थाल्यो।

२०७१ सालमा दिगो विकास र फराकिलो आर्थिक वृद्धि तथा रोजगारीको लक्ष्य राख्दै सरकारले विदेशी लगानी नीति लिएको थियो । त्यस्तो नीति लिएको एक दशक बितिसकेको छ । सो नीति कार्यान्वयनपश्चान्‌ अर्थात् १० वर्षमा नेपालमा ५० करोड रुपैयाँभन्दा माथि स्थिर पुँजी भएका ४७ वटा विदेशी लगानीका ठूला उद्योग दर्ता भएका छन् ।

२०७१ साल देखि २०७९ सालसम्ममा १ खर्ब २५ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ पुँजी बराबरको लगानीमा ४७ वटा उद्योग दर्ता भएका हुन् । जसमा नेपाली र विदेशीको साझेदारमा २३ वटा र विदेशी लगानीकर्ताको मात्र लगानीमा २५ वटा उद्योग दर्ता भएको उद्योग विभागले उपलब्ध गराएको तथ्यांकमा छ । चालू आर्थिक वर्षको ९ महिनामा पनि ३ वटा ठूला आयोजनामा विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

संख्यात्मक रूपमा होटल तथा क्यासिनो र सिमेन्ट उद्योगमा लगानी धेरै

१० वर्षमा वैदेशिक लगानीबाट खुलेका ठूला उद्योगहरुमध्ये संख्याको हिसाबले होटल तथा क्यासिनोको संख्या बढी छ । पुँजीका हिसाबले भने सिमेन्ट उद्योगमा बढी लगानी भएको देखिन्छ ।

तथ्यांकअनुसार १० वर्षको अवधिमा विभागमा १३ वटा होटेल तथा क्यासिनो दर्ता भएका छन् । जसमध्ये ७ वटामा नेपाली सहितको संयुक्त लगानी छ भने ६ वटामा विदेशी लगानीकर्ताको मात्रै स्वामित्व छ । ती होटल तथा क्यासिनोमा ६ अर्ब ७० करोड रुपैयाँ बराबर पुँजी लगानी प्रस्ताव भएको विभागले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा विदेशी लगानीमा ठूला उद्योगको मापदण्डमा पर्ने ७ वटा सिमेन्ट उद्योग दर्ता भएका छन् । जसमा विदेशी तथा नेपालीको ६० अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको पुँजी लगानी भएको छ । ती उद्योगमध्ये ३ वटामा विदेशीको मात्रै लगानी छ भने ४ वटामा नेपालीको समेत लगानी छ ।

१० वर्षमा विदेशी लगानीसहित खाद्यान्नसम्बन्धी ४ वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांकले देखाएको छ । जसमध्ये ३ वटामा विदेशीको मात्रै लगानी छ भने १ वटामा नेपालीसहितको संयुक्त लगानी छ ।

ठूला उद्योगको मापदण्डमा पर्ने खनिज, निर्माण, तेल, साबुन, स्कूल, स्टिल रड लगायतका उद्योगहरु पछिल्लो दशक विभागमा १२ वटामात्र दर्ता भएका छन् । जसमा ६ वटा उद्योग नेपाली र विदेशीको साझेदारीमा छन् भने ६ वटा उद्योगमा विदेशीको मात्र लगानी छ

सोही अवधिमा औषधि तथा उपचारको क्षेत्रमा काम गर्ने ५ वटा ठूला उद्योग दर्ता भएका छन् । जसमध्ये ३ वटा उद्योगमा विदेशीको मात्रै लगानी रहेको छ भने २ वटामा नेपालीको समेत संयुक्त लगानी छ । औषधी तथा उपचारको क्षेत्रमा दर्ता भएका उद्योगहरुको चुक्ता पुँजी ३ अर्ब ४९ करोड ११ लाख २१ हजार रुपैयाँ बराबर भएको तथ्यांकले देखाएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा पनि विदेशी लगानीकर्ताको राम्रो लगानी भएको देखिएको छ । पछिल्लो दशकमा नेपाली–विदेशीको संयुक्त लगानीमा ३ वटा र विदेशीको मात्र लगानीमा २ वटा गरेर ५ वटा हाईड्रोपावर कम्पनी दर्ता भएका छन् । जसमा ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको चुक्त पुँजी रहेको विभागको तथ्यांकले देखाएको छ ।

पछिल्लो दशकमा विदेशी लगानीकर्ताको मात्रै एकल पुँजी लगानीमा नेपालमा ठूला उद्योगको मापदण्डमा पर्ने २ वटा सूचना प्रविधि सम्बन्धी कम्पनी दर्ता भएका छन् । त्यस्तै एउटा कम्पनी भने नेपाली सहितको संयुक्त लगानीमा दर्ता भएको छ ।

ठूला उद्योगको मापदण्डमा पर्ने खनिज, निर्माण, तेल, साबुन, स्कूल, स्टिल रड लगाएतका उद्योग पनि पछिल्लो दशकमा विभागमा १२ दर्ता भएका छन् । जसमा ६ वटा उद्योग नेपाली र विदेशीको साझेदारीमा छ भने ६ वटा उद्योगमा विदेशीको मात्र लगानी छ ।

नेपालमा विदेशी लगानीबारे के भन्छन् उद्योगी व्यवसायी ?

विदेशी लगानी नेपालमा भित्रिदा त्यसले सकारात्मक नै प्रभाव पार्ने गरेको उद्योगी–व्यवसायीको भनाइ छ । नेपाललाई माया गरेरभन्दा पनि नेपालमा लगानी गरेर त्यसको प्रतिफल कमाउने हिसाबले नेपालमा विदेशी लगानीकर्ताहरू आउने गरेको उनीहरुले बताएका छन् । साथै अहिलेसम्मको अवस्थामा विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गरेर राम्रो प्रतिफल लैजाने गरेको उनीहरुको भनाइ छ ।

तर, तथ्यांकमा देखिएअनुसार १० वर्षमा नेपालमा विदेशीले गरेको लगानी भने पर्याप्त नभएको व्यावसायीहरुले बताएका छन् । नेपाली लगानीकर्ताहरु नै सक्षम भएको क्षेत्रमा भन्दा पनि ठूला लगानी गर्नुपर्ने एवं अनुभव नभएको क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा राम्रो हुने उनीहरूको भनाइ छ ।

१० वर्षको तथ्यांकले विदेशी लगानीको आर्कषण हेर्दा पुँजीका हिसाबले सिमेन्ट उद्योगमा धेरै देखिएको छ । सो औद्योगिक क्षेत्रमा नेपाल आत्मनिर्भनर भएर निर्यात गर्ने अवस्थामा पुगेकाले थप विदेशी लगानीको आवश्यकता नपर्ने अवस्था रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए ।

‘नेपालले विदेशी लगानी भित्र्याउँदा पनि क्षेत्र छुट्याएर लगानी गर्नुपर्छ’, वैद्यले खबरहबसँग भने, ‘नेपालले धेरै कृषि क्षेत्रमा लगानी भित्राउनुपर्ने देखिएको छ, सिमेन्ट उद्योगमा हामी आफैँ सक्षम छौं, त्यसमा विदेशी लगानी नै आवश्यक पर्दैन ।’ पर्यटन र हाईड्रो क्षेत्रमा पर्याप्त लगानी हुन नसकेकाले सो क्षेत्रमा धेरै लगानी भित्र्याउन सकिने उपाध्यक्ष वैद्यको भनाइ छ ।

विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर ३०० प्रतिशतसम्म नाफा लैजाने गरेको नेपाल उद्योग वाणिज्य महासंघका अर्का उपाध्यक्ष हेमराज ढकाल बताउँछन् । ‘विदेशी लगानी नेपालमा आउँदा नयाँ प्रविधि र योजना ल्याउने भएकाले पनि त्यसले सकारात्मक प्रभाव पार्छ’, उपाध्यक्ष ढकालले खबरहबसँग भने, ‘हामी उत्पादनमा पनि कमजोर नै छौं, विदेशी लगानीले उत्पादनमा पनि सघाउ पुर्‍याउँछ ।’

नेपालमा गरेको उत्पादन भारत र चीनमा सजिलै बिक्री गर्न सकिने र नेपालको बजार पनि सम्भावनायुक्त भएकाले लगानीकर्ताहरू आर्कषित भएको उनको भनाइ छ । अहिलेसम्मको विदेशी लगानी भने उत्साहजनक नभएको उनले बताएका छन् ।

‘हरेक देशको आर्थिक विकास विदेशी लगानी भित्रिएर नै भएको छ’, ढकालले भने, ‘नेपालमा पनि भएका विद्यमान कानूनमा रहेका केही बाधालाई सहज बनाउने हो भने विदेशी लगानी भित्र्याउन सकिन्छ ।’

त्यस्तै, सरकारको विद्युत उत्पादनको लक्ष्यसम्म पुग्नलाई धेरै पुँजी चाहिने भएकाले पनि विदेशी लगानी नेपालमा आवश्यक रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको भनाइ छ ।

‘अहिले हाईड्रोमा जति लगानी छ त्यो भने पर्याप्त छैन’, डाँगीले खबरहबसँग भने, ‘सरकारको लक्ष्य अनुसार २८ हजार मेगावाट विद्युत उत्पादन गर्न खर्बौं लगानी लाग्छ, त्यसका लागि विदेशी लगानी आवश्यक हुन्छ ।’

स्तरीय पर्यटकहरुलाई नेपालमा आउने र बस्ने वातावरणका लागि पर्यटन तथा होटलको क्षेत्रमा विदेशी लगानी आवश्यक भएको होटल व्यवसायी समंहसंघका अध्यक्ष दिनेशकुमार चुकले बताएका छन् । केही क्षेत्रमा विदेशीले लगानी गरेको भए पनि थप लगानीको वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  २ : ५८ बजे

सत्ता समीकरणमा कुनै असमझदारी छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

हात्तीको २ दारासहित ३ जना पक्राउ

वीरगन्ज– पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दारा सहित

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले

मधेश प्रदेशसभाबाट ‘बालिका संरक्षण ऐन २०८१’ विधेयक पारित

जनकपुरधाम– मधेश प्रदेशसभामा बालिका संरक्षण ऐन २०८१ पारित भएको छ

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

एजेन्सी– इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी