एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी | Khabarhub Khabarhub

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक अध्यक्ष रहेको माइलस्टोन सहकारी संस्था डुबेको छ । २०० भन्दा धेरै बचतकर्ताको करिब १० करोड रुपैयाँ हिनामिना भएपछि उक्त सहकारी बन्द भएको हो ।

न्यूनतम तरलतासमेत नराखी पौडेल सञ्चालित जनता टेलिभिजनमा पनि लगानी गरेको उक्त सहकारीले गत फागुन मसान्तबाटै सम्पूर्ण कारोबार बन्द गरेको छ ।

निक्षेपकर्ताहरू उक्त सहकारीको बालकुमारीस्थित कार्यालयमा धाइरहेका छन् । तर उक्त सहकारीका संस्थापक अध्यक्ष पौडेल र वर्तमान अध्यक्ष नवराज खड्कासमेत बचतकर्तासँग सम्पर्कविहीन छन् ।

सञ्चालकहरूसमेत सम्पर्कमा आउन छाडेपछि उक्त सहकारीमा कार्यरत तीनजना कर्मचारी बिलखबन्दमा परेका छन् । निक्षेपकर्ताहरूले घेर्न थालेपछि उक्त सहकारीका लेखापाल सुदीप पौडेलसहित तीनजना कर्मचारीले बिहीबार राजीनामा बुझाएका छन् ।

पौडेलसहित बचत संकलक र अर्का कर्मचारीले एक महिना लामो प्रयासपछि बिहीबार सहकारी अध्यक्ष खड्कालाई राजीनामा बुझाएका छन् ।

यसअघि उक्त सहकारीका १० जनासम्म कर्मचारी थिए । तर कानूनविपरीत टेलिभिजनदेखि घर खरिदसम्ममा लगानी गरिएपछि अहिले आएर डुब्न पुगेको हो । सहकारी डुबेकोबारे प्रतिक्रिया लिन पटकपटक सम्पर्क गर्दा पनि संस्थापक अध्यक्ष पौडेलले फोन उठाएनन्‌ । सहकारी डुबाएका उनै पौडेलले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई बजेट निर्माणबारे सल्लाह दिँदै थिए ।

यो सहकारीमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का उच्च तहका नेतादेखि कार्यकर्तासम्मको बचत थियो । स्रोतका अनुसार उक्त सहकारीबाट २ करोड रुपैयाँ बचत निकालेर संस्थापक अध्यक्ष पौडेलले जनता टेलिभिजनमा लगानी गरेका थिए ।

त्यस्तै केही लगानी घर खरिदसम्मको प्रयोजनमा पनि लगाइएको थियो । उक्त सहकारीमा स्थापनाकालदेखि नै काम गरेका एक कर्मचारीका अनुसार सञ्लालकहरूले कानुनविपरीत बचत झिकेर अन्य क्षेत्रमा लगानी गर्दा सहकारी  डुबेको हो ।

सहकारी सञ्चालकहरूले आफू निकटका मानिसहरूलाई जथाभावी ऋण दिएको एक कर्मचारीले बताएका छन् । ‘सञ्चालकहरूले आफ्ना मान्छेलाई जथाभावी ऋण दिएका छन्। कोरोनाकालदेखि नै यहाँको आर्थिक अवस्था बिग्रिएको हो’, ती कर्मचारीले भने, ‘सहकारीका वर्तमान अध्यक्ष नवराज खड्का आफैंले गार्मेन्ट खोल्दा यही सहकारीको ६० लाख रुपैयाँ लगानी गरेका थिए ।’

एकजना सञ्चालकका अनुसार सहकारी डुबेपछि फागुनबाटै बचत संकलन रोकिएको थियो । उनले उक्त सहकारीमा एमाले र एकीकृत समाजवादीका नेता-कार्यकर्तासँगै अन्य सर्वसाधारणको पनि बचत डुबेको पुष्टि गरे ।

‘हाम्रो सहकारी डुबेको छ । मेरो मात्रै ४५ लाख रुपैयाँ बचत डुबेको छ’, उक्त सहकारी सञ्चालकमध्ये एकजनाले खबरहबसँग भने, ‘मलाई बचत डुबेको कुरा नसोध्नुस्, तनावमात्रै हुन्छ ।’

समाजवादी उपमहासचिव पौडेलले माइलस्टोनका नाममा कलेज पनि सञ्चालन गर्दै आएका छन् । त्यसैगरी माइलस्टोन पब्लिकेशन्स पनि सञ्चालनमा छ ।

सहकारीमा संकट बढ्दै गएपछि तीन वर्षसम्म साधारण सभा स्थगित भइसकेको छ । पछिल्लो पटक गत फागुन २५ गतेका लागि साधारण सभा बोलाइएको थियो । तर, सहकारीको बचत डुबिसकेको अवस्थामा सञ्चालकहरूले उक्त साधारण सभा पनि गराउन असफल भएका छन् ।

‘अन्तिमपटक फागुन २५ गते सहकारीको साधारण सभा बोलाइएको थियो’, एकजना कर्मचारीले भने, ‘तर त्यसदिन सञ्चालक समितिका पदाधिकारीहरू नै कार्यालयमा आउनुभएन । उक्त साधारण सभा पनि भाँडिएपछि सहकारी अब चैत मसान्तदेखि बन्द भएको छ ।’

फागुनदेखि नै कारोबार बन्द भएको उक्त सहकारीमा चैत मसान्तबाट ताला लागेको छ । पाँच महिनादेखि तलब नपाएका कर्मचारीले पनि बिहीबार राजीनामा पत्र बुझाएका छन्। ‘बचत जस्तै हामीले तलबसमेत माया मारेका छौँ’, ती कर्मचारीले भने, ‘फागुनदेखि नै कारोबार बन्द भएको थियो । चैत मसान्तदेखि कार्यालयमा ताला नै लागेको छ ।’

उक्त सहकारीमा केही पत्रकारको समेत बचत डुबेको छ । एकीकृत समाजवादीकी नेतृ सावित्रा भुसालको १० लाख रुपैयाँ बचत थियो । समाजवादी रूपन्देही सम्पर्क मञ्च अध्यक्षको १६ लाख रुपैयाँ बचत थियो ।

स्रोतका अनुसार माइलस्टोन सहकारीमा सहकारी विभागकै उजुरीमाथि कारबाही गर्ने एकजना अधिकृतको ९ लाख रुपैयाँ बचत डुबेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ६ : २१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर