बराहक्षेत्रमा खर मयुर जोगाउने अभियान | Khabarhub Khabarhub

बराहक्षेत्रमा खर मयुर जोगाउने अभियान

अति संकटापन्न पक्षी संरक्षणमा जुटे युवा



धरान – सुनसरीको बराहक्षेत्र नगरपालिकाका युवाहरू खर मयुर (मुजुर)को संरक्षण अभियानमा लागेका छन् । सन २०१२ यता यो चराको संख्या घट्दै आएको पाइएपछि बराहक्षेत्रका युवाहरूले खर मयुर संरक्षण अभियानलाई तीव्र पारेका हुन्‌ ।

कुनै पनि प्रजातिका पशुपंक्षी पृथ्वीबाट लोप हुनु भनेको पर्यावरणमा असर पर्नु हो । त्यसको असर मानव समुदायमा पनि पर्छ । प्रकृतिको यही र्‍याङठ्याङ बुझेका बराहक्षेत्र नगरपालिका–२, रेल्वेलाइनस्थित सगरमाथा युवा क्लबका युवाहरू खरमयुर संरक्षणमा जुटेका हुन्‌ । यो संरक्षण अभियानमा हिमाली नेचर संस्थाले सघाएको छ ।

क्लबका अध्यक्ष युवराज भट्टराईले लोपोन्मुख चरा खर मयुर संरक्षणमा समुदायको भूमिकाबारे ‘खर मयुर संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम –२०८१’ आयोजना गरी संरक्षण अभियान चलाइएको बताए । उनका अनुसार स्थानीय समुदायमा जनचेतनामूलक कार्यक्रम चलाउँदै संघसंस्थासँग सहकार्य गरी संरक्षणमा जुट्ने काम भएको हो ।

खर मयुर कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास सिरु र काँसको घाँसे मैदानमा गुँड बनाएर बस्छन्‌ । क्लबका सदस्य समेत रहेका संरक्षणकर्मी विमल तिम्सिनाले संकटापन्न दुर्लभ चराको संरक्षण गर्न डढेलो नलागउन र चोरी सिकारीको नियन्त्रण गर्नका लागि अभियान थालिएको बताए ।

खर मयुरलाई विश्वमै अति संकटापन्न दुर्लभ चराको श्रेणीमा सूचिकृत गरिएको छ । विशेषतः आरक्ष र निकुञ्जमा सुख्खा यामका बेला फागुनदेखि वैशाख/जेठसम्म डढेलो लाग्ने गर्छ । कतिपय अवस्थामा मानिसले लापर्बाही गरी सिरु र काँसघारी तथा जंगलमा आगो लगाइदिन्छन्‌ ।

बासस्थानमा आगो लाग्दा भुईंमा गुँड लगाएर बस्ने खर मयुरको अण्डा समेत जलेर नष्ट हुने र कतिपयले मारेर खाने गरेकाले सचेतनाको जरुरी रहेको क्लबले जनाएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र आसपास कोशी नदी किनारको घाँसे मैदान, आरक्षको पथरी, भागलपुर, सिसौलीघाट र प्रकापुर क्षेत्रमा एक महिनाअघि खर मयुरको गणना (सर्वे) गरिएको थियो । ३० जना चराविज्ञ तथा संरक्षणकर्मीहरूको सहभागितामा एक साता लगाएर गरिएको गणनापछि संख्या घटेको पत्ता लागेको हो ।

घाँसे मैदानमा बच्चा कोरल्ने र हिउँदमा सीमसार क्षेत्रको मैदानमा बस्ने चरा प्राकृतिक र मानवीय विनाशका कारण अति संकटापन्न अवस्थामा पुगेको चराविद्‌ र सरोकारवालाहरूले बताएका छन् ।

घाँसे मैदान घट्दै जानु र भालेभन्दा र पोथीको संख्या कम हुँदा खर मयुरको संख्या घटेको चराविद्‌हरूले बताएका छन् । किसानहरूले खेतबारीमा प्रयोग गर्ने विषादीका कारण मरेका किरा-फट्याङ्ग्रा खाँदा पनि चराहरूको प्रजनन क्षमता कमजोर हुँदै गएकाले खर मजुरको सङ्ख्या घट्दो अवस्थामा पुगेको उनीहरूको विश्लेषण छ ।

अति संकटापन्न, वर्षेनी घट्दै
वरिष्ठ चराविद हेमसागर बरालका अनुसार विश्वमै अति संकटापन्न अवस्थामा पुगेको खर मयुरको संख्या वर्षेनी घट्दो छ ।

खबरहबसँगको कुराकानीमा चराविद्‌ बरालले भने, ‘सन्‌ २०१२ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा हामीले सर्वे गर्दा ४७ वटामात्र खर मयुर पाएका थियौं । त्यसको पाँच वर्षपछि सन्‌ २०१७ मा सर्वे गर्दा ४१ वटा पायौं भने सन्‌ २०२२ मा सर्वे गर्दा आधा संख्या घटेर २४ वटामात्र पायौं ।’

बरालका अनुसार आरक्ष र आसपासको क्षेत्रहरू जब्दी तथा मध्यवर्ती क्षेत्रमा खर मयुरको सर्वे गरिएको हो । सन २०१२ मा जुन विधि अपनाएर बरालको टोलीले सर्वे गरेको थियो ।

सोही विधि अपनाएर पछिल्ला दुइ सर्वे गर्दा खर मयुरको संख्या बढ्नुको सट्टा घटेको पाइएपछि चिन्ताको विषय बनेको बरालले बताए । उनले पछिल्लो सर्भे क्षेत्रफल झन बढाएर गर्दा खर मयुरको संख्या उल्टो घटेको पाइएको जानकारी दिए ।

सर्वे गर्नुअघि सबैभन्दा बढी खर मयुर शुक्लाफाँटामा पाइन्छ भन्ने मान्यता राखिएको, तर त्यहाँ हाल मुस्किलले २ वटा जति मात्र रहेको पाइएको बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जमा पनि एकदुई वटासम्म मात्र पाइएको, बर्दिया निकुञ्जमा भने हालसम्म देख्न नसकिएको उनले जानकारी दिए ।

सर्वेमा खर मयुर देखिएको आधारमा सबैभन्दा बढी संख्या कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेको मान्न सकिने बरालको भनाइ छ । उनले भने, ‘तर, कोशीटप्पु आरक्षमा पनि बर्सेनी खर मयुरको संख्या घटेको पाइएकाले संरक्षणका लागि प्रभावकारी कदम चाल्नुको विकल्प छैन । नत्र केही वर्षपछि तस्बिरमा मात्र सीमित हुनेछ ।’

संख्या किन घट्यो ?
संरक्षणकर्मी र चराविद्‌हरू आरक्ष र निकुञ्जका काँस र सिरुघारीमा सुख्खायाममा डढेलो लाग्नु र लगाइनु, खर मयुर र अण्डालाई आहारा बनाउने सर्प, जंगली बिरालो, स्याल र न्याउरीमुसा लगायत शिकारी जीवजन्तुको संख्या बढ्नु नै खर मयुरको संख्या घट्नुको मुख्य कारण मान्छन् ।

चराविदहरूका अनुसार अरू पंक्षीजस्तो रुखमा नभइ भुइँमा गुँड बनाउने भएकाले खर मयुर र उसले पारेको अण्डामाथि आक्रमण गर्न बढी सजिलो हुँदा पनि संख्या घटेको हुनसक्छ ।

चराविद्‌ बरालले भने, ‘हामीले सर्वे गर्दा डढेलोले खरमयुरको अण्डा नष्ट भएको समेत पाएका थियौं । संकटापन्न पंक्षी भनेर नचिन्नेहरूले मारेर खाने, चोरी सिकारी गर्ने त छँदैछ ।’

उनले खर मयुरको अस्तित्व कायम राख्ने सिरु र काँसको अभाव, जलवायु परिवर्तन, अण्डा पार्ने समयमा हुने असुविधा आदिका कारणले पनि संख्या घटेको हुन सक्ने बताए ।

बरालले थपे, ‘पहिला–पहिला घरपालुवा जनावरको चरिचरन हुँदा घाँस लामो हुन पाउँदैनथ्यो । अहिले चरिचरन रोकिएको छ । साना खर पनि झाडी हुने र खडाइ हुँदा यो चराको बासस्थानमा समस्या भयो ।’

चराविदहरूका अनुसार प्रजनन समयमा खर मयुरको भालेले पोथीलाई आकर्षित गर्न छोटो घाँसे मैदानमा उफ्रँदै कला देखाउने गर्छ । बर्खायाम सुरु हुनुअघी गर्मी याममा कोशीटप्पु वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा देखिने यो चराको संरक्षण गर्दै सङ्ख्या बढाउन सके जैविक विविधता र पर्यटनमा ठूलो आयाम थपिने बरालले बताए ।

संसारभर खर मयुरका दुई उपप्रजाति भेटिएको चराविद्‌हरू बताउँछन्‌ । नेपालमा चाहिँ खर मयुर कोशीटप्पु वन्यजन्तु आरक्ष आसपासमा पर्ने बराहक्षेत्र र कोशी पश्चिम बेलकामा पाइन्छ ।

दक्षिण पूर्वी एसियामा नेपालको तराईमा अवस्थित नदी किनारका घाँसे मैदान र भारतको ब्रह्मपुत्र नदीको किनार साथै कम्बोडियामा पनि खर मयुर पाइएको छ ।

नेपाली रैथाने नाम खर मयुर र अंग्रेजीमा बेङ्गाल फ्लोरिकान, वैज्ञानिक नाम हाउबारोप्सिस बेङ्गालेन्सिस भनिने खस मयुर संरक्षणका लागि हिमाली नेचर संस्थासँगै बेङ्गाल फ्लोरिकन प्रोजेक्ट, कन्जर्भेसन लिडरसीप प्रोग्राम, फाउना एण्ड फ्लोरा इन्टरनेश्नल, बर्ड लाइफ डब्ल्यूसीएस र केबीलगायताका संस्थाले चासो देखाएका छन् ।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले खर मयुरलाई संरक्षित पक्षीको रूपमा अनुसूची १ मा सूचीकृत गरेको छ भने दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ले पनि अनुसूची १ मै समावेश गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ११ : २१ बजे

कैलालीमा चट्याङ लागेर दुईजनाको मृत्यु, ६ जना घाइते

कैलाली– कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा

ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु

ओखलढुंगा– ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । घटनामा

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज पनि बस्दै छ । बैठक

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङले राष्ट्रपति रामचन्द्र

केन्यामा कर बढाएको विरोधमा संसद भवनमा आक्रमण, पाँचजना मारिए

काठमाडौं– पूर्वी अफ्रिकी देश केन्यामा सार्वजनिक विरोध चर्किएको छ ।