पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा « Khabarhub

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ ।

तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन् ।

बुलिङटार गाउँपालिका र देवचुली नगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाका दृष्टिले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

वचुली डाँडा तथा आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्व तथा धार्मिक मान्यताको संरक्षण र सम्वद्र्धन गर्न थालेपछि यहाँ आउने बढ्न थालेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए ।

देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले पैदलमार्ग क्षेत्रमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ । करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुने अध्यक्ष गिरीले बताए ।

यस क्षेत्रमा बिदाको समयमा आउनेको सङ्ख्या बढ्दो छ । बोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरूको गर्मी मौसममा लर्को नै लाग्ने गरेको देवचुली बोझा पोखरी मगर होमस्टेका सचिव हेमलाल बरालले बताए ।

उनले भने, ‘मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाच यहाँको प्रमुख लोक संस्कृति हुन् ।’

देवचुली क्षेत्र जैविक विविधताले समेत धनी क्षेत्र रहेको छ । यो क्षेत्रमा साल, चिलाउने, चाप, लालीगुराँस, काउलो, तेजपत्ताआदि वनस्पति छन् ।

यसका अतिरिक्त पाखनवेत, पाँच औले, भूतकेस, तिते, सिकारी लहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनी आदि जडीबुटीका कारण यो क्षेत्रले विशेष महत्व राख्ने बरालले बताए ।

पूर्व पश्चिम राजमार्गको दलदले बजारदेखि २० किलोमिटर उत्तरमा देवचुली पर्छ भने कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ ।

परापूर्वकालदेखि चलिआएको तीनकन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको छ ।

एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन समितिका अध्यक्ष गिरीले बताए ।

‘चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको किंवदन्तीका कारण यस गुफाको छुट्टै महत्व छ’, उनले भने, ‘गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाका कारण यो गुफा विशेष आकर्षणको केन्द्रविन्दु बनेको छ ।’

यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विभिन्न भूभागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ ।

देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ ।

साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू(भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ८ : ०४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय