सहकारी पीडितको गुनासो- बचत गरेको प्रत्येक नोट पसिनाले भिजेका थिए | Khabarhub Khabarhub

सहकारी पीडितको गुनासो- बचत गरेको प्रत्येक नोट पसिनाले भिजेका थिए

लाखौँ गुमाएकाहरू भन्छन् : ठगेर भागेका होइनन्, राज्यले संरक्षणा गर्‍यो


११ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चालकले बचत अपचलन गरेपछि देशभरका सहकारी पीडित एकीकृत भएर आन्दोलनरत छन् । उनीहरूले बचत फिर्ता गर्न र ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै तेस्रो चरणको आन्दोलन जारी राखेका छन् ।

आन्दोलनमा ‘खुसी बचत तथा ऋण सहकारी संस्था’बाट बचत अपचलनमा परेका बचतकर्ता पनि सहभागी छन् । सञ्चालक अभयराज घिमिरेका साथै उक्त सहकारी व्यवस्थापनसँग जोडिएका मात्रिका घिमिरे र सुबोध घिमिरे फरार भएपछि बचतकर्ता बेचैन छन् ।

‘पचास–सय गर्दै जम्मा गरी हजार बनाएर सहकारीमा बचत नफर्कने टुंगो भएपछि कसरी आनन्दले बस्नु ?’ गलैँचा डुलाएर जीविका चलाउँदै आएका कालिकोटका वीरबहादुर कटुवाल प्रश्न गर्छन् ।

कोरोना महामारीको समयमा खुसी सहकारीले साथीहरूको बचत घरमै ल्याइदिएको देखेपछि उनी बचत गर्ने मनस्थितिमा थिए । व्यापार क्रममा खाजा खाने होटलमा सहकारीका कर्मचारीले १६ प्रतिशत ब्याज पाउने आश्वास दिएपछि उनी लोभिए र बचत गर्न सुरु गरे । सिजनअनुसार व्यापार हुने भएकाले बचत गर्नुपर्ने बाध्यता पनि थियो ।

कटुवालको चेतना र ज्ञानले न्युरोड केन्द्रीय कार्यालय भई तीन ठाउँमा शाखा भएको सहकारी राम्रै होला भन्ने बुझ्यो । उनले वि.सं. २०७८ कात्तिकदेखि दैनिक एक हजारका दरले बचत गर्न लागे । १ वर्ष पुगेपछि ०७९ कात्तिकमा झिक्न गए । सहकारीले बचत भएको रकम फिक्स डिपोजिटमा राख्न लगायो । व्यापारले घर खर्च धानेकै कारण पैसाको आवश्यकता थिएन ।

भन्छन्, ‘पैसाको आवश्यकता थिएन । व्यापारले घर खर्च पुगेको थियो । ब्याज आउँछ भनेपछि पैसा बढ्ने नै हो भनेर झिकिनँ ।’

सहकारी भाग्न थालेपछि गलैँचा बच्ने साथीहरूले मिलेर सहकारी सञ्चालक अभय घिमिरेलाई भेट्न पनि पुगे । त्यसबेला अभयले आफूहरूलाई भनेको सम्झिन्छन्- तपाईंहरूको दु:ख गरेको पैसा हामीले कहाँ खान्छौँ ? म त सीए पढेको मान्छे उस्तै परे बैंक नै खोल्छु !

तर उनै घिमिरेको भनाइ गलत सावित गर्दै ०७९ चैतमा सहकारी भाग्यो । अघिल्लो दिनसम्म उनले दैनिक हजार राख्दै थिए । ‘हामी त मिहिनेत र वचन टिकेको मान्छे अभय सरको विश्वास गर्‍यौँ । ठूलालाई ठूलो समस्या सानालाई साना समस्या भनेर हिड्यौं,’ उनी भन्छन् ।

अहिले उनले सहकारीबाट लिनुपर्ने रकम चार लाख ५५ हजार छ । पासबुक लगायत प्रमाण उनीसँग सुरक्षित छन् ।

सहकारी भागेको १५ महिना बित्यो, अहिले उनलाई घर व्यवहारले चेप्दै लगेको छ । यही बेलालाई भनेर राखेको बचत अपचलनमा परेपछि थप पीडामा परेको छ ।

चार सन्तान र श्रीमतीसहित उनी डल्लुमा डेरा गरेर बस्छन् । भन्छन्, ‘अहिले व्यापार छैन । बचत डुब्दा कोठा भाडा तिर्न नसकेको ६ महिना भयो । घरमा चुलो बाल्नै समस्या छ ।’

व्यापार हुँदा हप्तामा एक पटक छोराछोरीलाई मासु खुवाउने हैसियत बनाएका कटुवाल अहिले पेटभरी खुवाउन नसक्ने अवस्थामा पुगेका छन् ।

श्रीमती तरकारीको डुलुवा व्यापार गर्छिन्, तर आम्दानी छैन । भाडा तिर्न नसक्दा घरबेटीले कोठा खाली गर्न दिनै दबाब दिइरहेका छन् । ‘बिहानै काममा हिँडिन्छ । साँझ घर जाने बेला घरबेटीको कचकच सम्झिँदा शरीरबाट मासु नै घटेजस्तो महसुस हुन्छ,’ उनी भन्छन्, ‘के गर्नु घरबेटीको पनि समस्या होला ।’

दिउँसो काम नगरे बेलुका चुलो बल्दैन । त्यहीमाथि अहिले व्यापार छैन । खाली पेट गलैँचा घुमाएर घर पुग्दा छोरा छोरीले घरबेटीले गाली गर्‍यो भन्दै गुनासो पोख्छन् । उनीहरूले कुरा सुनेर थाकेको ज्यानबाट समेत निद्रा भाग्ने उनी दुखेको गर्छन् ।

‘बच्चाहरूले ठूलो स्वरले बोले भने पनि घरबेटीले–बाउले भाडा दिएको छैन, आफ्नै घर जसरी कराएर बस्छौँ भनेर गाली गर्दा रहेछन्,’ उनले सुनाए, ‘बच्चाको कुराले आँखा रसाउँछ । के गर्नु उल्टै उनीहरूलाई गाली गर्दै भन्छु– तिम्रो बाको कालिकोटको पाखो होइन घरबेटीको सम्पत्ति हो के गर्छौँ त ?’

संकट परेको बेला उनलाई त्यो बचतको बढी आवश्यक छ । दिउँसो भरी गलैँचा डुलाउँदा पसिनाले भिजेको नोट सहकारीलाई बुझाएको उनलाई झलझली याद आउँछ ।

गलैँचा बोक्दा खुइलिएको छाला देखाउँदै भन्छन्, ‘यसरी कमाएको पैसा हो त्यो । एक छाक खान काठमाडौंका गल्लीमा कुकुरभन्दा बढी घुमेर कमाएका हौँ ।’

काठमाडौंमा बस्न कटुवालको रहर होइन । कालिकोटको गाउँमा जति मिहिनेत गरे पनि वर्षैभरि चुलो बल्ने जेथा छैन । छोराछोरी पढ्ने विद्यालय टाढा छ । बिहान बेलुका खाना र वर्षमा एक जोर लुगा फेर्नकै लागि सहर छिरेको उनी गुनासो गर्छन् ।

काठमाडौंको घाम गलैँचा बोकेर हिँड्दा कटुवालले गलेको महसुस कहिल्यै गरेनन् । तागत भइन्जेल उनले पसिनामै विश्वास गरे, कसैको भर परेनन्, सडकमै सन्तुष्ट थिए । आत्मविश्वासमा कुनै कमजोरी थिए । पसिना बगाएर इनामले नै गुजारा चलाए ।

आफ्नै बचत फिर्ता माग राख्दै सडकमा निस्केर घोक्रो सुकाउँदा सरकार मौन भइदिएकोमा उनलाई निरीह महसुस भएको छ । ‘सडकको मान्छे सडकमा कराउँदा सरकारलाई कुनै जिम्मेवारी बोध र दबाब नहुने रहेछ’, उनले दुखेसो गरे ।

कटुवाल सहरी जीवनबाट गलेका छन् । उनलाई यही कष्टकर जीवनशैली कलिकोटमै बिताउन पाए हुन्थ्यो भन्ने उनलाई सोच आएको छ । दैनिकको मानसिक तनावले उनी चार सन्तानको पढाइ बिगार्नै तयार छन् । तर जाने कसरी ?

गाउँ फर्किन प्रतिव्यक्ति गाडी भाडा ५ हजार छुन्छ । घरबेटीको भाडा तिर्नु पर्‍यो । प्रश्न गर्छन्, ‘त्यत्रो पैसा कहाँबाट ल्याउनु ?’

वर्षौँको कमाइ पनि चटक्कै गठलाई जिम्मा लगाउन उनी सक्दैनन् । सक्नु पनि कसरी ? सपनामा परिणत भएका दैनिकी गुजार्नै उनले सहर छिरेर त्यत्रो दु:ख गरे । भन्छन्, ‘आन्दोलनमा जानु कि काममा ? काममा नगए चुलो बल्दैन, आन्दोलन नगए मन पोल्छ ।’

जनकको पीडा : सारै रुन मन लाग्छ

कालिकोटका जनक कटुवाल ३८ पुगे । उनी पनि चार वर्षदेखि गलैँचा डुलाउने काम गर्दै छन् । त्यसभन्दा पहिला उनी भारतमा मजदुरी गर्थे ।

चार वर्षअघि श्रीमती सुत्केरी र बाली भित्र्याउने चटारो भएकाले बिदा मागेर घर फर्कने तयारीमा थिए । तर ठेकेदारले बिहान पैसा दिन्छु भनेर राति नै फरार भयो । साथीसँग ब्याजमा ऋण लिएर कालिकोट फर्किएपछि उनलाई भारत जान मन लागेन । काठमाडौं आएर गलैँचा व्यापार गरे ।

उनले पनि साथीहरूले बचत गरेको देखेर खुसी सहकारीमा पैसा जम्मा गरे । पहिलो पटक सहकारीले बेइमानी गरेन । कोरोनाकालमा घरमै ल्याएर पैसा दियो । उनी दङ्ग भए । आफूहरू जस्ता भुइँमान्छेलाई काम लाग्ने सहकारी रहेछ भनेर बचत गर्न लागे ।

गत वर्ष सहकारी सञ्चालक भागे । उनको बचत ६० हजार पुगेको थियो । अहिले व्यापार छैन । घर भाडा तिर्न सकेका छैनन् । चारजना मसिना सन्तान छन् । श्रीमती र सन्तानलाई पालनपोषणको भर उनकै आय श्रोतमा छ ।

भन्छन्, ‘अरूको लागि ६० हजार ठूलो रकम होइन । तर हामीहरूका लागि त त्यो पैसा डुब्दा पहाड खसे जस्तो भएको छ ।’

नहोस् पनि किन ? ६ महिना भयो भाडा तिर्न सकेका छैनन् । साना छोराछोरी भोक लुकाउन सक्दैनन् । बुवाको आर्थिक हैसियत थाहा पाउने चेतना विकास भएको छैन ।

‘यस्तो चाहियो बुवा भन्छन् छोराछोरी । अवस्था चामल किन्न सक्ने छैन,’ उनले सुनाए । बचत फिर्ता भए कोठा भाडा सल्टाउन पाए टाउको लुकाउन मात्रै भने पनि सहज हुने उनी गुनासो गर्छन् ।

बिहान निस्किएर बेलुका घर पुग्छन् । भाडा तिर्न नसकेर घरबेटीको कचकच दैनिक सुन्नुपर्छ । ‘पैसा नभएर आत्मविश्वास कमजोर बनेका बेला घरबेटीको बचन सुन्ने आँट नहुने रहेछ,’ उनले भने, ‘बच्चालाई पनि तेरो बाउले भाडा तिरेन भनेर गाली गर्छन् । सारै रुन मन लाग्छ ।’

सरकारले नै लुकायो ‘ठगहरू’

आन्दोलन गरेर न्याय पाएको वीरबहादुर र जनकले धेरै सुनेका थिए । सोहीकारण उनीहरूले धेरै पटक माइतीघर धर्नामा पुगे । आफू पीडित बनेपछि धर्नाको काम पनि सहज नरहेको उनीहरूको भोगाइ छ ।

अहिले उनीहरूलाई धर्नामा जान पनि निकै सोच्नुपर्छ । ‘सुरुमा त धेरै गयौँ । न बचत फिर्ता भयो, न सरकारले सुन्यो । धर्नामा जाँदा काममा जान पाइँदैन, चुलो बाल्नै कठिन हुन्छ, अहिले कमै जान्छौँ,’ उनीहरू भन्छन् ।

‘सडकको मान्छे सडकमै कराउँदा राज्य गम्भीर हुँदैन’ भन्ने ज्ञान पैदा भएकाले समेत उनीहरू कम आन्दोलनमा सहभागी हुन्छन् । तर मिहिनेतको कमाइको माया मार्न नसकेर समय मिलाएर भने आन्दोलनका विशेष कार्यक्रममा उपस्थित हुन्छन् ।

राज्यले पीडा नदेखे पनि उनीहरूलाई के थाहा छ भने– एक साधारण मान्छे जन्मदेखि मृत्युसम्मको खबर राज्यलाई थाहा हुन्छ, प्रमाण पत्र दिन्छ । स्कुले केटाकेटी पास–फेल भएको पनि राज्यले रेकर्ड राख्छ ।

तर, कागजी अनुमति लिएर सहकारी खोल्ने मान्छे राज्यको नजरमा फरार भएको भन्ने उनीहरू चेतनाले पत्याउँदैन, ज्ञानले सही तर्क ठान्दैन । उनीहरूलाई लाग्छ, ‘यी ठगलाई राज्यले नै संरक्षण गरेर राखेको छ ।’

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ०४ बजे

‘हमास-इजरायल युद्धविराम आइतबारदेखि लागु हुन्छ’

दोहा– इजरायल र हमासबीचको युद्धविराम आइतबारदेखि लागु हुने भएको छ

दोलखामा खुल्ला महिला भलिबल प्रतियोगिता सुरु

दोलखा– जिल्ला भलिबल संघ दोलखाको आयोजनामा बिहीबार देखि खुल्ला महिला

प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन

गण्डकी– प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको

नबिल बैंकद्वारा राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

सुर्खेत – नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

दिनेश त्रिपाठीमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वरिष्ठ अधिवक्ता दिनेश