समाचार

नागार्जुनमा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

By खबरहब

August 25, 2024

काठमाडौं– नागर्जुनमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–७ स्थित बिन्दावासिनी सडकखण्डमा स्वीजरल्याण्ड पार्कबाट कलङ्कीतर्फ आउँदै गरेको प्र०१–०२५च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र०२–०१७प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए  ।

शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए ।

सो समयमा फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय जगत्बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।