कमलेशको कला ः निर्जीव पत्थरमा चित्रको उडान | Khabarhub Khabarhub

कमलेशको कला ः निर्जीव पत्थरमा चित्रको उडान

फाल्गुनन्दको सालिकको पारिश्रमिक १२ लाख 



एउटा कलाकारले ढुंगामा कला देख्छ । ढुंगामा वेपर्वाह छिनो चलाउँछ । घनले पिट्छ । जब ढुंगा या ढलोटले देवताको आकार लिन्छ, त्यही कलाकारले आफूले बनाएको कलामा आदरपूर्वक दण्डवत् टक्र्याउँछ । भनिन्छ– जुन ढुंगाले छिनोका प्रहार खप्छ, त्यो पूजायोग्य हुन्छ । प्रहार खप्न नसकेर फुट्ने ढुंगा मानिसको खुट्टा पुछ्ने ठाउँमा खुम्चिन्छ ।

कलाकार कमलेश लिम्बू (डिएगो)को साङ्गोपाङ्गो कलायात्रा यस्तै फन्को मारिरहेको छ । चाडपर्वले घेरिँदै जाँदा आर्ट स्टुडियोमा उनी ढुंगामा भगवान लक्ष्मीको आकृति उतार्न व्यस्त छन् । अबको पाँच दिनमा यो अर्डर हात लगाउनुपर्ने भएकाले पनि उनको दैनिकी व्यस्ततामा बद्लिएको छ । छिनो र हथौडीको सहारामा ढुंगामा आकृति उतारिरहेका कलाकार कमलेशलाई शिलालेख र ताम्रपत्र लेख्नुपर्ने कामको पनि उतिकै चाप छ ।

जुनसुकै समय पनि ढुंगा र धातुमा अनेकौं आकृति उतार्न तल्लिन रहने मोरङ मधुमल्लाका डिएगो नामले परिचित कलाकार कमलेश कला क्षेत्रमा लागेको तीन दशक नाघ्यो । त्यसयता उनले सायदै फुर्सदको सास फेर्न पाएका छन् । उनको दैनिकी सधैँ भीमकाय ढुंगामा जीवित, दिवंगत व्यक्तिहरूको आकृति उतार्नमै बित्ने गरेको छ ।

मिक्लाजुङ गाउँपालिका ७ मधुमल्ला बजारमा दाजुभाइ आर्ट स्टुडियो चलाइरहेका कमलेशले तीन दशकको दौरानमा अनेक उतारचढाव झेले पनि उनको सपनाको उडान भने निरन्तर जारी छ । विशेषतः आफूलाई मूर्तिकारको रूपमा चिनाउने कमलेशको सालिक, मूर्ति निर्माण, शिलालेख र ताम्रपत्र लेखनमा विशेष दक्खल छ । लाहुरे परिवारमा हुर्किए पनि पारिवारिक विरासत नपछ्याएका कमलेशले कलाक्षेत्रमा होमिएर निर्जीव पत्थर र धातुमा जीवन भरेर आफ्नो कलालाई देशदेशावर पुर्‍याइरहेका छन् ।

कमलेशका बुवा बुद्धिबहादुर चेम्जोङ भारतीय सेनामा कार्यरत थिए । उनी पनि एक पटक बुवासँग ‘पल्टन’को अवस्था हेर्न गए । त्यहाँ सेनाको दुःख देखेपछि उनलाई लाहुरे हुने रहर कहिल्यै जागेन ।  बरु सोही ठाउँबाट उनमा नेपालमै केही गर्नुपर्छ भन्ने सोच पलायो । बाल्यकालदेखि हरेक चिज हेरेर नक्कल उतार्ने खुबी उनमा थियो ।

कलाप्रति रुचि राख्ने उनी स्कुलमा हुने प्रतियोगितामा पनि उत्कृष्ट चित्र बनाएर पुरस्कृत हुन्थे । त्यसले उनलाई कलाप्रति लगाव बढाउँदै लग्यो । पछि उनको रुचि बिस्तार हुँदै मूर्तिकलातर्फ मोडिएको थियो।

कमलेश भन्छन्,– ‘बुवा इन्डियन लाहुरे भए पनि मभित्र लाहुरे हुने सोच कहिल्यै आएन । बच्चैदेखि कलाकृति तर्फ मन मोडियो, अहिले आफूले रोजेको पेशामा संलग्न छु । अब जीवनभर यसैमा रम्ने योजना छ ।’

बाल्यकालदेखि नै चित्र बनाउने लगाव उनमा थियो । चित्र कोर्दाकोर्दै ब्लेडको माध्यमबाट कोर्न शुरु गरेका कमलेशले रेतीको छिनो बनाएर बाल्यकालमा ढुंगामा आकृति भर्न आरम्भ गरेका थिए । काम गर्दै गएपछि कलाका विषयमा थप अध्ययन अघि बढाउनुपर्ने खाँचो देखेपछि उनी काठमाडौं हानिए ।

त्यहाँ डायमण्डको टुल्सहरु सिक्ने अवसर उनलाई मिलेको थियो । यद्यपि ४० बर्षीय कमलेश यस क्षेत्रमा आफ्नो कुनै गुरु भने नभएको बताउँछन् । स्वअध्ययन गरेर आफूलाई कला क्षेत्रमा तिखारेको बताउने उनी यस क्षेत्रमा लाग्दै गर्दा प्रेरणाका स्रोत व्यक्तिहरू भने प्रशस्तै रहेको अनुभव सुनाउँछन् ।

‘कला क्षेत्रमा लागे पनि गुरु राखेर सीप सिकेको छैन’ कमलेश भन्छन्,– ‘मेरो जीवन कालमा ज्ञान, सीपका लागि कुनै त्यस्तो एकडेमीमा नै भर्ना भएर ज्ञान लिएको भने छैन । कडा मेहनत र लगनशीलताकै कारण आज म यो स्थान आउन सफल भएँ जस्तो लाग्छ ।’

मोफसलमा रहेर पनि स्वअध्ययन गरेर कला क्षेत्रमा सक्रिय कमलेशले आफ्नै ठाउँ मधुमल्ला बजारलाई कर्मक्षेत्र बनाउँदै आएका छन् । सानो र सीमित बजार क्षेत्रमा रहेर मूर्तिकला संलग्न हुँदै आएका कमलेश पछिल्लो समय कोशी प्रदेशमा गनिएका–चिनिएका मूर्तिकारका रूपमा चिरपरिचित छन् ।

कमलेशले किरात धर्मगुरु फाल्गुनन्दको १२ फुट अग्लो पूर्णकदको सालिकदेखि विभिन्न प्रसिद्धि कमाएका व्यक्तिहरूको कलाकृति उतारेका छन् । उनले ७ वर्षअघि नै ढुंगामा फल्गुनन्दको पूर्णकदको सालिक बनाएका थिए ।  सालिक तयार पार्न चार महिना लागेको थियो । सालिक बनाएबापत कमलेशले १२ लाख पारिश्रमिक लिएका थिए । त्यसपछि उनले साना ठूला गरी फल्गुनन्दका पाँच वटा अरु सालिक तयार गरेका छन् ।

पूर्वका ठूला इतिहासकार इमानसिं चेम्जोङ, बलभद्र न्यौपानेदेखि विभिन्न व्यक्तिको सालिक, देवीदेउताको मूर्ति, ठाउँ विशेषका आकृति उतारेका कमलेशले कोरेका सयौं सालिक, मूर्ति र चित्र अहिले देशका विभिन्न शहरका मन्दिर, पार्क र संग्रहालयमा देख्न सकिन्छ ।

ढुंगामा आकृति उतार्न एक हप्तादेखि चार महिनासम्म्म लाग्ने गरेको कमलेश बताउँछन् । यसबापत न्यूनतम २५ हजारदेखि १२ लाखसम्म पारिश्रमिक लिएको उदाहरण छ । आफू सिर्जना र कलाकारिताकै लागि जन्मिएको कमलेशको स्वमूल्यांकन छ ।

मूर्तिकार कमलेशका अनुसार पछिल्ला वर्ष आट्र्स व्यावसायिक हुँदै गइरहेको छ । मूर्तिकलामा धैर्य र लगनशीलता भएको अवस्थामा मूर्तिकारहरू मूर्ति बनाएर सजिलैसँग जीवन धान्न सक्ने मात्र नभई नाम र दाम दुबै मिल्ने कलाकार कमलेशको भनाइ छ । तर पछिल्लो समय सालिक, मूर्ति तयार पार्न कच्चा पदार्थ (ढुंगा) अभाव हुँदा समस्या हुने गरेको उनी बताउँछन् ।

‘कलाकृति भर्ने यो पेशा ढुंगामा आश्रित छ’ कमलेश भन्छन्–‘स्थानीय खोला नालामा ढुंगा अभाव हुन लागेको छ, जसका कारण पेशा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।’ स्थानीय सरकारहरुले जथाभावी खोला ठेक्का लगाउँदा ठेकेदारहरुले ब्रेकर लगाएर महत्त्वपूर्ण ठेला आकारका ढुंगा नष्ट गर्ने गरेका कारण मूर्ति र तयार पार्ने ढुङ्गाहरूको अभाव सृजना हुने गरेको उनको भनाइ छ ।

उनको आग्रह छ– ‘भविष्यमा विभिन्न सम्पदा, सालिक र मूर्ति तयार गर्ने ढुंगा अभाव सृजना हुने देखिन्छ । त्यसैले खोला ठेक्का लाउँदा ढुंगाको वर्गीकरण गर्ने व्यवस्था गरियोस् । यसले भोलिका दिनमा प्रकृतिले दिएको निःशुल्क उपहारका रूपमा रहेको एउटा ढुंगाको अभावमा कलाकारले भोको पेट बस्न नपरोस् ।’

कलाकार कमलेशको कला क्षेत्रको कर्ममा श्रीमती दुर्गाकुमारीको दरिलो साथ रहँदै आएको छ । तीन दशकभन्दा बढी समयदेखि व्यावसायिक रूपमा मूर्तिकलामा होमिएका कमलेशको शरीरले साथ दिँदासम्म यही क्षेत्रमा काम गर्ने धोको छ ।

मोफसलमा बसेर पनि कलाकृतिको माध्यमबाट राष्ट्रलाई योगदान गरेको भन्दै ललित कला प्रतिष्ठानले यो वर्षको ३० हजार राशीको प्रादेशिक पुरस्कारबाट कलाकार लिम्बूलाई सम्मान गरेको  छ । प्रादेशिक ललितकला प्रदर्शनीबाट छनौट भई राष्ट्रिय ललित कला प्रदर्शनीमा उनले नगदसहित पुरस्कृत भएका हुन् ।

कमलेशको विश्लेषणमा कला भनेको मृत्युपछिको जीवन हो । कलाले मानिसलाई सधैँ जीवन्त राख्छ । मानिसको मृत्यु भएपछि  पनि मूर्ति र सालिकले जीवन बोल्छ । कसको सालिक हो ? कसले बनाएको हो ? जस्ता प्रश्नोत्तरले दुवैलाई जीवन्त बनाउने भन्दै उनी भन्छन्– ‘मैले मेरो जीवन कालमा कोरेका हजारौँ मूर्ति र चित्र अहिले देशका विभिन्न शहरका मन्दिर, पार्क र संग्रहालयमा देख्न सकिन्छ । र यो बस्तु सधैँ जीवित रहन्छ ।’

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ०४ बजे

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि

एजेन्सी– युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका

चाडपर्वमा जुवा तास र लागूपदार्थ नियन्त्रण गर्न प्रहरीको निर्देशन

सुनसरी– चाडपर्वको बहाना बनाएर जुवा तास खेल्ने खेलाउने, मादक पदार्थ

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण बढ्यो

एजेन्सी– पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ ।

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई

राजदेवी मन्दिर डुबानमा, जमरा राख्न सकिएन

 जलेश्वर– यहाँको जलेश्वर–२ स्थित प्रसिद्ध माता राजदेवी मन्दिर बाढीका कारण