ब्रेकिङ स्टोरी

‘देउवाले रविलाई प्रधानमन्त्री अफर गर्दा हामीले ओलीलाई विश्वास गरेछौँ’

By ज्ञानु घिमिरे

October 25, 2024

काठमाडौं – सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत सरकारले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान थालेपछि रास्वपा सडक आन्दोलनमा ओर्लिएको छ । आखिर अदालती प्रक्रियाबाट टुंगो लाग्नुपर्ने विषयलाई लिएर सडकमा आन्दोलन किन ? यो प्रश्न रास्वपा नेताहरुतिर सोझिएको छ ।

यही प्रश्नको जवाफ खोज्नका लागि हामीले काठमाडौं र पोखराको सडक आन्दोलनमा सक्रिय रास्वपा सांसद हरि ढकाललाई सोध्यौं– रास्वपाको आन्दोलन केका लागि ? के यो आन्दोलनले अदालतको काम कारवाहीलाई प्रभावित पार्दैन ?

रास्वपा सांसद ढकालले आन्दोलन अदालततर्फ नभएर सरकारतर्फ केन्द्रित रहेको बताए । सरकारले प्रतिशोध साँधेर रवि लामिछानेलाई पक्राऊ गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली, एमाले पार्टी र कांग्रेसको गगन थापा समूहले रविलाई डेढ वर्ष खेदाएर पक्राउ गरेको ढकालको दाबी छ ।

सांसद ढकाल अब सहकारीमा डुबेको बचतकर्ताको रकम रास्वपाले नै फिर्ता गराउने दाबीसमेत गर्छन् । यसका लागि सडक र सदनबाट आन्दोलन गर्ने भन्दै उनले अप्ठ्यारोमा साथ दिन सहकारीपीडितहरुलाई आग्रहसमेत गरे ।

प्रस्तुत छ– रास्वपा नेता ढकालसँगको कुराकानीको सम्पादित अंश ..

अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गरिरहेको बखत यहाँहरूले किन आन्दोलन गरेर अनुसन्धानमा ‘डिस्टर्ब’ गर्नुभएको ?

अहिले सदन छैन । हामीले विशेष अधिवेशन माग पनि गरेको हो । सरकारको काम ठीक भएन । आउने ठाउँ सडकमै हो । हामीले न्यायालयलाई प्रभावित पार्ने गरी कुनै काम गरेको छैन । न्यायालयप्रति पूरा भरोसा छ । हामीले कुनै दबाब न्यायालयलाई दिएको छैन । हामीले सहकारी पीडितको रकम फिर्ता गर्ने सन्दर्भमा पार्टीले एक वर्ष अगाडिको जलेश्वर बैठकमा डा.स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा समिति बनाएर सहकारीको समस्या समाधान गर्न मोटो खाका नै तयार गरेका थियौँ । त्यो प्रतिवेदन सरकारलाई लगेर बुझाउँदा पनि कार्यान्वयन भएको छैन । त्यसपछिको विकल्प त सडक नै हो ।

अहिले आम नागरिकमा दुई ठूला दलको गठबन्धन बनेपछिको निराशा पोखिएको छ । हाम्रो आन्दोलनमा पहिलो दिन भन्दा दोस्रो र तेस्रो दिन सहभागिता बढी भइरहेको छ । मंगलबार, बुधबार त व्यापक नै थियो पोखरामा सहभागिता । हामी बाहिर आन्दोलित हुँदा अदालतले गर्ने निर्णय कुनै प्रभावित हुँदैन ।

यहाँहरू ‘नीलो क्रान्ति’को अभियान सुरु गरेको पार्टी, आफ्ना कुनै नेतामाथि छानबिन हुँदा चुप लागेर सहयोग गर्नुपर्ने होइन ?

यहाँले भनेको कुरा ठीक हो । हामी त्यसै गर्ने थियौँ होला । तर, राजनीतिक प्रतिशोध र पूर्वाग्रह साँधिएको भएर हामी सडक आउनुपर्ने अवस्था आयो । छानबिन समितिले एउटा प्रतिवेदन बुझायो, सहकारीको रकम प्रत्यक्षरूपमा रवि लामिछाने ऋणी भएर गरेको छैन तर गोरखा मिडियामा सहकारीको रकम गएको छ भनियो । तर त्यहाँ संगठित अपराधको मुद्दा छ । भनेपछि, अदालतलाई छाडेर प्रहरी प्रशासनले पक्राउ पुर्जी लिँदा त हामीले सहयोग गरेको हो । तर संगठित अपराध त होइन नि त । षडयन्त्र र शंकाको गन्ध त्यहाँबाट सुरु भएको हो ।

गोरखा मिडियाको विषयमा पार्टी सभापतिले पनि गोरखा मिडियाको अपचलनमा दोषी म हो भने व्यहोर्न म तयार छु भनिसक्नु भएको छ । मेरो हिस्सा कति हो ? म प्रक्रियालाई सहयोग गर्न तयार छु भन्नुभएको छ । हामीले काठमाडौंबाट पोखरा सहजरूपमा आएको पनि हो । संगठित अपराध लगाएर दलहरूको फौजदारी आकर्षित गराएर सिङ्गो राजनीतिक सकाइदिने र रास्वपाको यो उदयलाई नस्वीकार्ने प्रवृत्ति देखियो । प्रतिशोध देखियो । संगठित अपराध भनिएपछि त हामी सशंकित हुने नै भयौँ नि । त्यही भएर हामी आन्दोलनमा आउनुपर्छ ।

सभापतिले संगठित अपराध गरेको हैन भन्ने यहाँहरूको दाबी हो ?

हो । संगठित अपराध गरेको छैन । उहाँको राजनीति जसरी पनि सिध्याइदिने भनेर ठूला दलहरू लागेका हुन् । हामी सरकारको आग्रह अनुसारको फैसला न्यायालयले गर्छ भनेर ढुक्क छैनौं । तर, सरकारको नियत त गलत देखियो ।

हामी आइसकेपछि एक–दुई काम त गज्जप भएको छ नि । तर, हामी यही धर्ती र यही आकाशका मान्छे हौं । यही समाजका मान्छे हौं । अभियानका क्रममा विवेकशीलदेखि यहाँसम्म आएका छौँ । हाम्रो पनि कमीकमजोरी भएको होला । हामी सरकारमा जानु गल्ती भयो होला । केपी ओलीलाई विश्वास गर्नु पनि गल्ती भयो होला । हाम्रो उदयलाई ठूला दलले स्वीकार गरेनन् । किनभने, यो वितृष्णाले भोलि ०८४ मा यो शक्तिको आकर्षण गर्दै गयो भने सत्ता खोसिन्छ भनेर जसरी पनि नयाँ शक्तिलाई तहस–नहस बनाउन लागेका हुन् ।

नयाँ दलको उदयलाई स्वीकार गरेको भए चार चोटि प्रधानमन्त्री भएको मान्छे काठमाडौं महानगरको मेयरसँग झगडा गरेर बसेको दुई वर्ष हुन लाग्यो । विश्वासको मत लिने दिन ओलीले हामीमाथि मात्र प्रहार गरेर बोल्नुभयो । हामीलाई केटाकेटी, नाति, नातिना भनिएको छ । कहीँ न कहीँ सांगठनिक बलमा हामीलाई पेलिएको छ ।पछिल्लो पटक हामीसँग सबैभन्दा धेरै रुष्ट नेपाली कांग्रेसका गगन थापा खेमा, जसले रविमाथि इष्र्या राखेको छ । यतापछि एमाले पुरै लागेको छ । किनकि हामीले पाँचवटा निर्वाचन क्षेत्रमा त कम्युनिस्टलाई हराएका छौँ ।

भएको के छ भने अहिले नकारात्मक पाटोबाट विश्लेषण गरेर रास्वपालाई दलका कार्यकर्ताको विश्लेषणलाई पार्टीको विश्लेषण भनिएको छ । यो देशका लाखैं योजना सञ्चालक समितिको नेतृत्वमा एमाले कांग्रेसकै कार्यकर्ता छन् ।

खानेपानीको चुनाव गाउँपालिकाको चुनाव भए जसरी हुन्छ । आइएनजीओले त एमाले पार्टीलाई एशिया महादेशको हेडक्वार्टर भन्छ रे । व्यक्तिगत लाभमा लागेका कार्यकर्ता बाहेक ठुला पार्टीका जनता त हामीसँग छन् नि । तर, वितृष्णा फैलाउन हामीमाथि ठूला दलले प्रहार गरे ।

सत्य के हो भने डेढ वर्षसम्म एउटा मुद्दा सहकारी, सहकारी भनेर खेदेको छ । डेढ वर्षको बीचमा तथ्य नभेटिएपछि र सभापतिले पनि सबै कुरामा म ठगी प्रमाणित भए भने मैले राजनीति छोड्छु भन्नुभयो । तर, जिबी राईसँग संगत गरेको, तलब खाएको कुरा त उहाँले हो भनेको भन्यै हुनुहुन्छ । प्रत्यक्ष रूपमा रकम लिएको छैन भनेर प्रतिवेदनले बोलिसकेपछि पनि अनेक खेल खेलेर, संगठित अपराध भनेर मुद्दा दायर छ ।

अहिले सत्यलाई नजिकबाट हेर्दा त नयाँ उदाएको दललाई रोक्न खोजिएको छ । यसले राजनीतिक लाभ हानी कसलाई गर्छ, यो चिज त पक्का देखिन्छ । अदालतले प्रमाणित गर्‍यो भने उहाँ जेल बस्न तयार हुनुहुन्छ । उहाँले बीचमा राजनीतिक चलखेल गरेको भए हुने थियो होला तर गर्नुभएन । सत्य त यो हो नि ।

जति बाहिर सहजरूपमा हामीले हेरेका छौँ तर भित्रीरूपमा त यी ठूला दलले रास्वपा र रविलाई सिध्याउन विभिन्न प्रपञ्च रचिरहेका छन् । हामीलाई पनि त थाहा हुन्छ । ओलीको रोग भनेको अहिले हामी हो । ०८४ हामीबाट एमालेले जटिल देखेपछि हामीलाई रोक्न लागि पर्नुभएको छ । तर, यो कुनै हालतमा रोकिने छैन । जनताले राम्रोसँग कुरा बुझेका छन् । म भन्छु– स्वच्छ राजनीति गरौँ । कहिले पार्टी फुटाउने अध्यादेशको चर्चा हुन्छ, कहिले के हुन्छ ।

यो त हाम्रो नयाँ अभियान हो । ७० वर्षको अवधिमा सबैभन्दा बढी युवा अहिले जागरुक भएका छन् । तर ठूला दल हिजोको विवेकशीलबाट आएको अभियान नै तुहाइदिने अवस्थामा छन् । किनकि हामी त विवेकशीलसँग जोडिएर आएको नयाँ अभियानका व्यक्ति हौं ।

रवि ठूला दलसँग मिलेको भए हामीले यो परिणाम भोग्नुपर्ने थिएन भन्नुभयो । आफू पक्राउ पर्दा पनि सभापतिले यस्तै कुरा गर्नुभएको थियो । त्यस्तो के आश्वासन थियो र ?

अघिल्लो गठबन्धन टुट्दै गर्दा नेपाली कांग्रेसका सभापतिले प्रधानमन्त्री अफर गरेको कुरा त साँचो हो नि । तर, हामीले ओलीलाई विश्वास गरेछौँ । फागुन २१ मा आधा रातमा प्रधानमन्त्री बन्न अफर गरिएको हो, त्यहाँ लागिएन ।

दोस्रो– जब अघिल्लो समीकरणमा बहुमत हाम्रो गठबन्धनको थियो तर गठबन्धन नयाँ बनेपछि हिजोको प्रमुख प्रतिपक्षी दल सरकारमा भयो र समितिमा शिशिर खनाल र राप्रपा बाहेक त सबै नै सत्ता पक्षका भए । आग्रह त्यहीँबाट सुरु भयो ।

गगन थापाले प्रमाण छ भनेर डेढ महिना हंगामा गरेर उहाँहरूले समितिमा प्रभाव त पार्नुभयो । गोरखा मिडिया आउने थिएन तर उहाँलाई त्यहाँ लगेर छुवाइयो । जागिर खाएको मान्छेलाई पैसा कहाँबाट आयो भन्नेसँग के सरोकार र ? त्यसका लागि त राज्यका निकायहरू छन् नि । गोरखा मिडियाको नाम किटान गरेर लगिएपछि रविलाई फसाउन थालियो ।

को निर्दाेष, को दोषी, मैले अदालतमा गएको केसमा बोल्दिनँ तर ओलीले अघिल्लो समीकरणमा रविको सहभागिता छैन भनेको फेरि अहिले कसरी बोल्नुभएको छ ? कांग्रेस नेताहरूले रवि नसमाते सत्ता गठबन्धन नै छाड्छौँ भनेपछि त इर्ष्या राखियो । त्यो बीचमा अफरहरू आए । अब हामी अदालतमा छौँ । अदालतले समयमा नै जो निर्णय गर्छ, हामी त्यसलाई स्वीकार गर्छौं ।

अब सहकारी पीडितको आन्दोलनको नेतृत्व हामी गर्छाैं । किनकि ठूला ठगीमा यी पुराना पार्टीका कार्यकर्ता जोडिएका छन् । अर्को कुरा– हाम्रोे सभापतिलाई जेल हाले पनि रास्वपाको राजनीति सकिँदैन । उहाँलाई फसाइयो भने पनि हाम्रो पार्टी अझ जुरुक्क उठ्ने छ । सदन र सडक दुबैमा हामी पृथक प्रस्तुति लिएर जान्छौँ ।

यहाँले दल विभाजनसम्बन्धी अध्यादेशको कुरा गर्नुभयो, रास्वपाका नेता पनि एमाले–कांग्रेसमा जाने हल्ला छ, खास कुरा के हो ?

स्वार्थको राजनीति उहाँहरूले गर्नुभएको होला तर हाम्रा साथीहरू एकढिक्का हुनुहुन्छ । एमालेले अघिल्लो पटक २ तिहाइ ल्याउँदा राम्रो काम गरेको भए न रास्वपा आउँने थियो, न त हामी हुन्थौं । तर, हामी साढे २ वर्षको राजनीतिमा छौँ, उहाँहरू ७० वर्षदेखि हुनुहुन्छ । साढे दुई वर्षमा सबै चिनिसकेको छैन । तर, यति कुरा ढुक्क छौँ कि हामी एकमत छौँ । कसैले चलाएर, खेलाएर रास्वपालाई हल्लाउन सक्दैन । एक भावना छ । अध्यादेश ल्याएर दुई दलीय प्रणाली ल्याउने कुरा र दल फुटाउने कुरामा हामी साथ दिँदैनौँ ।

सहकारी पीडितहरुलाई यहाँहरू के भन्नुहुन्छ ?

उहाँहरूको पक्षमा हामीले निरन्तर आन्दोलन गरेका छौँ । हामी उहाँहरूले न्याय पाउनुपर्छ भन्ने पक्षमा छौँ । सहकारी पीडितहरूको कन्तबिजोग छ । अपचलनको अरबौँ रुपैयाँ दलको संरक्षणमा रहेकाहरुले गरेका छन् । धनराजको कुरा हेर्नु त । ऋषिकेशको कुरा हेर्नु । पीडितलाई हामी के भन्छौँ भने केही समय हामीलाई साथ दिनुहोस् । हामी पछि यहाँहरूलाई साथ दिन्छौँ ।

सहकारीमा दुई कुराहरू छन् : सहकारीमा अकूत सम्पत्ति बचत गर्ने यही दलका कार्यकर्ता छन् । तिनीहरूले भ्रष्टाचार गरेर राखेको पैसा पनि सहकारीमा छ । ब्याजको आकर्षणमा राखेको पैसा उचितै हो तर भ्रष्टाचारको पैसा स्रोत नखुलाई राखिएको छ । सहकारीको अभियानकर्ता एमाले हो । उनीहरूले क्राइसिसमा सम्पत्ति निकाले र मारमा सर्वसाधारण पारियो ।

साना र मझौला बचतकर्तामाथि घात भएको छ । हामीले यो आन्दोलनमा राजनीतिकरूपमा सहयोग गरेका छौँ । नागरिकले साथ दिनुहोस्, हामी सहकारीको सबै समस्या समाधान गछौं । सदन मंसिरमा खुल्छ । सडक र सदनबाट नै हामीले सशक्तरूपमा आवाज उठायौँ भने बचत फिर्ता हुन्छ ।

जलेश्वर बैठकबाट बुझाएको प्रतिवेदन मात्र कार्यान्वयन भयो भने समस्या समाधान हुन्छ । तर, यिनीहरूले कार्यान्वयन गर्न चाहेकै छैन । दोष रविलाई थुपारेर यिनीहरू चोखिन खोजेका छन् । ८६ अर्बको अपचलनमा हामी एक–एकको हिसाब लिन्छौँ । अहिले हामीलाई साथ दिनुहोस् । हामी यहाँहरूको रकम फिर्ता गरेर छोड्छौँ ।

यहाँलाई स्मरण गराऊँ, श्रीलंकामा आर्थिक मन्दी भएका बेलामा त्यहाँका राष्ट्रपतिले गत साल स्वर्णिम वाग्लेलाई बोलाउनुभयो । अर्थशास्त्री वाग्लेले केही टिप्स दिएर रिकभरी हुन्छ भनेपछि आज श्रीलंकाको अर्थतन्त्र लयमा फर्किन सुरु भएको छ । विश्वले मानेका अर्थशास्त्री हुनुहुन्छ तर सहकारी समस्या समाधान गर्न बनाएको प्रतिवेदनलाई वास्ता गरिएन । त्यो समाधानलाई सिरियस लिइएन । त्यो प्रतिवेदनलाई अक्षरश: पालना गर्दा सहकारीको सबै रकम फिर्ता आउँछ । मैले एकदम दाबाका साथ भनेको छु । प्रतिवेदले काम गर्छ ।

यसका लागि म देशैभरका सहकारीपीडितलाई एक हुन अनुरोध गर्छु । यहाँ रवि लामिछाने छुटेपछि आन्दोलन सेलाउँदैन । सहकारीपीडितको पक्षमा झन् बढी तात्ने वाला छ ।

आन्दोलनचाहिँ कहिलेसम्म गर्ने रास्वपाको तयारी छ ?

सीके राउतको पार्टी जनमतले पनि आन्दोलनको तयारी गरेको छ । सडकले जनता खोजेको छ । ठूला राजनीतिक दलले सडकको कुरा सुनेका छैनन् । सडक भोकाएको छ । यो परिवेशमा हामीले सदन र सडकमा सहकारीको रकम फिर्ता नभएसम्म आन्दोलनको नेतृत्व लिन्छौं ।

हामी विद्युत् महसुलको विषयमा पनि खरो भएकै हो । हामीले कतै अलमल गर्‍यौँ होला । तर, अब हरेक भ्रष्टाचारको विषयमा सडक र सदनमा उत्रिन्छौँ । सहकारीको विषयमा त सभापति जहाँ भए पनि हामी ०८४ सम्म नै निरन्तर आन्दोलन गर्छौं ।