ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’ | Khabarhub Khabarhub

सिनेमा

ऋचा घिमिरेको युटर्न : ‘तुलसी’ बोकेर अमेरिका, नेपाल आउँदा ‘तेल भिसा’

मोडलिङदेखि ‘कमब्याक’ सम्मको संघर्ष


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 9 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऋचा घिमिरे ६० को दशककी स्थापित नायिका हुन् । त्यसबेला चर्चामा रहेका स्टार नायक कमै होलान्, जोसँग उनले काम गरेकी छैनन् ।

हिरोइन बन्न चाहिने कथित न्यूनतम मापदण्ड ‘गोरो छाला’ उनीमा थिएन । तथापि कालो वर्णले उनलाई नायिका बन्न रोकेन ।

उनी ‘हिरोइनको छाला गोरो हुनुपर्छ’ भन्ने पुरातनवादी मान्यता भत्काउने नायिका समेत हुन् । ऋचाले आफूलाई सिनेमावृतमा ‘ब्ल्याक ब्युटी’का रुपमा स्थापित गरिन् ।

राजेश हमाल अभिनित फिल्मबाट उनले डेब्यू गरिन् । त्यसयता उनी १४ वर्ष सक्रियरुपमा अभिनय कर्ममा रहिन् । ६० को दशकको व्यस्त नायिकको नाम लिँदा उनी अग्रस्थामै आउँछिन् ।

एसएलएसी दिएपछि बिदाको समयमा बाटोका भेटेका अपरिचित व्यक्तिको प्रस्तावले उनलाई मोडलिङ क्षेत्रमा डोर्‍यारो । सिरियलमा आउनुअघि उनी टेलिभिजनकी चर्चित होस्ट थिइन् । २० वर्षको उमेरमा फिल्ममा डेब्यू गर्दा उनीसँग तीन वर्ष टेलिसिरियलमा अभिनय गरेको अनुभव थियो ।

तिनै ऋचा अहिले १० वर्षपछि फिल्म ‘तेल भिसा’बाट अभिनयमा कमब्याक गर्दैछिन् ।

जानौं उनको मोडलिङदेखि कमब्याकसम्मको यात्रा :

बाल्यकाल

ऋचाका बुवाको पुर्ख्यौली घर जनकपुर हो । बुवा-आमा कामको सिलसिलाले काठमाडौंमै भएकाले उनको जन्म र हुर्काइ यतै भयो ।

ऋचा दुई दाजुपछिकी कान्छी सन्तान हुन् । उनका बुवा सेफ र आमा शिक्षिका थिइन् ।

बुवा-आमा काठमाडौं संघर्षमै रहेका कारण यहाँका विभिन्न स्थानका डेरामा उनको बाल्यकाल बित्यो ।

उनी भन्छिन्, ‘डेरा सर्दा धेरै स्थानमा बसियो तर मलाई बाल्यकाल सम्झँदा नरदेवीको याद आउँछ । बाल्यकालको विशेष स्मरण नरदेवीकै छ ।’

मध्यमवर्गीय परिवारमा जन्मिए पनि बुवा-आमाले दुःख–सुखले उनलाई सहज बाल्यकाल दिए ।

आमा शिक्षिका एवम् मामाघरतिरकी उपल्लो अहोदाका जागिरे भएकाले उनलाई पढ्नैपर्छ भन्ने दबाब थियो । परिवारले काठमाडौं नाम चलेकै स्कुलमा पढ्ने अवसर पनि दिएको थियो । तर, आफ्नो पढाइ सामान्य रहेको उनी सुनाउँछिन् ।

भन्छिन्, ‘म अरु विषयमा ठीकै थिएँ तर गणितमा कमजोर थिएँ । कतिपटक त गणितमा शून्य नै आएको पनि छ ।’

गणितमा अनुत्तीर्ण हुँदा नृत्य र गायन कलाले कक्षा चढ्न सहयोग गरेको उनी सुनाउँछिन् । भन्छिन्, ‘मलाई सरले दुईवटा डान्स र एउटा गीत गाए कक्षा चढाइदिने सर्त राख्नुहुन्थ्यो । अनि मैले नाच्ने र गाउने गर्थेँ ।’

यद्यपि चार कक्षामा पुगेपछि आमा र दाइले घरमा गाइड गरेपछि पढाइमा केही सुधार भएको उनी सुनाउँछिन् ।

देखेको सपना र वास्तविकता

ऋचाले बाल्यकालमा आफूलाई रुचि भएको र खुलेर गर्न पाएको कुरा नृत्य हो । उनलाई आजको मितिमा पनि लाग्छ कि- मेरो दख्खल पढाइमा भन्दा पनि नृत्यमै थियो ।

किशोरावस्था नपुग्दै उनलाई आमाबाट नृत्यमा बञ्देज जस्तै भयो । त्यसबेला उनलाई आमाले भनेको कुरा सुनाउँछिन्, ‘नृत्यमा भविष्य छैन । राम्रो घरको छोरीले नाच्दैनन् ।’

आमाले त्यसो भने पनि ऋचाले नाच्न भने छोडिनन् । भन्छिन्, ‘घरमा थाहा नदिई स्कुलमा हुने हरेक कार्यक्रममा नाच्थेँ।’

त्यसबेला उनलाई आमाले नाच्न नदिँदा निकै रीस उठेको थियो । तर अहिले भन्छिन्, ‘आमाले त आफूले देखेको समाजको कुरा रहेछ । उहाँका तर्फबाट गलत त भन्नुभएको होइन रहेछ ।’

किशोरावस्था प्रवेश गरेपछि ऋचामा चर्चित बन्ने इच्छा एकदमै हाबी भयो । आमालाई उनले पत्रकार बन्ने इच्छा पनि सुनाइन् । उनले आमाबाट ‘छोरीहरुलाई पत्रकारिता खतरा हुन्छ, बन्नु  हुँदैन’ भन्ने जवाफ पाइन् ।

एथलेटिक्स बन्ने उनको अर्को सपना पनि गर्भमै तुहियो । खेलाडी बन्छु भन्दा उनले आमाबाट जवाफ पाइन्, ‘खेलाडीको भविष्य छैन ।’

ऋचामाथि आमाको एक मात्र अपेक्षा थियो- छोरीले सरकारी जागिर खानुपर्छ ।

ऋचा भन्छिन्, ‘अहिले म आमा भएपछि बुझ्दै छु, किन आमाले त्यसो भन्नुभएको रहेछ भनेर । आमाले त मेरो भविष्य सुनिश्चित हुन्छ भनेर सरकारी जागिर खानुपर्छ भन्नुभएको रहेछ ।’

नसोचेको अफर

ऋचाले भन्छिन्, ‘मलाई सानैदेखि एसएलसीपछि आफ्ना लागि आफैँ कमाउनुपर्छ भन्ने थियो ।’

उनले वि.सं. २०५५ एसएलसी दिइन् । संयोग पनि त्यस्तै पर्‍यो । आमाको खुट्टा ‘फ्याक्चर’ भयो । आमाको स्थानमा उनले पढाउने अवसर पाइन् ।

उनी सम्झन्छिन्, ‘स्कुल चाबहिलमा थियो । स्कुल बस नभएकाले न्युरोडबाट ५-६ बच्चालाई ट्याक्सीमा हालेर लैजान्थेँ । उनीहरुलाई नै लिएर घर फर्कन्थेँ ।’

उक्त जिम्मेवारी राम्रोसँग पूरा गरेका कारण आमा काममा फर्किए पनि स्कुलमा जागिर पाएको उनी सुनाउँछिन् ।

एसएलसीको नतिजा आउन केही समय बाँकी नै थियो । स्कुल जानेक्रममा न्युरोडमा उनको एक व्यक्तिसँग भेट भयो ।

ऋचालाई ती व्यक्तिले भने, ‘तपाईंको हाइट राम्रो रहेछ, मोडलिङ गर्ने ?’

अपरिचित व्यक्तिले गरेको प्रस्ताव ऋचा किन स्वीकार गर्थिन् ? न त उनमा मोडल बन्ने सपना नै थियो । जवाफ फर्काइन्, ‘नाइँ मलाई मन छैन ।’

दोस्रो पटक पनि ती व्यक्तिले उनलाई त्यही स्थानमा अफर गरे । पुनः अस्वीकार गरिन् ।

साता-१० दिनको अन्तरालमा तेस्रोपटक अफर आयो ।

ती व्यक्तिले तेस्रो पटक भने, ‘तपाईंमा सम्भावना देखेर नै मैले प्रस्ताव गरेको हुँ । हेर्न आउनुहोस्, तपाईं जस्तै साथीहरु रिहर्सल गरिरहेका छन् । तपाईंलाई यो क्षेत्रमा इच्छा लाग्न सक्छ ।’

लगातार अफर आएपछि ऋचालाई सोच्न बाध्य बनायो । जान मन पनि लाग्यो । तर के हुने हो भन्ने डर पनि सँगसँगै पैदा भयो ।

नाच्नसमेत मन नपराउने आमालाई उनले यो कुरा सेयर गर्न सकिनन् । साथी उषा थापासँग सल्लाह गरिन् ।

उनलाई उषाले ‘गर्दा राम्रै होला’ भन्ने अपरिपक्व जवाफ दिए पनि रिहर्सलस्थल कमलादी जान भरोषा पाइन् ।

ऋचा स्मरण गर्छिन्, ‘एक्लै जान त कहाँ के हो भन्ने भयो नि । रिहर्सल कस्तो हुने रहेछ भनेर हेर्न जान उषा नै साथी भइन् ।’

ऋचालाई रिहर्सलले पहिलो पटक नै मोहित गरायो । रिहर्सलमा सहभागी भइन् । तर, शो नजिकिँदै गर्दा उनीमा संकट आइलाग्यो ।

भन्छिन्, ‘घरमा भनेकै थिइनँ । थाहा नदिई शोमा र्‍याम्प वाक त गर्न मिलेन ।’

तर, ऋचाले हिम्मत जुटाएर आमालाई शोको कुरा भनिन् । उनले आमा आफूले सोचेभन्दा बढी विचलित भएको पाइन् ।

‘आमाले छोरी अब मेरो बन्धनबाट बाहिर गइछ जस्तो प्रतिक्रिया दिनुभयो । उहाँ मैले सोचभन्दा बढी चिन्तित हुनुभयो,’ उनी सम्झन्छिन्, ‘पहिलो र अन्तिम यही हो, अब शो गर्दिनँ भनेँ । उहाँलाई शो हेर्न हिँड्नुभन्दा मान्नुभएन ।’

शोमा अन्य मोडल साथीहरु सबैको परिवार आएको थियो । ऋचा एक्लै परिन्, मनमा चिसो पस्यो । तर, त्यसलाई ठूलोरुपमा लिइनन् ।

घर फर्किएपछि आमाको प्रतिक्रियाले उनी आश्चर्यमा परिन् । आमाले उनलाई त्यसबेला भनेको टड्कारो याद छ, ‘तैंले राम्रो र्‍याम्प वाक गरेकी थिइस् ।’

अर्थात् आमा र दाइ शो हेर्न आएको उनले घर पुगेपछि मात्र थाहा पाइन् । भन्छिन्, ‘उहाँहरु हेर्नचाहिँ आउनु भएछ तर मलाई भेट्नु भएन ।’

यसरी सो शोका आयोजक मदन प्रधानले बाटोमा गरेको प्रस्तावले ऋचाको मोडलिङ यात्रा सुरु भयो । एउटा शोमा जोडिएपछि अन्यमा पनि उनले अवसर पाउन थालिन् ।

भन्छिन्, ‘एउटा शोका लागि धेरै १५–२० मोडल चाहिन्छ । त्यो समयमा एउटा शोमा गएपछि मोडलकै सिफारिसमा अर्कोमा काम पाइन्थ्यो । त्यसरी नै मैले शोहरु पाउँदै गएँ ।’

टेलिभिजनबाट चर्चित

एसएलसीपछि ऋचालाई परिवारले साइन्स पढ्न दबाब दिएको थियो । गणित कमजोर भएकाले उनले मानिनन् । एकल जिद्दीले पत्रकारिता पढिन् ।

११ कक्षाको मध्यतिर उनले नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘द कलेक्सन’का लागि ‘होस्ट’ खोजेको थाहा पाइन् र आवेदन दिइन् ।

भन्छिन्, ‘पढाइसँगै सम्बन्धित क्षेत्र भएकाले मैले प्रयास्वरुप होस्टका लागि आवेदन दिएकी थिएँ । छनोट भएर काम पनि पाएँ ।’

कार्यक्रम हिट भएकाले उनी ‘पपुलर’ भइन् । बाटो हिँड्दासमेत मान्छेहरुले चिन्न लागे । उनी भन्छिन्, ‘त्यसबेला सार्वजनिक यायातातकै प्रयोग गर्थेँ । तपाईं द कलेक्सनको ऋचा होइन भनेर मान्छेहरु बोल्न थाल्नुभयो ।’

पपुलर भएकै कारण कलेजका प्रध्यानाध्यापकले बोलाएर ‘वी आर प्राउड अफ यू’ सम्म भनेको अहिले पनि उनको कानमा गुञ्जिरहन्छ ।

त्यही कार्यक्रममा उनले चल्तीका निर्देशक, निर्माता र नायकहरुको अन्तर्वार्ता लिने अवसर पाइन् । अर्थात् उनको फिल्मीवृतका हस्तीसँग चिनजान भयो ।

उनी थप्छिन्, ‘केही निर्माता र निर्देशकले फिल्ममा डेब्यू गराउँछु समेत भन्नुहुन्थ्यो ।’

उक्त कार्यक्रममा पाएको फ्री टिकटले दिलिप रायमाझी र निरुता सिंह अभिनित फिल्म ‘दर्पण छायाँ’ हेर्न संयोग जुर्यो । जुन फिल्मले ऋचामा नायिका बन्ने सपना पैदा गरिदियो ।

भन्छिन्, ‘फिल्म राम्रो भएर मलाई पनि अभिनय गर्न मन लाग्यो । केही व्यक्तिले फिल्ममा डेब्यू गराउँछु पनि भन्नुभएको थियो । अनि मलाई फिल्मप्रति थप उत्सुकता भयो । अवसर पाएँ भने खेल्छु भन्ने भयो ।’

सिरिजमा अभिनय

ऋचाले फिल्ममा डेब्यू गराउने आश्वासन त पाएकी थिइन् । लामो समय बित्दा पनि उनीसँग फिल्मको प्रस्ताव आएन ।

बरु डान्स सिक्ने क्रममा टेलिसिरियलको अफर आयो । पहिलो सिरियल ‘दुई दिनको जिन्दगानी’मा जोडाउने जस उनी गोविन्द रायलाई दिन्छन् ।

‘म गोविन्द सरको इन्सिच्युटमा डान्स सिक्थेँ । उहाँलाई निर्देशक रमेश बुढाथोकीले सिरियलका लागि नयाँ कलाकार चाहियो भन्नुभएछ,’ उनी थप्छिन्, ‘अनि गोविन्द सरले मलाई उहाँसँग जोडाउनुभयो ।’

पहिलो सिरियलमा उनले एक महिनाजति मात्रै काम गरिन् । त्यसलगत्तै १२ कक्षा पढ्दै गर्दा दोस्रो सिरियल ‘पुष्पाञ्जली’ जोडिइन् । त्यसपछि भने अभिनयमा उनको व्यस्तता बढ्यो । उनी सुनाउँछिन्, ‘मलाई एउटाभन्दा बढी सिरियल गर्न इच्छा थिएन । तर प्रस्ताव आएपछि के–के कुराले म सहमत भएँ ।’

ऋचासँग दुईवटा सिरियलमा एकै पटक काम गरेको पनि अनुभव छ । ती सिरियलहरु हुन्– ‘पुष्पाञ्जली’ र ‘कसलाई भनौं आफ्नो’ । उनी भन्छिन्, ‘एक दिन एउटा र अर्को दिन अर्कै सिरियलको सुटिङमा जान्थेँ ।’

तीन वर्ष सानो पर्दाका काम गर्दा उनले सबैभन्दा बढी समय दिएका सिरियल पनि यिनै हुन् ।

फिल्ममा डेब्यू

एकपछि अर्को सिरियलमा जोडिए पनि ऋचालाई फिचर फिल्ममा डेब्यू गर्नु थियो । डेब्यू गराउँछु भन्ने निर्देशकहरूले अरु नै नायिकलाई लिएर फिल्म बनाए । त्यसबेला उनलाई लागेको थियो, ‘उहाँहरुले बिर्सनुभएछ ।’

साथीहरुलाई पनि उनको इच्छा फिल्म हो भन्ने थाहा थियो । मोडलिङका दौरान चिनेको साथी तनु खड्काकै सिफारिसमा उनले पहिलो फिल्ममा काम गर्ने अवसर पाइन् ।

भन्छिन्, ‘तनुको दाइ बिमल खड्का फिल्मको प्रोडुसर हुनुहुदो रहेछ । उसैले दाइलाई भनिदिएर मैले फिल्म पाएको हो ।’

उक्त फिल्म हो– तिम्रो माया ९९ मेरो माया १०० । जसमा ऋचाले राजेश हमाल, रमेश उप्रेती र विपना थापा सहकार्य गर्न पाइन् । उनी राजेश हमालको जोडीको भूमिका थिइन् ।

तर, यो फिल्मका लागि कागजी सम्झौता गरेकै लगत्तै उनलाई पहिला ‘डेब्यू गराउँछु’ भनेर आश्वास दिने निर्देशकले फोन आयो । ती निर्देशकले फिल्ममा अनुबन्ध हुन प्रस्ताव गरे तर ऋचाले मानिन् ।

भन्छिन्, ‘सम्झौता भएको फिल्ममा ठीकैको भूमिका थियो ।  पछि प्रस्ताव आएको फिल्ममा लिड रोल थियो । छायाङ्कन समय जुध्यो । तर सम्झौताबाट पछि हट्न मलाई मन लागेन । स्वार्थी बन्न मनले मानेन ।’

उक्त फिल्म वि.सं ०५७ मा प्रदर्शनमा आएको थियो । त्यतिबेला उनी २० वर्षकी थिइन् ।

‘ब्ल्याक ब्युटी’को ट्याग

ऋचाको सक्रियरुपमा फिल्ममा लाग्दा हिरोइनहरुको न्युन्तम मापदण्ड सेतो छाला हुनैपर्‍थ्यो । तर, उनी अपवाद थिइन् ।

पुरातनवादी सोचले उनको कालो वर्णलाई राम्रो मान्दैन थियो । उनले आफ्नो परिचय ‘ब्ल्याक ब्युटी’का रुपमा स्थापित गरिन् ।

यो परिचय उनलाई सन् २००७ मा सार्वजनिक भएको एक म्युजिक भिडियोले दिएको हो । त्यो गीतको बोल छ, ‘म त काली सुन्दरी चर्चा मेरो गाउँ भरी’ ।

निर्देशक संगीता श्रेष्ठले सो गीतको प्रस्ताव ल्याउँदा आफू फिल्मको कामले निकै व्यस्त रहेको ऋचा किस्सा सुनाउँछिन् । तर, निर्देशक श्रेष्ठले ‘तिमीलाई नै हरेर गीत बनाएको’ भनेपछि उनी सुन्न बाध्य भइन् ।

उनी थप्छिन्, ‘कालो छाला राम्रो होइन भन्ने पुरातनवादी सोचको विपरीत थियो त्यो गीत । शब्द एकदमै पावरफुल भएर मैले जति व्यस्त भए पनि यो गीतमा अभिनय गर्छु भनेकी थिएँ ।’

सो गीत हिट बन्यो । त्यहीँबाट उनले ‘ब्ल्याक ब्यूटी’को ट्याग पाइन्, जसले उनलाई नायिकका रुपमा स्थापित हुनेसमेत सहयोग पुर्‍यायो ।

फिल्म यात्राको १४ वर्षमा उनले फैसला, फर्ज, गिरफ्तार, फर्ज, छोडिगए पाप लाग्ला जस्ता त्यसबेलाका हिट फिल्ममा अभिनय गरिन् । यो अवधिमा २५ भन्दा बढी फिल्ममा अभिनय गर्न भ्याइन् ।

उनले राजेश हमालको जोडी बनेर फिल्ममा डेब्यू गरिन् । त्यसबेला चल्तीका स्टार निखिल उप्रेती, विराज भट्ट, रमित ढुंगाना, राजबल्लभ कोइराला लगायतसँग सहकार्य गरिन् ।

विवाहपछि अमेरिका

ऋचाको विवाह सन् २००९ को अन्तिममा निर्देशक शंकर घिमिरेसँग भयो । फिल्म ‘विष’को दौरान उनीहरुको भेट भएको हो ।

विषका निर्देशक शंकर नै थिए । ऋचाका अनुसार त्यसबेला उनीहरुको सामान्य चिनजान मात्रै भएको थियो ।

त्यसलगत्तैको फिल्म ‘वीरताको चिनो’मा ऋचाले पुनः शंकरसँगै काम गरिन् । यही फिल्मको सेटमा उनीहरूबीच प्रेम अंकुराएको हो ।

भन्छिन्, ‘उहाँको मप्रतिको प्रेम छ भन्ने मैले पहिला नै महसुस गरेकी थिएँ । दोस्रो फिल्ममा उहाँको ममाथिको व्यवहार नै अभिभावकजस्तो थियो । त्यही कुराले म उहाँप्रति आकर्षित भएँ ।’

विवाहपछिका केही वर्ष पनि ऋचा सक्रियरुपमा फिल्ममा लागिन् । सन् २०११ को अन्त्यतिर उनको फिल्म ‘ब्रेक फेल’ प्रदर्शनमा आयो । ‘ब्रेक फेल’अघि ऋचाको अभिनय रहेको फिल्म ‘तुलसी’ छायाङ्कन भइसकेको थियो  तर प्रदर्शनमा आएको थिएन।

उनी थप्छिन्, ‘पहिला तुलसी छायाङ्कन भएको हो । प्रदर्शनमा नआई शंकरजी र मैले ब्रेकफेलमा काम गर्यौं । दुई फिल्म तयार भएपछि कुन प्रदर्शन गर्ने भन्ने दुविधा भयो । कथा पुरानो हुने भएकाले ब्रेक फेल पहिला प्रदर्शन भयो ।’

ऋचा ब्रेक फेलप्रति आशावादी थिइन् तर चलेन । त्यस फिल्मको शो बाडँफाँटको विषयलाई लिएर उनलाई अझै पनि असन्तुष्टि छ । भन्छिन्, ‘त्यस समय मलाई फिल्म क्षेत्रको फोहोरी राजनीतिले दिक्कै लगाएको थियो ।’

विविध कारणले उनले फिल्मबाट केही समय विश्राम लिने निर्णय गरिन् । त्यही छेक उनले पहिलो सन्तानलाई जन्म दिइन् ।

सन्तान जन्मिएपछि फिल्म ‘तुलसी’ लिएर विभिन्न देशमा पुगिन् । त्यी फिल्म लिएर निर्देशक श्रीमान् र एक सन्तानसहित उनी अमेरिका छिरेकी हुन् ।

अमेरिकामा १० वर्ष

सन् २०१४ मा देखि ऋचा अमेरिका बस्दै आएकी छन् । सो समय उनी फिल्मबाट टाढा रहिन् ।

सन् २०१४ देखि ०१८ को समय उनले अमेरिकामै थप दुई सन्तालाई जन्म दिइन् । पारिवारिक र निजी समयकै कारण समय बितेको पत्तै नभएको उनी बताउँछिन् ।

भन्छिन्, ‘तीन बच्चा हुर्काउँदा यसरी समय बित्यो कि मैले फिल्मबारे सोच्नसमेत भ्याइनँ । यो बेला नेपालमा कुन फिल्म बने, को हिरो र हिरोइन आए भन्नेसमेत मलाई थाहा भएन ।’

सन् २०१८ बाट उनी अमेरिकामै काम गर्न थालिन् । उनले त्यहाँ पडकास्ट चलाउन थालिन्, जुन एप्पल पडकास्टबाट सार्वजनिक हुन्थ्यो ।

भन्छिन्, ‘मेरो पडकास्ट बाहिरबाट अमेरिका आएका महिलाको संघर्ष र सफलतामा केन्द्रित थियो ।’

पडकास्ट गर्दा उनलाई भिडियोमा देखिनुपर्छ भन्ने प्रतिक्रिया प्रशस्तै आउन थाले । उनी भन्छिन्, ‘म बच्चा भर्खरै जन्मिएकाले मोटी थिएँ । भिडियोमा देखिन तयार भएकै थिइनँ ।’

अन्ततः उनलाई सिरिज बनाएर अभिनयमा फर्कने सोच आयो । एक लेखकलाई स्क्रिप्ट लेख्न पनि लगाइन् । तर, तयार स्क्रिप्टमा सिरिज बनाउँदा फिल्ममा जत्तिकै लगानी पर्ने देखियो । त्यसपछि उनलाई श्रीमानले भने, ‘बरु फिल्म नै बनाउँदा हुन्छ । किन सिरिज बनाउने ? आखिर लगानी उही हो ।’

अनि बन्यो ‘तेल भिसा’

सिरिजको स्क्रिप्ट थन्काएर शंकर फिल्ममा बनाउन कस्सिए । तेल भिसाको कथा विकास भयो ।

उक्त फिल्ममा ऋचा प्रमुखमध्ये एक भूमिकामा देखिँदैछिन् । अहिले उनको कमब्याक फिल्मका रुपमा ‘तेल भिसा’लाई लिइएको छ ।

मंसिर ७ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । शंकरको निर्देशन रहने यस फिल्ममा ऋचासहित विपीन कार्की, वर्षा राउत लगायतको अभिनय छ । फिल्मको ७० प्रतिशतभन्दा बढी छायाङ्कन अमेरिकामै भएको बताइएको छ ।

अहिले ऋचा र शंकर फिल्म प्रदर्शनका लागि नेपालमा छन् । ऋचा फिल्मको प्रचारमा व्यस्त छिन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ४० बजे

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा

‘राजागंज’मा सेन्सर बोर्डको कैँची- प्रधानमन्त्री ओलीसम्बन्धी सबै संवाद हटाइयो, कालोगोरो भन्न पनि निषेध

काठमाडौं- नेपाल बाहिर प्रदर्शनमा आइसके फिल्म ‘राजागंज’ मा सेन्सर बोर्डले

प्रतिगामी र प्रतिक्रियावादी शक्तिविरुद्ध लाखौँ जनता सडकमा उतार्छौँ : प्रचण्ड 

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र