ओलीको चीन भ्रमणबारे नेताहरूले सिंहदरबारमा उठाए यी १० कुरा | Khabarhub Khabarhub

ओलीको चीन भ्रमणबारे नेताहरूले सिंहदरबारमा उठाए यी १० कुरा

बीआरआई अघि नबढ्दा भ्रमण उपलब्धिमुलक नहुने निष्कर्ष



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि गर्न लागेको चीन भ्रमणका एजेन्डाबारेमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सोमबार संयुक्त छलफल गरेका छन् ।

यस छलफलमा पूर्वप्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड सहभागी भए । यस्तै पूर्वपरराष्ट्र मन्त्रीहरूसमेत उपस्थित छलफलमा परराष्ट्रमन्त्री डा. आरजु राणा पनि उपस्थित थिइन् ।

छलफलमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालको हितविरुद्ध नरहेको तर्क गरे । उनले नेपाल जस्तो देशले बीआरआईबाट लाभ लिनसक्नुपर्ने पनि बताएका छन् ।

प्रधानमन्त्रीलाई सुझाव दिने क्रममा पूर्व प्रधानमन्त्रीहरूले नेपालले पहिला कहाँ भ्रमण गर्ने भन्ने कुरामा द्विविधा गर्न नहुने बताएका थिए । उनीहरूले जुनसुकै देशमा भ्रमण गर्ने सकिने सुझाव दिँदा पूर्वपरराष्ट्र मन्त्रीहरूले पनि समर्थन जनाए ।

‘पहिलो भ्रमणका लागि भारत नै जानुपर्छ भन्ने छैन । नेपाल एक स्वतन्त्र मुलुक हो । नेपालको हित हेरेर जुनसुकै देशमा जान सकिने कुरामा सबै सहमत भए’, बैठकमा सहभागी एक नेताले खबरहबलाई भने, ‘कहाँ जाने, कहाँ नजाने नेपालले निर्णय गर्ने कुरा भएकाले यसमा प्रधानमन्त्री केपी शर्मा ओली अल्झिरहनु पर्दैन भन्ने सुझाव दियौँ ।’

यस क्रममा हालै मात्र चीन भ्रमणबाट फर्किएका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि नेपालको हित हेरेर जुनसुकै देशमा जान सकिने सुझाव दिए । छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले राष्ट्रलाई हानी हुने सम्झौता गर्न नहुने भन्दै देशको हितमा काम गर्न आग्रह गरे ।

उनले प्रधानमन्त्र ओलीलाई कुनै नेताको रिसले देशको हितविपरीतका शर्त मानेर निर्णय नगर्नसमेत आग्रह गरे । यो कुरामा अरु नेताले पनि सहमति जनाएका थिए । छलफलमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र डा.बाबुराम भट्टराई थिएनन् । देउवा जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुन सोमबार नै त्यता लागेका थिए ।

ओलीलाई नेताहरूको सुझाव

१. प्रधानमन्त्रीले विदेश भ्रमणमा जानुअगाडि सुझाव लिने गरेका छन् । तर ती सुझावलाई औपचारिकता मात्र सीमित गर्ने काम भइरहेकाले यो संस्कार ओलीले फेर्न सक्नुपर्छ । ओलीले अरूको कुरा सुन्ने तर निर्णय आफूखुसी गर्ने बताउँदै नेताहरूले बैठकमा यसबारे पनि चर्चा गरेका थिए । नेताहरूको निष्कर्ष थियो : सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्नुपर्छ ।

२. उत्तरी छिमेकी चीन अहिले विश्वको ठूलो शक्ति हो । त्यस्तो शक्तिशाली छिमेकमा रहनु महत्त्वपूर्ण भएको बताउँदै नेताहरूले जति सकिन्छ देशको हित हेरे फाइदा लिनसक्नुपर्ने सुझाव नेताहरूको थियो । त्यसका लागि आवश्यक भिजन र योजना बनाएर नेपालले फाइदा उठाउन नसकेको भन्दै यसमा सबै दल र शक्तिबीच छलफल हुनुपर्ने सुझाव नेताहरूले दिए ।

३. पहिलेबाटै चीनसँग भएका सम्झौता र सहमति लागु नहुने समस्याबारे पनि नेताहरू बोलेका छन् । उनीहरूले यसलाई पनि महत्त्वपूर्ण रूपमा लिएर कार्यान्वयनतर्फ लानुपर्ने बताएका थिए । सम्झौता गर्ने तर कार्यनयनमा चुक्ने नेपालको समस्या भएकाले त्यसबारे पनि सोच्न नेताहरूले ओलीलाई सुझाव दिएका छन् ।

४. तत्कालीन अवस्थामा ओली प्रधानमन्त्री भएकै बेला चीनसँग भएको पारवहन सम्झौताबारे नेताहरूले कुरा उठाएका छन् । पहिले पनि एउटा प्रोटोकल तयार गरेर अहिलेसम्म पनि आवश्यक पूर्वाधार निमार्ण नभएकाले त्यसबारे पनि चीनसँग कुरा राख्नुपर्ने सुझाव नेताहरूले दिएका छन् ।

५. दुई देशको सम्बन्ध राम्रो रहनुपर्ने तर्क गर्दै नेताहरूले चीनले अगाडि बढाउने भनिएका कतिपय परियोजनाका शर्तबारे सजग हुनुपर्ने राय दिए । त्यसैगरि उनीहरूले चीनले अघि सारेका परियोजनाले गति नलिएको विषय पनि नेताहरूले ओलीसमक्ष उठाएका छन् ।

६. नेपाललाई चीनले अनुदानमा दिएका हेटौँडा कपडा कारखाना, हरिसिद्धि इँटा कारखाना, बाँसबारी छालाजुत्ता लगायत कारखाना बेचिएको कुरा पनि नेताहरूले उठाए । उनीहरूले चीनले यसअघि दिएका कलकारखाना सबै मासिएको बताउँदै फेरि अनुदान लिनुपर्छ लाग्दा सोच्नुपर्ने पनि ओलीलाई सुझाए ।

७. बैठकमा नेताहरूले सत्ता गठबन्धनमा शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि खोजी गरेका थिए । छलफलमा नेताहरूले एमाले-कांग्रेस गठबन्धनलाई देश हितविपरीतका काममा नलाग्न पनि सचेत गराए ।

८. चीनसँग ऋण या अनुदान लिने विष गम्भीर भएको पनि बताए । उनीहरूले चीनसँग ऋण या अनुदानको कुरा गम्भीर भएकाले यसबारे विज्ञ र जानकार राखेर दलहरूबीचमा पनि राष्ट्रिय सहमति जुटाउन ओलीलाई सुझाव दिए ।

९. नेताहरूले बीआरआईअन्तर्गत एक सय ५३ देशले तीन हजार भन्दा प्रोजेक्ट बनाएर १.४ मिलियन डलरको लगानी भइसकेको कुरा पनि त्यहाँ उठाए । संसारका दुईतिहाइ देशले बीआरआईलाई लाभकारी भनिरहँदा नेपालका केही नेताहरूले ऋण पासो भनेर अपब्याख्या गरिरहेको सवालमा गम्भीर हुन ओलीलाई सुझाए ।

१० कांग्रेसले बीआरआई अन्तर्गत चीसँग ऋण लिनु हुँदैन भनिरहेको छ। चीनबाट ऋण लियो भने नेपालमा प्रभाव बढ्छ भन्ने मत कांग्रेसले बोकिरहेको भन्दै विपक्षी नेताहरूले यसबारे पनि कुरा उठाए । बीआरआईलाई लिएर वर्तमान सत्ता गठबन्धन फुट्छ भन्ने डरले ऋण नलिने भन्नु गलत हुने उनीहरूले बताएका थिए ।

यी सबै सुझाव सुनिसकेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने जवाफ दिए । उनले चीनसँग ऋण लिने-नलिने कुरा विवादको विषय नभएको पनि बताए । उनले बीआरआई ऋणसम्बन्धी परियोजना नभएको बताउँदै सबैको हितमा काम गर्ने पनि जवाफ दिए ।

बीआरआईअन्तर्गत ऋण लिने कुरामा कांग्रेस र एमालेबीच ठूलो अन्तरविरोध छ । ओलीले अरु नेतासँग छलफल गर्दा देउवा एउटा प्रतिमा अनावरण गर्न जनकपुर पुगेका थिए । यस्तोमा प्रधानमन्त्री ओली दुई दिने छोटो भ्रमण गरेर चीनबाट फर्किने तयारीमा रहेको नेताहरूले बताएका छन् । बैठकमा सहभागी एकजना नेताले भने, ‘चीनसँग कुनै ठूलो सम्झौता हुने सम्भावना छैन । ठूला कुरा अहिले केही हुँदैनन् । यो भ्रमण उपलब्धिमूलक हुँदैन ।’

यता ओलीले भने चीन भ्रमण उपलब्धिमूलक बताएका छन् । ओलीले यही मङ्सिर १७ गतेदेखि औपचारिक चीन भ्रमण गर्दैछन् ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ३ : ५५ बजे

लामिछानेसँग आज पनि बयान जारी

चितवन– सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

जुम्लाको पातारासीमा फोरजी सेवा

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि

बीआरआईबाट नेपालले लाभ लिन्छ : प्रधानमन्त्री ओली

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट

कर्णालीद्वारा काठमाडौंलाई १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाज र कर्णाली

काठमाडौं महानगरपालिकाद्वारा तीन बालबालिकाको उद्धार

काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बालिका र दुई बालकसहित तीन जनाको