मेची सहकारी : बैंकभन्दा बढी विश्वास, सदस्यलाई उद्योगदेखि घरसम्म | Khabarhub Khabarhub

वित्त

मेची सहकारी : बैंकभन्दा बढी विश्वास, सदस्यलाई उद्योगदेखि घरसम्म


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले सहकारी सञ्‍चालकले करोडौं डुबाएर भागे वा बचत फिर्ता दिएनन् भन्दै कतिपय सहकारीका बचतकर्ताहरू सडकमा उत्रिएका छन् । राजनीतिक दलका मुख्य नेतासम्म हिरासत पुगेका छन् । सहकारी समस्याले राष्ट्रिय समस्याकै रूप लिएको छ ।

कोशी प्रदेशका उत्कृष्ट सहकारीमा मेची बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड । विशेषतः झापामा यी सहरकारीहरूलाई बैंकभन्दा बढी विश्वास गर्ने गरिन्छ ।

मेची बहुउद्धेश्यीय सहकारीका हकमा हालसम्म यस्तो समस्या छैन । सेवा क्षेत्रका सदस्यहरूले यो सहकारीप्रति बैंकभन्दा बढी विश्वास राखेका छन् । सहकारीलाई यसका सञ्चालकहरूले देशमै उदाहरणीय बनाएका छन् । झापाको दमकमा कार्यालय रहेको सहकारीले यस क्षेत्रमा देशभर नै प्रख्याती कमाएको छ ।

मेची बहुउद्धेश्यीय सहकारीको स्थापना वि.सं. २०५४ साल भदौ १२ गते भएको थियो । सहकारी आन्दोलनका अभिभावक स्वर्गीय गणेशप्रसाद बस्नेतको अगुवाइमा २९ जना मिलेर एक लाख ४५ हजार रुपैयाँ पुँजीबाट शुरू गरेको सहकारीको पुँजी अहिले चार अर्ब रुपैयाँभन्दा माथि छ ।

दमकलाई आधार बनाएर स्थापना भएको सहकारीले अहिले झापा, इलाम र मोरङमा शाखा विस्तार गरिसकेको छ । २९ जनाबाट सदस्यसङ्ख्या १६ हजार ७२९ जना सदस्यहरू पुगिसकेका छन् ।

वित्तीय अवस्था

मेची सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति चार अर्ब तीन करोड रुपैयाँ नाघिसकेको छ । जगेडा कोषमा पनि २१ करोड रुपैयाँ छ । अन्य कोषमा आठ करोड २१ लाख रुपैयाँ छ । संस्थाको कुल बचत तीन अर्ब ३६ करोड छ भने तीन अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

सहकारीको संस्थागत पुँजी मात्रै ३४ करोड २२ लाख रुपैयाँ छ । यस्तै, कर्जा जोखिम कोष व्यवस्थापनमा सहकारीले पाँच करोड रुपैयाँ राखेको छ । यस संस्थाको शेयर पुँजी मात्रै ३७ करोड ८१ लाख ५३ हजार रुपैयाँ छ । अहिले यस सहकारीका शाखा सङ्ख्या १२ पुगेको छ ।

सहकारीमा ९५ कर्मचारी आबद्ध छन् । अहिले सहकारीले आफ्ना सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण काम गर्दै आइरहेको छ । विभिन्न जिल्लामा सहकारी डुबिरहेका बेला मेची सहकारीले भने उत्कृष्ट सहकारी व्यवसायको सम्मान प्राप्त गर्दै आइरहेको छ ।

यस सहकारीले २८ वर्षे यात्रा पूरा गर्दा एउटा विशाल लक्ष्य हासिल गरिसकेको छ । आफ्नो संस्थामा आवद्ध सदस्यहरूको हक हितका लागि संस्था स्वास्थ्य, शिक्षा र वासस्थान लगायत क्षेत्रमा विशेष ध्यान दिँदै आइरहेको सरकारी सञ्चालकहरू बताउँछन् ।

सेवा क्षेत्रका मानिसहरूले बचत रकम जम्मा गर्न वाणिज्य बैंकहरूभन्दा पनि मेची सहकारीलाई नै रोज्ने गरेका छन् । यो स्थितिले नागरिकस्तरमा मेची सहकारीप्रतिको विश्वसनीयता उजागर गर्छ ।

हाल आवश्यकताभन्दा पनि बढी तरलता रहेको सहकारीले जनाएको छ । सहकारीसँग अहिले ४९ करोड दुई लाख रुपैयाँभन्दा धेरै तरलता छ । अन्य सहकारीमा बचतकर्ता बचत फिर्ता माग्न सहकारी धाइरहेका छन् । तर, मेचीका हकमा बचतकर्ताले आफ्नो बचत सहकारीमार्फत लगानी गर्ने क्षेत्र खोज्ने गर्छन् ।

महिला उद्यमीलाई सहुलियतमा ऋण

सहकारीले उद्योगमा जोडिन चाहने महिलाहरूका लागिसहुलियतपूर्ण ऋण व्यवस्था गरेको छ । आफै आत्मनिर्भर बन्न खोजिरहेका महिलाहरू यो ऋणमा निकै आर्कषित रहेका सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराईको भनाइ छ ।

आफूलाई इच्छा लागेको उद्योग खोल्न महिलाहरूले सुरुवाती चरणमा १० लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्छन् । उद्योग सञ्चालन गर्न चाहनेहरूले लिएको ऋणको ब्याज तीन वर्षसम्म स्थिर रहने गरेको छ । केही गर्छु भन्ने सोच भएका महिलाहरूलाई अघि बढ्ने हौसला स्वरुप ब्याजदर छुट दिएको अध्यक्ष भट्टराईको भनाइ छ ।
‘महिलाहरूले उद्योग खोल्न लिएको ऋणको ब्याज तीन वर्षसम्म बढ्ने छैन । यदि ब्याज घट्यो भने घट्छ, तर बढदैन,’ अध्यक्ष भट्टराईले भने ।
अहिले धेरै महिला दिदिबहिनीहरू यो ऋणप्रति आकर्षित भएको उनी बताउँछन् । महिलालाई अघि बढाउन सकेको खण्डमा समाज विकास हुनुका साथै देशमै रोजगारी सिर्जना हुने भएकाले यो ऋण अर्थपूर्ण रहेको उनको भनाइ छ ।

हाउजिङ निर्माण

सहकारीले सदस्यहरूलाई सुरक्षित आवास उपलब्ध गराउन झापाको दमक नगरपालिका–४ मा ‘मेची आवास’ स्थापना गरेको छ । सहकारीले आफ्नो संस्थामा आबद्ध सदस्यहरूलाई सुरक्षित बसोबास सुनिश्चित गर्न पहिलो आवास योजना सफल पारेको छ ।

पहिलो योजनामा सहकारीले दमकमा ३७ कठ्ठा जग्गा किनेर जम्मा ५७ वटा घर निर्माण गरेको छ । ती सबै घर सहकारी सदस्यले नै किनिसकेका छन् । ती घर सदस्यहरूले निकै मन पराएका सहकारीका प्रमुख कार्यकारी अघिकृत (सीईओ) खेमराज बगालेले बताए ।

‘हामीले आवास निर्माण गर्न डिजाइन बनाएर सदस्यहरूलाई देखाउने बित्तिकै धेरैले मन पराउनुभएको थियो । अधिकांश घर नबन्दै बुकिङ भइसकेका थिए,’ बगालेले सुनाए । यस आवास योजनाका कारण संस्थाप्रति सदस्यहरू अझ आर्कषित बनेका उनको भनाइ छ ।

केही सदस्यहरूले सबै रकम तिरेर घर किनेका हुन् भने केहीले किस्तामा बुझाउने सर्तमा ! घरहरूको मूल्य ४२ लाखदेखि ५१ लाख रुपैयाँसम्म तोकिएको थियो । सबै घर एउटै डिजाइनमा निर्माण भए पनि जग्गाको क्षेत्रफल थपघट भएका कारण मूल्यमा केही तलमाथि परेको उनको भनाइ छ । इन्जिनियरले निकालेको मूल्यभन्दा ३५ प्रतिशत कम दाममैए सदस्यहरूलाई घर हस्तान्तरण गरिएको बगालेले बताए ।

पहिले निर्माण भएका घर सदस्यहरूले अत्याधिक मन पराएपछि दोस्रो चरणमा पनि सहकारीले आवास निर्माण गर्न लागेको छ । यसमा पनि दुई तहका घरहरू निर्माण हुनेछन् ।

पहिलो तहमा ४० लाख रुपैयाँभन्दा तलको बजेटमा सहकारीका सदस्यहरूले प्राप्त गर्न सक्ने खालका हुनेछन् । दोस्रो तहमा ८० देखि ९० लाख रुपैयाँसम्म पर्ने घरहरू निर्माण गरिनेछ ।

पढाइबाट वञ्चित भएकाहरूका लागि शिक्षा

सहकारीले अहिलेसम्म २५ जना बालबालिकालई शिक्षासँग जोडेको छ । निम्न आय भएका समुदाय वा असहाय र टुहुरा बालबालिकालाई शिक्षाबाट वञ्चित हुने नदिन सहकारीले शैक्षिक अभियान पनि थालेको हो ।

विद्यालय पुर्‍याइएका सम्पूर्ण विद्यार्थीहरूले राम्रो नतिजासाथ १२ कक्षा उत्तीर्ण गरे सहकारीले रोजगारीको पनि सुनिश्चितता गर्ने जनाएको छ । पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च सहकारीले नै ब्यहोरेको छ ।

बालबालिकाहरू शिक्षाबाट वञ्चित भए भविष्य अँध्यारो हुने भएकाले यस्तो वातावरण सिर्जना हुन नदिन विपन्न परिवारका बालबालिकालाई शिक्षासँग जोडिएको सहकारीले जनाएको छ । सहकारीले नै पढाएर १२ कक्षा पास गरेका एक जनालाई हालै सहकारीकै कर्मचारी नियुक्त गरिएको सीईओ बगालेले बताए ।


रबर उद्योगमा लगानी

सहकारीले दमकमै रहेको रबर उद्योगमा पनि लगानी गरेको छ । १२ बिघा जग्गामा गरिएको रबर खेतीमा सहकारीको ४५ प्रतिशत लगानी छ ।
विभिन्न सहकारीहरूसँग मिलेर गरेको रबर खेतीमा पनि मेची सहकारीको सबैभन्दा बढी हिस्सा छ ।

सहकारीमा आवद्धसदस्यहरूलाई सहकारीले घुमफिरका लागि पनि लैजाने गरेको छ । सदस्यहरूसँग जोडिएर नै सहकारीको विकास हुने भएका कारण सदस्यहरूलाई विभिन्न तालिम, जनचेतनामुलक काममा अघि बढाउनुका साथै वर्षमा एकपटक घुमफिरमा लैजाने गरिएको सहकारीले जनाएको छ । यस वर्ष पनि सहकारीले सदस्यहरूलाई मुक्तिनाथ दर्शन गराउने योजना बनाएको छ ।

सहकारी बजारको योजना

सहकारीको कार्यक्षेत्र विस्तार क्रममा मोरङको उर्लाबारीमा मेची सहकारीले सहकारी बजार खोल्ने योजना पनि अघि बढाएको छ ।

सहकारीमा आवद्ध किसानलाई लक्षित गरी उनीहरूले उत्पादन गरेको खाद्यवस्तु बजारीकरण गर्न सहकारी बजार खोल्न लागिएको हो । यसमा विभिन्न प्रकारका खाद्यबाली लगायत समाजमा आवश्यक पर्ने सबै कुरा सहजै उपलब्ध हुने सहकारीले जानकारी दिएको छ ।

यो बजार खुलेसँगै उत्पादन गरेर पनि बजारीकरण गर्न नसकेको किसानहरको समस्या हल हुने सहकारीका सीईओ बगालेको भनाइ छ । सहकारीमा आवद्ध मात्र नभई अन्य मानिसहरूले पनि यो बजारको फाइदा लिन सक्ने उनले बताए ।

सहकारीले यो बजार आफ्नै जग्गामा खोल्न लागेको हो । सहकारीले उर्लाबारी बजारमा खोल्न लागेको उक्त बजारमा दुई तलाको भवन निर्माण गरिनेछ भने भवनमा ६४ कोठा हुनेछन् ।

खानेपानी उद्योग खोल्ने योजना

सहकारीले आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने क्रममा खानेपानी उद्योग खोल्ने योजना पनि बनाएको छ । स्वच्छ पानी सबैको पहुँचमा पुर्‍याउने योजनाका साथ पानी उद्योग खोल्न लागिएको सहकारी सञ्चालकहरूले जनाएका हुन् ।

पानी उद्योग खोल्दा दमकमा सहकारीकै नाममा रहेको १५ कठ्ठा जग्गा सदूपयोग हुनुका साथै नेपालमै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको सहकारीका अध्यक्ष भट्टराईले बताए ।

सहकारमिा आवद्ध सदस्यहरूमध्ये ५०० भन्दा बढी खानेपानी व्यवसायी भएका कारण उनीहरूलाई पनि उद्योगमा सामेल गराएर उनीहरूमै पानी बिक्री गर्ने सहकारीको उद्धेश्य छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ५३ बजे

हसिनाविरुद्ध पिलखाना हत्याकाण्डको अनुसन्धान सुरु

ढाका – बंगलादेशको अन्तरिम सरकारले डेढ दशक पुरानो पिलखाना हत्याकाण्डको

रामप्रसादराईका वडा-वडामै योजना सम्झौता

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकलाई सहजरूपमा सेवा विस्तार गर्ने

टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती

वीरगञ्ज – वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।

बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर)

तनहुँ – तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका