संसदमा कांग्रेसको भूमिका सत्तापक्ष कि प्रतिपक्ष ? | Khabarhub Khabarhub

संसदमा कांग्रेसको भूमिका सत्तापक्ष कि प्रतिपक्ष ?



काठमाडौं- आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले १८ करोड कमिसन खाने लोभमा नयाँ जहाज खरिद प्रक्रिया अघि बढाइएको सरकारमाथि आरोपलगाए । सत्तारुढ दलको मुख्य घटक कांग्रेसका सांसद खतिवडाले संसदको विशेष समयमा बोल्दै क्यानडाबाट तीनवटा ट्विनअटर विमान किन्ने निर्णय गरिएको तर ती कम्पनीले जहाज बनाउनै छाडिसकेको तर्क गरे ।

खतिवडाले संसदमा आफ्नो भनाइ राखिराख्दा उनी सत्ता गठबन्धन नभई प्रतिपक्षीको आवाज बोलिरहेको आभाष हुन्थ्यो । उनले सरकारसँग प्रश्न गरिरहँदा संसदमा प्रतिपक्षीको ताली र साथ पाएका थिए भने माओवादी केन्द्रका सांसदहरुले अचम्म पर्दै उनलाई हेरेको देखिन्थ्यो ।

सभामुखले दिएको ८ मिनेट समय पर्यटनमन्त्री र मन्त्रालयको आलोचनामा खर्चेका खतिवडाले कामका आधारमा नभई, दामका आधारमा नियुक्ति दिइएको भन्दै सरकारको चर्को आलोचना गरे ।

राप्रपाका शाहीलाई कांग्रेसका शर्माको साथ


संसदमा माओवादी मन्त्रीको कडा आलोचना गरेका खतिवडाको मन्तव्य सेलाउन नपाउँदै माओवादी सांसद माधव सापकोटा र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको विवाद देखियो ।

माओवादी सांसद सापकोटाले संसदमा व्यवस्था विरोधी बहस हुन नसक्ने बताएपछि राप्रपाका सांसद शाहीले फरक विचारको सम्मान गर्न आग्रह गर्दै प्रतिवाद गरे । सांसद सापकोटाले संविधानको प्रस्तवनामै सार्वभौमसत्ता सम्पन्न नेपाली जनता लेखिएको स्मरण गर्दै सामन्ती, निरंकुश र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गरिने भनी लेखिएको पनि बताए ।

सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सीमा र कमीकमजोरीको बारेमा संसदमा छलफल हुन सक्ने तर, संविधानलाई ध्वंश गर्ने अधिकार कसैलाई नभएको बताए । वर्तमान व्यवस्थाको विकल्प राजा र राजतन्त्रवादीहरु हुन नसक्ने भन्दै उनले व्यवस्था विरोधी बहसको बारेमा सबै राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए ।

प्रत्युत्तरमा राप्रपा सांसद शाहीले संविधानको व्यवस्था नै उधृत गरेर प्रचलित व्यवस्थामाथि बहस गर्न पाइने र कसैले सांसदको राजीनामा माग्न नपाउने बताए । विचार मिल्दैन भन्दैमा अमूक मान्छेले राजीनामा माग्न नपाइने उल्लेख गर्दै उनले भने, ‘अलिकति ज्ञान भए संविधान पढेर आउनू, आउँदैन भने हामीसँग सिकाइ माग्नुपर्‍यो ।’

संविधानको धारा १०३ ले कुनै पनि सांसदलाई बोलेकै आधारमा राजीनामा माग्न नपाउने विशेषाधिकार दिएकोसांसद शाहीले बताए । अहिलेको व्यवस्थाको विरोधमा बोल्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ ले नरोकेको पनि शाहीले सांसद सापकोटालाई जवाफ दिए ।

आफू जुम्लाका जनताबाट निर्वाचित भएर आएको उल्लेख गर्दै उनले कसैले राजीनामा माग्न नसक्ने दोहो¥याए । उनले भने, ‘मैले किन राजीनामा दिने ? मैले आठ र नौ वर्षका बच्चाबच्चीको घाँटी काटेर आएको हो ? गुड्दै गरेको बसमा बम हानेर मारेको हो ? मैले किन राजीनामा दिने ? मैले नेपाली दाजुभाइ तथा दिदीबहिनी मारेको हो ? मैले जातजाति, धर्म भेषभूषाको नाममा हिंसा गरेर आएको हो ?’

राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो राजीनामा मागिएको सम्बन्धमा प्रयोग गरेका शब्दहरुप्रति माओवादी सचेतक हितराज पाण्डेले आपत्ति जनाए । शाहीले प्रयोग गरेको भाषामा पाण्डेले नियमापत्ति गरे ।

लगत्तै कांग्रेस सांसद सुनिल शर्माले एकजना सांसद बोल्दै गर्दा सत्तापक्षका सांसदले आपत्ति जनाउनु गलत भएको भन्दै विरोध गरे । सांसद शर्माले शाहीको समर्थनमा नियमापत्तिको विरोध जनाउँदा कांग्रेसकै सांसदले समर्थन गरेका थिए । यो घटनामा पनि माओवादी र कांग्रेसबीच दुरी देखियो ।

कांग्रेस-माओवादी गठबन्धन फेर्ने गृहकार्यमा हो ?


नेपाली कांग्रेसका नेता खतिवडाले संसदमा सरकारको चर्को अलोचना गरेपछि कांग्रेसले गठबन्धन फेर्ने गृहकार्य गरेको चर्चा हुन थालेको छ । यसअघि कांग्रेसको महासमिति बैठकले आउँदो चुनावमा गठबन्धन नगर्ने महामन्त्री गगन थापाको सांङ्गठनिक प्रस्तावलाई स्वीकृत गरेको थियो । सो निर्णयपछि संसदमा कांग्रेसका सांसदको सरकार विरोधी अभिव्यक्तिले गठबन्धनमा खटपट सुरु भएको संकेत गरेको छ ।

पहिला पनि कांग्रेसको संस्थापन इतर समूहले सरकारको विरोध गर्दै आए पनि सभापति पक्षधर नेताहरु मौन थिए ।

आइतबारको संसद बैठकपछि खबरहबले कांग्रेस नेता अर्जुननरसिंह केसीलाई गठबन्धन परिवर्तनबारे प्रश्न गर्दा उनले यस्तो सम्भावना नरहेको बताए । सरकारको काम गर्ने शैलीमा कांग्रेस सन्तुष्ट नरहे पनि तत्काल गठबन्धन वा सरकार छाड्ने संकेत नरहेको उनको भनाइ छ ।

त्यस्तै, कांग्रेसका युवा नेता प्रदीप पौडेलपनि गठबन्धन फेर्ने र सरकार परिवर्तन हुने सम्भावना नरहेको बताउँछन् । उनले खबरहबसँग भने, ‘सरकार फेरिने वा गठबन्धन फेरिने सम्भावना छैन । किनकि गठबन्धनमा सरकार सञ्चालनको पाँच वर्ष नै भाग लगाइएको छ । अबको एक वर्षमा कांग्रेसले सरकारको नेतृत्व गर्छ । आफ्नो भाग आउने बेलामा कांग्रेस नेतृत्वले गठबन्धन फेर्ने वा सरकार छाड्ने शाहस गर्छ भन्ने मलाई लाग्दैन ।’

माओवादी नेता जनार्दन शर्मा पनि तत्काल गठबन्धन वा सरकार परिवर्तनको कुनै सम्भावना नरहेको बताउँछन् ।

उता, माओवादी, एकीकृत समाजवादी तथा जसपा लगायतका दल सम्मिलित समाजवादी मोर्चाले एमालेलाई सहकार्यका लागि आह्वान गरेको भोलिपल्ट सरकारप्रति एमाले लचक बनेको छ ।

मन्त्रीको राजीनामा लाई लिएर संसद अवरुद्ध गर्दै आएको एमालेले आज संसद चल्न दिएको थियो । पछिल्ला घटनाक्रमले माओवादी गठबन्धनप्रति विश्वस्त नभएको देखियो नि भन्ने प्रश्नमा माओवादी नेता शर्माले बोल्न चाहेनन् ।

एमाले नेताहरु समाजवादी मोर्चाको पत्रका सम्बन्धमा मौन देखिएका छन् । एमाले प्रमुख सचेतक पदम गिरीलाई गठबन्धन छुटाउने प्रयासमा लाग्नुभएको हो भन्ने खबरहबको प्रश्नमा उनले तत्काल केही नबोल्ने बताए ।

मन्त्रीको राजीनामा माग्दै आएको एमालेले संसद चल्न किन दिएको भन्ने प्रश्नमा उनले एक–दुई दिन हेरेर पार्टीले निर्णय गर्ने बताए ।

यो पनि…

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : २८ बजे

वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन

काठमाडौं– आम जनता पार्टीको आइटी आर्मीले वैदेशिक रोजगारीमा जाने युवाहरूसँग

५१ प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम 

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी

भरतपुर महानगरपालिले दियो ४ हजार ५२४ जनालाई निःशुल्क तालिम

चितवन– भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा ४ हजार ५२४

हिमालयन बैंकक‍ो थापाथली शाखा सञ्चालनमा

काठमाडौं– हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका

श्रममन्त्रीका सय दिने उपलब्धि, भ्रष्टाचार शून्यमा झारेको दाबी (पूर्णपाठसहित)

काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफ्ना सय