राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी | Khabarhub Khabarhub

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । 

नेपाल बैंकर्स सङ्घले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे। 

अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए। 

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।

समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे। कोभिड महामारीयताका ठूलो रकम कर्जा प्रवाह भएको र उक्त कर्जा नउठ्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । 

ठूलो रकममा कर्जा लिएका ऋणीहरुले आफ्नो व्यवसायबाट लक्षित नाफा लिन नसक्दा पनि साँवा ब्याज तिर्न मुस्किल भएको उनले बताए। कोभिड महामारीका कारण नेपाल मात्र होइन विश्वभर नै  आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले बिस्तारै सुधार हुँदै गएको पनि गभर्नर अधिकारीले उल्लेख गरे। विगतमा बैंकहरुले धेरै सोचबिचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरुले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण बिनै ऋण लिएको उनको भनाइ छ ।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियामकीय अधिकारसहितको विशिष्टीकृत संस्था बनाएर जान आवश्यक रहेको उनले उल्लेख गरे ।

 त्यस्तै, निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको दाबी छ । “निजी क्षेत्र र सरकारी क्षेत्रबाट हुने विकास निर्माण कमजोर छ । निर्माण उद्योग समस्यामा पर्दा सिमेन्ट छडलगायत क्षेत्र समस्यामा पर्‍यो । यसरी बहुआयामिक असर देखिए”, उनले भने।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी अनर्गल प्रचार भैरहेको बताए। बैंक तथा वित्तीय संस्थाहरुले संकटको सामना गर्नुपरिरहेको बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएको गुनासो पनि उनले गरे।  

अहिले ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गैरहेको उनको भनाइ छ । त्यस्तै मुद्रास्फीति घट्दो रहेको, बाह्यक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको उनको दाबी छ ।

समग्र आर्थिक संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा पनि खुम्चिएको उनले बताए ।

आर्थिक शिथिलताको असर निर्माण क्षेत्र र साना तथा मझौला उद्योगहरू गम्भीर रुपमा देखिएकाले त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसकेको र थप कर्जा प्रवाह गर्नसक्ने अवस्था पनि नरहेको केसीको बुझाइ छ । यद्यपि, नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको पनि उनले जिकिर गरे। 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ५२ बजे

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि

बिस्का नखः जात्राको अवसरमा टोखामा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि सगरमाथा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक