काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी करिब तीन वर्षपछि चलचित्रको मुख्य भूमिकामा देखिँदै छन् । अभिनेता अमर प्रताप श्रेष्ठले डेब्यू गर्न लागेको फिल्म ‘मोदीबेनी’मा जोडिन पाउँदा उनी उत्साहित छन् ।
३५-४० वर्षको अगाडि र अहिलेको परिस्थितको कथामा आधारित यो फिल्मको टोली छायांकनको दोस्रो तालिकाअनुसार फागुन १६ गतेबाट पर्वत निस्कने तयारीमा छ ।
अमर नव कलाकार भए पनि सहकार्य राम्रो हुने वर्षा आशावादी छन् । उनी भन्छिन्, ‘वर्कसपमा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु ।’
नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने भएकाले यस फिल्मलाई लिए उत्साहित रहेको उनी बताउँछिन् ।
मन पर्ने नायिकासँग डेब्यू फिल्म गर्ने पाएका यस फिल्मबाट अमर थप आशावादी देखिन्छन् । उनी भन्छन्, ‘वर्षाजीसँगको कामबाट डेब्यू गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन-स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ ।’
शङ्कर कोइरालाले निर्देशन गर्ने यस चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराईलगायतको अभिनय रहनेछ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।
प्रतिक्रिया