नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस « Khabarhub

नेपालीलाई युएईमा अलपत्र पार्ने मेनपावरलाई कारबाही गर्न दूतावासको सिफारिस


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँलाई पत्राचार गरेको हो ।

“नेपाली श्रमिक समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यमबाट थाहा भएपछि समस्या समाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए”, श्रम सहचारी आविद अन्सारीले लेखेकाे पत्रमा भनिएको छ, “तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पनि पहल नगरेको देखिएकाले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही गर्न आदेशानुसार अनुरोध छ ।”

मेची इन्टरनेशनल ओभर्सिजका एजेन्टले क्लिनरको कामका लागि युएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिसेसमा पठाएको तर, कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत–१ गते सार्वजनिक भएको थियो ।

कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई (एकाघरको दाजु÷भाइ) सहित १९ जना नेपाली अलपत्र परेको खबर चैत–२ गते सार्वजनिक भएको थियो ।

खोटाङ्गे दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ)सँगै अलपत्र पर्नेमा सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, तेह्रथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ रहेका छन् ।

खाने बस्ने सुविधासहित मासिक युएई दिराम रु एक हजार एक सयदेखि रु एक हजार २०० सम्म तलब पाउनेगरी युएई लगिए पनि खानासहित मासिक रु नौ सय दिराम र आफ्नै खाना खानेलाई मासिक रु १०० दिराम दिने व्यवस्था थियो ।

आफूहरुले एजेन्टलाई जनही रु एक लाख ९० हजारदेखि रु दुई लाख २० हजारसम्म बुझाएर युएई पुगेको उनीहरुले बताएका छन् । युएईमा रहेका नेपालका सञ्जय थापा र भारतका नियासले अरु कम्पनीमा काम खोजेर केही दिन काम लगाउने, काम नभेटेसम्म कोठामै राख्ने गरेका थिए । नियमित काम नपाउने र कोठामा आफ्नै खाएर बस्नुपर्ने अवस्था देखेपछि युवा मिडियाको सम्पर्कमा पुगेका थिए ।

मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष राजकुमार चौधरीले सम्झौता अनुसारको सेवा सुविधा उपलब्ध गराउने ग्यारेन्टीका लागि फागुन–७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेजलाई पत्र पठाएका थिए । तैपनि कामदारको समस्या हल नभएको पीडितमध्येका पर्शुराम राईले बताउँदै आएका छन् ।

वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत–६ गते निर्देशन दिएको थियो । कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका १९ युवालाई थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दबाब दिइरहेका छन् ।

अलपत्र युवाका अनुसार युएईमा सम्झौता अनुसारको काम र दाम नपाई दुःख पाइरहेका कैयौँ नेपाली छन् । उनीहरुको हकहितमा आवाज उठाइदिने कोही छैनन् । चार महिनादेखि आफूहरु युएईमा अलपत्र पर्दासमेत नेपाल सरकारले कुनै चासो नदिएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । राजकुमार फेब्रुअरी १० तथा पर्शुराम फेब्रुअरी २३ तारिख वैदेशिक रोजगारीको सिलसिलामा युएई पुगेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : ३२ बजे

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर