न्युरोडमा डोजर : जसले रोप्यो बालेन र रघुवीरबीच कलहको बिउ | Khabarhub Khabarhub

न्युरोडमा डोजर : जसले रोप्यो बालेन र रघुवीरबीच कलहको बिउ

कलंकी-महाराजगञ्ज सडक चिनियाँ पक्षले निर्माण थाल्दै



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको योजनाअनुसार शनिबार बिहानैदेखि न्युरोडक्षेत्रको सडकमा डोजर चलाइयो ।

अन्य बेला सार्वजनिक जग्गा मिचिएका संरचना भत्काउन डोजर चलाउने महानगरले शनिबार विशालबजारको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक भत्काउन डोजर चलायो ।

महानगर आफैंले ६ महिनाअघि मात्रै आकर्षक बार लगाएर बनाएको फुटपाथ विस्तार गर्ने भन्दै सडक काट्न थालिएको थियो ।

फुटपाथ विस्तार गर्न शनिवारदेखि जुद्ध शालिकबाट इन्द्रचोकको सडक खन्न थालिएपछि सडक विभागले यसमा आपत्ति जनायो ।

फुटपाथ विस्तार गरी वृक्षारोपणसमेत गर्ने योजनासहित सडक काट्ने प्रक्रिया अघि बढाइएको जानकारी महानगरका सह-प्रवक्ता दीपक अधिकारीले शनिबार दिएका थिए ।

खासगरी व्यापारिक कारोबार र किनमेलका लागि दैनिक हजारौँ उपभोक्ता हिँडडुल गर्ने उक्त क्षेत्रको फुटपाथ साँघुरो भएको निष्कर्ष मेयर बालेन्द्रको थियो । त्यहीअनुसार सडकको दायाँबायाँ दुवैतर्फ मेसिन लगाएर काट्न थालियो । दुवैतर्फ सडक काट्दै फुटपाथ बढाउने प्रक्रिया अघि बढाएपछि केही व्यापारीले सडक विभागलाई गुहारे।

सानो सडक फुटपाथ विस्तारका नाममा झन् साँघुरो बनाइएको भन्दै व्यापारीहरूको मौखिक उजुरी परेपछि शनिबार नै विभागले महानगरको उक्त काममा हस्तक्षेप गर्‍यो ।

व्यापारीहरूको उजुरीपछि मेयर बालेन्द्रले अर्को प्रसंग झिकेर अराजक कदम चालेको दाबी सडक विभागको छ । विभागले शनिबार नै विज्ञप्ति निकालेर न्युरोडको सडक जथाभावी भत्काउने काम रोक्दा गैरजिम्मेवार कदम चालेको जनाएको छ ।

मेयर साहले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकी-महाराजगञ्ज रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको तर्कसहित सडक विभागलाई खुला चुनौती दिए । सडक डिभिजन कार्यालयले काठमाडौंले एकातिरको विवाद अर्कातिर जोडेर मेयर साहले अराजक गतिविधि गरेको शनिबार नै जनाएको थियो ।

देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याईँ तथा अराजक शैलीबाट भएको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने सडक डिभिजन काठमाडौंको जिकिर छ ।

विभागले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक जथाभावी काट्न रोकेपछि बालेनले डिभिजनसँग सरोकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्यको उपहास गरेको पनि जनाएको छ ।

न्युरोडको विशाल बजारबाट इन्द्रचोकसम्मको सडक कटान कार्य गैरकानुनी रहेको तर्क सडक डिभिजन काठमाडौंले गरेको छ । उसले पिच सडक काटेर डोजर चलाउँदा मुख्य सरोकारवाला सडक डिभिजनसँग कुनै सोधखोज र समन्वय नगरेको आरोप महानगरमाथि लगाएको छ ।

सडक फराकिलो र शान्त बनाउने भन्दै मेयर साहले परिचालन गरेको डोजरलाई सडक विभागले शनिबार नै रोकिदिएको थियो । काटिएको उक्त सडकको फुटपाथमा महानगरले नै ६ महिनाअघि मात्रै आकर्षक बार लगाएको थियो ।

तर, अहिले फेरि आधुनिक शैलीमा फुटपाथ विस्तारसहित वृक्षारोपणको योजना महानगरले सारेको थियो । यही कुरालाई लिएर बालेन्द्रले फेरि एक पटक संघीय सरकारसँग टसल बढाएका हुन् ।

यो पनि-

पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो ‘उपहार’

यातायात मन्त्री भन्छन्- बालेनका कुरा सुन्छु तर न्युरोडको तोडफोड कानूनसम्मत छैन

 

तर उनले जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकबारे उल्लेख गरेका छैनन्। बरु उनले कलंकी-महाराजगञ्जसम्म धुवाँ, धुलोमुक्त सडकका लागि चक्रपथ सुधारको कामको सुस्तताबारे मार्च १२ मा लेखेको फेसबुकको पोस्ट शनिबार फेरि सेयर गरेका छन् ।

‘चक्रपथ सुधारको दोस्रो फेज (कलंकी-महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारका तर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिनाभित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ’, उनले मार्च १२ मा भनेका थिए, ‘४० (३ वर्ष ४ महिना) महिनाभित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ (१२ वर्ष) महिना बितिसक्दा थालनी हुनेसम्मको पनि सङ्केत देखिँदैन ।’

तर, उनले शनिबार जुद्ध शालिकदेखि इन्द्रचोकसम्म काटिएको सडक र फुटपाथ विस्तार रोक्न विभागले गरेको हस्तक्षेपको कुरा कतै उल्लेख गरेका छैनन्।

मेयर साहले घुमाउरो भाषामा जुद्ध शालिकदेखि इन्द्रचोकसम्म सडक कटान यातायात मन्त्री रघुवीर महासेठको निर्देशनमा रोकिएको भने स्वीकारेका छन् ।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला’, न्युरोडको सडक कटान रोकिदिएकोतर्फ इंगित गर्दै मेयर शाहले भनेका छन्, ‘विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकी-महाराजगन्ज रिङरोड विस्तारका नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ । काठमाडौं महानगरले अकारण गाली खानु परेको छ ।’

उनले यति लेख्दै सडक विभागमा धुलो पोख्दै गरेको भिडिओ सामाजिक सञ्जालमा हालेका छन् । ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला’, उनले भनेका छन् ।

तस्बिर : चिरायु शाक्य

मन्त्रीको जवाफ

बालेन्द्रको पहिलो आक्रोश न्युरोडमा फुटपाथ विस्तार हो भन्ने कुराको पुष्टि आइतबार भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गरिदिए ।

साहले सडक विभागमा धुलो खन्याउन चालेको कदमप्रति कुनै गुनासो नभएकोसमेत महासेठले बताए ।

तर उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै न्युरोडमा काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउने नाममा गरेको सडक तोडफोड कानुनसम्मत नभएको जिकिर पनि गरे ।

कलंकी-महाराजगञ्ज सडक विस्तारको विषयलाई मेयर साहले उठाएको कुरालाई आफूले सल्लाहका रूपमा लिएकोसमेत महासेठले बताए ।

‘अहिले हामी सर-सल्लाह गर्दै छौँ । मलाई लाग्छ, कलंकी-महाराजगन्जको मुद्दा जसरी अगाडि ल्याउनुभएको छ, त्यसलाई सल्लाहका रूपमा लिएको छु’, महासेठले भने, ‘शनिबार दिउँसो मेयर साहले सार्वजनिक गरेको भनाइमा मेरो कुनै आपत्ति छैन । तर न्युरोडमा भइरहेको सडक तोडफोडको क्रियाकलापलाई कानुनसम्मत मान्न सकिन्न ।’

थिएन सडक विभागको अनुमति

महानगरले यो सडक बलजफ्ती काट्न थालेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

उक्त क्षेत्रमा फुटपाथ विस्तार गर्ने भन्दै महानगरले सडक डिभिजन कार्यालयलाई यसअघि पत्र लेखेको थियो । तर कार्यालयले प्राविधिक हिसाबमा उक्त सडक काट्न नहुने लिखित जवाफ महानगरलाई पठाएको थियो ।

‘उहाँहरू (महानगर) ले उक्त सडक काटेर फुटपाथ विस्तार गर्न अनुमति लिएको थिएन। सिधै जानकारीसम्बन्धमा भनेर हामीकहाँ पत्र आएको थियो’, सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता एवम् ईन्जिनियर प्रमोद खतिवडाले खबरहबसँग भने, ‘सडक ऐनले विभागको अनुमतिबिना सामरिक महत्वको सडक काट्न नमिल्ने व्यवस्था गरेको छ । हामीले उक्त सडक काट्न ‘स्पेसिफिकेसन’ पुग्दैन, अनुमति दिन मिल्दैन भनेर लिखित जवाफ पनि दिएका थियौँ ।’

तर, विभागबाट लिखित जवाफसहित अनुमति दिन नमिल्ने भन्दा पनि महानगरले बलजफ्ती उक्त सडक काटेको ईन्जिनियर खतिवडाले बताए ।

‘प्राविधिक हिसाबले उक्त सडक काट्न मिल्दैन भनिसकेका थियौँ । तर सडक विभागलाई थाहा नदिई काट्ने काम भएको हो’, खतिवडाले भने, ‘शनिबार बिहानदेखि उक्त सडक काट्न थालिएको सूचना आएपछि हामीले हस्तक्षेप गरेका हौँ। सडक विभागको टोलीले तत्कालै डोजर र सडक काट्ने मेशिनसेमत नियन्त्रणमा लिएको हो ।’

सडक विभागका एकजना अधिकारीले सडक कटान रोक्न चालिएको कमदको प्रतिक्रियास्वरुप फोहोर पोखिदिने जस्तो अराजक काम महानगरबाट भएको बताएका छन् ।

‘सडक कटान रोकिसकेपछि त्यसको प्रतिक्रियास्वरुप महानगरले धुलो र फोहोर विभागको गेटमा पोख्ने काम भएको हो’, ती अधिकारीले भने, ‘त्यसमा पनि सडक विभागले रिङ रोड विस्तार परियोजना हेर्दैन । त्यो अरु नै कार्यालयअन्तर्गत पर्छ।’

विभागले न्युरोडको सडक कटान रोकेको दुई घण्टापछि नै फोहोर र धुलो पोखिएकाले त्यसकै आक्रोशको उपजका रूपमा लिएको छ ।

‘न्युरोडमा सडक काट्ने काम रोक्न हस्तक्षेप गरेको दुई घण्टा पछाडि फोहोर फ्याँकिनु त्यसकै प्रतिक्रियास्वरुप हो भन्नेमा शंका रहेन’, ती अधिकारीले भने, ‘सडक ऐन बमोजिम उक्त सडक प्राविधिक रुपमा काट्नै मिल्दैन । त्यहीकारण अनुमति नदिइएको हो ।’

कस्तो छ यो सडक ?

सडक विभागका अनुसार जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक साढे १० मिटरको छ । जहाँ अहिले तीनवटा लेन छन् ।

काठमाडौं महानगरपालिकाले यो सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिरदेखि २ मिटर ४० सेन्टिमिटरसम्म सडक फुटपाथ बढाउन भन्दै काट्न थालेको थियो ।

‘प्राविधिक हिसाबले त्यो सडक काट्नै मिल्दैन । साढे १० मिटरको उक्त सडक त्यसरी काट्दा न तीन लेनको हुन्छ न २ लेनको नै’, ईन्जिनियर खतिवडाले भने, ‘महानगरले अनुमति मागे पनि काट्न अनुमति दिन मिल्दैन । प्राविधिक हिसाबले त्यसरी काट्न दिनु मापदण्ड नै बिगार्नु हो । तर हामीले हस्तक्षेप गरेर रोकिसकेपछि रोक्नुपर्‍यो। हामीले मेशिन फिर्ता गरेपछि फेरि काट्नु भएछ । यसरी बलजफ्ती गरिनु गलत हो ।’

खतिवडाले यदि काट्ने नै हो भने महानगरले संघीय सरकारसँग पहल गरेर नीति नै परिवर्तन गर्नुपर्ने बताएका छन् ।

‘यो अवस्थामा हामीले अनुमति दिन सक्दैनौँ । बरु मेयरले सडक नीति नै फेर्न लाग्दा राम्रो’, उनले भने, ‘हाम्रो जिम्मामा रहेको सडकको नियन्त्रण तथा मर्मत सम्भार सबै हाम्रो हो । उहाँले संघीय सरकारसँग कुरा गरेर कानुन बदल्न लाग्दा उचित हुन्छ । अहिले हाम्रो जिम्मामा रहेको सडक काट्न मिल्दैन । यसबारे हामी अन्य विकल्पमा पनि जान सक्छौँ ।’

के भन्छ महानगर ?

उक्त सडक काट्न रोकिएपछि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई फेसबुकबाट निशाना साँधे । तर उनको निर्देशनमा फोहोर धुलो भने सडक विभागमा पोखियो ।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला’, उनले न्युरोडको सडक काट्न नदिएपछि शनिबार महासेठलाई लक्षित गर्दै भनेका थिए ।

यसलाई लिएर महानगरको संस्थागत धारणा बनाउन आइतबार अपरान्ह जनप्रतिनिधिसहितको बैठक बोलाइएको छ ।

महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले सडक विभागको हस्तक्षेपसहित कलंकी-महाराजगञ्ज सडकबारेमा संस्थागत धारणा बनाउन बैठक राखिएको बताए ।

‘हामी यसबारेमा ठोस र संस्थागत धारणा बनाउँदैछौँ । त्यसका लागि जनप्रतिनिधिहरूसहितको बैठक बस्दैछ’, उनले खबरहबलाई भने, ‘उक्त बैठकले संस्थागत धारणा बनाएर हामी पत्रकार सम्मेलन नै गरेर हाम्रा कुरा सार्वजनिक रुपमा राख्छौँ ।’

तस्बिर : चिरायु शाक्य

अड्किएको कलंकी-महाराजगञ्ज

चक्रपथको कोटेश्वर-कलंकी सडक निर्माण पूरा भएर सञ्चालन आइसकेको छ । त्यसको दोस्रो खण्डका रुपमा रहेको कलंकीदेखि महाराजगञ्ज सडक निर्माणकार्य २०७५ मै सुरु भएको थियो ।

२०७५ मै यो सडकमा ‘अण्डर पास’ र आकाशे पुलको अध्ययन सकिएको थियो । चिनियाँ सरकारले निर्माण गर्ने गरी करिब १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर-कलंकी सडकजस्तै आठ लेनको बनाउने तयारी थियो। त्यहीअनुसार २ वर्षअघि नै यस क्षेत्रका सबै रुख काटि सकिएको छ । यो सडकको ‘मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एकएक लेनको सर्भिस ट्रयाक हुने डिजाइन छ ।

यो सडकखण्डको सात ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना थियो । चिनियाँ निर्माण कम्पनीले निर्माण गरेका तीन पुल पर्याप्त नभएपछि सरकार आफैंले थप पुल निर्माण थालेको थियो

तर २०७८ मै सडक विभागले अधिकांश स्थानको साइड क्लियरेन्स गरिए पनि यो सडक निर्माण अझैसम्म अघि बढ्न सकेको छैन ।

हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालीन अवस्थामा भौतिक मन्त्री हुँदा यस सडकलाई अघि बढाउन चिनियाँ राजदूत छेन सोङलाई नै स्थलगत यात्रा गराएका थिए ।

श्रेष्ठ गृहमा गएपछि भौतिक मन्त्रालय सम्हालेका प्रकाश ज्वालाको पालामा पनि यो सडक निर्माण अघि बढेन । उनले पनि चिनियाँ राजदूत सोङलाई यो सडक अवलोकनका लागि लिएर गए ।

निर्माण जिम्मा लिएको चिनियाँ पक्षलाई पटक पटक स्थलगत रुपमा उतार्दा पनि काम नभएको अवस्थामा महानगर प्रमुख शाहको आक्रोशलाई सर्वसाधारणले पनि समर्थन गरे ।

तर साहले सामाजिक सञ्जलामा व्यक्त गरेको उक्त आक्रोशको जवाफ आइतबार विज्ञप्तिमार्फत दिएको छ ।

विभागका प्रवक्ता रामहरि पोखरेलले आइतबार एक विज्ञप्ति निकालेर साहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणको जवाफ दिएका छन् ।

‘महानगर प्रमुखले उठान गर्नुभएको कलंकी-वसुन्धरा सडकखण्डको अवस्थाबारे महानगर र सडक विभागबीच पटक पटक संवाद, सहयोग र सहकार्य भई आएको विषय उल्लेख गर्नु सान्दर्भिक हुन्छ’, उनले भनेका छन्, ‘उक्त खण्डको मुख्य मार्गलाई ८ लेनमा चिनियाँ सरकारको अनुदान सहयोगबाट विस्तार गर्ने गरी सन् २०२४ मार्च २० मै चिनिया पक्षबाट एक्सचेन्ज अफ नोट प्राप्त भइसकेको छ । अर्थ मन्त्रालय र चिनियाँ पक्षबीच यसबारे पत्र आदानप्रदान भइसकेको छ । अब त्यसमा हस्ताक्षर गर्ने गरी तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ ।’

विभागका अनुसार यो सडकखण्डको सर्भिस ट्रयाक भने सरकारकै स्रोतबाट बनाउने काम अघि बढाइएको छ । विभागले उक्त सडकखण्डमा क्लियरेन्स गरिसकेको मुख्य मार्ग र सर्भिस लेनकबीचमा फोहोर फ्याक्ने प्रवृत्तिबारे महानगरसँग प्रधानमन्त्रीसमेत राखे वार्ता गरिएको स्मरण गराएको छ ।

उक्त स्थानमा फोहर फ्याक्न नदिने तथा फोहर व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी महानगरकै रहेको स्मरण गराउँदै विभागले यसमा सकारात्मक सहयोग मिलिरहेको पनि जनाएको छ ।

विभागले आपसी समन्वय भइरहेकै अवस्थामा उक्त सडकखण्डलाई लिएर काठमाडौं महानगरबाट सडक विभाग र सडक डिभिजन काठमाडौंको मूलद्वारमा फोहोर थुपार्ने कार्यलाई अमर्यादित भनेको छ ।

विभागका प्रवक्ता पोखरेलले महानगर प्रमुखबाट उठाएका विषयले सडक विभागलाई सकारात्मक दबाब दिएको पनि बताएका छन् । ‘हामी सबैको जनप्रतिनिधिका रुपमा महानगर प्रमुखको हैसियतमा यस्ता प्रकृतिका अस्वाभाविक गतिविधिले समाजमा गलत प्रवृत्ति बढ्दै जानेतर्फ सबै सजग हुनु जरुरी छ’, पोखरेलले भनेका छन् ।

विभागले महानगरभित्रका सडक सञ्जालमध्ये १४८ किलोमिटर मात्रै सडक विभागबाट कार्यान्वयन र मर्मत सम्भार हुँदै आइरहेको जनाएको छ ।

चक्रपथ निर्माण एवम् विस्तार लगायत सडक निर्माणले आगामी आर्थिक वर्षबाट तीव्रता लिने पनि विभागले स्पष्टीकरण दिएको छ ।

यो सडकखण्ड जम्मा ६२ मिटर चौडाईको हुनेछ । यो सडकमा (केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर) रहने छ । यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ।

यो सडकको बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २/२ मिटरको सर्भिस लेनसहित ८ लेनको हुने छ। यस क्षेत्रमा रहेका करिब १९ सय रुख कटान गरेर सबै क्षेत्र दुई वर्षअघि नै क्लियर गरिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८१, आइतबार  ६ : ०० बजे

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

काठमाडौं– आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित

बर्लिनको पर्खाल अवलोकन गर्न पुगे राष्ट्रपति पौडेल (तस्बिरहरू)

बर्लिन, (जर्मनी) – मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार

श्रीलंकाको अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं– श्रीलंकाले सोमबार पहिलो त्रैमासिकमा  कमजोर विदेशी मुद्रा संकटबाट सुधार

जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै

भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको

चीनको आरोप : जी-७ को वक्तव्य अहंकार, पूर्वाग्रह र झूट

काठमाडौं– आर्थिक शक्तिराष्ट्रहरूको समूह (जी–७)का नेताहरूले रूसमा हतियार नपठाउन चीनलाई