वडाध्यक्षको गुनासो- बालेन्द्रमा बालापन देखियो | Khabarhub Khabarhub

वडाध्यक्षको गुनासो- बालेन्द्रमा बालापन देखियो

'मेयरले महानगर चलाउनुपर्‍यो, सचिवालयले चलाउने होइन'


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्ररुपमा निर्वाचित काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह र दलीय आधारमा निर्वाचित वडाध्यक्षहरु वीच विवाद देखिएको छ । दुई वर्षसम्म निर्वाध काम गर्न पाएका शाहमाथि नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बेलामा किन विरोध भएको हाेला ? के राजनीतिक दलहरुले मेयर बालेन्द्रलाई काम गर्न अवराेध गर्न लागेका हुन् ? के मेयर बालेन्द्रको कार्यशैलीमाथि पनि केही समस्याहरु देखिएका हुन् ? यी प्रश्नहरु हामीले नेपाली कांग्रेसबाट निर्वाचित काठमाडौं वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीलाई सोध्यौं ।

सुरुमा मेयर र वडाध्यक्षवीच झगडा लगाउने काममा पत्रकारहरु दोषी रहेको गुनासो गरेका केसीले अन्तत: मेयर शाहको कडा आलोचना गरे ।

मेयर शाहले एकलौटी रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको, वडाध्यक्षहरुलाई आफ्ना कुरा राख्ने समय नदिएको र महानगरको महत्वपूर्ण काम छाडेर ब्राजिल भ्रमणमा गएको केसीको आरोप छ ।

सुनौं काठमाडौं महानगरमा देखिएको विवादबारे वडाध्यक्ष केसीसँग खबरहबले गरेको कुराकानी-

स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ वर्ष पूरा भयो । महानगर प्रमुख बालेन्द्र शाहसँग जनप्रतिनिधिहरूको राम्रै सम्बन्ध थियो । तर, नगरसभामा तपाईँहरूका बीचमा विवाद देखियो । द्वन्द्व के बारे हो ?

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ, तपाईंहरू सबैलाई थाहा भएकै कुरा हो । बहुमत हुँदा पनि हामीले पक्ष–विपक्ष भनेर कहिल्यै भनेनौँ पनि । मिस अन्डरस्ट्यान्डिङ भयो । हामीले उहाँ (महानगर प्रमुख) लाई एक घण्टा समय दिनुस् भनेका हौँ । उहाँले १५ मिनेटमा सिध्याउनुस् भन्नुभयो । १५ मिनेटमा छलफल सिद्धिने कुरो थिएन । त्यसपछि हामी जति जनप्रतिनिधिहरु छौं, सबैको हस्ताक्षर गरेर २८ बुँदामा संशोधन प्रस्ताव दर्ता गर्‍यौं

पहिला के थियो भने यो नगर परिषदमा बोल्ने भनेको वडा सदस्यहरुले हो । हामी वडाध्यक्षहरुले नीति तथा कार्यक्रम बनाउने हो । हामी वडाध्यक्ष, समितिका साथीहरु कसैलाई पनि थाहा नदिएर नीति तथा कार्यक्रम बनाएर ल्याइयो । त्यसमा केही त्रुटि थियो । त्रुटिमा हामीले २८ वटा बुँदामा संशोधन गर्नुपर्छ भनेर दियौँ । त्यसमा त त्यस्तो केही विवाद देखिँदैन ।  

महानगरपालिकामा नेपाली कांग्रेसको बहुमत छ भन्नुहुन्छ । महानगर प्रमुख बालेन्द्र शाह स्वतन्त्र हो । उहाँ एक्लो हुनुहुन्छ भनेर पेल्न खोज्नुभएको ?

पेलेको भए हामीले अहिलेसम्म के गरिसक्ने थियौँ ? सुरुवातका दिनदेखि सोमबारसम्म हामीले पक्ष–विपक्ष भनेका छैनौँ । हामीसँग बहुमत छ भनेका छैनौँ । बहुमत मात्र हो र ? हामी तीन तिहाइ छौँ, उहाँ त सिर्फ एकजना मात्र हुनुहुन्छ । हामीले कहिले उहाँको काममा औँला उठायौँ ?

नगरसभा बैठकमै दोहोरी खेलेजसरी विवाद भएको देखियो । यो तहसम्म कसरी आइपुग्नुभयो?

कसरी बुझ्नु भयो ? के कुरामा दोहोरी देख्नुभयो ? लडाउने, जुधाउने त तपाईं पत्रकारहरू हो । 

 महानगर प्रमुख आफ्नो अडानमा देखिनुभयो । तपाईंहरू वडाध्यक्षहरू अर्कातिर अडानमा देखिनुभयो नि त । 

मेयर एकजनाले मात्रै नीति तथा कार्यक्रम ल्याउन मिल्छ ? १६१ जना जनप्रतिनिधिहरूलाई काठमाडौंका जनताले चुनेको केका लागि ? हामी वडाध्यक्ष, वडासदस्य, उपमेयरलाई के कारणका लागि चुनेको त ? मेयरले सबै जनप्रतिनिधिहरुसँग सरसल्लाह गरेर, बुझेर ल्याउनुपर्ने होइन नीति तथा कार्यक्रम ? वडाध्यक्षहरूले नीति तथा कार्यक्रम ल्याउने हो । तर, मेयर आफू एक्लैले नीति तथा कार्यक्रम बनाएर ल्याउनुभयो । अनि त्यसमा कसले मान्छ त ?

महानगर प्रमुखको कार्यशैली त्यस्तो छ, तपाईंहरुसँग कुनै छलफल, परामर्श हुँदैन ?

उहाँमा बालापन देखिन्छ । म्याचुअर्ड देखिनुहुन्न । म अहिलेमात्रै वडाअध्यक्ष भएको होइन, यसअघि पनि वडाध्यक्ष भइसकेको व्यक्ति हो । पहिला पनि नीति–कार्यक्रम आएर पास भएर, पास भएपछि मात्रै बजेटमा जानुपर्ने हो । उहाँले नीति तथा कार्यक्रम बोर्डमै पास नगरिकन एकैचोटि नगरसभामा लैजानुभयो । यहीँ त्रुटि छ । पास गरेर लैजानु पर्ने । पास नगरिकनै लैजानुभयो । 

 काठमाडौं महानगरका प्रमुखले राम्रा–राम्रा कामहरु गरेको सामाजिक सञ्जालमा खुबै चर्चा हुन्छ । तर, वडाध्यक्षहरुको खासै चर्चा भएको देखिँदैन, सुनिँदैन  । वडाध्यक्षहरुले कामै गर्न नसकेको हो कि ?

म एउटा भन्छु, तपाईं मिडियाकर्मी छातीमा हात राखेर भन्नुस्- ६ वटा महानगरपालिकामध्ये कुन महानगरपालिकामा सबैभन्दा धेरै काम भएको छ ? युट्युबर र पत्रिकाले हाम्रो महानगरका मेयरलाई मात्रै चर्चामा ल्याइरहेका हुन्छन् । काम त वडाध्यक्षहरुले गरेका होइनन् ? वडाध्यक्ष, वडा सदस्यहरूले काम नगरेर काम हुन्छ ? वडामा बिहानदेखि बेलुकासम्म को खट्छ ? खट्ने भनेको वडाध्यक्ष, वडासदस्यहरु होइन ? मेयर–उपमेयरहरु खट्छन् ? उहाँहरूले महानगरमा बसेर नीति तथा कार्यक्रम, योजनाहरू बनाउने हो । खटिने, सबै काम गर्ने वडाध्यक्ष, वडा सदस्यहरुले हो । यहाँ कस्तो भने, दुनियाँ काम गर्ने हामी वडाध्यक्ष र वडा सदस्यहरू तर युट्युबरहरु भ्युज पाउनका लागि ‘बालेन शैलीमा’ भन्दिने । 

हामीले खोला पहिलेदेखि नै सफा गरिरहेका छैनौँ ? ७ वर्ष वर्ष भइसक्यो । अहिले युट्युबरहरु भ्युजका लागि खोला सफा पनि बालेनले गर्‍यो भन्छन् । युट्युबरले गर्दा न्युट्रल (तटस्थ) जनता पनि बालेन जस्तो हुनुपर्‍यो भन्छन् । बालेनले के चाँहि गरेको देख्नुभयो ? काठमाडौं महानगरपालिकाको मेयर भएर आइसकेपछि बालेनले उल्लेखनीय काम के गर्नुभएको छ ?

यत्रो विवाद हुँदा उहाँ मिटिङ छाडेर ब्राजिल जानुभयो । बजेट ल्याएर जाने होइन ? बजेट ल्याउने चटारोका बेला एक घण्टा समय माग्दा नदिएर १५ मिनेटमा नगरसभा स्थगित गरेर जानुभयो । काठमाडौंप्रति मायामोह भएको भए ब्राजिल छाडेर भए पनि पहिला त यहाँको काम सल्टाएर जाने होइन र ? भ्रमण ठूलो कुरा होइन नि । ब्राजिल भ्रमणबाट के उपलब्धि भयो ? काठमाडौं महानगरका लागि के ठूलो उपलब्धि हासिल भयो ?

नगरसभा र कार्यपालिकाको बैठक बसिरहेको हुन्छ । निर्णय पनि तपाईंहरू सर्वसम्मत नै गरिराख्नुभएको हुन्छ । पछिल्लो समय महानगर प्रमुख र वडाध्यक्षहरुबीच खास नमिलेको विषय चैं के हो ?

खास विषय भनेको मेयरले महानगर चलाउनुपर्‍यो, मेयरको सचिवालयले चलाउने होइन । सबैको गुनासो नै यही हो कि सचिवालयले महानगर चलाउन खोज्यो । जो मान्छे न नीतिमा छ, न कार्यक्रममा छ, न कतै छ । तर, इन्जिनियरहरूलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको छ । सरुवा गरिदिन्छु भनेको छ । यो भएन । यसरी महानगर चलाउने होइन । यसरी महानगर चल्न सक्दैन ।  

अर्को कुरा, सोमबार सुन्नु नै  भयो होला, टीभीमा देख्नु नै भयो होला । हामी वडाध्यक्षहरूले बोल्ने विषय नै होइन । वडाध्यक्षहरुले त नीति तथा कार्यक्रम बनाउने हो, कार्यक्रम बनाएर हामीले दिने हो । त्यसमा हामी क्याबिनेटको मन्त्रीजस्तो हो, हामीलाई नगरसभा सदस्यहरूले प्रश्न गर्ने हो । 

 जस्तो- म  सामाजिक विभागमा छु । सामाजिक विभागसम्बन्धी कुनै कुरा वडा सदस्यहरूले उठाउनुभयो भने मैले जवाफ दिने हो । मेयरले के गर्नुभयो भने सबै वडाअध्यक्ष, वडा सदस्यहरू समग्रमा एकतिर, म एक्लै अर्कोतिर हो भन्ने अहमता देखाउनुभयो । यही अहमताले नै नमिलेको । 

महानगर प्रमुखले सामाजिक सञ्जालमा वडाध्यक्षहरूले सिन्डिकेट चलाएको, तानाशाही लादेको आरोप लगाउनुभएको छ । तपाईं दलबाट जितेका वडाध्यक्षहरूले स्वतन्त्र रुपमा जितेका प्रमुखलाई कामै गर्न नदिनुभएको हो ?

मेयरले लगाएको आरोपको जवाफ त हिजो बुझ्नुभएको होला नि, हामीले सिन्डिकेट चलायौँ कि मेयरले १६१ जनालाई बोल्न नदिएर तानाशाह लाद्नुभयो ? १६१ जनाले तीन जनालाई नेता मानेर उहाँहरुले गरेको कुरा हामीलाई मान्य हुनेछ भनेर जिम्मा दिएका हौं । उहाँहरूले २८ बुँदा संशोधनका लागि दिनुभएको छ । 

नेपालमा तपाईं–हामीलाई अहिलेको स्वतन्त्रता कसले दियो ? बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी सबैले गर्दा हामीले अहिलेको स्वतन्त्रता पाएको होइन ? उहाँहरूका नाममा हुने गतिविधिका लागि छुट्याइएको बजेट काटिदिन्छु भन्नुहुन्छ, उहाँ । त्यो मिल्छ ?

सिम्पल रुपमा भन्छु, सोमबार नगरसभाको बैठक बस्यो । त्यो बैठकमा सहिदप्रति एक मिनेट सम्मान भयो ? मौन धारण गरियो ? अहिलेको परिवर्तन के गरी आएको हो ? बहुदल कसरी आयो ? गणतन्त्र कसरी आयो ? सहिदले पुर्‍याएको योगदान बिर्सन मिल्छ ? नेताहरूका स्मृतिमा गरिने कार्यक्रम, खेलकुद प्रतियोगिता काट्न मिल्छ ? बीपी स्मृति, गणेशमान स्मृति लगायतका स्मृतिमा गरिने कार्यक्रमहरू उहाँले सबै काटिदिनुभयो ।  

 तपाईँहरूको मोर्चाबन्दीले महानगर प्रमुख र वडाध्यक्षहरुबीच देखिएको विवाद थप द्वन्द्व सिर्जना गर्दैन ?

हामी महानगरमा जम्मा १६१ जना जनप्रतिनिधि हो । १६१ जनाले एउटै स्वरमा एउटै कुरामा यो गर्नुपर्छ भन्दा एक्लो जनप्रतिनिधिले यो गर्न मिल्दैन भन्न मिल्छ ? जनताले चुनेर पठाएका वडाध्यक्ष, वडा सदस्यहरू एकातिर, मेयर एकातिर भएर चल्छ ? मेयरलाई एक्लै पार्ने मनसाय हुँदो हो त पहिलेदेखि नै हामीले भन्या भन्या काम गर्थ्यौं, मेयरलाई केही कामै गर्न दिदैनथ्यौँ होला नि । 

  नगरसभामा तपाईँहरूले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । संशोधन भएन भने आगामी कदम के हुन्छ ?

संशोधन त हुनै पर्छ नि । बहुमत जनप्रतिनिधिले गरेको प्रस्तावअनुसार संशोधन भएन भने गर्ने चैं के हो के ? हामीले संशोधनका लागि दिएका बुँदामा केही थपघट गर्ने कुरा होला । 

महानगर प्रमुख र वडाध्यक्षहरु बीच कति–कति समयमा छलफल हुने गरेको छ ?

छलफल त हाम्रो बेलाबेलामा भइ नै रहन्थ्यो । तर, यो नीति तथा कार्यक्रम बनाउँदा भने कुनै छलफल गरिएन । 

महानगरहरु मध्ये सबैभन्दा कम खर्च काठमाडौं महानगरमा भएको देखिन्छ । यसमा तपाईं वडाध्यक्षहरू पनि त उत्तिकै दोषी होइन र ?

कसरी हामी दोषी ? मेरो वडाले कम खर्च गरेको त छैन । मलाई १७ करोड पठाएको छ । जमध्ये मैले ८०–९० प्रतिशत काम गरेको छु । केन्द्रमा १३–१४ प्रतिशत खर्च हुने, केन्द्रमा खर्च नहुनु भनेको मेयरको दोष होइन र ?

 हालका महानगर प्रमुख र यसअघिका महानगर प्रमुखबीच के कस्तो फरक पाउनुभयो ?

मेयर भनेपछि मेयर हो । अहिलेको, उहिलेको भन्ने हुन्न । अघिल्लो कार्यकालमा एमालेको बहुमत थियो । त्योबेलामा पनि हाम्रो बहुमत छ भनेर कहिल्यै काम भएन । दुबै पक्ष मिलेर काम गरिएको हो ।

हाम्रो मेयर सामाजिक सञ्जालमा स्टाटस लेखेर कांग्रेस–एमालेको धङधङी बोकेर नगरसभामा नआउनुहोला भन्नुहुन्छ । महानगरमा भएका १६१ जना कांग्रेस, एमाले लगायतका राजनीतिक दलमा आवद्ध छौँ । अनि हामीले अब म कांग्रेस होइन, म एमाले होइन भनेर जानु ? हामी त पार्टीबाट निर्वाचित भएर आएका मान्छे हो । उहाँ जस्तो स्वतन्त्र जितेको हो भन्दैमा जे पनि बोल्ने हामीलाई अधिकार छैन । हामीले त बोल्दा विचार पुर्‍याएर सबैको मर्म बुझेर बोल्नुपर्छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  २ : २९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले