‘एयरपोर्ट नजिकै घडेरी नकिन्नू’ | Khabarhub Khabarhub

विमानस्थल प्रभावितको सुझाव

‘एयरपोर्ट नजिकै घडेरी नकिन्नू’

सौर्य एयरको विमान दुर्घटनाका प्रत्यक्षदर्शीको बयान



काठमाडौं- दिनको सुरुवात अर्थात् मानिसहरू बिहानको खाना खाएर काममा निस्कँदै गर्दा बुधबार काठमाडौंमा सौर्य एयरको हवाइजहाज ठूलो आवाजसहित मानव बस्ती नजिकै बजारियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपासका बासिन्दा भुकम्प आएको ठानेर घर बाहिर भागे । हुन पनि भूकम्प गएझैं घरहरू हल्लिएका थिए ।

घर बाहिर निस्किएपछि थाहा भयो, भुकम्प नभएर जहाज खसेको रहेछ ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मिनेटमा प्राविधिक र इन्जिनियर बोकेर पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै खस्यो ।

घटनामा को–पाइलट सुशान्त कटुवालसहित १८ जनाको मृत्यु भयो । पाइलट मनिषरत्न शाक्यको उपचार जारी छ ।

जहाजमा सवारमध्ये शाक्य मात्रै जीवित रहे । घटनाका प्रत्यक्षदर्शी तथा स्थानीयहरू भने भयावहको दृश्यले सुत्न सकेका छैनन् । सरकारी संयन्त्र कमजोर फितलो भएका कारण त्यत्रा यात्रुले ज्यान गुमाउनु परेको भन्ने उनीहरूको आरोप छ । साथै, यस घटनाको जिम्मेवारी नागरिक उड्डयनले लिनुपर्ने स्थानीयहरू बताए ।

विमान खसेको स्थान आसपास पुगेर खबरहबले स्थानीयसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

दमकल ढिलो आउँदा ज्यान गुमाए
सेभेन्थकुमार फुयाँल

नेपाल सरकार अर्थात् उड्डयन प्राधिकरणको लापरवाही हिजो आँखै अगाडि देख्न पर्‍यो । निकै डरलाग्दो घटनाको सामना गर्न पर्‍यो । घटना कुनै फिल्मको सुटिङ भन्दा कम थिएन । यस्तो पनि हुन्छ र ? यस्तो फिल्ममा मात्रै हुन्छ लाग्ने घटना प्रत्यक्ष आँखाले देख्न पर्‍यो । डुम्म गरेर जहाज खस्ने बित्तिकै सर्वसाधारण त्यहाँ पुगेका थिए ।

कतिले फोटो र भिडियो बनाउन थाले । केहीको लागि दुर्घटना थियो भने त्यहाँ परेका परिवारका लागि कति पीडादायी थियो, हामीले अनुमान गर्नै सक्दैनौं । तीनजना आँखै अगाडि छट्पटिएको देखें । आगो दन्किरहेको थियो । कपाल जलिरहेको थियो । त्यहाँ जान मात्रै पाए पनि उद्धार गर्न हुन्थ्यो ।

प्रशस्त कर्मचारी तैनाथ हुने भएको भए उद्धार गर्न सकिन्थ्यो । त्यो बार खोलिदिएको भए पनि सर्वसाधारणले बचाउन सक्थे । जिउँदो मान्छे आगोमा जलेर तडपिएको, मृत्युसँग संघर्ष गरिरहेको दर्दनाक अवस्था टुलुटुलु हेर्न बाहेक केही गर्न सकिएन ।

आगो लागिसकेपछि उछिटिएर केही मानिसका टाउका थिएनन् । युनिफर्ममा रहेका सहचालक रहेछन्, उनी जलिरहेको देखें । बार खोलिदिएको भए, तिनलाई छोपछाप पारेर आगो निभाउन सकिन्थ्यो कि ?

मैले वैदेशिक रोजगारीका क्रममा टर्कीको एयरपोर्टमा काम गरेको छु । हाम्रो एयरपोर्टमा सुविधासम्पन्न दमकलसमेत छैन । आगो लागेको ४५ मिनेटमा मात्रै दमकल आयो । कसरी बचाउन सकिन्छ मानिसहरूलाई ? दमकल आइपुग्दा यात्रुहरू जलिसकेका थिए, जहाज आधा भन्दा धेरै जलेको थियो ।

अन्तर्राष्ट्रिय एयरपोर्टको उद्धार संयन्त्र देखेर म छक्क परें । पछाडिको भाग भनेर यसलाई वास्ता गरिएको छैन । कम्तिमा एयरपोर्टभित्रै दुर्घटना हुदाँ यात्रु मर्नुपर्ने स्थिति हुनु भएन । एयरपोर्ट बनाउदाँ के हेरेर बनाउँछन् ? सबै ठाउँमा पुग्न सकिने बाटो बनाउन पर्दैन ? दुर्गममा घटना भएजस्तो उद्धार गर्ने ठाउँमा पुग्नै सकिँदैन ।

कर्मचारीले जहाजको स्थिति के हेरेका होलान् ? उड्ने बित्तिकै खस्यो । मेरो घरका नभए पनि नेपाली दाजुभाइ दिदीबहिनी थिए । यस घटनाले धेरै दुःख लागेको छ । आगामी दिनमा यस्तो घटना नहोस्, भए पनि उद्धारमा ढिलाई नहुने संयन्त्रको व्यवस्था यथाशक्य छिटो होस् । दमकल प्रशस्त राख्नुपर्यो । वरिपरि केटाकेटी, बुढाबुढीहरू डरले निदाएका छैनन् ।

एयरपोर्ट नजिकै घरघडेरी नकिन्नू
कृष्ण थापा

जहाज हेर्न भनेर एयरपोर्ट नजिकै बसेँ । जहाज देख्दा गाउँमा हुदाँ जहाज आकाशमा मात्रै देख्न पाइयो । कस्तो होला नजिकबाट देख्न पाए हुन्थ्यो लाग्थ्यो । यहाँ बसेको उनी १३ वर्ष भयो । तर, आज एम्बुसमा परेको जस्तो भयो ।

एयरपोर्ट धेरै असुरिक्षत ठाउँ रहेछ, अहिले आएर बल्ल थाहा भयो । हप्तामा दुई दिन धेरै उडान हुने रहेछ । त्यो रात निन्द्रा पर्दैन । जतिबेलै घुइँ–घुइँ आवाजले सुत्न सकिँदैन । डरैडर हुने रहेछ, एयरपोर्ट नजिकै घडेरी किन्ने र घर बनाउने काम कसैले नगर्नू । जहाज हेर्न एक छिनमात्रै रमाइलो हो ।

बुधबार दुर्घटना हुँदै गर्दा काम गर्दै थिएँ । बड्याङ गर्यो । फेरि अर्को ठूलो आवाज आयो । भुइँचालो आएछ भनेर अत्तिँदै घर बाहिर निस्किएको, एयरपोर्टमा आगोको मुस्लो दन्किएको देखियो । घर हल्लिएकाले सुरुमा सबैले भुइँचालो आयो भनेरै घरबाहिर निस्के । तर, एयरपोर्टमै जहाज बजारिएर दुई टुक्रा परेछ । आगो यति ठूलो दन्किएको थियो । यात्रु बाँच्ने कुनै सम्भावना देखिएन ।

एयरपोर्ट नजिकै बस्ती बसाउन नहुनेरहेछ
राधादेवी साह

फलामले बनेको जहाज अचानक कसरी दुईटुक्रा हुने रहेछ । कति कमजोर हो जहाज पनि । त्यस्तो विक्षिप्त हेर्न मन लागेन र घर फर्किएँ । एयरपोर्ट बनाएपछि यहाँ वरिपरि सरकारले बस्ती बसाउन दिनु हुँदैनथ्यो ।

हामीले यहाँको घडेरी किन्दा खासै जहाज उड्दैनथे । एयरपोर्ट नजिक बस्न सुरक्षित नहुने भन्ने जानकारी पनि थिएन । पछिल्लो समय मानिसहरू विदेश जाने पनि बढे र अर्को डोमेस्टिक पनि धेरै चल्न थाल्यो । सरकारले दुरदराजको अवस्था अर्थात अहिलेको अवस्था हेरेर यहाँ बस्ती बसाउन दिनु हुँदैनथ्यो । घरमाथि खसेको भए, त्यसको क्षति कति हुन्थ्यो ?

जो, जहाज चढेका पनि छैनन्, आफ्नै घरमा दैनिकी गरेर बसिरहेका मानिसहरू माथि जहाज खस्यो भने सरकारको जवाफ के होला ?

एयरपोर्टमा घर बनाएको आठ वर्ष भयो । पुरानो घर राजविराज हो । बुधबार बिहान म भान्छामा खाना बनाउँदै थिएँ, बम पट्किएजस्तो ठूलो आवाज आयो । जमिन थर्थराएर घरका सबै सामान भुकम्प आएजसरी हल्लिए ।

बाहिर निस्केर हेर्दा आकाशमा धुवाँको मुस्लो मडारिएको थियो । यहाँका स्थानीय दुर्घटनास्थलतिर दर्गुन थाले । आर्मी, पुलिस, दमकल सबै आएर र उद्धारमा लागे । पाइलटलाई निकालेको हेरें ।

आँखै अगाडि जले, रातभर सुत्न सकिएन
देशकुमारी राई

बिहान कामबाट फर्किएर खाना बनाउने तरखर गर्दै थिएँ । डुम्म गरेको आवाज आयो । छिमेकमा कुकर वा ग्याँस पड्कियो भन्ने लागेर बाहिर निस्केँ । आकाश पुरै कालो देखे । दगुर्दै अगाडि गएँ, जहाज खस्यो भने, मुटुले ठाउँ छोड्यो ।

जहाज दुई टुक्रा थियो । उता एक टुक्रा यता अर्को टुक्रामा हर्वारहार्ती आगो दन्किएको थियो । एउटा मात्रै दमकल थियो, आगो निभाउन भ्याईनभ्याई भयो । धेरैबेर हेर्न नसकेर घर आएँ । तर, पाकेको खाना खान सकिएन ।

घर अगाडि छिनभरमै त्यत्रा मानिस लास भए । कसरी खाना खान सक्नु ? भाइले पनि खाएन । राति पनि कसैले घरमा खाना खाएनन् । सुत्न कसैलाई निन्द्रा परेन । जतिबेलै तिनै आगोमा जलेका मानिसहरूको याद आयो ।

भावुक मन भएर हो कि रुन मात्रै मन लाग्छ । बेला–बेला बहोस हुन्छु जस्तो भएको छ । यो क्षेत्रमा बस्नै मन छैन । एयरपोर्ट पछाडिको यो क्षेत्र निकै असुरक्षित छ । जहाज ठ्याक्कै यहीँबाट उड्छ । यहाँ एयरपोर्टको पछाडि चोरी डकैती पनि धेरै हुन्छ । एयरपोर्ट भनेर भएन, यो पछाडिको भाग एयरपोर्टको दुर्गम क्षेत्र हो ।

यहाँ प्रशस्त सुरक्षाकर्मी छैनन् । बाध्यताले बस्नुपरेको छ । डराई डराई भए पनि बस्नैपर्‍यो । जति भने पनि सरकारले नटेर्ने रहेछ । नागरिकको समस्या सुन्ने सरकार नेपालमा अहिलेसम्म बनेको छैन । नयाँ नेताले सुन्छन् कि भन्ने लागेको थियो । ती झन् पुराना भन्दा पनि खतम रहेछ । नागरिहको हकहित र सुरक्षाका लागि काम गर्ने नेता यो देशमा कहिले जन्मिन्छ ? म बुढी भएँ, मेरा नातिनातिनाले राम्रो नेता पाए हुन्थ्यो ।

मर्मत गर्ने जहाज उडाउन हुँदैनथ्यो
युवराज राई

मैले यहाँ किराना एवं खाजा पसल खोलेर बस्न थालेको करिब चार महिना भयो । देशभरका मानिसको केन्द्रविन्दु काठमाडौं हो । त्यसमाथि यो एक साँघुरो ठाउँ हो । अन्तर्राष्ट्रिय एयरपोर्ट फराकिलो अथवा बस्ती नभएको ठाउँमा हुनुपर्छ । म छोराछोरी पढाउन काठमाडौं आएको हुँ । यस ठाउँमा बाध्यताले बसेको हुँ । हामीले सहज र असहज भन्दा पनि आफूलाई टेकाउने ठाउँ पाए सन्तुष्ट हुनुपर्नेछ ।

बुधबार जहाज दुर्घटनामा परेपछि मनमा धेरै कुरा खेल्यो । हलचल भयो । देशमा कारवाहीको संयन्त्र छैन । उड्डयन प्राधिकरणले बिग्रेको जहाज बनाउन पोखरा जाने निर्णय कसरी गर्यो ? मर्मत भनेको त जहाज जहाँ छ, त्यहीँ प्राविधिक टोली ल्याउने होइन र ? त्यही जहाज बनाउन त्यही जहाज चढेर जाने भन्ने पनि हुने रहेछ । यसमा प्राधिकरणका हाकिम मुख्य दोषी हुन् ।

उनीहरूको भोग परेको रहेछ, दुर्घटनामा जानुपर्‍यो । पाइलटको भोग अहिले लेखेको रहेनछ । मान्छे मरेर गए, सकियो । ती परिवार र आफन्तका लागि जीनवभर नबिर्सने घाउ बन्यो । नागरिकहरू यसरी दुर्घटनमा मर्नु भनेको राज्यका लागि पनि घाटा हो । त्यसमाथि पनि प्राविधिक टोली नै खत्तम भयो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ४० बजे

औपचारिक माध्यमबाट सुनको आयातमा ८६ प्रतिशतले गिरावट

काठमाडौं– औपचारिक माध्यमबाट सुनको आयातमा ठूलो गिरावट देखिएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं– ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने

भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौँ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं– भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती सुनिता

अस्ट्रेलियाली सरकारले दुष्प्रचार र गलत सूचनासम्बन्धी प्रस्तावित विधेयक अघि नबढाउने

क्यानबेरा– अष्ट्रेलियाको सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा दुष्प्रचार र