समाचार

अतिक्रमित संरचना हटाउन भरतपुर महानगरको सक्रियता

By खबरहब

September 26, 2024

चितवन– भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लगएर भत्काइएका छन् ।

महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो ।

महानगर प्रमुख रेनु प्रमुख दाहालले पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एक साथ सुरु गरेको बताइन् ।

महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटविरुवा तथा फूल रोपिनेछ ।

वृक्षरोपण, फुटरेल, रिटेनिङवाल, रेलिङसहित हिँड्न मिल्नेगरी संरचना निर्माण गरिने उनले जानकारी दिइन् ।