टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै जितेन्द्र « Khabarhub

टपरी बेचेर मासिक डेढ लाख आम्दानी गर्दै जितेन्द्र


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बरहथवा–  जिल्लाको हरिवन नगरपालिका–४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गरी स्वरोजगार बनेका हुन् । 

टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँ तल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताए । महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको बताए। 

‘दिनको एक हजार थान टपरी बजारमा पठाउने गरेको छु । अहिले महिनामा एक लाख ५० हजारसम्म आम्दानी भइरहेको छ’, उनले भने। 

दश किलोमिटर टाढा चुरे क्षेत्रबाट दैनिक पात ल्याउने गरेको भन्दै पात टिप्न तीन परिवारका छ जनालाई अस्थायी रुपमा रोजगारी पनि दिएको उनले जानकारी दिए ।

पात टिप्ने परिवारले प्रतिकिलोको ४० लिने गरेका छन् । ‘गाँसेको पातको प्रतिथान दुई दिन्छु । टपरी बनाएर बेच्दा सबै खर्च कटाएर एकदेखि दुईसम्म नाफा हुन्छ”, महतोले भने। तयारी टपरी प्रतिथान पाँच, भोज खाने पात प्रतिथान तीन र दुना प्रतिथान  तीनमा बिक्री हुने उनले जानकारी दिए।

महतोसँगै गाउँका अन्य क्याम्पस पढ्ने चारजना युवाले पनि अध्ययनसँगै फुर्सदको समयमा उक्त कामलाई निरन्तरता दिँदै आएका छन् । 

उनले भने, ‘उहाँहरु क्याम्पसबाट आएपछि फुर्सदमा काम गरेर पढाइ खर्च आफैँले जोहो गर्नुहुन्छ ।’ दैनिक दुई-तीन घण्टा काम गरेर ५०० सम्म आम्दानी हुने गरेको स्थानीय मनिषाकुमारी शर्माले बताए। उनले भने , ‘फुर्सदमा आएर काम गर्छु । यसबाट आएको पैसाले आफूलाई कलेज पढ्न चाहिने खर्च, स्टेसनरी, खाजा, भाडा पुगेको छ ।’ 

उद्योगमा तयार भएका दुनाटपरी जिल्लाको हरिवन, बरहथवा, लालबन्दी, बयलबास, नयाँरोडलगायत बजारसम्म पुर्‍याउने गरेको उनले उल्लेख गरे । ग्राहकको मागअनुसार पात तथा तयारी दुनाटपरी दैनिक एकपटक बजारसम्म पुर्‍याउने गरेको शर्माले बताए। आर्थिक रुपमा विपन्न परिवारका महतो सानैदेखि मिहिनेती रहेका छरछिमेकी बताउँछन् । खेतबारी कम भएकाले आम्दानीको विकल्पका रुपमा दुनाटपरी बनाउन थालेको बताउँदै महतोले थोरै लगानीबाट पनि बढी मुनाफा लिन सकिने धारण राखे । 

‘पाँचजना दिदीहरुको विवाह गर्दा लागेको ऋण तिर्न बाँकी छ, बुबाआमा काम गर्न सक्नु हुँदैन । सुरुमा ज्याला मजदुरी, घर बनाउने ठाउँमा इँटा बोक्ने, प्लास्टर गर्नेलगायत काम गरेँ । हातमा सङ्क्रमण भएपछि ती काम छोडेर यसलाई निरन्तरता दिन थालेको हुँ’, उनले भने । हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले नगरपालिकाले युवालाई उद्यममा प्रोत्साहन गर्न तालिम आयोजना गर्न लागेको जानकारी दिएपछि आफूसहित पाँचजना मिलेर दुनाटपरी बनाउने तालिममा सहभागी भएका बताउँदै महतोले तालिम सात दिनसम्म सञ्चालन भएको जानकारी दिए। तालिमपश्चात् वडा कार्यालयले रु दुई लाख ४० हजार अनुदान दिएपछि दुनाटपरी बनाउने उपकरण (मेसिन) खरिद गरी उद्योग दर्ता गरिएको उनको भनाइ छ ।

बजारमा प्रतिस्पर्धा बढिरहेको भन्दै महतोले प्लास्टिक र कागजका सामग्रीसँग आफूहरुले पातका सामग्रीले प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गरे । यस्ता साना घरेलु उद्योगलाई स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

‘विभिन्न कार्यक्रम गर्दा उनीहरुले प्रयोग गर्ने प्लास्टिकका प्लेट, कचौरालगायत सामग्रीको साटो प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गरिदिन अनुरोध गर्दछौँ’, महतोले भने, ‘यसबाट वातावरण सफा हुने, युवा स्वरोजगार बन्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धनसमेत हुने भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछौँ ।’

परिवारसँग छुट्टिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमा काम गर्ने वातावरण स्थानीय तहले बनाउनुपर्ने महतोको भनाइ छ ।

 आगामी दिनमा आधुनिक र ठूला उपकरण ल्याएर व्यवस्थित उद्योग सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । यस्ता साना उद्योगमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी नगर्दा समस्या हुने गरेको उनको भनाइ छ ।  

सिंगबहादुर थापा- रासस

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  २ : ३२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा