व्यावसायिक सिँगडाखेतीबाट लाखौँको आम्दानी | Khabarhub Khabarhub

व्यावसायिक सिँगडाखेतीबाट लाखौँको आम्दानी


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बाँके– जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौंदेखि सिँगडाखेती गर्दै आएका छन् ।

‘अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको ६ हजार रुपैयाँका दरले बिक्री भइरहेको छ’, उनले भने, ‘व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।’

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँचजना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेकाे किसान कश्यपले बताए ।

कश्यपको आठजनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आएका छन् । ‘यो हाम्रो पुख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दै आएको छ’, उनले भने, ‘१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार तिर्ने गरी भाडामा लिएको छु ।’

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ । यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक–मंसिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताए ।

‘सिँगडाको बीउ असारतिर पानीमा हाल्छौँ, कात्तिक–मंसिरमा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नु पर्दैन’, उनले भने, ‘रोपेपछि दुई–तीन पटकसम्म आवश्यकतानुसार कीराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।’

चाडबाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको उनले बताए । चाडबाडमा व्रत बस्नेहरूले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्दछन् । यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उनको भनाइ छ ।

भारतबाट आउने सिँगडाले गर्दा स्थानीय उत्पादन बिक्री गर्न समस्या उत्पन्न हुने गरेको छ । भारतबाट भन्सार छली गरेर, अन्य बाटोबाट आएको सिँगडा नेपालगञ्जमा सस्तो दरमा बिक्री हुन थालेपछि सस्तो दरमा बिक्री गर्नुपर्ने बाध्यता आउने गरेको किसान कश्यपले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ३३ बजे

आज देशभरको मैसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार

आज २०८१ साल मंसिर १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार