म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
बिपी २– ए ७५६८ नम्बरको ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खस्दा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका दशरथ यादव र सहचालक भारतको मध्य प्रदेशका ४० वर्षका सत्रधन रजकको घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए।
गएराति करिब १ बजेदेखि काम गर्ने कार्य क्षेत्रबाटै बेपत्ता भएका उनीहरू आज बिहान खोजतलास गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी र जलविद्युत् आयोजना काम मजदुरको सहायताले दुर्घटना ग्रस्त ठाउँबाट ‘शव’ लाई बाहिर निकालिएको छ ।
नेपालविद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सिभिल ठेकेदार निर्माण गरिरहेको छ ।
प्रतिक्रिया