रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले | Khabarhub Khabarhub

एमालेको कारबाही

रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले

केन्द्रीय कमिटीले उल्ट्याउन सक्छ निर्णय



काठमाडौं–नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावलसहितका तीन नेतालाई कारबाही गरेको छ ।

०७८ साल मंसिरमा चितवनमा भएको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रावललाई पार्टीबाटै निस्कासित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएपछि कर्नरमा पारिएका उनीसँग पार्टीबाटै निकालेर रिस फेरिएको हो ।

यस्तै, असोज २४ गते एमाले मुख्यालयको भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाविरुद्ध बोल्ने एमालेका दुई नेत्रीविरुद्ध पनि कारबाही भएको छ । स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बित गरिएको हो ।

निलम्बन गरेपछि एमाले नेतृत्वले आफूलाई राणा शासन जस्तो व्यवहार उनीहरूले गरेको बताइरहेका छन् । पार्टीमा लामो समयदेखि काम गरिरहेका तीन नेतामध्ये रावल ओलीलाई टक्कर दिने नेता हुन् । यता नेत्री पाण्डे र तिम्सिना पार्टीमा नयाँ र युवा पुस्तामा परिचित छन् ।

बिन्दा पछिल्लो समय ओलीको कार्यशैलीप्रति रुष्ट थिइन्। बिन्दा पूर्वराष्ट्रपति विद्या भण्डारीसँग नजिकिएको चर्चा थियो । बिन्दाले कीर्तिपुरको दाने जग्गामा नभई बल्खुस्थित रोपनी जग्गा सरसफाइ गरेर नयाँ भवन बनाउनुपर्ने माग गरेकी थिइन् ।

यता उषाकिरण हाल एकीकृत समाजवादीमा रहेका नेता घनश्याम भुषालको स्कुलिङबाट उदाएकी नेत्री हुन् । घनश्याम अहिले नेकपा एकीकृत समाजवादीका महासचिव छन् । उनी नेकपाको समयमा ओलीको कट्टर विरोध गर्नेमध्ये एक हुन् ।

सचिवालय बैठकमा के भयो ?

बुधबार सचिवालय बैठक करिब ६ घण्टा लामो बसेको थियो । बैठकमा सरकारको काम प्रभावकारी भए नभएको हेर्ने एजेन्डा पनि थियो । तर त्यो एजेण्डठामा लामो समय कुरा भएन । अलमल तीन नेताको कारबाहीमा भयो । एमाले महासचिव शंखर पोख्रेलले कारवाहीको एजेन्डा अगाडि सारे ।

त्यसपछि कारवाहीको विषयमा कुराकानी हुन थाल्यो । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले तीन नेताको विषयमा आफ्ना गम्भीर निर्णय सुनाए । रावललाई पार्टीबाट ननिकाले एमालेमाथि प्रहार हुने र समस्या बढ्ने भन्दै यस्ता विषयमा अब क्षमा दिन नसकिने ओलीले बताए ।

एमालेले रावलसँग वार्ता गर्न ०७९ चैत १८ गते ३ सदस्यीय कार्यदल नै बनाइएको थियो । पार्टीको दसौँ महाधिवेशनबाट पार्टीमै रहेका तर पार्टीको विधान नमानेका कारण रावलसँग वार्ता गरेर सहमतिमा पुग्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा रहेको ३ सदस्यीय टोली बनाइएको थियो । तर रावलसँग वार्ता हुन सकेन ।

त्यो टोलीले ओली र रावलको सम्बन्ध सुधार्न सकेन । त्यसपछि रिसाएका ओलीले रावललाई वार्तामा नमानेको या नआएको भन्दै उपाध्यक्ष पौडेललाई सोधेका थिए । उनले पनि वार्ता नभएको भनेपछि रावललाई पार्टीबाट निकाल्ने निर्णयमा पुगे ओली ।

‘पार्टीको निर्णय मानेको छैन । न पार्टी सम्पर्कमा बसेको छ । न त सहयोग गरेको छ । ०७९ को निर्वाचनमा पनि पार्टी सिद्दयाउन लागेको मान्छेलाई पार्टीमा राखेर फाइदा छैन’, ओलीले सचिवालय बैठकमा भनेका थिए, ‘यतिबेलासम्म पर्खियौँ, हामीमाथि नै पार्टीको नेता हुँ भन्दै हमला गरिएको छ । छुट्टा–छुट्टै भेला भएको छ । कहिले समाजवादीमा जाने भनेको छ । कहिले नयाँ पार्टी खोल्ने भनेको छ । दादागिरी धेरै भयो । अब फालेपछि लन्ठै साफ ।’

ओलीले यसो भनेपछि सचिवालयमा सहभागी नेताहरू केहीबेर शान्त भए । उता वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, महासचिव शंखर पोख्रेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल लगायतले पनि रावललाई कारबाही नगरे एमालेलाई ठूलो घाटा हुने मत राखे ।

त्यसपछि रावल एमालेमा फर्किने नफर्किने अवस्थामा के छन् भनेर बैठकमा सल्लाह भयो । बैठकमा उपस्थित एक नेतामा अनुसार रावल एमालेमा नफर्किर्ने बरु नयाँ पार्टी खोल्ने योजनामा रहेकोे कुरा आएपछि सबैले एउटा निर्णय गर्नुपर्ने अवस्था बन्यो । त्यसभन्दा पहिला रावलले कहाँ–कहाँ छलफल गरे र कसलाई कसलाई भेटे भनेर सुदुरपश्चिमका इन्चार्ज तथा सचिव छविलाल विश्वकर्माले रिर्पोट गरे ।

०७९ को निर्वाचनमा रावलको टिकट खोसेर ओलीले झपट बोहोरालाई दिएको प्रसंग पनि उठेको थियो । तर नेताहरूले गल्ती रावलकै भएको औँल्याए ।

एमाले स्रोतका अनुसार ओलीको कार्यशैलीसँग सन्तुष्ट नभएका नेता पनि रावललाई कारबाही गर्ने कुरामा एक मुख भए । विगतमा ‘१० भाइ समूह’ भनेर चिनिएका तर एकीकृत समाजवादीमा नलागेका नेता पनि रावललाई बचाउने विषयमा खरो रूपमा प्रस्तुत भएनन् । उनीहरू रावलमाथि कारबाही गर्नुपर्ने पक्षमा नबोले पनि उनको कार्यशैली ठिक नभएको भन्नेमा उभिए ।

‘१० भाइ समूह’ मध्येका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले फरक मत राख्ने धेरैले आँकलन गरेका थिए । तर बैठकमा रावललाई कारबाही गर्ने सन्दर्भमा सबैको एक मत भयो’, स्रोतले भन्यो । ओलीको कार्यशैलीप्रति रुष्ट उपाध्यक्ष युवराज ज्ञवालीले पनि रावलको कारबाही रोक्न सकेनन् । एक पटक बोलाएर स्पष्टीकरण सोध्ने छलफल भए पनि पटक–पटक रावल नआएको विषय उठेको थियो । त्यसपछि ओलीले रावलको कारबाहीका लागि सबैलाई सहमत गराए । ओलीले राखेको प्रस्ताव सर्वसम्मत पारित भयो ।

उषा र बिन्दालाई सहानुभूति

बैठकमा उषाकिरण र बिन्दाको विषयमा छलफल भएको थियो । छलफलमा उनीहरूलाई कारबाही नगर्ने तर एक पटक स्पष्टीकरण सोध्ने भनिएको थियो । उनीहरूले सार्वजनिक रुपमा लेखेको स्टाटस हटाउने प्रस्ताव वैचारिक नेताहरूले गरेका थिए । यसबारे बोल्न सबैलाई समय दिइयो । उपाध्यक्ष पाण्डे, शाक्य, ज्ञवाली, उपमहासचिव ज्ञवाली सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल लगायतकाले बिन्दा र उषालाई कारबाही नगर्ने भन्ने पक्षमा बोले । तर ओलीको अगाडि कसैको केही नलागेको नेताहरूको भनाइ छ ।

‘बिन्दाजी र उषाजीको विषयमा निकै लामो छलफल भएको हो । रावलको विषयमा सबैको एक मत थियो । तर बिन्दा र उषाजीलाई एक पटक बोलाएर सचिवालय बैठकमै सोध्ने कुरा भएको थियो’, एमाले सचिवालयका एक नेताले खबरहबलाई भने, ‘गलत संस्कार बस्ने डरले निर्णय गर्नुपर्छ नै भन्ने कुरा नेतृत्वबाट भयो । महासचिव र वरिष्ठ उपाध्यक्ष पनि एकमुख हुनुभयो । अध्यक्षज्यू त तह लगाउने तयारीसाथ बस्नु भएको रहेछ । हामीले सकेनौँ ।’

विवादास्पद व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिएकोबारे विरोध गरेको भन्दै कारबाहीमा परेका दुई नेत्रीलाई स्टाटस नै लेख्न लगाएर माफ माग्न लगाउनेसम्मको कुरा चलेको थियो । तर उनीहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ पनि ठिक नभएको चर्चा चल्यो । महासचिव शंकर पोख्रेलले भनेका थिए, ‘उहाँहरूको पार्टीमा योगदान भए पनि दृष्टिकोण सही भएन । सामाजिक सञ्जालमा छताछुल्ल गर्नुको साटो हामीलाई भन्नुपर्ने थियो ।’ त्यसपछि पनि नेताहरूले दुई नेतृलाई कारबाही गर्दा गलत सन्देश जाने बताएका थिए ।

सचिवालका एक नेताले खबरहबलाई भने, ‘कांग्रेसमा पनि नेतृत्वविरुद्ध कति आवाज उठ्छन् तर कारबाही हुँदैन । दुई नेतृलाई सम्झाउन सकिन्छ तर कारबााही नगरौँ भनेर धेरैले बोलेका थियौँ ।’

गत कात्तिक ४ गते दुईजना नेताहरूलाई एमालेले स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिमल्सिनाले जवाफ दिए । तर जवाफ चित्त नबुझेको भन्दै एमालेले कारबाही गरेको हो ।

बहुमत नेताले बिन्दा र उषाकिरण बचाउने पक्षमा बोलेपछि ओलीले केन्द्रीय समितिले पनि यसलाई विचार गर्न सक्ने बाटो देखाएर कारबाही गराए। ‘केन्द्रीय कमिटीलाई सच्चयाउने अधिकार छ’, अर्का नेताले भने, ‘उहाँहरूले नोट अफ डिसेन्ट लेख्न सक्नुहुन्छ । त्यसमा अब केन्द्रीय कमिटीले छलफल गर्छ ।’

ती नेताका अनुसार दुई नेतृबारे सचिवालयको निर्णयलाई केन्द्रीय कमिटी बैठकले उल्टाएर स्पष्टीकरण पनि सोध्न सक्ने बताइएको छ । त्यो कुरा गर्न नेतृहरूले चित्त नबुझेको विषयको पत्र केन्द्रीय कमिटीलाई पठाउनुपर्ने हुन्छ ।

पत्र पठाउलान् ?

दुवै नेतृहरू केन्द्रीय कमिटीलाई पत्र पठाउने योजनामा छैनन् । उनीहरूले लामो राजनीतिक यात्राका क्रममा सहिलाई सही र गलतलाई गलत भन्ने क्षमता भएको भन्दै पत्र लेखेर याचना नगर्ने बताएका छन् ।

उषाकिरणले खबरहबलाई भनिन, ‘हामीले जे कुरा हो त्यो कुरा राखिसकेका छौँ । पत्र पठाउने पक्षमा छैन । पार्टीका लागि यतिका वर्ष काम गरियो, गलतलाई गलतभन्दा यसरी पार्टीले बाहिर राख्छ भने भन्नु केही छैन । तर हामी गलतलाई बढावा दिने पक्षमा छैनौँ ।’

उनीहरूको कारबाही केन्द्रीय कमिटीले फुकुवा गर्ने एक नेता दाबी गर्छन् । ‘चौतर्फी प्रश्न उठेको छ । पार्टीलाई पनि यो निर्णयले घाटा लाग्ने अवस्था छ । उहाँहरूको विषयमा केन्द्रीय कमिटीले उल्टाउन सक्छ’, एमाले सचिवालयका एक नेता भन्छन्, ‘भीम रावलबारे केही हुने अवस्था छैन । यो निर्णय तलमाथि हुँदैन जस्तो लाग्छ ।’

 

याे पनि…

एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता)

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : ५४ बजे

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

झापा – झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

अबुजा – नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको

इतिहासको पठनपाठन कम हुँदा राष्ट्रिय स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा

पश्मिना उद्योग नेपालको पहिचान हो : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग