सम्भव छ सेतो दुबीको उपचार | Khabarhub Khabarhub

सम्भव छ सेतो दुबीको उपचार


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सेतो दुवी मानिसको सौन्दर्यका लागि अभिषाप हुने गरेको छ। समयमै उपचार गरेको अवस्थामा रोगले पूर्ण निदान पाउने चिकित्सकको दाबी छ। कहिलेकाहीँ हाम्रो शरीरको विभिन्न भागको छालामा अस्वाभाविक सेतो दाग देखिन सक्छ। जसलाई सेतो दुबी भनिन्छ। वंशाणुगत कारण हुने यो रोग सयमा १ जनालाई हुने सम्भावना रहन्छ। छालामा रंगको निर्माण गर्ने कोशिका नष्ट भएपछि दाग देखिने समस्या सिर्जना हुन्छ। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन। छालामा हुने सेतो दुबी कस्तो रोग हो ? यस्तो दुबी शरीरका कुन–कुन भागमा छिटो फैलिन्छ ? यसलाई पूर्ण रुपमा निको पार्न सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा छालारोग विशेषज्ञ प्रा.डा. सविना भट्टराईसँग गरिएको कुराकानी :

छालामा हुने सेतो दुबी कस्तो रोग हो ?
छालामा अचानक सेतो दाग आउँछ भने त्यसलाई सेतो दुबी भनिन्छ। यो वंशाणुगत हुनसक्ने रोग हो। यो छालामा रङ उत्पन्न गर्ने तत्त्वको कमीले गर्दा पनि हुन्छ।

योे रोग लाग्न छालाको प्रकृतिले पनि काम गर्ने हो ?
छालाको प्रकृति अनुसार भन्दा पनि यो वंशाणुगतकै कारणले हुने रोग हो। बुवा या आमा कसैलाई सेतो दुबी छ भने बच्चाहरुमा पनि हुने सम्भावना बढी हुन्छ। यो विश्वभर सयमा १ जनालाई हुने रोग हो। यो जुनसुकै उमेर समूह र महिला पुरुषमा पनि हुनसक्छ।

छालाको प्रकृति अनुसार भन्दा पनि यो वंशाणुगतकै कारणले हुने रोग हो। बुवा या आमा कसैलाई सेतो दुबी छ भने बच्चाहरुमा पनि हुने सम्भावना बढी हुन्छ।

सेतो दुबीको समस्या लिएर कत्तिको बिरामी आउने गरेका छन् ?
पुरै नेपालको अवस्था त भन्न सक्दिन। तर हामीकहाँ उपचारका लागि आउने बिरामीमा सय जनामा ५ देखि ६ जनामा यो रोग देखिएको हुन्छ।

यस्तो दुबी शरीरका कुन-कुन भागमा छिटो फैलिन्छ ?
जुनसुकै भागमा पनि देखिन सक्छ। कसैको नसाहरुको जोर्नी भएको ठाउँमा पनि देखिन सक्छ। यो बच्चामा बढी हुन्छ। कसैलाई मुखभित्र पनि आउँछ। जुन अंगमा बढी घर्षण हुन्छ त्यहाँ यो देखिन्छ। आँखाको वरिपरि, ओठ, घाँटी, काखी, औँला, आदिमा सेतो दुबी देखिन सक्छ। यो एउटा धेरै फैलिने खालको र अर्को नफैलिने खालको रोग हो। फैलिने खालको सेतो दुबी शरीरको एउटा भागमा आयो भने बिस्तारै पुरै शरीर ढाक्नसक्छ। त्यस्तो अवस्थामा नर्मल छालालाई फालेर सबै सेतै बनाउनुपर्ने हुन्छ। नफैलिने खालको छ भने शरीरको जुन भागमा आएको हो त्यही भागमा मात्र सीमित हुन्छ।

फैलिने खालको सेतो दुबी शरीरको एउटा भागमा आयो भने बिस्तारै पुरै शरीर ढाक्नसक्छ। त्यस्तो अवस्थामा नर्मल छालालाई फालेर सबै सेतै बनाउनुपर्ने हुन्छ।

यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ कि गर्दैन ?
सेतो दुबी छालाको समस्या मात्रै नभएर अन्य भित्री रोगका कारणले पनि हुन सक्छ। जस्तै मधुमेह, थाइराइड, बाथ, दम त्यस्तै शरीरमा रगतको मात्रा घटाउने खालका रोगहरु पनि यससंगै जोडिएका हुन्छन्। शरीरमा सेतो दाग आउने संगसंगै चिलाउने समस्या देखियो भने यी रोगहरुको पनि जाँच आवश्यक छ। कहिलेकाहीँ मधुमेह, थाइराइड पहिलेदेखि नै भएको र हामीले थाहा नपाएको अवस्थामा सेतो दुबी धेरै फैलिने सम्भावना हुन्छ।

यसलाई पूर्ण रुपमा निको पार्न सम्भव छ ?
शरीरमा कति मात्रामा फैलिएको छ त्यसको उपचार पद्धति फरक हुन्छ। धेरैजसो उपचारका लागि आउने बिरामीहरु फैलिएरै आएका हुन्छन्। जसका कारण उपचार त्यति प्रभावकारी हुँदैन। यदि सुरुवाती अवस्थामै बिरामी उपचारका लागि आउने हो भने विभिन्न पद्धतीहरु छन्। जस्तै मल्हमहरुको प्रयोग घामले सेक्ने गरिन्छ। त्यस्तै रौ आउने भागहरुमा छालाको रङ दिने कोशिकाहरुको गुण हुन्छ। त्यस्तो भागलाई उपचार गरेर पहिलेकै अवस्थामा फर्काउन सकिन्छ। तर रौं नआउने भागहरु जस्तै ओठ, औंलाको चेप त्यस्तो भागहरुमा उपचार पछि रौं आउने सम्भावना न्यून हुन्छ।

यो वंशाणुगत रोग भएकाले जन्मिँदै मान्छे जिनमा बोकेर आएको हुन्छ। यसबाट बच्न खाना बार्ने यो खाने त्यो नखाने भन्ने हुँदैन।

यसबाट बच्न के गर्न सकिन्छ ?
यो वंशाणुगत रोग भएकाले जन्मिँदै मान्छे जिनमा बोकेर आएको हुन्छ। यसबाट बच्न खाना बार्ने यो खाने त्यो नखाने भन्ने हुँदैन। वंशाणुगत संगसंगै धेरै तनाव लिने, समयमा खाना नखाने जस्ता समस्याले पनि धेरै फैलिने हुन्छ। त्यसैले खानपान र जीवनशैलीमा ध्यान दिनु आवश्यक छ।

यसको उपचार कति खर्चिलो छ ?
बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्दा त्यही अनुसारको उपचार गर्नुपर्छ। सामान्य छ शरीरका थोरै भागमा मात्रै फैलिएको छ भने मल्हमको प्रयोग हुन्छ, जुन धेरै महँगो छैन। खाने औषधीहरु पनि छन्। त्यस्तै विभिन्न थेरापी पनि गरिन्छ। शरीरका धेरै भागहरुमा फैलिएको छ भने दुबी नफैलिएको भागबाट रङका कोशिकाहरु निकालेर सर्जरी गर्नुपर्ने हुन्छ। तर त्यस्तो धेरै महँगो औषधीहरु छैन।

उपचारपछि पनि आइरहने हुन्छ। रगतका कोषिकामा जिन कायमै हुन्छ। त्यो जिनका कारण दोहोरिने सम्भावना अधिक रहन्छ।

एकपटक उपचार गरेपछि बल्झिने सम्भावना के छ ?
उपचारपछि पनि आइरहने हुन्छ। रगतका कोषिकामा जिन कायमै हुन्छ। त्यो जिनका कारण दोहोरिने सम्भावना अधिक रहन्छ।

अन्तमा यहाँको सुझाव के छ ?
यो रोगलाई लुकाएर बस्नुपर्ने जरुरत छैन। यो अरुलाई सर्ने पनि होइन। यो कुनै पूर्वजन्मको पापका कारण लाग्ने रोग होइन। त्यसैले यो रोग देखिने बित्तिकै उपचार गर्यौं भने यसको उपचार सम्भव छ।

छालारोग विशेषज्ञ प्रा.डा. सविना भट्टराईसँगको कुराकानी :

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ०० बजे

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय