६० प्रतिशत नेपाली माइग्रेनको मारमा | Khabarhub Khabarhub

६० प्रतिशत नेपाली माइग्रेनको मारमा


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

तनावै तनावको दैनिकीले माइग्रेनको समस्या दिन दुईगुना रात चारगुनाका दरले बढ्दै गएको छ । विश्वमा बढ्दो यो प्रकोपले नेपाल पनि अछुतो रहन सकेको छैन । जनसङ्ख्याको ६० प्रतिशत विभिन्न खालका माइग्रेनबाट पीडित रहेको तथ्यांक छ । यो एकखाले टाउको दुखाईको समस्या हो । यसमा बिरामीलाई अचाक्ली नै टाउको दुख्छ । सामान्यतया यो दुखाई ४ देखि ७२ घण्टासम्म रहन सक्छ । माइग्रेनको समस्या नेपालीमाझ आम समस्या हो ।

मानिसको व्यस्त र तनावपूर्ण जीवनशैलीले माइग्रेनको समस्या निम्त्याइरहेको छ । माइग्रेन सबै उमेरका व्यक्तिलाई हुनसक्छ । तर युवा र महिलालाई यो समस्याले बढी सताउने चिकित्सकहरू बताउँछन् । समयमै उपचार गरे समस्यामा सुधार हुने माइग्रेन लापर्बाही गरे जटिल बन्दै जान्छ । माइग्रेन कस्तो समस्या हो ? के कारणले हुन्छ ? यसको उपचार विधि के छ ? यसबाट बच्न के गर्ने ? भन्ने विषयमा वरिष्ठ न्युरोलोजिष्ट डाक्टर सुनिल कोइरालासँग गरिएको कुराकानी–

माइग्रेन कस्तो समस्या हो ?
माइग्रेन एक प्रकारको टाउको दुख्ने समस्या हो । हेड्याकका धेरै प्रकार छन् । जस्तैः टेन्सन हेड्याक, माइग्रेन हेड्याक, वास्कुलर हेड्याक छन् । त्यसमध्येको एक माइग्रेसन हेड्याक हो ।

माइग्रेन भएको कसरी थाहा पाउने ? यसमा कस्ता लक्षण देखिन्छन् ?
माइग्रेनका धेरै चरण हुन्छन् । एउटा चरणको माइग्रेनमा औडाहा हुने हुन्छ । अर्को चरणको माइग्रेनमा सामान्य दुखाई लामो समयसम्म भइरहने हुन्छ । यसको मुख्य लक्षण भनेको पटकपटक टाउको दुख्ने, केही घण्टासम्म टाउको दुख्ने, टाउको भारी हुने, टाउको टनटन हुने गरी दुख्ने, अत्याधिक टाउको दुखाईका कारण चक्कर लाग्ने तथा बान्ता हुने हुन्छ ।

कुन उमेर समुहमा यसको समस्या बढी देखिन्छ ?
माइग्रेन जुनसुकै उमेर समुहमा पनि हुनसक्छ । अझ युवाहरूमा बढी देखिन्छ । टाउको दुख्ने मुख्य कारण भनेको तनाव हो । युवाहरूले खानपानमा ध्यान नदिनु, निद्रा नपुग्नु, धुमपान, मद्यपान बढी गर्नाले माइग्रेन धेरै बढ्न सक्छ । त्यस्तै पुरुषको तुलनामा महिलामा बढी देखिएको छ ।

महिलामा बढी देखिनुको कारण के हो ?
यसको यही कारण हो भन्ने चाहिँ अहिलेसम्म पत्ता लागेको छैन । कुनै रोग पुरुषमा बढी देखिनु, कुनै रोग महिलामा बढी देखिनुको कारण हर्मोन समस्याले पनि हुनसक्छ ।

नेपालमा माइग्रेनका बिरामीहरूको अवस्था कस्तो छ ?
माइग्रेन नेपाली माझ आम समस्या हो । नेपालमा ६० प्रतिशतमा यो समस्या देखिएको छ । त्यसमा महिलाको संख्या बढी छ । टाउको दुखाइकै कारण धेरै मानिसको जीवनशैलीमा नै प्रभाव पारिरहेको अवस्था छ । अझ भन्ने हो भने टाउको दुखाइका कारण उपचारका लागि आउने ९० प्रतिशतमा माइग्रेनको समस्या रहेको पाइएको छ ।

यसको उपचार विधि के छ ?
सबै टाउको दुखाई माइग्रेन नहुन पनि सक्छ । त्यसैले सबैभन्दा पहिले त हामीले माइग्रेन हो कि होइन भनेर निक्र्यौल गर्ने खाना, निन्द्रा, व्यायाममा ध्यान दिनुपर्ने हुन्छ । साथै तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

यदि कसैलाई तीन चार महिनामा एकपटक माइग्रेन हुन्छ भने माइग्रेन हुने समयमा मात्र औषधि खानुपर्छ । कसैलाई निरन्तर टाउको दुखिरहन्छ भने औषधि खानुपर्छ । कतिपय औषधिको साइड इफेक्ट हुन्छ भने कतिको हुँदैन । कसैलाई तौल बढ्ने हुन्छ । औषधि भने मानिसको अवस्था बुझेर घटाउने, बढाउने गरिन्छ ।

समयमै उपचार नगरे के हुन्छ ?
माइग्रेन हुँदा औषधि खायो भने बानी पर्छ । नियमित खानु पर्ला कि भन्ने डरले नखाई बस्ने हाम्रो मानसिकता छ । यो सधैँ खानै पर्ने औषधि होइन । यो खाँदैमा बानी पनि पर्दैन ।
बरु औषधि नखाँदा अझै धेरै समस्या देखा पर्नसक्छ । नियमित डाक्टरको सल्लाहमा औषधि सेवन गर्नु उपयुक्त हुन्छ । जीवनशैलीमा परिवर्तन गरेर स्वस्थ जीवनशैली जिउन सकियो भने यस्ता समस्याबाट बच्न सकिन्छ ।

कस्तो खानपानले माइग्रेनलाई बढाउँछ ?
सबैलाई हुन्छ भन्ने त छैन तर माइग्रेन भएका व्यक्तिले दूध, दही आइसक्रिम, पनिर लगायत दूधबाट बनेका परिकार र जंकफुडहरु अचार, चकलेट खाँदा समस्या झन बढ्ने हुँदा यस्ता खाना नखानु नै राम्रो मानिन्छ ।

यसमा वंशाणुगत असर पनि हुने हो ?
वंशाणुगतकै कारण यो रोग हुने त होइन । तर कसैकसैमा यो पनि कारण हुनसक्छ ।

यसबाट बच्न के गर्ने ?
माइग्रेनबाट बच्न सबैभन्दा पहिला त जीवनशैलीमा सुधार गर्ने, खानपानमा ध्यान दिने, तनावबाट टाढै रहने, आफूलाई मन लागेका पुस्तक पढ्ने, व्यायाम गर्नाले धेरै हदसम्म माइग्रेन कम गर्न सकिन्छ । त्योबाहेक अन्य उपाय भनेको उपचार नै हो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ५९ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल