धनकुटाको जन्मगाउँमै नपुगी स्वर्ग पुगे ‘टुहुरा’ भक्तराज « Khabarhub

धनकुटाको जन्मगाउँमै नपुगी स्वर्ग पुगे ‘टुहुरा’ भक्तराज


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यले एउटा भजनमा भनेका छन्– रहेन छ मेरो केही भगवान्, मेरो रहेनछ केही‍….

भक्तराज आचार्य धनकुटा जिल्लाको कुरुले तेनुपा भन्ने गाउँमा जन्मेका हुन् । गाडी चढ्नका लागि दिनभर हिँडेपछि बल्ल धरान आइपुगिन्थ्यो । या त ६ नं बुधबारेको बाटो हुँदै लेटाङ वा मधुमल्ला झर्न सकिन्थ्यो । यसअर्थमा कुरुले तेनुपा धनकुटाको दुर्गम गाउँ हो । यो गाउँ पाँचथरसँग सीमा जोडिएको छ । 

भक्तराज जन्मेको गाउँ अहिले चौबिसे गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ । सुरुङ्कीको भदौरे गाउँमा भक्तराजको पाखोबारी अझै छँदैछ । तर, सानैमा गाउँ छाडेर हिँडेका भक्तराजले ठूलो भएपछि आफ्नो गाउँ र जग्गाजमिन कहिल्यै देखेनन् । एकपटक जन्मेको गाउँमा जाने सपना पूरा नभई उनी स्वर्गतिर लागे । 

भक्तराजका छोराहरूले आफ्ना पिताको जीवनीमा आधारित ‘आचार्य’ फिल्म बनाउने योजना बनाएपछि कुरुले तेनुपास्थित जन्मघरमा शुटिङ गर्ने विचार गरेका थिए । तर, गाडी नजाने ठाउँमा भक्तराज हिँडेर जान नसकेका कारण कुरुलेमा शुटिङ सम्भव भएन । शुटिङ टोली भेडेटार हुँदै धनकुटा सदरमुकामसम्म गएर फर्कियो । 

‘म संविधानसभामा निर्वाचित भएर आएपछि भक्तराजले आफ्नो गाउँको भाइ रहेछ भने मलाई घरमा बोलाउनुभयो,’ धनकुटा कुरुले निवासी पूर्वसभासद हेमराज भण्डारीले खबरहबसँग भने, ‘आमाले सानैमा बोकेर तराईमा बसाइँ झारे पनि आफूलाई गाउँको याद आउने गरेको भक्तराजले मलाई सुनाउनुभयो, उहाँले गाउँको बारेमा चासो दिएर सोधीखोजी गर्नुभयो ।’

त्यसबेला भक्तराजका छोराहरूले गाउँमा आचार्य चलचित्र शुटिङको सम्भावनाबारे चासो राखेको भण्डारी सुनाउँछन् ।

भण्डारीसँगको भेटपछि मोरङका मूर्तिकार नवीन सुवेदीले भक्तराज आचार्यको पूर्णकदको शालिकसमेत बनाएका छन्, जुन अनावरण हुन बाँकी छ । 

कुरुले तेनुपाका स्थानीयबासीहरुका अनुसार झक्तराज सानै छँदा पिताको निधन भएपछि आमा विधवा बनिन् । त्यसपछि उनी घरबारी त्यत्तिकै असरल्लै छाडेर सानो छोरालाई बोकेर गाउँबाट अँध्यारै बसाइँ हिँडिन् । त्यसपछि आमाछोरा गाउँमा कहिल्यै फर्केर आएनन् ।

बरु तिनै टुहुरो बालख चर्चित गायक एवं भजन शिरोमणि बने । दुईजना होनहार गीतकार छोराहरु देशलाई उपहार दिएर परमधाम भए । भक्तराजकी ती महान आमाको मृत्यु कहिले कसरी भयो, खासै चर्चा हुने गरेको पाइँदैन । भक्तराजका पिताको पनि खासै चर्चा छैन । गाउँमा अहिले पनि आचार्य परिवारका केही सदस्यका घर छन् ।

छोरालाई लिएर भक्तराजकी आमा भारतको आसाममा बसाइँ सरेकी थिइन् । त्यसबेला पूर्वी पहाडका नेपालीहरू भारतको आसाम, सिक्किम र भुटानसम्म बसाइँ जाने चलन थियो । 

आसाममा हुर्केका भक्तराज सानैदेखि नेपाली गीत संगीतमा लागे । अन्ततः त्यही नेपाली कला संगीतले तानेर उनी आसामबाट काठमाडौं आए र यहीँ जमे ।

विसं. १९९९ सालमा जन्मेका आचार्यको निधन ८१ वर्षको उमेरमा सोमबार भएको हो । उनी ललितपुरमा बस्दै आएका थिए । उनका दुई छोरा स्वरुप र सत्यराज आचार्य दुवैजना गायक छन् । 

पदमश्री लगायतका सम्मानबाट विभूषित भक्तराज भजन शिरोमणिको उपाधिले परिचित छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ४ : ४९ बजे

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय