श्रोताको ‘मुटु जलाउँदै’ महायात्रामा भक्तराज, संगीत साधक भन्छन्- नेपाली संगीतका अमर पाठशाला | Khabarhub Khabarhub

श्रोताको ‘मुटु जलाउँदै’ महायात्रामा भक्तराज, संगीत साधक भन्छन्- नेपाली संगीतका अमर पाठशाला


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यको पशुपति आर्यघाटमा सोमबार हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । दुई छोरा सत्यराज र स्वरुपराजले दागबत्ती दिनुअघि उनको सम्मानमा आर्यघाटमै ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत गुञ्जियो । यो दृश्यले धेरैका आँखा रसाए ।

आर्यघाट लानुअघि अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेपाली गीत संगीतका सयौं मूर्धन्य कलाकार र उनको गायनलाई रुचाउनेहरू उपस्थित थिए ।

आचार्यको शव यात्रामा सहभागीहरूले उनका कालजयी गीत ‘हजार सपनाको माया’ र ‘जहाँ छन् बुद्धका आँखा’ गाएर स्मरण गरे । औपचारिक रूपमा विसं २०३० बाट गायनमा प्रवेश गरेका आचार्यले १६ वर्षमात्रै गीत संगीतमा योगदान गरे ।

आचार्यमाथि २०४६ सालमा सांघातिक हमला भएपछि टाउकामा चोट लाग्यो । उनी लामो समय अस्पताल बसेर घर त फर्किर र गीत–संगीतमा फर्कन सकेनन् ।

२०५० सालमा जिब्रोको क्यान्सरबाट पीडित भएपछि उनी राम्रोसँग बोल्नसमेत नसक्ने भए । त्यसयता उनी झोलिलो पदार्थमा पिएर जीवन कटाइ रहेका थिए ।

२०३० देखि ०४६ सालमा उनी सक्रियरुपमा संगीतमा आबद्ध हुँदा ४ सय बढी गीत तथा भजनमा स्वर र संगीत दिए । उनले गीतभन्दा भजनमा धेरै योगदान दिएका छन्  । कालजयी गीत र भजनलाई नयाँ आयाम दिएका कारण उनलाई २०५४ सालमा भजन शिरोमणिको उपाधि दिइएको हो ।

नेपाली संगीतमा बेग्लै छवि बनाउन सफल आचार्यको महायात्राले नेपाली संगीतमा अपूरणीय खाल्डो परेको प्रतिक्रिया संगीत साधकहरूले दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 

 

उहाँको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । लामो अस्वस्थतापछि उहाँले संसार छोड्नुभयो यसले हामीलाई दुखी बनाएको छ । तर उहाँको गीत संगीतप्रतिको योगदान भने अमर नै रहन्छ । उहाँको योगदान कालजयी छ । यसले गीत–संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरित र दिशानिर्देश गरिरहने छ । कलाकार आचार्यको उपचारमा भएको खर्चको सन्दर्भ वा आउने दिनमा गर्नुपर्ने आवश्यक कामका लागि म नेपाल सरकारकातर्फबाट सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु । 

एमाले अध्यक्ष केपी शर्मा ओली

नेपाली गीत–संगीतका सुबिख्यात नक्षत्र, नेपाली भजनलाई नयाँ आयाम दिन सफल, भजन शिरोमणिबाट विभूषित, जनस्तरमा अत्यन्तै लोकप्रिय र संगीतमा असाधारण योगदान पुर्‍याउनुहुने स्रस्टा हो उहाँ । उहाँको निधन अत्यन्तै दुखद र अपूरणीय क्षति हो । 

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा

संगीतप्रेमीहरु रोइरहेका छन्, आफ्नो प्रिय गायकले छोडेर जानुभयो भनेर । उहाँको हरेक संगीतले हृदय छुन्छ । उहाँको भजनले अध्यात्ममा जागृत गराउँछ । संगीतमा सूर र साधना सबै झल्कन्छ । ०४६ सालमै उहाँ ठूलो घटनाबाट गुज्रनुपर्‍यो । उहाँ गीत–संगीतबाट टाढा रहनुभयो । तर पनि छोराहरूले यही क्षेत्रमा ख्याति कमाएको उहाँलाई हेर्नु रहेछ । आज यहाँले हामीलाई छोडेर जानुभयो हामी भावुक छौँ, दुखी छौँ । उहाँको शरीरले छोडे पनि आवाज उहाँको सुगम संगीत हामी माझ नै छ ।

गायक राजेशपायल राई

उहाँ संगीतको पाठशाला नै हो । हाम्रो लागि उहाँ अभिभावक हो । यो वियोगले नेपाली गीत–संगीत क्षेत्रमा ठूलो खाडल परेको महसुस भएको छ । एक हिसाबले आज कालो दिन नै हो । उहाँबाट हामीले सिक्ने कुरा भनेको– लगनशीलता, अनुशासन र देशप्रतिको समर्पण भाव नै हो । भक्तराज आचार्यले भन्ने गरेको सूत्र ‘लगनशिलता र इमानदारी कहिल्यै मर्दैन’ भन्ने वाक्य हाम्रा लागि पनि उत्प्रेरक बनेर रहने छ । अहिलेको भाषामा भन्दा भाइरलबाट धेरै टाढा हुनुहुन्थ्यो उहाँ । टाढै रहन सल्लाह पनि दिनुहुन्थ्यो । 

कलाकार एवं निर्देशक दीपाश्री निरौला

यो घटनाले नेपाली संगीत क्षेत्रका लागि ठूलो क्षति पुगेको छ । यद्यपि सत्य र स्वरूपले उहाँको बिँडो बोकेर हिँडिरहेका छन् । यी दुईबाट यसले उहाँको अनुपस्थिति त्यति ठूलो महसुस नहोस् भन्ने मेरो कामना छ । उहाँलाई ०४६ सालबाटै कठिन समय बिताइरहनुभएको थियो । परिवारमा धैर्य धारण गर्ने क्षमता मिलोस् । 

कवि विप्लव प्रतीक 

एउटा दुर्लभ आवाज भएको गायकका रूपमा म उहाँलाई सम्झिरहने छु । अहिलेका नयाँ पुस्ताले आफ्नो काममा कसरी लगनशील हुने र साधनामा बस्ने भन्ने कुरा उहाँबाट सिक्नुपर्छ । उहाँले कविता भएको गीत गाउनुभयो अहिलेको पुस्ताले कविताविहीन गीत गाइरहेको छ ।  अहिलेको पुस्ताले कविता समाहित भएको गीत गायो भने नै उहाँको श्रद्धा सुमनको रूपमा रहनेछ । 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ७ : ०६ बजे

संसद्को अवरोध चाँडै हट्छ : विष्णु पौडेल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले

सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र

साधारणीकरण सञ्चार ढाँचाबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठीको तयारी पूरा

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले आइतबार

सडक डिभिजनले भन्यो : बालेनले कानुनी राज्यको उपहास गरे

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै

देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव

कास्की – पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको