एसईईको अपेक्षा : गुणस्तर कि नतिजा ? | Khabarhub Khabarhub

एसईईको अपेक्षा : गुणस्तर कि नतिजा ?

नानीबाबुको गुणस्तरीय शिक्षाका लागि शिक्षक र अभिभावकले ध्यान दिनुपर्ने कुराहरु



विहीबारदेखि शुरू हुने एसईई परीक्षाका लागि विद्यार्थीहरू तयारी अवस्थामा छन् । ०७३ सालदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नामबाट शुरू भएको एसईई प्रणालीलाई शिक्षामा नयाँ आयामका रुपमा प्रस्तुत भएको मान्नुपर्छ ।

परीक्षा र नतिजाप्रति जति हाम्रो उत्साह, जिज्ञासा र अपेक्षा रहन्छ, त्यति नै मात्रामा गुणस्तरीय शिक्षाको महत्व र यसले प्रत्येक विद्यार्थीको जीवनमा ल्याउने रूपान्तरणको कला अर्थात् विज्ञान जान्ने हो भने एसईई ठूलो हाउगुजी बन्ने छैन । जसरी हुन्छ, फलामे ढोका एसईई उत्तीर्ण हुनु छ र गराउनु छ भन्ने मानसिकताबाट माथि उठेर विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयंले गुणस्तरीय शिक्षाको बहुआयामिक अवधारणालाई बुझ्न सक्ने हो भने मात्र सकारात्मक परिणाम देखिने छ नानीबाबुहरूको जीवनमा ।

विगतमा जसले एसईई उत्तीर्ण गरे, ती विद्यार्थी र तिनका अभिभावकले अहिले गुणस्तरीय शिक्षाको कमी महसुस गरिरहेका छन् । किनकि, त्यतिबेला परीक्षा उत्तीर्ण हुनुसँग सम्बन्ध थियो भने अहिले समग्र शिक्षाको आवश्यकता महसुस हुँदै गएको छ ।

गुणस्तरीय शिक्षा अधिक ज्ञानको अधिग्रहण मात्र होइन, समालोचनात्मक सोच कौशल, भावनात्मक बुद्धि, सामाजिक जागरूकता र व्यवहारिक क्षमताहरूको विकास पनि समावेश हुनुपर्दछ । यसका लागि केही आयामहरू जान्नुपर्ने हुन्छ ।

समग्र दृष्टिकोण : रटाउने शिक्षा र सोच विचारभन्दा गुणस्तरीय शिक्षा माथि हुन्छ । गुणस्तरीय शिक्षा त्यो हो, जसले विद्यार्थीहरूको वौद्धिक, भावनात्मक, सामाजिक र शारीरिक रूपमा पोषण गर्दै समग्र विकासलाई बढावा दिन सकोस् । अभिभावक र विद्यालयको ध्यान एवं हाम्रा शैक्षिक सामग्री निर्माण गर्दा यस्ता कुरामा ध्यान पुग्दैन । अनि, नानीबाबुहरू परीक्षामा उत्तीर्ण भए पनि ज्ञानी भएनन्, संस्कारी भएनन्, अटेरी छन्, एकोहोरो छन्, आमाबाका कुरा सुन्दैनन्, अनुशासनमा छैनन् यस्ता गुनासा प्रशस्त आइरहन्छन् ।

यसका लागि सबै पक्षले समग्ररूपमा नानीबाबुहरूको इच्छा र रूची, क्षमता, उनीहरुले देखेको भविष्य, उनीहरुको मानसिक एवं भावनात्मक सोच, सामाजिक दायित्ववोध र शारीरिक स्वास्थ्यप्रतिको सचेतना र जागरणमा ध्यान दिनुपर्छ । त्यसमा अभिभावक र विद्यालयले कसरी सहजीकरण गर्ने र दिशावोध गर्ने, त्यो कला जान्नु जरूरी छ ।

किनकी एसईई मात्रै नानीहरुको भविष्य निर्धारणको मापन होइन । सु–संस्कृत शिक्षा, व्यवहारिक ज्ञान र चरित्रवान गुणवत्ता सबैभन्दा महत्वपूर्ण पक्ष हो, सफल जीवनका लागि ।

नानीबाबुहरु हामीले सोचेको जस्तो भएनन् भन्ने धारणाबाट माथि उठेर उनीहरूले आफ्नो स्वेच्छा र स्वाध्यायले कस्तो जीवनको परिकल्पना गर्न चाहेका छन्, त्यो मनोभावना बुझेर दिशानिर्देश गर्नु पहिलो शिक्षा हो । जसले समग्र शिक्षाको पद्दति र जीवनमा सफलताको मार्ग पहिल्याउन मद्दत गर्दछ ।

निर्णायक सोच : हाम्रा नानीबाबुहरूले त्यस्तो शिक्षा प्राप्त गरुन्, जसबाट उनीहरुले आलोचनात्मक स्वस्थ प्रतिष्पर्धा र खोजमूलक शिक्षाको पहिचान गरी सबैलाई प्रोत्साहन गर्न सकुन् । विविध शिक्षा र सूचनाको विश्लेषण गर्ने, अनुमानहरूमाथि प्रश्न उठाउने र तर्कसंगत तर्कहरू विकास गर्ने क्षमता विकास गर्न सक्ने शिक्षाले नै निर्णयात्मक अवस्थामा पुर्याउँछ ।

अभिभावकलाई लाग्छ, मेरो नानी त घरको बाघ, वनको स्याल जस्तो छ । तर, वनको बाघ देख्नका लागि विद्यालय र घरमा त्यस्तो शिक्षा आवश्यक छ

अभिभावकहरूलाई लाग्छ, मेरो नानी त घरको बाघ, वनको स्याल जस्तो छ । तर, वनको बाघ देख्नका लागि विद्यालय र घरमा त्यस्तो शिक्षा आवश्यक छ, जसबाट उनीहरुमा आलोचनात्मक सोच कौशलको विकास होस् र जस्तोसुकै जटिलतामा समस्या होइन, समाधान खोज्ने बुद्धिमत्ताको विकास गर्न सकुन् ।

हाम्रो उत्प्रेरणा भनेको तिमी सक्दैनौ, बाहिरका कुरामा चासो नदेऊ, आफ्नो किताबमा ध्यान देऊ, धेरै नसोच यस्ता कुराहरुले नानीबाबुहरुले आफ्नो आन्तरिक क्षमता र स्वभाव नै बिर्सन्छन् । कतिपय अवस्थामा यस्तो शिक्षाले गर्दा उनीहरूले अरूको सिको गर्नुपर्ने, अरू जस्तो बन्नुपर्ने हुँदा आफ्नो क्षमता र गुणवत्ताका बारेमा नै अनभिज्ञ हुन पुग्छन् । गर्छु या गर्दिनँ, ठीक या बेठीक, अहिले या पछि जस्ता कुराहरूमा उनीहरूलाई सोच्ने मौका, निर्णय लिने अवसर र स्व–विवेकको प्रयोग गर्ने ठाउँ दिनुपर्ने हुन्छ ।

रचनात्मकता र नवीनता : हाम्रो शिक्षा त्यस्तो होस्, जसले नानीबाबुहरुलाई रचनात्मक र नवीनतम कार्य गर्न प्रोत्साहित बनुन् । आफैंमा कल्पनाशीलता र मौलिक सोचलाई प्रोत्साहित गरेर वास्तविक संसारका चुनौतीहरूको सामना गर्न र समाजमा सकारात्मक योगदान दिन अझ सुसज्जित बन्न सकुन् । पाठ्य सामग्रीमा सीमित भएर अध्ययन गर्नुपर्ने र त्यहीअनुसार लेखेर परीक्षा उत्तीर्ण हुनुपर्ने, त्योभन्दा नौलो र रचनात्मक कुरा जान्यो भने ‘आउट अफ ट्रयाक’ गयो भनेर मनोबल गिराउने कार्य नजानिकन भैरहेका हुन्छन् । अनि पछि अभिभावकदेखि लिएर शिक्षक समेत पछुताइरहेका हुन्छन् कि नानीबाबुको रुची र क्षमतालाई हामीले सम्मान गरेनौं ।

फाइल तस्बिर

त्यसो त सबै नानीबाबुहरू सबै विधामा अब्बल हुन सक्दैनन् र सबैको रूची, चाहना र क्षमता एकै हुँदैन । तर, हरेकका आमाबा अरूका छोराछोरी जस्तै मेरा छोराछोरी पनि बनुन् भन्ने चाहन्छन् । अरूका नानीबाबुहरू देखेर उत्कृष्ट डाक्टर, उत्कृष्ट नर्स, उत्कृष्ट इन्जिनियर, उत्कृष्ट कलाकार, उत्कृष्ट खेलाडी या जे पनि विधामा मेरा नानीबाबुहरू पनि त्यस्तै बनुन् भन्ने चाहना राख्नु भनेको उनीहरूलाई त्यो उत्कृष्टतामा पुगेको हेर्ने रहर र सपना देख्नु हो ।

आफ्ना नानीबाबुहरू डाक्टर पढेर परीक्षामा उत्तीर्ण भई उपाधि हात पारुन्, प्रमाणपत्र हातमा लिएर टोपी र गाउन लगाएको देख्न चाहन्छन् आमाबा । त्यसपछि पनि डाक्टरको सेतो कोट लगाएर डाक्टरको कुर्सीमा बसेको देख्न पाउँ भन्ने सपना हुन्छ उनीहरूको । कलाकार भएको उपाधि र प्रशंसा पाएको हेर्न, उत्कृष्ट खेलाडीको शिल्ड बोकेर आएको देख्न वा जुन पनि विधामा आफ्ना नानीबाबुलाई अब्बल दर्जामा देख्न चाहनु आमाबाको गल्ती अवश्य होइन । तर, उनीहरूको आफ्नो रचनात्मक क्षमतालाई आफैं उजागर गर्न सकुन्, त्यसमा सबै पक्षको सहयोग आवश्यक रहन्छ ।

जीवन कौशल : हाम्रा नानीबाबुहरुलाई हामीले बनाउन चाहेको शैक्षिक ज्ञानका अतिरिक्त, गुणस्तरीय शिक्षाले सञ्चार, समस्या–समाधान, समय व्यवस्थापन र पारस्परिक कौशलजस्ता आवश्यक जीवन कौशलहरूसँग सुसज्जित हुन सकुन् । किनकि यी सीपहरू व्यक्तिगत र व्यावसायिक दुवै जीवनमा सफलताका लागि अमूल्य रहनेछन् ।

एसईई दिने नानीबाबुको उमेर परिपक्व  नभइसकेको हुनाले उनीहरूको मनोभावनालाई ख्याल गरिदिनुपर्छ । उनीहरुलाई उचित परामर्शका साथ सही व्यवहारको खाँचो पर्छ 

अभिभावकले पनि आफ्ना नानीबाबुहरुको मनोदशा, मनोभावना र रुचिलाई ध्यान नदिई महंगा विद्यालयमा पढाए, ट्युसनमा खर्च गरे, धेरैभन्दा धेरै समय आफ्ना नानीबाबुहरुले हातमा किताब बोकेर बिताए भने नतिजा राम्रो हुन्छ भन्ने धारणा नबनाउँदा बेश हुन्छ ।

एसईई दिने नानीबाबुको उमेर भनेको परिपक्व उमेर नभइसकेको हुनाले उनीहरूको मनोभावनालाई ख्याल गरिदिनुपर्छ । उनीहरुको मनोभावनालाई कदर गर्दै उचित परामर्शका साथ सही व्यवहारको खाँचो पर्छ । यसमा अध्यापन गराउने शिक्षक र विद्यालय वातावरणको ठूलो र सकारात्मक भूमिका रहन्छ ।

कुनै डिग्री हासिल गर्नु मात्र शिक्षाको उद्देश्य होइन, नानीबाबुहरू शान्त, आन्तरिक रुपमा सम्वृद्ध, सकारात्मक, नैतिकवान र अनुशासित बनुन् भन्ने हो । बालबालिकाको यो अपरिपक्व उमेरको एसईई र उच्च अध्ययनको द्वार माध्यमिक शिक्षा भएको हुनाले यी सबै पक्षलाई ध्यानमा राखेर शिक्षा प्रणाली अगाडि बढाउन सबै पक्षको भूमिका महत्वपूर्ण छ ।

अनुकुलता र लचिलोपन : द्रुत गतिमा गैरहेको बदलिँदो संसारमा नानीबाबुहरूले नयाँ परिस्थितिसँग कसरी अनुकूल वातावरण बनाई प्रतिकूलताबाट पनि पाठ सिक्न सक्छन्, त्यस्तो शिक्षाको जरूरत छ । पाठ्यक्रममा आधारित भएर मात्र मूल्यांकन नगरी नानीबाबुहरुको लगनशीलता, आत्म–प्रतिबिम्ब र विकासको मानसिकतालाई प्रोत्साहित गर्ने अनुभवहरूमार्फत लचिलोपनको शिक्षा प्रदान गर्न सकिन्छ । यसबाट नै हामीले खोजेको सांस्कृतिक र विश्वव्यापी जागरूकता नानीबाबुहरूमा प्रदान गर्न सहज हुन्छ ।

गुणस्तरीय शिक्षा भनेकै सांस्कृतिक समझ र विश्वव्यापी जागरूकतालाई बढावा दिनु हो । विविध दृष्टिकोणहरूको अनुभवले विभिन्न संस्कृतिका लागि सहानुभूति, सहिष्णुता र कदरको विकास गर्दै एक आपसको अन्तरसम्बन्धित ज्ञान र शान्तिपूर्ण जीवनका लागि बहुजन हितायको माध्यमबाट योगदान पुर्‍याउन सकुन्।

अहिले बढ्दै गएको अराजकता, अमानवीयता, अनैतिकता, अपराध, भ्रष्टाचार, बेरोजगारी, विदेश पलायनजस्ता समस्याको समाधान पनि सही र गुणस्तरीय शिक्षा अनि असल वातावरण नै हो । त्यसैले नानीबाबुहरूले आफ्नो गुणवत्तालाई कायम राख्न पनि आफ्नो अध्ययनको रोजाइ र सिकाइमा ख्याल पुर्‍याउनु जरूरी छ । यसमा सबै पक्षको सकारात्मक भूमिका त्यति नै महत्वपूर्ण छ ।

(डा. पाण्डे सामाजिक परामर्शदाता हुन्)

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ८ : ४२ बजे

पनौतीमा पशु खोप अभियान सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप

इंग्लिस प्रिमियर लिग : आर्सनल शीषस्थानमा

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ

श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान

इस्लामावाद– पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र

एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ

गर्भवतीमा किन हुन्छ उच्च रक्तचापको जोखिम ?

काठमाडौं – गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण समय हो। यो अवस्थामा