के चाहन्छन् केपी ओली ? | Khabarhub Khabarhub

के चाहन्छन् केपी ओली ?

कांग्रेसलाई छेक्ने र गलाउने रणनीति



काठमाडौं–सहकारी प्रकरणलाई लिएर संसद्देखि सडकसम्म तातिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब करिब मौन जस्तै छन् ।

सत्ता साझेदार दलहरुसँग संवादमा रहेका उनी सहकारी ठगी प्रकरण उठाएर आन्दोलित नेपाली कांग्रेससँग तत्कालै सहमति या सम्झौताको मुडमा देखिएका छैनन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारीको बचत हिनामिना प्रकरण चर्काइरहेको कांग्रेससँग आइतबार तय संवादमा पनि उनी सहभागी भएनन् । बरु उनले त्यसअघि शनिबार राति रास्वपा सभापति लामिछानेलाई बालकोट बोलाएर संवाद गरे । सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डलाई भन्दा आफूलाई विश्वास र भरोसा गर्ने लामिछानेलाई समस्या पर्ने गरी कुनै सम्झौताको पक्षमा ओली देखिएका छैनन् ।

भलै उनी वर्तमान गठबन्धन सरकारलाई ‘पर्दा पछाडि’बाट सञ्चालन गर्न सक्रिय छन् । कांग्रेसको घेराबन्दीबीच ओली वर्तमान गठबन्धन टिकाउन कटिबद्ध छन् । रास्वपालाई गलाउन सक्ने यो गठबन्धन भत्किने दाउ हेरेको कांग्रेससँग संवाद गर्दै अझै उसलाई गलाउने रणनीति ओलीले अख्यिार गरिरहेका छन् ।

गत जेठ १ गतेदेखि ओलीको त्यही रणनीतिको परावर्तित दृश्य संसद्मा देखिँदै आएको छ । जेठ १ गते कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि धन्यवाद प्रस्ताव रोकिदियो ।

त्यसपछि कांग्रेसलाई पेलेरै अघि बढ्न तयार ओलीले जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिलाए । फागुन २१ मा नयाँ गठबन्धन बनाउँदा कमजोर मन्त्रालयका लिएका ओलीले २०७९ मा जस्तो २ महिनामै गठबन्धन तोडिने खतरा टार्न सबै उपाय अख्तियार गरेका छन् ।

नयाँ गठबन्धन बन्ने समय पनि कांग्रेसले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री अफर गरेको कुरा संसद्मै पनि पुगिसकेको छ । प्रधानमन्त्री नखाएर आफ्नो पोल्टामा आएका लामछिानेलाई लक्षित गरेर गठबन्धन ढाल्ने कांग्रेसको प्रयास बिफल बनाउन ओलीले वार्तासँगै उसलाई गलाउने अभियान पनि चलाइरहेका छन् । कांग्रेससँगको सिधा वार्तामा उनी सहभागी छैनन् । यो गठबन्धन जोगाउने प्रमुख जिम्मा प्रचण्डभन्दा ओलीको काँधमा धेरै छ ।

त्यहीकारण जेठ १ गते पारित नभएको धन्यवाद प्रस्ताव जेठ ८ मा पारित भयो । त्यसको अघिल्लो दिन कांग्रेसलाई पेलेरै प्रचण्डले विश्वास पाए।

त्यसपछि जेठ १२ मा कांग्रेसलाई घेरेरै नीति तथा कार्यक्रम पास भयो । अब मंगलबार आगामी आर्थिक वर्षको बजेट पनि कांग्रेसलाई घेरेर नै ल्याउने तयारी यो गठबन्धनको छ । बजेट प्रस्तुत गरेर पास भइसकेपछि यो संसद् अधिवेशन अन्त्य गर्ने तयारी प्रधानमन्त्रीले पनि गरिसकेका छन्

एमाले प्रमुख सचेतक महेश बर्तौला अहिले आफ्नो पार्टी यो सत्ता समीकरणको अभिभावकको भूमिकामा रहेको बताउँछन् । ‘फागुन २१ गते यो सत्ता सहयात्रा आवश्यकता र औचित्यका आधारमा तय भएको । यसमा एमाले अभिभावकका रुपमा छ । खासमा यो गठबन्धन होइन, समीकरण मात्रै हो । विश्वास बढेर गए गठबन्धनमा पनि परिणत हुन सक्छ ।’

अर्थात् ओली यो समीकरणलाई २०८४ को चुनावसम्म लैजान चाहन्छन् । जहाँ पुग्दासम्म फेरि कांग्रेस र माओवादीको भेट नहोस् भन्ने कुरामा ओली सचेत छन् । आफ्नो त्यो रणनीतिमा ओली सफल पनि देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीकै योजनामा बल मिल्ने गरी जेठ ७ गते संसद्‍बाट कांग्रेसलाई चिढ्याउने गरी मन्तब्य दिए । प्रचण्डले अति गरे कांग्रेसलाई देखाइदिनेसमेत चेतावनी दिए । ओली अहिले कांग्रेस र माओवादीलाई मिल्न नदिई २०८४ सम्म यो समीकरण टिकाउने कोसिममा छन्। २०७९ मै भोगेको घेराबन्दीका कारण ओलीले माओवादी र कांग्रेसको दूरी बढाइरहेका छन् ।

माओवादी र रास्वपा पनि यो समीकरणको अभिभावक केपी ओली नै भएको बताउँछन् । माओवादी सांसद माधव सापकोटाले केही दिनअघि भनेका थिए ‘प्रचण्डले सरकार चलाउनुहुन्छ । बाहिरबा एमाले अध्यक्ष ओलीले दिनुहुन्छ । रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रचण्डलाई साथ दिनुहुन्छ । कसको पावर कति भन्ने छैन, मिलाएर जाने हो ।’

सत्ता सञ्चालनका लागि बनेको समीकरणमा विश्वास बढेर वैचारिक मतभेद पनि कम हुँदै गएको अवस्थामा गठबन्धन बन्न सक्ने ओलीको मान्यता छ ।

एमाले प्रमुख सचेतक बर्तौलालाई अहिलेको सरकारमा ओलीले जे भन्यो त्यही चल्छ रे ? भनेर सोध्दा उनले यसरी जवाफ दिए, ‘बाहिरका हल्लाको पछि नलागौँ । यी हल्ला निराधार र अफवाह हुन् । ठूलो दल भएकाले उहाँले सबैलाई समेट्नु भएको छ । यसमा अरू टाउको नदुखाए हुन्छ ।’

ओली के चाहन्छन् ?
ओली वर्तमान सरकार ०८४ सम्म टिकाएर लैजान चाहन्छन् । ओली कांग्रेसलाई सरकारमा आउनै नदिने रणनीति बनाएर अघि बढेका छन् ।

२०८४ पछि सकेसम्म बहुमत नभए कम्युनिस्ट मिलेर सरकारको बागडोर सम्हाल्ने योजनामा छन् । उनी अब एक पटक प्रधानमन्त्री हुने योजनामा छन् ।

कांग्रेसले तनाव दिइरहेका बेला यसअघि दुई पटक संसद् विघटन गरिसकेका ओली अहिले पनि मध्यावधि चाहन्छन् त ? यसमा एमाले नेताहरू मौन छन् । तर प्रतिपक्षी कांग्रेसका केही नेता ओलीले संसद्को गतिरोध अन्त्य नभएको झोंकमा देशलाई मध्यावधितिर लैजान चाहेको आरोप लगाए ।

रविलाई जोगाएको आरोप

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेलाई बचाएको आरोप कांग्रेसले लगाइरहेको छ । कांग्रेस सह–महामन्त्री बन्द्री पाण्डेले भने, ‘सत्ता जोगाउन गृहमन्त्रीलाई सरकारले जोगाइरहेको छ । यसमा प्रमुख भूमिका एमालेकै छ । प्रधानमन्त्रीको पनि सहयोग छ । सहकारी ठगलाई कारबाही नगरेसम्म हामी चुप बस्दैनौँ ।’

तर एमाले अध्यक्ष ओली यो कुरा मान्न तयार छैनन् । उनको सचिवालयका एकजना सदस्यले अहिलेको समीकरण बचाइरहन जतिसुकै लचिलो हुन ओली तयार रहेको बताउँछन् । सरकारमा दोस्रो तहका नेता पठाएर ०८४ सम्म टिकाएर निर्वाचनमा पहिलो पार्टी बन्ने योजना ओलीले बुनिरहेका छन् । एमाले पोलिटब्यूरो सदस्य सूर्य थापा भन्छन्, ‘वर्तमान समीकरण लामो यात्रामा छ । हामी यसलाई आगामी निर्वाचनसम्म लाने तयारीमा छौँ ।’

एमालेले रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा बचाएको भन्दा पनि मुख्य कुरा सरकार भएको थापाले बताए । ‘यो आरोप वर्तमान सत्ता समीकरण नरुचाउनेको कुरा हो । यो सरकार जोगाउनै पर्छ, एमालेको मुख्य भूमिका यसमा छ । तर दोषीलाई बचाउने पक्षमा हामी छैनौँ । गृहमन्त्रीको दोष कहाँ छ ? पहिले प्रमाणित हुनुपर्यो‍ नि !’

उनले एमाले अध्यक्ष ओलाई लामिछानेले भेट्दा गलत ब्याख्या गरिएको बताए । ‘रविजीले प्रधानमन्त्री भेट्दा प्रतिपक्षले सहज लिए । तर ओलीसँग भेट्दा गलत व्याख्या गरे । एकै समीकरणमा भएको अभिभावक दलका अध्यक्ष्लाई रास्वपाका साथीहरूले भेटेर सल्लाह लिनु सामान्य हो’, थापाले भने ।

राास्वपा उपसभापति डोलप्रसाद अर्याल पनि एमाले अध्यक्ष ओलीसँग रास्वपा नजिक भएको कुरा सत्यमा आधारित नभएको बताउँछन् । श्रममन्त्रीसमेत रहेका अर्यालले खबरहबलाई भने, ‘ठूलो दल र वर्तमान सरकारको मुख्य नेतृत्व ओलीसँग छलफल, सुझाव र अनुभव आदान प्रदान हुन्छ । प्रधानमन्त्रीसँग पनि हुन्छ । तर ओलीले बचाएको, संरक्षण गरेको भन्नु काम नपाएकाहरूले चलाएको हल्ला मात्रै हो ।’

तर यता कांग्रेस उपसभापति धनराज गुरुङ एमाले अध्यक्ष ओलीले सहकारी प्रकरणमा मुछिएकालाई संरक्षण गरेको बताउँछन् । प्रधानमन्त्रीले पनि ओलीलाई रोक्न नसकेर उनकै इशारामा चलेको उपसभापति गुरुङले बताए ।

अहिले त सभामुख पनि सरकारको हतियार भएर ओलीको इशारा र आदेशमा चलेको आरोप उनले लगाए । ‘सभामुख पनि सरकारको इशारामा चल्नुभएको छ । ओलीजीले जे भन्यो त्यही गर्नुहुन्छ । प्रधानमन्त्रीको पनि यसमा हात छ’, गुरुङले भने ।

यसबारे कांग्रेस सचेतक सुशीला थिङको फरक भनाइ छ । ‘हामीलाई अहिले सरकार चाहिन्न । सरकारका भ्रष्टाचारबारे हामीले आवाज उठाइरहेका छौँ । उहाँहरुले सरकार चलाए हुन्छ । तर सहकारी पीडितलाई न्याय चाहियो’, उनले भनिन् ।

तर एमाले प्रमुख सचेतक बर्तौला भने कांग्रेसले गृहमन्त्रीलाई सहकारीमा जोडेर फेरि सरकारमा जान खोजेको बताउँछन् । ‘कांग्रेसले सरकार खोजेको छ । तर हामी त्यो दिन तयार छैनौँ’, उनले भने ।

कांग्रेसलाई छेक्ने ओली रणनीति

२०७९ मंसिरको निर्वाचनपछि पुस १० गते ओली र प्रचण्डको मिलन भएको थियो । प्रतिनिधि सभा विघटनपछि टाढिएका दुई नेतालाई लामिछानेको रास्वपाले साथ दिए पनि लामो टिक्न सकेन । २०७९ तर फागुनमा भएको राष्ट्रपति निर्वाचनमा यो गठबन्धन टुटेको थियो ।

त्यसपछि प्रचण्डले कांग्रेससँग गठबन्धन बनाए । तर त्यो गठबन्धन ०८० फागुन २१ गते टुट्यो । त्यसपछि ओलीले रास्वपासहितको समर्थन लिएर प्रचण्डलाई साथ दिए । फलस्वरुप फेरि एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धन बनेको छ ।

तर त्यो गठबन्धन पनि वैशाख पहिलो साता झन्डै धरापमा पर्यो । यसको कारण थिए जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव नेपाल । यी दुई नेता मिलेर कांग्रेससँगको गठबन्धन बनाउन लागेको आरोप लाग्यो । यो आरोप लाग्नुअघि अध्यक्ष नेपालले त्यस्तै सार्वजनिक अभिव्यक्ति दिइरहेका थिए । तर २३ वैशाखमा जसपा नेता अशोक राईले पार्टी फुटाए ।

‘उपेन्द्र यादव वर्तमान सरकारविरुद्ध षडयन्त्र रच्दै हुनुहुन्थ्यो । त्यसो भएपछि हामीले वर्तमान सरकारलाई स्थायित्व दिन पार्टी विभाजन गर्यौँ’, उनले त्यसबेला खबरहबसँग भनेका थिए ।

जसपा विभाजनमा ओलीको हात भएको आवाज पनि उठेका थिए । अध्यक्ष यादवले केही शक्तिका कारण जसपा फुटेको बताएका थिए । त्यो शक्तिबारे उनले खुलाएनन् । यद्यपि उनको निशाना ओलीतिर नै थियो । भने, ‘सरकारमा रहेका शक्तिशाली मान्छे हुन् । उनैले आफ्नो पार्टी ठूलो बनाउने बहानामा अरूमाथि आक्रमण गरिरहेका छन् ।’

एमालेकै पूर्वउपाध्यक्ष अशोक राईलाई फर्काउने गरी ओलीले पहल गरेको चर्चा पनि छ । तर राई स्वयम् तत्काल पार्टी एकताको सम्भावना नभएको बताउँछन् । उनले खबरहबलाई भने, ‘पार्टी विभाजनमा कसको हात छभन्दा अब देशलाई सही मार्ग दिन के गर्ने भन्ने सोच हो । एमाले पूर्वपार्टी भएकाले यो आँकलनलाई स्वाभाविक लिन्छु ।’

उनी सत्ता समीकरण जोगाउन नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई पनि मनाउन सफल भएका छन् । ओलीले मधेश प्रदेश सरकारमा जनमतलाई मुख्यमन्त्री दिने सम्भावना पनि छ । नाउपालाई पनि सूदुरपश्चिममा समेट्न खोजेका थिए । तर नाउपाको विवाद नमिल्दा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बन्न पुगे ।

ओली अहिले सबैलाई मिलाएर लैजाने भूमिकामा रहेको एमाले सांसद महेश बस्नेत बताउँछन् । इलाम १ का प्रतिनिधि सदस्य उनी भन्छन्, ‘हाम्रो पार्टी अध्यक्षसँग सबैलाई मिलाएर लाने खुबी छ । देश उहाँ पार्टी र गुट हेर्नुहुन्न, सबैको हितलाई प्रथकिमता दिनु हुन्छ ।’

कांग्रेसलाई असफल बनाउने रणनीति

कांग्रेसले ललितपुरको गोदावरीमा गत फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक राखेको थियो । त्यसबेला बैठकमा उपस्थित करिब २४ सय महासमिति प्रतिनिधिले माओवादीसँगको गठबन्धन ठिक नभएको बताएका थिए ।

अधिकांश कांग्रेस कार्यकर्ताहरूले माओवादीसँगको गठबन्धन ठिक नभएको भनेपछि प्रचण्ड र ओली मिलाउन एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र माओवादीबाट उपमहासचिव वर्षमान पुनले सक्रिय भए । त्यसका लागि एमाले अध्यक्ष ओलीले कांग्रेसँगको गठबन्धन तोडेर आफनो पोल्टामा ल्याउन प्रचण्डलाई कन्भिन्स गरे । माओवादी महासचिव देव गुरुङ भन्छन्, ‘हामीले देशलाई स्थायित्व दिन वर्तमान समीकरण बनाएका हौँ । यहाँसम्म आउन गहिरो अध्ययन गरेका थियौँ ।’

अहिले पनि ओलीले कांग्रेसलाई सत्तामा आउन नदिन साना शक्तिहरूलाई फकाइरहेका छन् । एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीलाई पनि ओलीले फुटाउन खोजेको आरोप लाग्यो । एकीकृत समाजवादीको झालनाथ खनाल समूह ओलीसँग छलफलमा रहेको कुरा सार्वजनिक भए । तर खनाल समाजवादीको महाधिवेशनमा अध्यक्षको दाबेदार छन् । त्यहीकारण तत्काल यो च्याप्टर सकिएको छ । खनाल भन्छन्, ‘बृहत् वाम एकता हुनुपर्छ । तर एमालेसँग एकताको कुरा निराधार हो ।’

एमाले लचिलो हुने

वर्तमान सरकार ०८४ सम्म टिकाएर जान ओलीले प्रचण्डलाई अबको ३ वर्ष प्रधानमन्त्री बनाएर जान सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् । यसबारे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केही समयअघि खबरहबलाई भनेका थिए, ‘वर्तमान समीकरणमा विश्वासको आधार बन्दै गए ०८४ सम्मै प्रचण्डलाई मानेर जाने आधार तयार हुन सक्छ । तर यसका लागि सत्ता पक्षको पनि विचार सिद्धान्त र राष्ट्रिय मुद्दामा एकमत हुनुपर्छ । जुन अहिलेसम्म छ ।’

को कति प्रधानमन्त्री हुने कुरामा लिखित सहमति नभएको प्रधानमन्त्री प्रचण्ड र ओलीको सचिवालयका सदस्यहरु बताउँछन् । यसबीचमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीमा दाबी गरे । तर जसपासँग मिलेर कांग्रेसको गठबन्धमा फर्किने उनको कोसिसले ओली र प्रचण्ड रुस्ट छन् । यस्तोमा एमाले बरु प्रचण्डलाई पूरै कार्यकाल दिने मुडमा छ ।

माओवादी सांसद सापकोटा पनि प्रचण्ड नै ०८४ सम्म प्रधानमन्त्री हुन सक्ने वातावरण बनेको बताउँछन् । ‘सबैलाई मिलाएर लान सक्ने क्षमता अध्यक्ष प्रचण्डसँग छ । यो सरकार ०८४ सम्म जान सक्ने आधारहरु छन्’ उनले भने ।

तर ओलीको चहाना ०८४ पछि एकल बहुमत ल्याएर एमालेको सरकार बनाउने पनि हो । तर उनको यो सपना अहिलेको यही व्यवस्थामा पूरा हुन भने कठिन छ । एमाले अध्यक्ष ओली अहिले पनि जिल्ला दौडाहासहित कार्यक्रमहरूमा सहभागी भइरहेका छन् ।

अहिलेको अवस्थामा एमाले तत्कालै ठूलो दल बन्ने सम्भावना कम हुँदा ओली कुनै पनि हालतमा वर्तमान सरकारलाई टिकाएर २०८४ पछि आफू सत्ताको नेतृत्वमा पुग्ने योजनासहित अघि बढेको उनीनिकट नेताहरू स्वीकार्छन् ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ७ : ५४ बजे

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल