‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन’ | Khabarhub Khabarhub

‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन’

काठमाडौं महानगरलाई देशैभरले हेरिरहेको छ : सुनिता डंगोल



नगरसभामा सबैले मत राखिरहँदा स्थानीय सरकार के हो भनेर भुल्न हुँदैन । यो संसद् होइन । यहाँ सरकार पक्ष र प्रतिपक्ष पनि छैन । हामी सबै एकै हौँ र सरकार पक्षमा नै काठमाडौं महानगर बनाउनका लागि निर्वाचित भएर आएका हौँ । नगरसभा सदस्यहरूबीच नगरप्रमुख बीच, कार्यपालिका सदस्यसँगै नगर सभाका सदस्यहरू बीचमा ध्रुवीकरण हुनु राम्रो संकेत हैन ।

संघीयताको मर्मलाई अहिले सबै भन्दा बलियो आड स्थानीय सरकारले दिएको छ । स्थानीय सरकारको कामले नै गर्दा संघीयताको महत्वलाई अझ धेरै झल्काउन हामी सफल हुँदै गइरहेका छौँ । घर–घरको सरकार, हरेक व्यक्तिको सरकार, सबैले जनताले चुनेको सबैको आवाज बोल्ने सरकार भनेर हामी अगाडि बढिरहेका छौँ । त्यो मतभेदबाट हामीले जनताको सरकार बन्न सक्दैनौँ ।

हामी पक्ष–विपक्ष हैन, सबै एकै मतको साथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले ध्रुवीकरण हैन एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ । यसमा हामी सबैले मःमः गरेर सुधार्दै जानुपर्ने महत्त्वपूर्ण पाटोका रूपमा हेर्नुपर्छ ।

काम गर्ने क्रममा प्रमुख उपप्रमुख प्रशासकीय अधिकृत सबैले काम गरिरहँदा सबैको भावनालाई समेटेर काम गर्ने संस्कार विकसित गर्दै जानुपर्छ । आज म गर्न सक्छु, मैले भनेको कुरा हुन्छ भनेर हामीले एक अर्कालाई नकार्दै जाने हो भने यसले द्वन्द्वबाहेक केही निम्त्याउँदैन । त्यस कारण एक अर्काका मिलेर जाने संस्कार विकास गर्नु पर्छ । हरेक व्यक्ति फरक भएपछि मत फरक हुन्छ र फरक मत राख्नै नपाउने भन्ने पनि होइन ।

फरक मत हुनेबित्तिकै विद्रोह गरेर विरोध गरी यो हो र त्यो हो भनेर धेरै उपमा दिन पर्ने आवश्यकता पनि छैन । जब फरक मत वादविवाद हुन्छ, त्यहीबीचमा हामीले सम्वाद खोज्नुपर्छ । फरक मतलाई पनि सम्मान गर्ने बानीको विकास गर्दै जानुपर्छ । फरक मत हुनेबित्तिकै तिक्ततालाई अगाडि बढाउनु भनेको स्थानीय सरकारको मर्मविपरीतको काम नै हो । त्यो मर्ममा हामीले काम गरेको मानिँदैन, यदि फरक मतको सम्मान गर्ने हो भने ।

त्यसका साथसाथै विशेष गरी प्रमुख उपप्रमुख काठमाडौं महानगरपालिकाको युवालाई अहिले राजनीतिमा युवा आउने भनेर जुन उदाहरण हामीले दिन खोजेको छौँ, यो उदाहरण दिने प्रयाससँगै हाम्रो काँधमा जिम्मेवारी पनि छ ।

प्रमुखज्यूलाई पनि विशेष अनुरोध गर्न चाहन्छु तपाई म हामीले बोल्ने हरेक कुराले संसार भरका युवालाई असर गरिरहेको हुन्छ । हाम्रो अभिव्यक्तिले नै त्यो अभिव्यक्ति बन्नलाई महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यस कारणले पनि तपाईं, मजस्ता राजनीतिमा आउनेहरूले व्यक्तिभन्दा माथि उठेर सोच्नुपर्छ र त्यो काम गरिरहँदा संस्थागत छविलाई कदापि बिगार्न हुँदैन । पदमा बसिसकेपछि पदको मर्यादालाई विचार राखेर अभिव्यक्ति राख्नु पर्छ । त्यसको उदाहरण हामी सबैले बनाउँदै अघि बढ्नुपर्छ ।

हामीले आफैंले नै उदाहरण बनाउन नसक्ने हो भने एकले जथाभाबी बोल्यो भने अर्कोले पनि जथाभावी नै बोल्ने हो । कुनै पनि तथ्यपरक नबोल्ने, मनमा जे जे आयो बोल्ने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ र त्यसले राजनीतिक अराजकता निम्त्याउँछ । राजनीतिक अराजकता निम्त्याउनु सैह्य हुँदैन । त्यसैले पदको मर्यादा बुझेर अभिव्यक्ति राख्नु पर्छ ।

सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भने काठमाडौंको दरबार जलाउनु महानगरको दरबार जलाउनु भनेर बोलिनु पनि ठिक हुँदैन । यस्ता अभिव्यक्तिहरू हामीले कदापि राख्नु हुँदैन । यस्ता जलाउने, बिगार्ने, डुबाउने, भत्काउने, दुःख दिने, झगडा गर्ने, द्वन्द्व गर्ने जस्ता बाटोमा हामी नलागौँ । कम्तीमा काठमाडौं महानगरपालिकाले देशैभर उदाहरण बनाउनुपर्छ र त्यसमा सबै भन्दा महत्त्वपूर्ण हिसाबले अघि बढ्नु पर्ने भनेको एउटै मूल मन्त्र हो थ्री सी । हामी सहकार्य, समन्वय, सह-अस्तित्वलाई जबसम्म अपनाउन सक्दैनौँ, तबसम्म जुन गतिमा अघि बढ्नु पर्ने हो, त्यो गतिमा अघि बढ्न सक्दैनौँ ।

प्रमुखले उपप्रमुखको अस्तित्वलाई नस्वीकार्ने, उपप्रमुखले वडाअध्यक्षको अस्तित्वलाई नस्वीकार्ने, वडा अध्यक्षले मेयर उपमेयरको अस्तित्वलाई नस्वीकार्ने, वडामा नै अध्यक्ष र सदस्य बीचमा एक अर्काको अस्तित्व नस्विकार्दै जाने हो भने यसले विकास होइन, विनाशतर्फ लाग्छ । महानगर बनाउन पहिला हामीले नगर सभाबाट सुरु गर्नु पर्छ । हाम्रो सम्बन्ध बनाउनेबाट हामीले सुरु गर्नु पर्छ । एक अर्कालाई सम्मान गर्ने पक्षबाट सुरु गर्नु पर्छ ।

कहिले कुन नेतालाई गाली गर्ने कहिले एक अर्का साथी बिचमा नै भनाभन गर्ने, मतभेद हुन सक्छ । तर त्यसमा संवादबाट समाधान तर्फ लाग्नु पर्छ नकि त्यसलाई तिक्तताको रूपमा लिने, एक अर्काको इगोको रूपमा लिने कदापि हैन । चाहे त्यो न्युरोडको केसमा होस्, चाहे कलंकीको या हाँडी गाउँ, पशुपति या तीनकुनेको केशमा किन नहोस् हरेक केसमा म एक पक्ष । मैले भने जस्तो भयो भने मेरो जीत भयो अर्कोको हार भयो भनेर लाग्नु यो बाटो स्थानीय सरकारको हाम्रो संविधानको स्थानीय सरकार सञ्चालन ऐनको विरुद्धमा हुन्छ ।

हामीले आ–आफ्नो मत राख्न पाइन्छ । यो मत राखिरहँदा वादविवाद गरिरहँदा अन्त्यमा जाने भनेको संवादमा नै हो एउटै बाटोमा जानु पर्छ । न कि फरक फरक धारणा लिएर फिल्डमा उत्रिएर । छलफल गर्ने बाहिर हैन महानगर पालिकामा हो, नगर सभामा हो । फिल्डमा गएर जनप्रतिनिधि बीच एक अर्कामा द्वन्द्व गर्ने वातावरण सिर्जना हुन कदापि हामीले दिनु हुँदैन ।

हरेकले राखेका अभिव्यक्तिले काठमाडौं महानगरपालिलाई फुटाउने, जलाउने, टुक्र्याउने हैन । यसले महानरपालिकाभित्रको नगरसभाको हरेक सदस्यबीचको सम्बन्ध र एक अर्कालाई बुझ्न मद्दत गर्छ । जसले गर्दा महानगरबासीको काम गर्ने हामीले लिएर आएको बाचा पु¥याउन यी विविध पक्षले महत्त्वपूर्ण ईंट्टा थपोस् । नगर सभाको भेला सकिँदा तिक्तता हैन, नगर सदस्यहरू एकजुट हौँ । र एक अर्कासँग समन्वय गरौँ सहकार्य गरौँ, सहअस्तित्व पनि स्वीकारौँ ।

महानगरपालिकालाई देशैभरले हेरिरहेको छ । हामीले कस्तो उदाहरण बनाउने, तपाई हाम्रै हातमा छ, त्यसकारण व्यक्तिगत इगोलाई छोडेर महानगरलाई सबैभन्दा माथि राखौँ । महानगर छविलाई असर पार्ने काम हामी कसैबाट पनि नहोस् । चाहे त्यो जथाभाबी मिडियामा बोल्ने कुरा किन नहोस् । जथाभाबी लेख्ने कुरा किन नहोस् वा आफू आफू बिचमा फिल्डमा उत्रिएर झगडा गर्ने कुरा किन नहोस् ।

(काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डंगोलले असार १० गते नगरपरिषद बैठकमा प्रस्तुत गरेको विचारको सारसंक्षेप)

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ५ : ३९ बजे

मनसुन अलर्ट : आज राति केही प्रदेशमा भारी वर्षा सम्भावना

काठमाडौं– आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई

‘इजरायली सेनाले ३८ हजार प्यालेस्टाइनीको हत्या गर्‍यो’

एजेन्सी– इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा गत अक्टोबरदेखि 

क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग भएको पेस्तोलसहित पक्राउ

बारा– रामराजामोहन बिक्रम क्याम्पसका तत्कालीन प्रमुख हरिभूषण कुशवाहाको हत्यामा प्रयोग

यस्ता छन्‌ एमाले सचिवालय बैठकका मूख्य ३ निर्णय

काठमाडौं– नेकपा (एमाले) सचिवालय बैठकले काँग्रेस-एमालेबीच केपी शर्मा ओली नेतृत्वमा

भारतको यूपीमा भागदौड मच्चिँदा मर्नेको सङ्ख्या १०० नाघ्यो

एजेन्सी– भारतको उत्तर प्रदेश (यूपी)मा सत्सङ्ग चलिरहँदा मच्चिएको भागदौडमा परेर