अर्थसंक्षेप : गाँजाबाट पाउदानीदेखि शिरपोससम्म बनाउन सकिने, शेयर बजार निरन्तर ओरालो   | Khabarhub Khabarhub

अर्थसंक्षेप : गाँजाबाट पाउदानीदेखि शिरपोससम्म बनाउन सकिने, शेयर बजार निरन्तर ओरालो  


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्दा अधिकांश लगानीकर्ता भने ऋणपत्र (डिबेन्चर)मा लगानी गर्न थालेका छन् । यता संघीय सरकारले निर्माणधीन दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगर्दा स्थानीय ब्यास गाउँपालिकाले आर्थिक सहयोगको अपिल गरेको छ ।

यस्तै, पथलैया–हेटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । यसरी नै राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ भने आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आजका मुख्य आर्थिक समाचारहरू :

गाँजाको कमाल : पाउदानीदेखि शिरपोससम्म

राज्यले गाँजा खेती अवैध मानेको छ । यसलाई निरुत्साहित गर्नुपर्ने एकथरिको तर्क छ । यस वर्षको नीति तथा कार्यक्रममा यसलाई उद्यमको रूपमा सहजीकरण गर्ने एजेण्डाले प्रवेश पाएपछि विरोधका स्वरु मत्थर भएका छन् । गाँजाले दुर्व्यसनीलाई गलत बाटातर्फ प्रेरित गरे पनि यसबाट उत्पादित उपभोग्य बस्तुले भने देश चिनाउने काम गरेको छ ।

नेपाललाई गुणस्तरीय गाँजाबाट निर्मित सामानहरूको हब बनाउन लागिपरेका छन् काठमाडौं गुह्येश्वरीका उद्यमी प्रतीक कार्की । सुन्दा अचम्म लाग्न सक्छ, गाँजाबाट उत्पादित सामाग्रीहरुबाट घर पनि बनाउन सकिन्छ भन्दा । गाँजालाई हेर्ने हाम्रो परम्परागत सोचमाथि प्रतिकले करौँती चलाएका छन् । नेपालका विभिन्न ठाउँमा उत्पादन हुने गाँजा जम्मा गरेर उनी सयौँ वर्ष टिक्ने घरसम्म बनाउन सकिने सामाग्री उत्पादनमा व्यस्त छन् ।

उनले सरकारको नीतिलाई नै एउटा चुनौतीको रूपमा लिएर कानाभेदाको स्थापना गरेका छन् । यो उद्योग भनेको नेपालमा उत्पादन हुने गाँजा प्रशोधन गरेर विभिन्न सामाग्रीहरु बनाउने विशुद्ध कम्पनी हो । यस उद्योगबाट सयौँ नेपाली सामान उत्पादन हुँदै आएका छन् । लत्ता कपडा, जुत्तादेखि लिएर पानी पिउने सिसाको गिलाससम्म उत्पादन हुने गरेको छ ।

नेपालमा मानिसले मन लगाएर काम गर्ने उत्साह देखायो भने स्वदेशी कच्चा पदार्थबाट धेरै वस्तुहरु निर्माण गर्न सकिने उनको बुझाई छ । यो कम्पनीको स्थापना नयाँ भए पनि यसको चर्चा भने चौतर्फी छ ।

नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी 

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्दा अधिकांश लगानीकर्ता भने ऋणपत्र (डिबेन्चर)मा लगानी गर्न थालेका छन् ।

आज बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्दा फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०.०९ अंकले, म्युचअल फण्ड ०.०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ ।

आज १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह बढी घटेको छ । लाइफ इन्स्योरेन्स समूह ९९.०१ अंकले घटेको छ । आज नेप्से परिसूचक २०५१.९२ अंकमा पुग्दा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ ।

आज शेयर मूल्य बढेको १० मध्ये ८ वटा डिभेन्चर रहेका छन् भने घट्नेमा हाइड्रो, म्युचुअल फन्ड, फाइनान्स र लघुवित्त रहेका छन् । आज १० प्रतिशतले घटेको नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । बिहीबार नेपाल फायनान्सको २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

दार्चुला–तिंकर सडक : केन्द्रले बजेट नदिएपछि ब्याँसले थाल्यो चन्दा अभियान

संघीय सरकारले निर्माणधीन दार्चुलाको खलंगा–तिंकर सडकका लागि पर्याप्त बजेट विनियोजन नगरेपछि स्थानीय ब्यास गाउँपालिकाले देशभरिका स्थानीय सरकार र प्रदेश सरकारहरूसँग आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

संघीय सरकारको न्यून बजेट विनियोजन गरेपछि गाउँपालिकाले देशभरिका स्थानीय सरकार, प्रदेश सरकारसँग रणनीतिक र सामरिक महत्वको सडक निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरेको हो । गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत् उक्त सडक निर्माणका लागि देशभरिका स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायहरूसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि पारित बजेटमा संघीय सरकारले खलंगा–तिंकर सडक निर्माणका लागि ८ करोड ५० लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ ।

‘संघीय सरकारको न्यून बजेट विनियोजनलाई ध्यानमा राख्दै देशभरिका प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला सबैको सहयोगमा सर्वाधिक रणनीतिक र सामरिक महत्वको सडक निर्माणमा ब्याँस गाउँपालिकाको १६ औँ गाउँसभाले नीति तथा कार्यक्रम र बजेटमार्फत उक्त सडक निर्माणका लागि सहकार्य गर्ने निर्णय गरेको छ,’ गाउँपालिकाले सार्वजनिक रूपमा गरेको अपिलमा भनेको छ ।

पथलैया–हेटौँडा सडक एक साताभित्र तयार हुँदै

पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो ।

कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालबाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किमी खण्डमा नमुना सडकका रूपमा स्तरोन्नति गर्न लागेको बताए ।

‘यो खण्डमा अत्यधिक भारका सवारी सञ्चालन हुने भएकाले सडक धसिने समस्या देखिँदै आइरहेको छ । पहिलो चरणमा पथलैया–हेटौँडा खण्डको आधाभार क्षेत्रमा नमुना सडक स्तरोन्नति अगाडि बढाएका थियौँं’, सूचना अधिकारी पाण्डेले भने, ‘अहिलेसम्म दुई लेनको एक हजार दुई सय मिटर सडक तयार भइसकेको छ । बाँकी आठ सय मिटर पहिलो चरणमा कालोपत्र (डिबिएम) भइसकेको छ । दोस्रो चरणको अस्फास्ट कालोपत्र गर्ने काम दुई–तीन दिनभित्रै सम्पन्न गर्ने लक्ष्य राखेका छौँं ।’

उनले वर्षा सुरु भएर पानी पर्न थालेकाले पनि केही दिन काम प्रभावित भइरहेको बताए । यो खण्डको सडकको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । गत माघ २२ गते सडक डिभिजन हेटौँडा र चौधरी निर्माण सेवाबीच ठेक्का सम्झौता भएको थियो । यो आयोजनाको लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेको छ ।

ठेक्का सम्झौता अनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्तीका केही समय ढिला भएको सूचना अधिकारी पाण्डेको भनाइ छ । उनले यो प्रविधिको कालोपत्र गर्दा सडक लामो समयसम्म दिगो र टिकाउ हुने दाबी गरे ।

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

विसं २०५१ मा कम्युप्टर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरु पूरा गरेका छन् ।

मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र 

मुग्लिन–पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्र भएको छ । असी किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्र गरिएको हो । मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमीमा २८ प्रतिशत भौतिक प्रगति भएको छ ।

असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले बताए । पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनियर पाण्डेले बताए ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम जारी छ । सडक विस्तारको कार्य शीघ्र सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम थालिएको हो । चार लेनमा विस्तार गर्ने उक्त सडकको काम चिनियाँ कम्पनीले गरिरहेको छ ।

पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किलोमिटर क्षेत्र पश्चिम खण्डमा पर्छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किलोमिटर सडक पूर्वी खण्डमा पर्छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ ।
यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ७ : ०८ बजे

हार्दिक र नताशाको डिभोर्स

काठमाडौं – भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

सुर्खेत – जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्

साउदी अरेबियामा यस वर्ष १०० भन्दा बढीलाई मृत्युदण्ड

दुबई – साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई

सूर्यकुमार यादव बने भारतीय टी-२० टोलीको नयाँ कप्तान

काठमाडौं – सूर्यकुमार यादव भारतीय टी२० क्रिकेट टोलीको नयाँ कप्तान

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ