भेडेटारको ‘चार्ल्स भ्यूपोइन्ट जब ‘स्काइवाक टावर’ बन्यो (तस्बिरहरू) | Khabarhub Khabarhub

भेडेटारको ‘चार्ल्स भ्यूपोइन्ट जब ‘स्काइवाक टावर’ बन्यो (तस्बिरहरू)



धरान– बेलायतका तत्कालीन युवराज चार्ल्स घुम्दै आउँदा चढेको शैलुङ डाँडा करिब ४० वर्षसम्म ‘चार्ल्स भ्यूपोइन्ट’ को नामले चिनिएको थियो । तर अब यो नाम शुक्रबारदेखि फेरिएर ’भेडेटार स्काइवाक टावर’ भएको छ । स्काइवाक टावरमा मानिस हिँड्नका लागि सीसा प्रयोग गरिएको छ ।

बेलायती सहयोगमा धरान–धनकुटा राजमार्ग निर्माण हुँदै गर्दा करिब ४३ वर्षअघि भेडेटारको रमणीय शैलुङ डाँडा चढेर बेलायती प्रिन्स चार्ल्सले धरान र धनकुटा बजारलाई एकसाथ अवलोकन गरेका थिए । सोही डाँडामा कोशी प्रदेश लागनी प्राधिकरण, साँगुरीगढी गाउँपालिका र धरान उपमहानगरपालिको संयुक्त समन्वयमा वोण्डर्स अम्युजमेन्ट पार्कस् एण्ड अट्राक्सन प्रालिले १८.५ मिटर अग्लो स्काइवाक टावर बनाएको हो ।

पूर्वको पर्यटकीय स्थल भेडेटारका केही भाग धरान तिर पर्छ भने अधिकांश भाग साँगुरीगढी पालिकामा पर्छ । धरानबाट १६ किलोमिटर र विराटनगरबाट ५२ किलोमिटरको दूरीमा रहेको यो पर्यटकीय स्थलमा पछिल्लो समय भारतीय र बङ्गलादेशी पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।

आन्तरिक र वाह्य पर्यटकहरू तराईको गर्मी छल्न र प्राकृतिक शीतलताको आनन्द लुट्न भेड्टार आउने गरेका छन् । तिनै पर्यटकहरूलाई लक्षित गरेर दुई स्थानीय तह र प्रदेश सरकारले स्काइवाक टावर निर्माण गरेको हो ।


सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गरिएको स्काइवाक टावरले तीन गुणाबढी पर्यटक आकर्षित गर्ने बताईको छ । ०७७ फागुन ९ गते प्रदेश लगानी प्राधिकरण र वोण्डर्स अम्युजमेन्ट पार्कस् एण्ड अट्राक्सन प्रालिबीच सम्झौता भएको थियो ।

त्यसपछि सरकारले २५ वर्षका लागि निर्माणकर्ता कम्पनीलाई जग्गा लिजमा दिएको थियो । परियोजनाको डिजाइन र नक्साको स्वीकृतिसहित प्राविधिक कामको अनुमति प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले दिएपछि चार वर्षको अवधिमा निर्माण सम्पन्न गरिएको कम्पनीका कार्यकारी निर्देशक सञ्जीव रोकाले बताए ।

उनले खबरहबसँग भने, ‘स्काइवाक टावरको डिजाइन र प्राविधिक पक्षको अनुगमन नेपालका दक्ष इन्जिनियरहरूको समूहले गरेको छ । सीसामा हिँड्ने पुलको लम्बाइ ४१ मिटर रहेको छ भने चौडाइ २ मिटर रहेको छ । त्यसभन्दा माथि १८.५ मिटर अग्लो फलामे भ्यूटावर पनि छ ।’ उनका अनुसार स्काइवाकमा प्रयोग गरिको सीसाको मोटाइ करिब ३३ मिलिमिटर रहेको छ ।

करिब २० करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त स्काइवाक टावरमा चढ्नेले काटेको टिकटमा २३ प्रतिशत कर निर्धारण गरिएको छ । सो कर ५५ प्रतिशत साँगुरीगढी र ४५ प्रतिशत रकम धरान उपमहानगरपालिकाको खातामा जाने छ । सम्झौताअनुसार २५ वर्षपछि कम्पनीले उक्त भौतिक सम्पत्ति सरकारलाई बुझाउने छ ।

रोकाले भने, ‘भेडेटार स्काइवाक टावर सञ्चालनले पूर्वको पर्यटन प्रवर्द्धनमा मदत पुग्नेछ । भारत र बंगलादेशका पर्यटकहरू आकर्षित हुने छन् । काठमाडौंको कमलादीमा स्काइवाक कमलादी, इलामको कन्याममा स्काइवाक कन्याम, निर्माण र सञ्चालनको अनुभव रहेको हाम्रो समूहले नेपालको पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरूको खोजी गर्दै प्राविधिक र वित्तीय अध्ययन गर्ने र परियोजनाहरूको विकास गर्दै जानेछौं ।’

यस्तो छ प्रतिक्रिया
शुक्रबार एक भव्य समारोहबीच प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, धरानका मेयर हर्कराज राई (साम्पाङ) र साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दालीले संयुक्त रूपमा रिबन काटेर स्काइवाक टावर उद्घाटन गरे ।

भेडेटार स्काइवाक टावरको उद्घाटनपछि प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यो परियोजना सम्पन्न भएको बताए ।

उनले भने, ‘जनताको माग र भावनाअनुसार सरकारले निजी क्षेत्रसँग मिलेर यस्ता अरू परियोजनाहरू पनि सम्पन्न गर्दै जानेछौं । यसै सन्दर्भमा कोशी प्रदेशमा भएका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक रूपमा पर्यटकीय स्थलको पहिचान गर्दै तिनको विकास गर्न आगामी ०८२ मा ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणाको तयारी सुरु गरेका छौं ।’

‘मास टुरिजम’को अवधारणाअनुसार गुराँसको राजधानी तिनजुरे मिल्के जलजले क्षेत्रबाट ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेर प्रदेश लगानी सम्मेलन पनि गर्ने तयारी भइरहेको मुख्य मन्त्री कार्कीले बताए ।

उनले कोशीको त्रिवेणीमा रहेको खुवालुङदेखि साँगुरी गढीको ध्वजेडाँडासम्मको पर्यटकीय पदमार्गका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने बताए । घुम्न र अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटकको सुरक्षाका लागि छुट्टै प्रदेश पर्यटन प्रहरी सेल पनि बनाउने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले बताए ।

साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दालीले आफ्नो पालिका क्षेत्रमा निर्माण भएको स्काइवाक टावरले भेडेटारको प्राकृतिक सौन्दर्यलाई थप बढाएको र पर्यटन क्षेत्रमा नयाँ फड्को भएको बताए । उनले भने, ‘म आफैँ पनि पर्यटन व्यवसायी हूँ । तर हालको स्थितिमा पालिकाको जनप्रतिनिधि रहेकाले स्थानीय पर्यटन प्रवर्द्धनमा बढी जोड दिने गरेको छु । त्यसै पनि हाम्रो क्षेत्र प्राकृतिक रूपले धनी छौं । पूर्व घुम्न आएकामध्ये अधिकांशले भेडेटार छुटाएमा अधुरो रहन्थ्यो नै ! अब यो स्काइवाक टावरले थप पर्यटकहरूलाई आकर्षित गर्नेछ । पर्यटक वृद्धि हुनु भनेको स्थानीय समुदाय र पर्यटन व्यवसायी लाभान्वित हुनु हो ।’

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले पर्यटकहरू प्रकृति र संस्कृतिलाई बुझ्न घुम्ने, डुल्ने भएकाले यो स्काइवाक टावर निर्माणले धरान र भेडेटारमा पर्यटकहरू आउनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘पर्यटकहरूबाट दुई स्थानीय तहलाई लाभ मिल्नेछ ।’

मेयर साम्पाङले हेर्दा आकर्षक र वाक गर्दाको अनुभूति पनि ‘युनिक’ लागेको बताए । उनले भने, ‘स्काइवाक मेरो पहिलो पटकको अनुभव हो, मौसम र लोकेसन पनि राम्रो छ । नेपालकै सबैभन्दा राम्रो ठाउँमा बनेको छ भन्ने लाग्यो ।’

पर्यटन व्यवसायी समेत रहेका होटल एसोसिएसन भेडेटारका पूर्वअध्यक्ष लीलाराज लावतीले भेडेटारमा पर्यटक आकर्षित गर्न एउटा गहना थपिएको प्रतिक्रिया दिए । उनका अनुसार धरान र धनकुटाको सिमानामा रहेको पर्यटकीय स्थल भेडेटारमा हाल करिब १०० भन्दा बढी होटल रेस्टूराँहरू रहेका छन् ।

भेटेटार नजिकै नाम्जे गाउँ, काम्फेक, डाँडाबजार, थुम्की, सिम्सुवा (नमस्ते झरना), सूर्योदय हेर्ने ध्वजेडाँडा, मावरक पावरक (राजारानी ताल) मात्र नरहेर याक्थुङ लिम्बुहरूको ऐतिहासक थात थलोहरू समेत छन् ।

स्काइ टावरभन्दा करिब ५०० मिटर नजिकै साँगुरीगढी रहेको छ । सोही गढीको नामबाटै पालिकाको नाम रहेको हो । साँगुरीगढी सेन र लिम्बुवानकालीन भौतिक गढी हो । स्काइवाक टावरदेखि करिब ४०० मिटरको दूरीमा रहेको छोटीमोरङको डाँडामा निकट भविष्यमा १५० फुट अग्लो विग थाउजण्ड बुद्धको प्रतिमा पनि बनाउन सरकारले ६ वर्षअघि नै जग्गा उपलब्ध गराइसकेको छ ।

उनले भने, ‘कोरोनाकालपछि पर्यटन र होटल व्यवसाय खुम्चिएको थियो । तर पछिल्लो आधा वर्षयता भेडेटारमा करिब ६ लाख आन्तरिक र वाह्य पर्यटकहरू भित्रिएको अनौपचारिक तथ्याङ्क छ ।’

भेडेटारमा दैनिक ३५ सयदेखि ४ हजार मानिसकहरू घुम्ने, बस्ने, बिदा मनाउन आउने गरेको उनले बताए । ती मध्ये ५० प्रतिशतले एकरातदेखि तीन रातसम्म बिताउने गरेका छन् । बिदाको बेला र शनिबारको दिन भने ५ हजारभन्दा बढीले भेडेटारको अवलोकन गर्ने गरेका छन् ।

होमस्टेहरू पनि भएकाले प्राङ्गारिक खाद्य र पेय पदार्थ लिनेहरू एक रात बस्ने गरेका छन् । उनले भने, ‘स्काइवाक टावरले थप पर्यटक तान्ने देखिएको छ । हामी पर्यटन व्यवसायी खुशी छौं । निकट भविष्यमा भेडेटार मै जीपलाइन, स्काइ साइक्लिङ्, बन्जी जम्प र फ्रिफल जस्ता एडभेन्चर परियोजनाहरू पनि सञ्चालनमा आउने भएकाले पर्यटनमा पूर्वको हब बन्ने पक्का छ ।’

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  १ : ०३ बजे

कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गए रातिको

एइजीको मृत्युले अन्तर्राष्ट्रिय क्षेत्रमा ल्याएको तरंग

नौ दिन अघि इजरायलले गाजामा आक्रमण गरेको थियो। यसको प्रतिफल

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं– आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

बाटोको असुविधाले गलेखामकोट ओझेलमा

तनहुँ– गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा