काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्दा लाग्ने शुल्कमा सरकारले किस्ता सुविधा दिने तयारी गरेको छ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
त्यस्तै, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की उपनिर्देशक डा. गीता गोपिनाथले यसै वर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफ्नो अपेक्षा रहेको बताएकी छन् ।
यस्ता छन् आजका प्रमुख आर्थिक समाचारहरू :
किस्ता सुविधामा एनसेललाई नवीकरण गर्न दिने सरकारको तयारी
दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण गर्दा लाग्ने शुल्कमा सरकारले किस्ता सुविधा दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण शुल्कमा सरकारले किस्ताबन्दी सुविधा दिने निर्णय गर्न लागेको हो ।
एनसेलको सेवा सञ्चालन अनुमतिपत्रको अन्तिम पाँच वर्षको अवधि यही भदौ १५ गते सकिँदै छ । सरकारी उच्च स्रोतकाअनुसार एनसेलको सेवा सञ्चालन अनुमतिपत्र नवीकरण शुल्कमा किस्ता सुविधा दिनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । एनसेलको दायित्व र स्वामित्वबारे अन्य कुनै निर्णय नगरी सेवा सञ्चालन अनुमतिपत्रको नवीकरण मात्रै गर्ने गरी मन्त्रालयले प्रस्ताव लैजान लागेको मन्त्रालय स्रोतले जनाएको छ ।
दूरसञ्चार ऐन, २०५३ र दूरसञ्चार नियमावली, २०५४ मा भएको व्यवस्थाअनुसार २५ वर्षे सेवा सञ्चालनको लागि अनुमतिपत्र लिएको एनसेलले सो अनुमतिपत्र तोकिएको शुल्क बुझाएर गत जेठ १५ गतेभित्र नै नवीकरण गर्नुपर्ने हुन्थ्यो । तर, गत जेठ १५ गते एनसेलले आंशिक शुल्क मात्रै बुझाएर नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष पाँच किस्ता सुविधाको माग गरेको थियो ।
साथै पछिल्लो समय आजियाटा ग्रुप बहार्डसँग एनसेलको शेयर खरिद गरेका सिंगापुरका नागरिक सतीसलाल आचार्यले आफ्नो भाई शचीनलाल आचार्यलाई प्राधिकरणदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष परिचालन गरेर किस्ता सुविधाको पहल बढाएका थिए । सो पहल सफल नभएपछि सतीसलाल आचार्य स्वयंले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भेट गरेर थप अनुरोध गरेका थिए ।
आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार सुन स्थिर रहँदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार सुनको मूल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१११ अंकले घट्यो नेप्से, कारोबार १८ अर्बमाथि
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.९६ अंकले घटेको छ । आज नेप्सेमा भारी गिरावट आएसँगै २० कम्पनीको मात्र शेयर मूल्य बढेको छ । मंगलबार ३३० वटा कम्पनीको शेयर कारोबार हुँदा २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
प्रि ओपन सेसनमा ५ अंकले बढेर सुरु भएको शेयर बजार बजार खुलेको केही समयबाट नै घट्न थालेको थियो । बजारले ४ पटक तल झरेर माथि उठ्न खोजेता पनि बजार भने माथि जान सकेन । बजार बन्द हुनुभन्दा अन्तिम ३ मिनेटमा केही अंकले बजार सुधार आउँदा १११ अंकले बजार घटेर बन्द भयो ।
आज नेप्से ३.८६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भयो । नेप्सेमा भारी गिरावट आएसँगै १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता शेयर किनबेच भयो । आज १३ वटा समूहमध्ये होलट एण्ड टुरिजम समूहबाहेक अन्य १२ वटा समूह राताम्य भयो । आज होलट एण्ड टुरिजम समूह ०.४३ प्रतिशतले बढेर ७२८१.२७ विन्दुमा पुग्यो ।
त्यस्तै वाणिज्य बैंक ४.९२ प्रतिशतले, विकास बैंक ४.१८, फाइनान्स ४.६९ प्रतिशत, हाइड्रो ३.९६ प्रतिशत, इन्भेष्टमेन्ट ४.१३ प्रतिशत, जिवन बीमा ३.६५ प्रतिशत, उत्पादन २.९३ प्रतिशत, लघुवित्त २.९६ प्रतिशत, म्यूचअल फण्ड १.०९ प्रतिशत, निर्जीवन बीमा २.४५ प्रतिशत र अन्य समूह ३.८५ प्रतिशतले घट्यो ।
भारत यसैवर्ष तेस्रो ठूलो अर्थतन्त्र बन्छ : आईएमएफ उपनिर्देशक गोपिनाथ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की उपनिर्देशक डा. गीता गोपिनाथले यसै वर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफ्नो अपेक्षा रहेको बताएकी छिन् । इण्डिया टुडेसँगको कुराकानीका क्रममा डा. गोपिनाथले यसैवर्ष भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने आफूले अपेक्षा गरेको बताएकी हुन् । उनले अघिल्लो आर्थिक वर्षमा भारतले अपेक्षाभन्दा निकै राम्रो वृद्धिदर हासिल गरेको उल्लेख गरिन् । भारतीय अर्थतन्त्रमा निजी उपभोगमा सुधार आइरहेको उनको भनाइ छ ।
अघिल्लो आर्थिक वर्षमा भारतको निजी उपभोगको वृद्धि ४ प्रतिशत आसपास रहेको र यस वर्ष ग्रामीण भेगको उपभोगमा सुधार देखिएको उनले बताइन् । मनसुनको समयमा राम्रो रहेको उल्लेख गर्दै डा. गोपिनाथले अन्न उब्जनीमा पनि राम्रो प्रगति हुने आफ्नो प्रक्षेपण रहेको बताइन् ।
चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्छ: कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजीकरण गर्ने बताएका छन् । नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम् ५८ कारखानाका एकसय बढी प्रकारको चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासँग प्रतिस्पर्धा गर्न सक्ने भएकाले यसको बजारीकरणलाई सहजीकरण गर्ने बताएका हुन् ।
उनले नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिए । नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा समेत भएको उनको भनाइ छ । उनले नेपाली चियाको आन्तरिक खपत वृद्धि गर्नका लागि गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताए ।
क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने
क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको घोषणा गरेका हुन् ।
ट्रुडोले अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको बताउँदै अहिले श्रम बजारमा परिवर्तन आएको बताएका छन् । उनले भनेका छन– ‘हामी क्यानडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौँ । श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूले क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय हो ।’
क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो । यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरू बताउँछन् । संघीय तथ्याङ्कका अनुसार गत वर्ष क्यानडाको जनसङ्ख्या वृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो ।
प्रतिक्रिया