डेङ्गी निदानमा कोभिड मोडल - घरमै उपचार ! | Khabarhub Khabarhub

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !



बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे सानातिना अपडेट भइरहन्थ्यो । तर, पछिल्ला वर्षमा संक्रमण प्रवृत्ति विस्तारित छ । सन् २०१० र २०१९ अधिक मात्रामा मानिसहरू संक्रमित भए । ती वर्ष बाहेक डेङ्गी संक्रमणका मामिला प्रायः दशैँतिहारतिर फाट्टफुट्ट भेटिन्थ्यो ।

म त्यति अचम्मित त छैन । त्यसबारे हामीले अगाडि जुन तयारी गर्नुपर्थ्यो – त्यसो नगर्दा समस्या बढेको हो । नियन्त्रण गर्नुपर्छ भन्ने कुरा आउँथ्यो । अलि सुरुमै काम थालेको भए लामखुट्टेलाई समयमै नियन्त्रण गर्न सकिन्थ्यो । अहिले चाहिँ टोकाइबाट बच्नुपर्‍यो भन्ने स्थिति सिर्जना भयो ।

झण्डै ६ हजार सङ्क्रमित त अहिले काठमाडौँ उपत्यकामै फेला परेको भनिएको छ । यो पनि अस्पतालको सम्पर्कमा पुगेका बिरामीहरूको सङ्ख्या हो । त्यसको चारगुणा मानिसहरू त घरैमा सिटामोलको भरमा उपचाररत छन्‌ । ४/५ जनाको परिवारमा एक जनालाई संक्रमण पुष्टि भएपछि अरूमा पनि त्यस्तै लक्षण देखियो भने ‘अस्पताल किन जाने ?’ भन्ने हुन्छ ।

मैले एक्लै भए पनि पहिलेदेखि नै महामारीजन्य समस्या निराकरण निम्ति आवाज उठाउँदै आएको छु । यसमा राज्य र नागरिक समाजको साझेदारी चाहिन्थ्यो । यसबारे अनेकौँ लेख लेखेँ । मिडियाहरूमा पनि बोलिरहेको छु । तर, दुबै पक्षको ध्यान पुगेको छैन ।

यसको लागि कुनै विज्ञ नै चाहिन्छ भन्ने छैन । कुनै पनि फिजिसियन डाक्टरले यसबारे जानकारी राख्छ । तर, सबैले रोकथामकै चरणमा काम गर्नुपर्छ । डाक्टरका हकमा उहाँहरूले उपचार नै गर्ने हो । तर, म चाहिँ यो विषयमा लामो समयदेखि गम्भीर रूपमा लागि परेकाले अलिक बढी चासो छ ।

सम्बन्धित निकायहरू पनि अब बर्खा सकियो भनेर बसेका होलान्‌ । हामी पनि सङ्ख्या गनेर बस्ने अवस्थामा मात्रै छौँ । लागेपछि हेरौँला भन्ने अवस्थामै छौँ । डेङ्गी चाहिँ सिजनमा बढी देखिएला, तर बाह्रैमास फैलिन सक्छ ।

अहिले त अझै एउटा मात्र जिल्ला हुम्लामा छैन भन्ने सुन्नमा आएको छ । हाम्रो भौगोलिक अवस्था जुन छ – आवतजावत क्रममा एक ठाउँको मान्छे अर्को ठाउँमा पुग्ने भयो । यातायातका साधनमार्फत उच्च पहाडी वा हिमाली भेगसम्म पुग्न सक्छन् । लामखुट्टेले त्यस क्षेत्रलाई आफ्नो बासस्थान बनाई जीवनचक्र पूरा गर्न थाल्छ । यसरी सबै ठाउँमा सङ्क्रमण फैलिन्छ ।

जस्तो कि – कुनै मान्छे कामविशेषले मनाङबाट काठमाडौं आयो र सङ्क्रमित भयो, लक्षण देखिने बेला मनाङ पुग्यो भने त्यो रोग मनाङमा पत्ता लाग्छ । त्यसैले डेङ्गीबाट स्थानीयस्तर या जिल्ला नै प्रभावित हुने सवालमा त्यसलाई सार्ने लामखुट्टे त्यहाँ हुन आवश्यक छ ।

संक्रमित पुग्नु र त्यो ठाउँमा डेङ्गी फैलिनुलाई फरक दृष्ट्रिकोणले हेर्नुपर्छ । लामखुट्टेको हकमा सम्पूर्ण जिल्लामा सङ्क्रमण फैलिनु फरक अवस्था हो । त्यसैले ‘यो सबै जिल्लामा देखियो’ भन्न पाइयो, तर फैलियो नै भन्न अलि मिल्दैन । २०७६ मा डेङ्गी संक्रमण प्रकोपको रूपमा फैलिएको थियो ।

यो सिजनलभन्दा पनि बाह्रै महिना देखिन सक्ने भन्ने छ । तर, लामखुट्टेको सङ्ख्या बढ्यो भने चाहिँ आउटब्रेक हुनसक्ने सम्भावना सधैँ रहन्छ । त्यो अवस्था चाहिँ मनसुन सिजन वा त्यसपछि देखिन्छ, त्यसलाई फरक तरिकाले हेर्नुपर्छ ।

डेङ्गी फैलाउने एडीस जातको लामखुट्टे कालो रंगको हुन्छ । यसले रातिभन्दा बढी दिनमा सक्रिय भएर टोक्छ । हाम्रो ठूलो दुर्भाग्य नै यही हो । त्यसैले; अहिले टोकाइबाट कसरी बच्ने भन्नेमात्रै चिन्ता भयो । पहिले नै रोकथाम गर्नेतर्फ हामी लागिपरेनौँ ।

यो वर्ष पनि सुरुका महिनादेखि नै मैले लामखुट्टे नियन्त्रण गर्न सबै लाग्नुपर्‍यो भनिरहेँ । तर कसैले गम्भीरताका साथ लिएनन् । अहिले अस्पतालमा बिरामी आइरहने, कोही सघन उपचार कक्ष (आइसीयू) खोज्दै हिँडिरहने भइरहेको छ । अहिले पनि केही हुँदैन भनेर बस्ने हैन, अब लामखुट्टे मास्ने झोल र मल्हम प्रयोग गर्ने  र घर वरपर पानी जम्मा हुन दिनु भएन ।

राति भए झुल लगाएर बस्न सकिएला, तर डेङ्गी सार्ने लामखुट्टे दिनमा सक्रिय हुन्छ । यसले कराउँदै आएर टोक्ने पनि हैन । तल खुट्टामा आएर टोक्छ । त्यसैले टोकाइबाट बच्नु नै अहिलेको महत्त्वपूर्ण काम हो ।

अहिले उपचारमा आइराखेका बिरामीहरूको परीक्षण अथवा रिजल्टहरू हेर्दा डेङ्गुका चार प्रकारका सेरोटाइप देखिएको छ । नेपालमा यो सन्‌ २००६ सालमा नै देखिएको हो ।

डेङ्गी नियन्त्रण गर्न अलिकति कोभिड मोडल अपनाउनुपर्छ । त्यो के हो भने पहिला कोभिडमा अक्सिजनको मात्रा घट्यो भन्ने आइरहँदा धेरैलाई ‘घरैमा बस वा आइसलेसनमा बस’ भनेर भन्ने गर्थ्यौं । डेङ्गीका हकमा पनि त्यही खालको सल्लाह दिन्छु । सहनै नसक्नेहरू मात्रै अस्पतालमा आएका छन् । त्यसको चारगुणा मानिस घरैमा सिटामोल खाएर बसेका छन् ।

डेङ्गीको ‘वार्निङ साइन’ भन्ने हुन्छ । त्यो घरैमा बसेर थाहा पाउन सकिन्छ । जसमा तारन्तार वान्ता हुने, गिँजा रातो हुने, पेट दुख्ने, अति आलस्य हुने, कमजोर हुने र हिँड्दा बेहोस होला जस्तो भयो भने घरमा बस्नुहुँदैन, अस्पतालमा आइहाल्नुपर्छ ।

काठमाडाैंमा यतिखेर हैजाको प्रकोप पनि छ । केही दिनअघि हैजा फैलिएको भन्ने सुनिएको छ । नेपालमा यो हटेको नै त छैन, केही कम भने भएको होला । हामी लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो, सफा रहनुपर्‍यो ।

अब चाडबाड आइसक्यो । मान्छेहरू गाउँघर जाने प्रक्रिया बढ्छ । डेङ्गी एउटा मानिसले अर्को मानिसलाई छोएर सर्ने होइन । एउटा मानिस काठमाडौँमा सङ्क्रमित भयो, उ गाउँमा गयो, त्यो गाउँमा डेङ्गीको लामखुट्टेले जीवनचक्र सहज रूपमा गरिरहेको रहेछ भने, सङ्क्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई टोक्यो भने त्यो ठाउँमा फैलन सक्छ ।

(डा. पुनसँग गरिएको कुराकानीमा आधारित ।)

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : १० बजे

पार्टी सङ्गठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

‘आउँदो ३० वर्षमा भारतले नवीकरणीय ऊर्जामा ठूलो फड्को मार्छ’

काठमाडौँ– भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले आगामी ३० वर्षमा

 पार्टीमा सबैलाई समान व्यवहार हुनुपर्छ : शेखर कोइराला

 धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका सबै

 भारतीय प्रधानमन्त्री मोदी कुवेत भ्रमणमा

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन् । दुई