‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा « Khabarhub

‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

 सुदूरपश्चिम– आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् । 

‘बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो’, उनले भने, ‘स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ ।’

वर्षासँगै गएको पहिरोले बाजुरा–अछाम सडकखण्ड अवरुद्ध हुँदा उनले कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीमा अर्ग्यानिक स्याउ बिक्रीका लागि ल्याएका हुन् । आफ्नै प्रदेशको बाटो अवरुद्ध हुँदा स्याउको बजार खोज्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला हुँदै ट्रकमार्फत ढुवानी गरेर धनगढी पुर्याउनुपरेको किसानको गुनासो छ ।

बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार एक सय स्याउका बोटमध्ये यस वर्ष तीन सय बोटमा स्याउ फलेको थियो । फलेको स्याउ धनगढी बजारसम्म पुर्याउन एक ट्रकको ढुवानी भाडा रु ७० हजार परेको थियो । 

उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो ४० मात्रै पाउने गरेका छन् । यो स्याउ धनगढी बजारमा भने एक सय २० मा बिक्री भएको छ । बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाइ छ ।

किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन मुस्किल भएको बताए। त्यहाँ उत्पादित स्याउ कतिपय समयमा बिक्री नहुँदा त्यसै सडेर खेर जाने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । 

बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्ग्यानिक स्याउ उत्पादनका लागि प्रख्यात छन् । स्याउको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो स्याउ बजारसम्म पुर्याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छभने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।

उत्पादनस्थलसम्म सडकको पहुँच नहुनु, भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु, भाण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको उनीहरूको भनाइ छ । सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ ।

बाजुराको अर्ग्यानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् । धनगढीका फणिन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए । सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : ५३ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार