ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन | Khabarhub Khabarhub

विचार

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

देशले भोगिरहेका आन्तरिक र बाह्य ५ संकट



राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट संविधान बनाएर ठूलो राजनीतिक फड्को मारेको हो । संविधानसभाबाट संविधान जारी हुनु भनेको सयौं वर्षमा हुने राजनीतिक परिघटना हो । त्यसपछिको समय भनेको निकै उथलपुथलकारी हुन्छ । गुणात्मक परिवर्तनको जुन एउटा जग बस्छ, राजनीतिक, सामाजिक, आर्थिक संस्थाहरुमा फेरबदलहरु आउँछन् । र, त्यसले नै समाजलाई सयौं वर्षसम्म अगाडि बढाएको हुन्छ ।

तर, हामीकहाँ विडम्बना के भयो भने यत्रो राजनीतिक परिवर्तनपछिको यो एक दशकसम्म राजनीतिक, आर्थिक, सांस्कृतिक समस्यामा हामी रुमलिइरहेका छौं । गति लिएर अगाडि बढ्नुपर्नेमा गतिहीनतामा बसिरहेका छौं ।

संविधान बनेपछिको यो दशकमा हामीले झेल्नुपरेका समस्याहरु मूलतः पाँच किसिमका छन्

१. राजनीतिक अस्थिरता : हाम्रो राजनीति अस्थिरतामा फस्यो । यही नहोस् भनेर प्रदेशसहितको कार्यकारी निर्वाचित राष्ट्रपतीय प्रणाली, जानुपर्छ भन्ने कुरा भएको हो । म प्रधानमन्त्री भएका बेला ०६९ साल जेठ २ गते त्यो प्रकारको मिश्रित शासकीय प्रणालीमा सहमति भएको पनि हो । दोस्रो संविधानसभामा गएपछि त्यो बिग्रियो । त्यसले गर्दाखेरि राजनीतिक स्थिरता पनि कायम गर्न सकिएन ।

माओवादी जनयुद्धको एउटा मुख्य लक्ष्य यो पुरानो प्रकारको वेष्ट मिनिष्टर संसदीय प्रणालीले अस्थिरता ल्याइराख्छ र हाम्रोजस्तो पिछडिएको देशमा छिटो आर्थिक समृद्धि ल्याउनका लागि राजनीतिक स्थिरता दिनेखालको प्रणाली चाहिन्छ भन्ने थियो । हामीले विद्रोह गर्नुको एउटा कारण यो पनि थियो । यसमा पनि हामी चुक्यौं । त्यसले गर्दा यो ८–१० वर्ष पनि ०४८–०५१ सालकै जस्तो भद्दाखालको राजनीतिक अस्थिरता र तमासा देखा पर्‍यो ।

विडम्वना त के छ भने जसलाई हामीले कमाण्डर बनायौं, उहाँ नै प्रधानमन्त्री हुँदाखेरि डेढ वर्षमा तीन–चारवटा सरकार परिवर्तन भए । तमासा नै भयो । यसरी राजनीतिक अस्थिरताबाट हामीले मुक्ति पाएनौं । यत्रो राजनीतिक परिवर्तनपछि केही दशक राजनीतिक स्थिरता हुनुपर्थ्यो अनि बल्ल आर्थिक–सामाजिक रुपान्तरण सम्भव हुन्थ्यो र परिवर्तनको जग बस्थ्यो । त्यो हुन सकेन ।

२. आर्थिक गतिहीनता : म अलिकति राजनीतिक अर्थशास्त्रमा रुचि राख्ने मानिस पनि हुँ । हाम्रो अर्थतन्त्र अन्यत्नै कुण्ठित अवस्थामा छ । कतिपयले आर्थिक मन्दी भयो भन्छन् । मन्दी भनेको त एउटा चरणमा पुगिसकेको अवस्थामा गति अलि कम हुनुलाई आर्थिक मन्दी भन्न मिल्छ । हाम्रो त अर्थतन्त्रको गति नै छैन ।

गत ६० वर्षको मात्रै आर्थिकवृद्धि दर हेर्ने हो भने एक वर्षपछि डबल डिजिट (दोहोरो अंक) छैन । यस्तो अर्थतन्त्र, जसको प्रतिव्यक्ति आय नै संसारको औसत भन्दा १० गुणा तल छ, त्यस्तो अर्थतन्त्र कमसेकम २०/३० प्रतिशतले त बढ्नैपर्थ्यो । हाम्रो त्यस्तो भएन । त्यसैले हाम्रो अर्थतन्त्र त झन् गतिहीन नै भयो ।

यसका पछाडि आन्तरिक रुपमा अस्थिरता र बाह्यरुपमा परनिर्भरताले काम गर्‍यो । भारतसँगको खुला सीमानाले गर्दा हामी असमान सम्बन्धमा बाँधिएका छौं । यसले गर्दा आन्तरिक र बाह्य दुबै कारणले अर्थतन्त्र जहाँको त्यहीँ रह्यो ।

मानिसहरुले माओवादी जनयुद्धले सबै मानिसहरुलाई विदेश लखेट्यो भने । तर, जनतालाई देशभित्रै बाँधेर राखिएको थियो, ढोका खोलिदिएपछि फुकाएजस्तो भयो । आफ्नोमा चर्ने ठाउँ नभएपछि बाहिर गएजस्तो भयो जसले गर्दा आप्रवासन र बसाईं सर्ने क्रम बढ्यो । विदेश पलायन हुने प्रवृत्ति बढ्यो ।

दुःखसाथ भन्नुपर्छ, पहिल्यै चेतेर आएका कांग्रेस एमाले र माओवादी तीनैथरिका नेताहरुले परिवर्तनकारी फड्को हान्नेखालका कदमहरु चाल्नुपर्ने थियो, जस्तो भूमि सम्बन्ध, ६० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ, यस क्षेत्रको सुधारमा मुख्य जोड दिनुपर्ने थियो । तर, उहाँहरु कसैले पनि त्यसमा चासो देखाउन छाडिदिनुभयो ।

अहिले पनि हेर्नुभयो भने उद्योगमा लागेको जनसंख्या र जीडीपी १०–१२ प्रतिशत मात्रै छ । ६० वर्षदेखि उही छ । जस्तो– चीनको हेर्नुभयो भने ३५÷४० प्रतिशत बढेर गएको छ । यसरी हाम्रो कृषिमा पनि रुपान्तरण भएन । अलिकति बन्द व्यापार, निर्माण, सेवा क्षेत्र इत्यादि जुन छ, यो त अनुत्पादक हो । रेमिट्यान्सबाट ल्याएको पैसाले किन्ने बेच्ने खाने भनेजस्तो मात्रै हो । यसले गर्दा हाम्रो अर्थतन्त्र पूरै धरासायी नै भयो । यसमा पटक्कै सुधार भएन ।

३. भ्रष्टाचारको समस्या : मेरो विचारमा अभाव भएपछि भ्रष्टाचार हुन्छ । भोकाएकाले पाप गर्छ भनेजस्तो अवस्थामा भ्रष्टाचार कसले रोक्ने ? तलबले खान पुग्दैन । जागिर नहुनेहरुले पनि कुनै न कुनै ढंगले पेट पाल्नुपर्‍यो । अहिले भन्नका लागि त भ्रष्टाचारविरोधी भनेर सबैले भन्छन्, यसरी पपुलिस्ट तरिकाले मात्र भनेर भएन, यसको कारण के हो, त्यसलाई संस्थागत ढंगले हल गर्नेतिर जानुपर्ने थियो, तर त्यता पनि जान सकिएन । भ्रष्टाचार झन् बढ्दै गयो ।

अहिले ठूला तीनजना नेताहरुले पालैपालो सरकार चलाइराख्नुभएको छ, आफ्ना विरोधीलाई वा आफ्नै पार्टीको अर्को गुटका नेतालाई यस्सो देखाएजस्तो गर्ने, भ्रष्टाचारको विरोध गरेजस्तो गर्ने र फोहोरको जुन आहाल छ, त्यसलाई सम्याउनतिर कुनै पहल नगर्ने । तीनैजना नेताले पालैपालो त्यो गरिराख्नुभएको छ ।

प्रचण्डजीले अहिले आफूलाई भ्रष्टाचार विरोधी भन्दा मलाई हाँस उठ्छ । शेरबहादुरजीलाई त मैले ०५२ सालमा ४० बुँदे पेश गरेरै हिँडेको हो । ओलीजी पनि गृहमन्त्री भएका बेला जनयुद्धको शुरुको तयारीमा कार्यकर्ताले खुकुरी नै हानेर बल्ल–बल्ल बाँचेको हुँ । प्रचण्डजीको पनि ताल देखिहालियो । त्यसैले यो भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि उहाँहरुबाट केही हुने देखिएन ।

४. विविधताको व्यवस्थापन : चौथो समस्याचाहिँ जातीय क्षेत्रीय विविधतालाई सम्वोधन गर्न नसक्नु हो । यति सानो देशमा यतिधेरै विविधता भएको देश कमै पाइन्छ । तर, कुनै न कुनै तरिकाले यसको व्यवस्थापन गर्नुपर्छ । संघीयताबाट हुन्छ कि भनेर हामीले गर्न खोज्यौं । त्यो पनि छेऊ न टुप्पोखालको संघीयता भइदियो । यसले झन अल्मल्याइदियो । अहिले यो जातीय, क्षेत्रीय र भाषिक समस्या पनि गिजोलिएर बसेको छ । यसलाई पनि हामीले राम्रोसँग हल गर्न सकेनौं ।

५.भूराजनीतिक एवम् भारतसँगको सम्बन्ध : भारतसँगको समस्या हामीले सल्ट्याउनै सकेनौं । भारतसँग हाम्रो जुनखालको परनिर्भरता छ, त्यो बढेको बढ्यै छ । त्यसलाई कमसेकम इपीजीमार्फत् समष्टिगत ढंगले हल गरौं न त भनेर मैले प्रस्ताव अगाडि सारेको थिएँ ।

पहिले ४० सूत्रीय मागमा त हामीले विद्रोही भाषामा उससँग लड्ने नै भनेर राखेका थियौं । तर, शान्ति प्रक्रियामा आइसकेपछि घुमाउरो भाषामा त्यसलाई इपीजीमा राखेको हो मैले । यो तथ्य बुझाउन सुकिएको छैन । उल्टो बाबुराम भट्टराई भारतको दलालको भन्छन् साथीहरु ।

ईपीजीमार्फत् समस्या समाधान गर न त भन्दा प्रधानमन्त्री भारत गएर आउँछन्, इपीजीबारे कुरा उठाइएन भन्छन् । अनि के उठाउनुभयो त ? कसरी हल गर्नुहुन्छ ? १९५० को सन्धी यथावत कायम राखेर, खुला सीमाना इत्यादि कायम राखेर समस्या समाधान हुन्छ ?

भारतले जसरी नेपालसँग निहुँ खोज्ने काम गरिराखेको छ, यो समस्यालाई हल गर्ने कसरी हो ? यो समस्यालाई यत्तिकै राखेर हुन्छ ? यसको समाधान त खोज्नुपर्‍यो नि । तर, यो समस्या पनि हल गर्नेतिर गएन । उहाँहरु ( देउवा, ओली र प्रचण्ड) ले गर्नुहुन्न । यी सबै समस्या यथावत रहिसकेपछि देशचाहिँ संकटमा पर्‍यो ।

वैकिल्पक शक्तिको अलमल

अहिले युवाहरु सचेत पनि भएका छन् । विद्रोही चेत बढेको छ । तर, यसलाई समष्टिगत ढंगबाट बाटो देखाइएन भने के होला ? यसले त देशलाई झनै गम्भीर ठाउँतिर लाने देखिन्छ ।

हिजो हामीले विद्रोह गर्दाखेरि यसरी सामाजिक–राजनीतिक–आर्थिक रुपान्तरण गर्छौं भन्ने एउटा चित्र थियो । अहिले त्यो पनि छैन । नयाँ वैकल्पिक शक्तिहरु भन्ने पनि आएका छन् । खाली नकारात्मक कुरा त गर्दिएका छन् । आक्रोश चाहिँ छ । तर, गर्ने के हो भन्ने चित्र छैन । यसले गर्दा देश ठूलो अराजकतातिर जाने देखिँदैछ ।

पुरानाले गरिखान नसक्ने, नयाँले पनि आफूलाई व्यवस्थित ढंगले प्रस्तुत गर्न सकिराखेका छैनन् । अलिकति आएकाहरु पनि विवादमा पर्न थाल्नुभो । नयाँ शक्ति बनाऔं भन्दा हामीलाई पनि कर परिराखेको छैन । यसले गर्दा देश गम्भीर ठाउँमा पुग्ने जोखिम देखिन थाल्यो । त्यसैले यो विषयमा अब सबैले गम्भीर बन्न जरुरी देखिन्छ ।

(पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का संयोजक डा. बाबुराम भट्टराईले शनिबार पत्रकारहरूसँग गरेको कुराकानीको सम्पादित सारांश)

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  २ : १६ बजे

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज– यहाँको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार

युवक बेपत्ता घटनामा एकजना पक्राउ

रामेछाप– रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोसी

अन्तिम दिन ह्यारिस र ट्रम्प झनै आक्रामक

न्युयोर्क– अमेरिकी राष्ट्रपति पदको निर्वाचनका एक दिन बाँकी रहँदा मिचिगनमा

हङकङमा खेलकुद क्षेत्रका लेजेन्ड व्यक्तित्वहरू अभिनन्दित

हङकङ – हङकङ नेप्लिज टेनिस सोसाइटीले  विभिन्न खेल क्षेत्रका हङकंगेली

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी– पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा दश जनाको मृत्यु