काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसले चीनको महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बाट ऋणको भार नथप्ने गरी अघि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भनेको छ ।
बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष तहका नेताहरूको बैठकबाट कांग्रेसले थप सन्देश दिँदै यसो भनेको हो ।
कांग्रेसका प्रवक्ता एवम् पूर्वपरर्राष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो सन्देश दिएका हुन् ।
‘म आफैं परराष्ट्रमन्त्री हुँदा बीआरआईको एमओयूमा हस्ताक्षर भएको हो । बीआरआईअन्तर्गतको परियोजना लिने विषयमा कांग्रेसमा द्विविधा छैन’, उनले भने, ‘तर देशलाई ऋणको भार थप्ने अवस्थालाई स्वीकार्न सकिँदैन ।’
उनले बीआरआईअन्तर्गतका नौ वटा परियोजनामाध्ये सुरुङमार्ग, सडकमार्ग र रेलमार्गसहित उत्तरी नाका जोड्ने आयोजनालाई ‘ग्राण्ड फाइनान्सिङ’, ‘टेक्निकल सपोर्ट’सहितमा चीनबाट सहयोग लिन सकिने पक्षमा कांग्रेस रहेको बताए ।
कांग्रेसले सत्ता साझेदार दलका रुपमा सुझाव दिएको बताउँदै सरकारका तर्फबाट निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छाडिएको जनाएको छ ।
‘बीआरआईको वैश्विक दृष्टिकोणअनुसार अघि बढाइएको हो । यो धेरै ठूलो महत्वकांक्षी परियोजना हो । छिमेकी र शक्ति राष्ट्रले आफ्नो आर्थिक शक्तिलाई प्रयोग गर्नु अनौठो होइन’, उनले भने, ‘चीन नेपालको छिमेकी हो, हामीले चीनसँग उत्कृष्ट सम्बन्ध राख्नुपर्छ । मित्रवत् सम्बन्ध राख्नुपर्छ ।’
उनले नेपालले भारत र चीनको सम्बन्धलाई अत्यन्त महत्त्व पनि दिएको बताए । ‘हामीले कुनै पनि सम्झौता राष्ट्रको स्वार्थमा गर्नुपर्छ । विदेशनीतिमा एउटै मापदण्ड अपनाउनुपर्छ । यो सम्झौता र सम्बन्धले कसरी राष्ट्रिय स्वार्थलाई बलियो बनाउँछ भन्ने हेर्नुपर्छ’, उनले भने, ‘जोसुकै सत्तामा आए पनि यो कुरालाई बिर्सिनु हुँदैन ।’
चीनले अघि सारेको बीआरआई परियोजनामा नेपालले सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको थियो । त्यसपछि नेपालले २०१७ मे १२ मा बीआरआई फ्रेमवर्क समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । उक्त पत्रमा तत्कलीन परराष्ट्रमन्त्री एवम् कांग्रेस नेता डा. प्रकाशशरण महतले गरेका थिए ।
बूढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवा, उपसभापति र महामन्त्रीद्वय सहभागी थिए । त्यसैगरि परराष्ट्रमन्त्री डा. आरजु राणा, गृहमन्त्री रमेश लेखक तथा प्रवक्ता महत पनि सहभागी थिए ।
प्रतिक्रिया