ग्रामथानमा कांग्रेसी र पूर्वकांग्रेसीबीच रोचक भिडन्त | Khabarhub Khabarhub

उपनिर्वाचन

ग्रामथानमा कांग्रेसी र पूर्वकांग्रेसीबीच रोचक भिडन्त

विरासत जोगाउने यात्रामा कांग्रेस, भोट तान्न खोज्दै एमाले, पहलकदमी बेच्दै माओवादी



विराटनगर – मोरङको ग्रामथानमा यतिबेला १५ राजनीतिक दलका उम्मेदवार चुनावी घरदैलोमा व्यस्त छन् । गत स्थानीय तह निर्वाचनमा विजयी अध्यक्ष जयप्रकाश गच्छदार थारुको गत असार ३ गते निधन भएपछि ग्रामथानमा अध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा होमिएका उम्मेदवार भोट माग्दै आउन थालेपछि ग्रामथानका बस्तीहरूलाई चुनावी माहोलले छपक्कै छोपेको छ । चुनावी परिणामको परिचर्चा र अनुमान गर्न थालिएको छ । धान थन्क्याएर हिउँदे खेतीमा जुट्नुपर्ने किसानलाई यतिबेला चुनावको चटारो थपिएको छ । चुनाव प्रचारप्रसारका क्रममा दलहरू उम्मेवारसहित घरदैलो कार्यक्रममा व्यस्त छन्, मत माग्दै मतदातामाझ पुगिरहेका छन् ।

रोचक त के छ भने – प्रमुख तीनै दलबाट पालिका अध्यक्षमा उठेका उम्मेदवार कांग्रेस पृष्ठभूमिका हुन् । वैचारिक रूपमा फरक दलबीच प्रतिस्पर्धा भए पनि राजनीतिक विश्लेषकहरूले यस चुनावलाई कांग्रेसकै उम्मेदवारबीचको प्रतिस्पर्धाका रूपमा अर्थ्याइरहेका छन् ।

कुल २६ हजार ४४ मतदाता रहेको ग्रामथानको गाउँबस्तीमा देखिएको चुनावी माहोलले उपनिर्वाचनमा प्रमुख तीन राजनीतिक दलबीच नै प्रतिस्पर्धा हुने देखाइरहेको छ ।

पालिका अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदार, नेकपा (एमाले)ले तुलसीराम विश्वास र नेकपा (माओवादी केन्द्र)ले नमोनारायण माझीलाई उम्मेदवार बनाएका छन् । एमालेमा भने एकजना बागी उम्मेदवार छन् ।

एमालेका विश्वास र माओवादी केन्द्रका माझी विगतमा कांग्रेसका स्थानीय नेता थिए । पछिल्लो समय दुवैले कांग्रेस छाडेर फरक पार्टीबाट राजनीति थालेका हुन् ।

माझीले केहीअघि मात्र पार्टी परित्याग गरी माओवादी केन्द्र रोजेका हुन् । उनी यसअघि ग्रामथान वडा नम्बर १ मा कांग्रेसबाट विजयी वडाध्यक्ष हुन् । वैदेशिक रोजगारीबाट फर्किएर उनी वि.सं. २०७४ को स्थानीय चुनावमा विजयी भएका थिए ।

उस्तै–उस्तै एजेण्डा

ग्रामथानमा प्रायः सबै उम्मेदवारले समान एजेण्डा अघि सारेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने आश्वासन बाँड्दै उनीहरू मतदाताको घरबारी र खेतखलियान धाउँदैछन् । मतदातालाई विश्वस्त पार्न उनीहरू प्रयासरत छन् ।

ग्रामथान वडा नम्बर २ मा भोट माग्न व्यस्त एमालेका उम्मेदवार तुलसीराम विश्वास भन्छन्, ‘स्थानीय सरकारका प्रतिनिधि यही क्षेत्रको विकासमा समर्पित हुने हो, त्यसैले हाम्रो चुनावी एजेण्डा पनि यही क्षेत्रमा बाटाघाटा, पुलपुलेसा, सडक, खानेपानी र बिजुलीबत्ती गाउँबस्तीमा पुर्‍याउने नै हुन्छ ।’

सोही अनुसार एमालेको चुनावी एजेण्डा स्थानीय स्तरको विकासमा नै केन्द्रित रहेको विश्वास बताउँछन् । माओवादी केन्द्रका उम्मेदवार मनोनारायण माझी पनि स्थानीय क्षेत्रको विकास नै पार्टीको मुख्य एजेण्डा ठोकुवा गर्छन् ।

‘मतदाताहरूको मत जित्न आवश्यक एजेण्डा नै गाउँठाउँको विकास हो, त्यसैले हाम्रो चुनावी एजेण्डा मूलतः विकास निर्माण नै रहेको छ, यही एजेण्डाका आधारमा मतदाताको घरदैलोमा पुगी मत मागिरहेका छौँ ।’

ग्रामथान नेपाली कांग्रेसको पुरानो आधार क्षेत्र नै हो । गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले प्राप्त गरेको मतभन्दा कांग्रेस उम्मेदवारले झण्डै १५ सय बढी मत प्राप्त गरेका थिए ।

कांग्रेसका उम्मेदवार बलराम सरदार पालिका अध्यक्षको निधनपछि बाँकी रहेका विकास निर्माण सम्पन्न गर्ने र सुशासन प्रत्याभूति गराउने वाचासहित मतदातासँग मत माग्दैछन् ।

‘हाम्रो पार्टीका तर्फबाट यसअघि पालिका अध्यक्ष बन्नुभएका जयप्रकाश गच्छदारको निधन भयो, जसकारण उहाँले बनाउनुभएको योजना बीचैमा अलपत्र परेको छ । हामी त्यही योजनालाई साकार बनाउन मतदातालाई विश्वस्त पार्न प्रयासरत छौँ,’ पालिका अध्यक्ष उम्मेदवार सरदारले भने ।

यस्तो थियो विगतको चुनावी अङ्कगणित

ग्रामथानमा विभिन्न १५ राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२०७९ को स्थानीय चुनावमा ग्रामथानमा कांग्रेसका जयप्रकाश गच्छदार सात हजार ६०० सय मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका थिए । सो निर्वाचनमा एमालेका उम्मेदवार शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका विजयकुमार सरदारले दुई हजार ७२७ मत पाएका थिए ।

पालिकाका सात वडामध्ये एमालेले पाँच तथा कांग्रेस र माओवादी केन्द्रले एक–एक वडा जितेका छन् । वडाध्यक्षको समेत मत जोड्दा पालिकामा कांग्रेसले पाँच हजार ५३७, एमालेले ६ हजार ७६३ र माओवादी केन्द्रले दुई हजार ६६५ मत पाएका थिए ।

०७४ मा पालिका अध्यक्ष एमालेले जितेको थियो । ०७४ मा एमालेका शिवनारायण माझी थारूले चार हजार ७२०, मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारूले चार हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारूले तीन हजार १४३ मत प्राप्त गरेका थिए । माओवादीका रमेशकुमार भगतले भने एक हजार ६०२ मत मात्रै ल्याएका थिए ।

ग्रामथान नेपाली कांग्रेसको पुरानो आधार क्षेत्र हो । यसअघि अध्यक्ष जितेको कांग्रेसलाई ३० महिनाअघि प्राप्त गरेको मत जोगाउनुपर्ने चुनौती छ । तर, त्यसो गर्न सकस पर्ने कांग्रेसकै कार्यकर्ताहरू बताउँछन् ।

उनीहरूले यस्तो बताउनुमा केही कारण देखिन्छ । पहिलो त एमाले र माओवादी केन्द्रका उम्मेदवार पनि पूर्वकांग्रेसी भएकाले कांग्रेसका मतदाताको मतमा उनीहरूले प्रभाव पार्न सक्छन् । दोस्रो – मतदातामात्र नभई कार्यकर्ता तह नै ग्रामथान कांग्रेसको परम्परागत किल्ला भए पनि दलबदलु प्रवृत्तिबाट प्रभावित छन् ।

कांग्रेस कार्यकर्ताहरूका अनुसार केही मत नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले तान्ने सम्भावना रहेको उनीहरू बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार नवीनकुमार विश्वास नेपाली कांग्रेसमा योगदान गरेको परिवारसँगै जोडिएकोले उनले पनि कांग्रेसको मत प्रभावित गर्ने अनुमान छ ।

नेपाली कांग्रेस प्रचारप्रसार समितिका संयोजक वीरेन्द्र साह भने आफ्नै पार्टीका उम्मेदवार सरदारले चुनाव जित्ने दाबी गर्छन् । निकै आत्मविश्वास देखाउँदै उनी भन्छन्, ‘ग्रामथानका जनताको साथ र समर्थनले हाम्रो हौसला बढाएको छ । उहाँहरूले कांग्रेसलाई नै जिताउने प्रतिबद्धता देखाउनुभएको छ । यो जित केवल उम्मेदवारको हुनेछैन, ग्रामथानको भविष्यको जित हुनेछ ।’

माओवादीका उम्मेदवार नमोनारायण माझी पनि कांग्रेसका पुराना कार्यकर्ता हुन् । कांग्रेस छोडेर माओवादीबाट उम्मेदवार भए पनि पूर्वपार्टीभित्र रहेको प्रभावका कारण उनले कांग्रेसको राम्रै मत तान्ने अनुमान छ ।

एमालेबाट उम्मेदवार भएका तुलसीराम विश्वासको पृष्ठभूमि पनि कांग्रेस नै हो । उनले पनि कांग्रेसकै मत चोइट्याउन प्रयास गर्ने स्थानीय ‘चुनावी पण्डितहरू’ बताउँछन् ।

‘पहलकदमी’को खेती गर्दै माओवादी

ग्रामथान मोरङको क्षेत्र नं ४ मा पर्छ । सो क्षेत्रमा प्रतिनिधि सभामा दोस्रोपटक चुनिएका माओवादी नेता अमनलाल मोदीको राम्रो प्रभाव छ । संघीय मन्त्रीसमेत भइसकेका मोदीको पहलमा यस क्षेत्रमा धेरै विकास आयोजना सञ्चालन भएका माओवादी कार्यकर्ता बताउँछन् ।

कोशी प्रदेशका पूर्वसांसद एवम् माओवादी नेता विजयकुमार विश्वासले पनि पालिकामा फाट्टफुट्ट भइरहेका पूर्वाधार संरचना निर्माण लगायत कामको जस आफू र आफ्नो पार्टीतिर खिच्न प्रयास गर्ने गरेका छन् ।

त्यसैले सो पार्टीको ग्रामथान गाउँ कमिटी अध्यक्ष रमेशकुमार भगतको दाबी छ, ‘माओवादी पार्टी र नेताको पहलमा ग्रामथानमा धेरै काम भएकोले जनमत माओवादीकै पक्षमा बढी छ, चुनाव पनि माओवादीले नै जित्छ ।’

चुनावी जोडघटाउको समीकरणमा दलभित्रको स्थानीय असन्तुष्टिले पनि ग्रामथानमा अर्थ राख्ने देखिन्छ । पालिकाका पूर्वअध्यक्ष एमाले नेता शिवनारायण माझी पनि यो उपनिर्वाचनमा पालिका अध्यक्षका दाबेदार थिए । तर, पार्टीले उम्मेदवार बन्न टिकट दिएन । एमालेको केही मत माझीले टिकट नपाएका कारण प्रभावित हुने देखिएको स्थानीय बताउँछन् ।

प्रतिस्पर्धी दलहरूले एमालेको मत काट्न ग्रामथानको उपचुनावलाई केन्द्रकै राजनीतिसँग जोड्न भ्याइसकेका छन् । माओवादीका स्थानीय नेता/कार्यकर्ताले त संघीय सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका पछिल्ला गतिविधिलाई चुनावी हतियार नै बनाउन थालेका स्थानीयहरू बताउँछन् ।

स्थानीय एक मतदाताले भने, ‘एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीप्रति यहाँका नागरिकमा विश्वास टुट्दैछ, माओवादीहरूले त्यो अवस्था बुझेजस्तो देखियो, उनीहरू एमालेको केन्द्रीय राजनीतिलाई नै मोहरा बनाउँदै मतदाता आकर्षित गर्न खोज्दैछन् ।’

एमाले पनि छैन कमजोर

यस्तो अवस्था हुँदाहुँदै पनि ग्रामथानमा पछिल्लो समय नेकपा (एमाले) पनि बलियो अवस्थामा छ ।

२०७४ मा पालिका अध्यक्ष नै जितेका एमालेले २०७९ को स्थानीय तह निर्वाचनमा सातमध्ये पाँच वडाध्यक्षसहित उपाध्यक्ष जितेको थियो ।

‘ग्रामथानमा एमालेको मत कमजोर छैन,’ एमाले अध्यक्ष माझीले भने, ‘२०७९ को भन्दा मत बढाउने अवस्था छैन । त्यही मत जोगाउन सकियो भने जितिन्छ ।’

कांग्रेसको मत यसपटक यताउता चल्ने सम्भावना रहेको उनले विश्लेषण गरे ।

शीर्ष नेताहरू नै पालिकाको चुनाव प्रसारमा

ग्रामथानमा हुन लागेको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले आ–आफ्ना गतिविधि तीव्र पारेका छन् । कोशी प्रदेशको एउटा पालिकामा निर्वाचन हुँदा जिल्ला र प्रदेशकै नेताहरू ग्रामथानमा केन्द्रित छन् ।

नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई सघाउन पूर्वमन्त्रीहरू गगन थापा, महेश आचार्य, मीनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, नेतृ डिला सङ्ग्रौला, प्रदेश सांसद् अमृत अर्याल, नेता गुरु घिमिरे र सांसद् भीम पराजुलीलगायत नेता खटिएका छन् । यी नेताहरूलाई अघि लगाएर कांग्रेसले घरदैलो कार्यक्रम तीव्र बनाइरहेको छ ।

एमालेका पनि केन्द्रदेखि प्रदेशसम्मका नेताहरू ग्रामथान उपनिर्वाचन प्रचारप्रसारमा खटिएका छन् । पालिका अध्यक्षमा पार्टीका तर्फबाट उम्मेदवार तुलसीराम विश्वासलाई सघाउन एमालेका कोशी प्रदेश इञ्चार्ज शेरधन राईदेखि प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेताहरू विनोद ढकाल र जीवन घिमिरेसम्म चुनावमा खटिएका छन् । गाउँपालिका पूर्वअध्यक्षसमेत रहेका सत्यनारायण माझीलाई एमालेले चुनावी कमाण्डर बनाएको छ ।

एमालेले वडा–वडाका समितिलाई छुट्टाछुट्टै प्रचारटोली बनाएर खटाएको छ । यस्तै, टोल र ९० भन्दा बढी सेल कमिटी पनि परिचालन गरिएको नेता माझी बताउँछन् ।

‘हामी गाउँगाउँमा पुगेका छौं, घरघरमा पुगेका छौं,’ माझी भन्छन, ‘चुनावी माहोल कसको पक्षमा जान्छ भनी अहिले नै भन्न सकिँदैन । तर, रौनक भने बढिरहेको छ ।’

ग्रामथान–४ मोतिपुरमा भेटिएका माओवादी उम्मेदवार नमोनारायण माझी भोट माग्न व्यस्त थिए । उनका साथमा चुनावी कमाण्डर बनेर खटिएका छन् पूर्वमन्त्री तथा संघीय सांसद् अमनलाल मोदी ।

माझीलाई सघाउन माओवादीका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभामा माओवादी दलका प्रमुख सचेतक गोपी अछामीदेखि पूर्वराज्यमन्त्री विजयकुमार विश्वास र पूर्वसांसद कुलप्रसाद साम्बालगायतहरू दैनिक खटिइरहेका छन् ।

रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति, जसपा, समाजवादी पार्टी, जनमत र मंगोल अर्गनाइजेसन लगायत पार्टीहरूले पनि चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।

ग्रामथान–२ झोराहाटदेखि नेताचोकसम्मको घिनाघाट–विराटचोक सडकमा पार्टीका झण्डाहरू प्रशस्तै देखिन्छ । विगतमा भन्दा बढी ग्रामथानको केन्द्र तेतरियामा भीडभाड बढेको छ । बजार र चिया पसल चुनावी गफ गर्ने थलो बनेको छ ।

कांग्रेस भर्सेस पूर्वकांग्रेस : संयोग कि बाध्यता ?

ग्रामथानमा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रमुख तीन दलका उम्मेदवार नेपाली कांग्रेसकै वर्तमान र पूर्वकार्यकर्ता हुन् । अर्थात्, कांग्रेसका पूर्वसहयोद्धाहरू ग्रामथानमा चुनावी युद्ध लड्दैछन् ।

वैचारिक रूपमा फरक दलबीच प्रतिस्पर्धा हुने भए पनि राजनीतिक विश्लेषकहरूले यस चुनावलाई कांग्रेसकै उम्मेदवार बीचको प्रतिस्पर्धाका रूपमा अथ्याइरहेका छन् । तीनै उम्मेदवार कांग्रेसको राजनीतिबाट प्रशिक्षित छन् ।

कांग्रेससहित एमाले र माओवादीका दुई उम्मेदवार पनि कांग्रेसबाटै राजनीति सुरु गरी पार्टीको विभिन्न तहतप्कामा बसेर काम गरिसकेका हुन् ।

सत्ता गठजोडको अवस्था बाहेक केन्द्रीय तहदेखि नै प्रमुख प्रतिष्पर्धी दलका उम्मेदवार कांग्रेसी पृष्ठभूमिकै हुनुमा संयोग या वाध्यता भन्दा पनि परिस्थितिले काम गरेको तत् पार्टीका नेताहरूको तर्क छ ।

विकास हाँक्ने नेता खोज्दै मतदाता

मोरङ ग्रामथान गाउँपालिका–२ झोडाहाटका ५३ वर्षीय हेमराज लुईंटेल पूर्वशिक्षक हुन् ।

उनको घर अघिको बाटोमा पार्टीका झण्डा, तुल र ब्यानरहरू झुण्डिइरहेका छन् । बाटाभरि उम्मेदवारका पोष्टर र पर्चा उत्तिकै छरपष्ट छन् ।

उपनिर्वाचनको माहोलले उनलाई पनि छोएको छ । नयाँ मान्छे पुग्ने बित्तिकै उपचुनाव र उम्मेदवारबारे लुईंटेलसँग सोधिखोजी गरिहाल्छन् ।

चुनाव कसले जित्छ ? कसको माहोल छ ? कुन उम्मेदवार कस्तो ? चुनावी नतिजाको यस्तो अड्कलबाजी भउरहँदा लुईंटेलले भने विकासप्रेमी उम्मेदवारलाई मत खसाल्ने योजना बुनेका छन् ।

उनी भन्छन्, ‘उम्मेदवारले दिने आश्वासन एकातिर छ, हामीले हाम्रो गाउँठाउँको विकास गर्ने नेता रोज्नुपर्छ, स्थानीय सरकार घरआँगनको सरकार हो, हाम्रो पीरमर्कामा साथ दिने खालको उम्मेदवारलाई स्थानीय सरकारमा पुर्‍याउनुपर्छ । मैले त्यस्तै उम्मेदवार रोज्छु ।’

खासगरी ग्रामथानमा पिछिडिएको समुदाय थारु, चौधरी र बातरको बसोबास रहेकाले पनि ती समुदायका नागरिकलाई स्वरोजगार बनाउनेतर्फ ध्यान दिने खालको उम्मेदवारलाई भनेट हाल्ने योजनामा छिन् – ग्रामथान गाउँपालिका ५ की इन्फिल चौधरी ।

घरैमा सिलाइकटाइ व्यावसाय गदै आएकी चौधरी रोजगार नहुँदा धेरै नगरिक समस्यामा परेकाले उनीहरूलाई स्वःरोजगार बनाउने नीतिमा काम गर्ने उम्मेदवार अबको निर्वाचित अध्यक्ष भएको आफूले देख्न चाहेको बताउँछिन् ।

‘नागरिकलाई स्वरोजगार बनाउने सके धेरै समस्या हट्छ,’ चौधरीले भनिन्, ‘बाटोघाटो विकासको निरन्तरता हो, रोजगारी जीविकापाजर्नको मुख्य आधार हो, त्यसैले नागरिकलाई स्वरोजगार बनाउनेतर्फ पहल होस् ।’

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  २ : ०७ बजे

मैखर्कको जङ्गलमा भेटियो बारपाककी युवतीको शव

गोरखा – चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१,

सकियो ‘रंगी’को छायाङ्कन

काठमाडौं – नायक सलोन बस्नेत अभिनित रहेको फिल्म ‘रंगी’को छायाङ्कन

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो

एजेन्सी – छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो

दूधमतीको भूभाग सीमाङ्कन गरिने

महेन्द्रनगर – ऐतिहासिक तथा धार्मिक महत्वको दूधमती नदीको अतिक्रमित प्राकृतिक

विवाह पञ्चमीको तेस्रोदिन मनाइयो धनुषयज्ञ

धनुषा – जनकपुरधाममा साताव्यापी रामजानकी विवाह महोत्सवको तेस्रो दिन आज