समाचार

मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

By रासस

September 28, 2024

इलाम – मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट ग्याबिन जालीसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

आज बिहान ३ः३० बजे सडकमाथिबाट ढुङ्गाको पर्खाल झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । ढुङ्गाको पर्खाल झरेपछि गाडी चलाउन नसकिने अवस्था रहेको उनले बताए ।

साना गाडीका लागि अहिले एकतर्फी सवारी आवतजावत खुलाउने कोसिस भइरहेको छ । ग्याबिन जालीसहितको पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएका कारण ठूला गाडीका लागि भने सडक खुलाउन केही समय लाग्ने ढकालको भनाइ छ ।

सडकखण्ड अवरुद्ध भएपछि इलामसहित, पाँचथर, ताप्लेजुङ र झापा जाने सवारीसाधन र यात्रु प्रभावित बनेका छन् । पहिरोको जोखिम भएपछि प्रशासनले गएराति १० बजेदेखि आज बिहान ३ बजेसम्म सो सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।

त्यसैगरी; इलाम–दानाबारी सडकखण्डअन्तर्गत इलाम नगरपालिका–१० स्थित राजदुवालीमा माईखोलाले सडक कटान गरेपछि सो सडक अवरुद्ध भएको छ ।