सूर्योदय नगरपालिकाले चिया टिप्न हाते मेसिन प्रदान गर्ने « Khabarhub

सूर्योदय नगरपालिकाले चिया टिप्न हाते मेसिन प्रदान गर्ने


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इलाम– गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका– १ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ रुपैयाँ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० रुपैयाँ छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ ।

किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हाते मेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ’, अधिकारीले भने ।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हाते मेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हाते मेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए ।

‘यस वर्ष हाते मेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ । तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन ।’

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हाते मेसिन प्राप्त गर्न लागेका हुन् । ‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ । अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ’, उनले भने ।

एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए । ‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन । उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ । तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन । ठुलो घाटा भनेको किसानलाई हुने हो । त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ’, उनले भने ।

सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलब्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए ।

चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियन्तालगायत सबैले साथ दिनुपर्ने रार्ई बताउँछन् ।

सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ९ : ०९ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका